आजको मेचीदेखि महाकालीसम्मको विशाल नेपालको कल्पनाकार, योजनाकार र संगठित राष्ट्र निर्माणका ब्यूहकार पृथ्वीनारायण शाह हुन् भन्दा न्याय नै हुन्छ। हुन त नेपाल गणतान्त्रिक राज्य घोषणा भइसकेको केही वर्ष त यो भन्नु पश्चगमनको सेवा र सामन्तवादको पैरवी छेड्नु हो भन्ने अतिवादी सोचले हाम्रो मन/मष्तिस्क नगाँजेको पनि हैन। अझै पनि यो वास्तविकता उद्घाटन गर्दा नाक खुम्च्याउने जमात भेटिन्छन् पनि । आग्रह, दम्भ, लघु सोच र स्वार्थले इतिहास हेर्ने दृष्टि नितान्त गलत हो। टाढा जानै पर्दैन, हिजो जननायक बिपीले भारतीय विस्तारवादलाई साँचोरूपमा नङ्ग्याउँदै यस्तो सत्य विरेचन गरे– नेपाल भारतको एक प्रशासनिक एकाइ बनाइयो, अब यसलाई राष्ट्र बनाउनुपर्छ। यसो भन्दा चार हात माथि उफ्रिएर यहाँका कथित क्रान्तिकारी र बोक्रे राष्ट्रवादीहरुले बिपीविरुद्ध विष बमन गरेका वाक्वाण इतिहासमा अभिलेखीकृत छन्। त्यो ऊर्जाशील विचार संप्रेषक यो लाञ्छना चिर्दै आफ्नो धारणा धैर्य भएर पस्किरह्यो। समयक्रममा आज नेपाली काङ्ग्रेसभन्दा आफूलाई वाम र राष्ट्रवादी भन्न रुचाउनेहरु बिपी विचारको वकालत गरिरहेका छन्। उता नेपाली कम्युनिस्ट आन्दोलनका ध्रुवतारा पुष्पलाललाई गद्दार, आत्मसमर्पणवादी, संशोधनवादी र पुँजीवादको पिछलग्गु भन्नेहरु यतिखेर बल्ल होस खुलेर उनको परिचय पाइरहेका छन्। बिडम्वना नै भन्नुपर्छ, नेपालका कतिपय राजनीतिक अभिकर्ता र त्यसमा लैबरी मिलाउने बुज्रुकहरुको यो बालखिल्ले हठलाई।
यी स्वप्नद्रष्टा एकीकरणका महाअभियन्ताको सम्झना गर्नु हामी सबै नेपालीको परम कर्तव्य हो। आजको यो राष्ट्रियताको संकट घडीमा उनका दिव्योपदेशलाई सत्तासीनहरुले मनन गरेर कार्यान्वयनमा उत्रनु अपरिहार्य छ।
सन्दर्भ बदलौँ, नेपाल राष्ट्रको एकीकरण अभियान मूलतः तीन चरणबाट पूरा भएको कुरा इतिहासको अध्ययनले देखाउँछ। एकीकृत नेपालको मूल योजनाकार भनौँ वा वास्तुकार दूरदर्शी तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहको नायकत्वको टिम नै हो। स्वप्नदर्शी राजाको अवधारणालाई तत्कालीन बुद्धिजीवी, (भानु जैसी, कुलानन्द जैसी पैवृत्ति) वीर योध्दा लडाकु (विराज बखेती, कालु पाण्डे, महेश्वर पन्त, वलि पाण्डे जस्ता थुप्रै सपुत ) बिसे नगर्ची, धादिङ केवलपुरकी थपिनी आमा प्रवृत्ति नागरिक समाजका सुपात्रहरुको हैँसे नै नेपाल एकीकरणको शिलान्यासकार पृथ्वीनारायणका पृष्ठपोषक थिए। जसको भूमिकालाई स्वयं पृथ्वीनारायण शाहले दिल खोलेर आफ्ना दिव्योपदेशमा सूत्र तहमा उल्लेख गरेका छन्। जस्तै– 'नेपाले राजाले चिन्नन् र पक्रन्नन् भनी स्याखु ओढी रापतीका तिरैतिर भानु जैसी, कुलानन्द जैसी अरु थरघर पनि साथैमा थिए।' यो उक्तिले पृथ्वीनारायणको चोखो र मर्यादित सोच छर्लङ्ग बनाउँछ।
