६ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

पहिलेकी विद्या र अहिलेका रामचन्द्र

प्रथम महिला राष्ट्रपति विद्या भण्डारी निजी निवासमा सरेकी छिन र देशले तेस्रो राष्ट्रपति पाएको छ।  रामचन्द्रको शीतल निवासबसाइँ प्रारम्भ भएको केही साता भइसकेको छ। संविधानले धारा ६१ मा राष्ट्रपतिले संविधान र प्रचलित कानुनबमोजिम कार्य गर्नुपर्ने, राष्ट्रिय एकताको प्रवर्धन गर्नुपर्ने र संविधानको पालन र संरक्षण गर्ने उत्तरदायित्व राष्ट्रपतिको हुने स्पष्ट व्यवस्था गरेको छ।

यो जिम्मेवारी बहन गर्नुपर्ने राष्ट्रपति पदमा आसीन भएकाहरूले आफ्नो गरिमा कुन हदसम्म कायम गर्न सके? सेनाको परमाधिपति राष्ट्रपति हुन्छन्।  सेनाको सम्मानबाट हाम्रा राष्ट्रपतिहरू पुलकित भएका त छैनन्? सैन्य शक्तिको आडमा दिग्भ्रमित त हुने होइनन्? राष्ट्रपति संविधानतः आलंकारिक हुँदा उनीहरूवाट कार्यकारी अधिकारको प्रयोग संविधान प्रतिकूल हुनेगरी निर्वाह हुनपुगेको अवस्थासमेत देखिएकामा नवनिर्वाचित राष्ट्रपति संविधानको पूर्णपालना गर्न सक्षम होलान्?

प्रथम महिला राष्ट्रपतिको कार्यकाल

संविधान जारी भएपछिकी दोस्रो राष्ट्रपति विद्या भण्डारीको कार्यकाल आलोचनारहित हुन सकेन।  यद्यपि उनले दुई कार्यकाल राष्ट्र प्रमुखका रूपमा व्यतीत गरेकी हुन। विद्याका बारेमा धेरै प्रकारका आलोचना हुने गरेका छन्। सकारात्मक रूपमा लिँदा उनले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई राम्ररी प्रवर्धन गरेकी हुन। पूर्वराष्ट्रपतिलाई सरकारले घर बनाइदिने प्रस्ताव हुँदै गर्दा उनले आफ्नै निवासमा बस्ने निणय लिइन्।  महिलालाई राजनीतिमा ३३ प्रतिशत स्थान सुरक्षित गराउन भगिरथ प्रयत्न गरिन। तर अपवादबाहेक उनका नकारात्मक टिकाटिप्पणी पूरै कार्यकालभर हुँदै आएका छन्।

सबैभन्दा ठूलो आलोचना हो उनी दलीय राजनीतिमा राष्ट्रपति रहँदा सक्रिय रहिन। साझा राष्ट्रपतिको अनूभूति गराउन सकिनन्। विद्यार्थी राजनीतिमा सामान्य सहभागिता जनाएकी गृहिणी विद्या कमरेड मदनको मृत्युपश्चात राष्ट्रिय राजनीतिमा प्रवेश गरेकी हुन्। मदनको मृत्युपश्चात सोही निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै किसुनजीलाई पराजित गर्न सफल भइन्। अखिल नेपाल महिला संघको अध्यक्ष लामो समय रहिन्। दलीय राजनीतिमा अभ्यस्त बनेकी विद्याले आफू तीन करोड नेपालीको सम्मान र इज्जत बनेको अनुभूति गरिनन्। संविधानको दायरा र सीमाभन्दा बाहिर जान उनलाई थोरै पनि असहज महसुस भएन।

२०७७ जेठमा नागरिकता सम्बन्धी अध्यादेश ओली नेतृत्वको सरकारले ल्याउँदा शीघ्र स्वीकृति दिएकी विद्याले सोही प्रकृतिको समान प्रावधान भएको विधेयक अर्का प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गर्दा प्रमाणीकरण गरिनन्। कारण प्रष्ट छ, मधेसकेन्द्रित दलहरूको माग अनुसार नागरिकता अध्यादेश जारी गरी ओली नेतृत्वको सरकारलाई मजबुत बनाउनु उनको धर्म र कर्तव्य थियो।

नागरिकता विधेयक सार्वभौम संसद्बाट पारितगरी पेस भएको थियो। त्यसमा स्वीकृति नदिइ ओलीलाई बिस्थापित गरी बनेको सरकारलाई असहयोग गर्नु थियो। प्रथमपटक भएको प्रतिनिधि सभाको विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी सो निर्णय बदर गर्दा समेत दोस्रोपटक ओली सरकारले प्रस्तुत गरेको विघटनको प्रस्तावलाई स्वीकृति दिइन्। यसबाट उनले संसद् विघटनको निर्णय संविधान विपरित भएको स्पष्ट हुँदा पनि सो स्वीकृति दिएकी हुन्।

दलीय पृष्ठपोषणमा लागेको अर्को उदाहरण हो–प्रधानमन्त्रीमा नियुक्त गर्न बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष पुगेका देउवालाई