राजा नरभूपाल शाहका चार रानी चन्द्रप्रभावती, कौशल्यावती, बुध्दिमती र सुभद्रावतीमध्ये जेठी निःसन्तान थिइन्। माइली कौशल्यावतीबाट क्रमशः पृथ्वीनारायण शाह, दलमर्दन तथा पृथ्वीपति शाह छोराका रूपमा जन्मिए भने छोरीहरु पदमकुमारी र विशाल वदना दुई थिए। साहिँली बुध्दिमतीबाट शुरप्रताप शाहको जन्म भयो भने कान्छी रानी सुभद्राबाट कीर्तिमहोद्दाम शाह र दलजित शाह जन्मिए। यसरी नरभूपाल शाहका तीन रानीबाट छ छोरा भएको कुरा इतिहासमा पाइन्छ।
वि.सं. १९७९ पुस २७ गते गोर्खा दरबारमा आँखा खोलेका पृथ्वीनारायण बालकैदेखि विलक्षण वा असाधारण स्वभावका थिए। उनको रेखदेख लालनपालन र शिक्षादीक्षा जेठी महारानी चन्द्रप्रभाबाट भयो। उनको बारेमा गोरखनाथबाट विशेष आशीर्वचन वा वरदान मिलेको कुरा पनि इतिहासमा उल्लेख छ। तत्कालीन प्रचलनअनुसार दरबारमा राजकुमारलाई दिइने शिक्षा प्रदान गरियो। रुद्री, चण्डी, गीता, कृष्णचरित्र, हितोपदेश, मनु, याज्ञवल्क्य, कामन्दक, शुक्रस्मृतिहरु र पूर्वीय अन्य गहन ग्रन्थहरुको अध्ययन पनि उनले गरेका थिए। पन्ध्र वर्षको उमेरमा मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसित पहिलो बिहे भो भने दोस्रो वनारसका राजपूत छोरी नरेन्द्रलक्ष्मीसँग भयो। राजा नरभूपालको मृत्यु हुन गएकाले १७९९ चैत २५ गते पृथ्वीनारायण शाह गोर्खाको राजा बने। राजा हुनेबित्तिकै उनमा बृहत्तर एकीकृत नेपालको पूर्व सपना कार्यान्वयन गर्ने योजना बन्यो। हुन त १९९४ वि.सं.मा उनका बुबा नरभूपालले नुवाकोट आक्रमण गर्दा हार खानुपरेको थियो। त्यसको बदला लिन पनि उनको युवा मन उत्साही थियो। नुवाकोट त्यतिखेर कान्तिपुर राज्यअन्तर्गत रहेको र व्यापारिक एवं सामरिक दृष्टिबाट त्यसलाई अधीनमा ल्याएमा गोर्खा राज्य सवल हुने देखी विराज थापाको नेतृत्वमा वि. सं. १८०० मा एक फौज पठाए। त्यहाँका तत्कालीन उमराव (प्रमुख) जयन्त रानाले गोरखाली फौजलाई त्रिशूलीपारि नुवाकोटतर्फ बढ््रन नदिएको खबर आएपछि पृथ्वीनारायणले बलि पाण्डे र महेश्वर पन्तको नेतृत्वमा थप फौज पठाए तर गोर्खाली फौजको हार हुन गयो।
यो हारको विवेचना गरी उनी लगत्तै तीर्थयात्राका नाममा भारतको बनारस गई केही हातहतियार र मुसलमान कालीगढ लिई गोर्खा फर्किई सैनिक तालिम र संगठनमा नयाँ आयाम दिए। त्यसपछि गोर्खाका आफ्ना भाइ खलकबीचको एकता सुदृढ गरी तत्कालीन भारदार पाण्डे र बस्नेतबीच विद्यमान मनोमालिन्य अन्त गर्न कालु पाण्डेको छोरीको बिहे शिवरामसिंह बस्नेतका छोरा केहरसिंहसित गरिदिएर काजीको पद कालु पाण्डेलाई थमाए। हुन त उनको अति विश्वासिलो पात्र बिराज बखेती थिए तैपनि सारा भारदार र गोर्खाली प्रजाको मनोभावनाको कदर गर्दै काजी पद कालु पाण्डेलाई प्रदान गरेर आदर्श देखाए। लगत्तै छिमेकी लमजुङलगायतका राज्यसित सुसम्बन्ध कायम गरेर गोर्खाको स्थिति मजबुत बनाए। वि.सं. १८०१ मा नुकाकोटमा विजय प्राप्त गरे। जयन्त राना जिउँदै समातिए भने उनका छोरा शङ्खमणि मारिए। साम, दाम, भेद र दण्डनीतिमा पोख्त उनले उपत्यका हमला गर्न भेद नीति प्रयोग गरी आक्रमणलाई नयाँ नयाँ रणनीतिमा अगाडि बढाए। दुईपटकको आक्रमणमा उपत्यकाका कीर्तिपुरलगायतका अन्य राज्य जित्दै पल्लो किराँत, माझ किराँत हुँदै पूर्वतिरका राज्य एकीकृत गरेको देखिन्छ। यसरी १७९९ वि.सं. देखि १८३१ सम्म ३२ वर्ष निरन्तर एकीकरणको क्रम पूरा गरे पनि पश्चिमी राज्यहरुमा एकीकरणको यो अभियान बढाउन भ्याएनन्। आफ्नो अन्तिम समय आएको महसुस गरी सबै भारदारलाई एकत्रित गरेर उपदेश दिँदै १८३१ वि.सं. मा नुवाकोटमा उनको देहावसान भयो। उनले दिएका उपदेश सार्वकालीन सामयिक सूत्र बनेकैले दिव्योपदेशका रूपमा लिइन्छ। एकीकरणमा आउन बाँकी पश्चिमका बाइसी/चौबीसी राज्यलाई दोस्रो चरणमा नायकत्व राजमाता राजेन्द्रलक्ष्मी र साहसी राजकुमार बहादुर शाहको टिमले दियो भने तेस्रो चरणको नेतृत्व रणबहादुर शाह र भीमसेन थापाको अगुवाइमा हुन पुग्यो। यसरी विशाल नेपाल निर्माण गर्ने पृथ्वी विचारले आकार पाउन सक्यो।
दिव्योपदेशको बहुआयामिकता
पृथ्वीनारायण समन्वयवादी राजा थिए। उनले पाण्डे र बस्नेत भारदारबीच बढेको मनोमालिन्य मत्थर बनाउन वैवाहिक सम्बन्ध कायम गराइदिए। उनी भन्थे– अब पाँडे बस्न्यातको जुग बाँधिदिन्छु, तेरी छोरी शिवराम बस्नेतको छोरा केहरसिंह बस्न्यातलाई देऊ' भनी मागी बिहे पनि गरिदिए। उनले स्पष्ट भने– पाँडे बस्नेतको जुग बाँधी पाँडेको ढाल बस्नेतको तरबार गरी नेपालमा चढाइँ गरेको हो। विराज बखेतीलाई कज्याइँ नदिई कालु पाँडेलाई काजी दिनुको औचित्य पुष्टि गर्दै उनले भने– 'मलाई आश्चर्य लाग्यो तर मलाई रिझायो, दुनियाँ जसदेखि राजी रहन्छन् उसैलाई कजाइँ दिनू भन्ने शास्त्रमा पनि कहेको छ। दुनियाँ बुसझहेरुँ भनी बुझ्दा दुनियाँलाई पनि कालु पाँडेकै चाह रहेछ। बाइसी चोवीसीमा पनि त्यही चाह रहेछ र कालु पाँडे काजी भए घा—घरेस बलियो राख्न्याछ भन्ने सल्लाह दिए। ज्यादा बुध्दि कालु पाँडेकै ठहर्यो र उसलाई कज्याइँ भएको हो।'
यसरी शास्त्रीय मर्यादा र लोकमतलाई प्रणाम गर्ने क्षमता थियो पृथ्वीनारायणसित। आफ्ना मामासित नेपाल हान्ने अभियानमा पृथ्वीनारायणले सल्ल्ााह माग्दा पाल्पाका राजाले यसो भनेछन्– लमजुङ गरुड हो, गोर्खा भनेको सर्प हो र नेपाल खाल्डो भनेको भ्यागुतो हो। गरुडको आँखा छलेरमात्र सर्पले भ्यागुतो खान पाउँछ। तिम्रा सेना चार जातका रहेछन्, यसमा बाहुन सेनाको सबार बयल हो, पातक लाग्छ। ठकुरीको सबार भनेको सिंह हो, पछाडि दगा हुन्छ। मगरको सबार भनेको टाँगन घोडा हो, ढिलो हुन्छ। खसको सबार भनेको ताजी तुर्की घोडा हो यसैले काम छिटो फत्ते हुन्छ भनी मन्त्रणा गरेका कुराहरु पनि पृथ्वीनारायणले खुलस्त पारेका छन्। यसबाट उनी मन्त्रणा लिनसक्ने सुझबुझ शासक भनेर चिन्न सकिन्छ।
वास्तवमा नेपालको परराष्ट्र नीतिको सूत्र सूत्रपात गर्ने बौध्दिक तागत यिनैसित रहेछ। नेपालको विदेश नीतिको अभिनव सूत्र अहिलेसम्म कुनै पनि माइकालालले दिन सकेका छैनन्– 'उप्रान्त यो राज्य दुई ढुङ्गाको तरुलजस्तो रहेछ, चीन बादशाहसित ठूलो घाहा राषनु, दक्षिणका बादशाहसति घाहा त राख्नु तर त्यो महाचतुर छ, हिन्दुस्तान दबाइराखेछ, एक दिन त्यो बल आउनेछ। जाई कटक नगर्नू, झिकी कटक गर्नू। चुरे घाँटी खूपै काटिनेछ' जस्ता दिव्योपदेशले बिम्बात्मकरूपमा हाम्रो असंलग्न परराष्ट नीति र तटस्थतालाई मुखर गरेर नेपालको वैदेशिक नीतिको सूत्र नै दूर दूरान्त हुने गरी कोरिदिएको स्पष्ट देखिन्छ। राज्यको आन्तरिक प्रशासन शुद्ध र बुद्ध बनाउन भ्रष्टाचार दुरुत्साह गर्दै उनले बोले– राष्ट्रका शत्रु भनेका घूस लिन्या र दिन्या हुन्। आफ्नै देशका उत्पादनलाई प्रश्रय दिँदै पृथ्वीनारायणले सिप सिक्न विदेश गएर आफ्नो देशमा आई काम गर्नु, राजाका भण्डार भन्याका रैतान हुन्, राजाले विवेक नगुमाउनू, आफ्नो देशको जडीबुटी विदेश लगेर नगद खैँचनू, मैले आर्जेको मुलुक सबै जातको फूलबारी हो। यस्ता दिव्योपदेशका सूक्तिहरु यो देशमा जुनसुकै राजनीतिक प्रणाली र पात्र आए पनि वेद, गीता, कुरान वा बाइबलजत्तिकै भएर रहेका छन्। यसैले विभिन्न देशका एकीकरण पुरुष जस्तै– गरिबाल्डी, मज्जिनी, विस्मार्क, होचिमिन्ह र सनयातसेनकै हाराहारीमा जाने पृथ्वीनारायण शाह नेपाल एकीकरणका श्री र दूरदर्शी साझा पुरुष हुन्। यी स्वप्नद्रष्टा एकीकरणका महाअभियन्ताको सम्झना गर्नु हामी सबै नेपालीको परम कर्तव्य हो। आजको यो राष्ट्रियताको संकट घडीमा उनका दिव्योपदेशलाई सत्तासीनहरुले मनन गरेर कार्यान्वयनमा उत्रनु अपरिहार्य छ।
प्रकाशित: २८ पुस २०७३ ०५:१९ बिहीबार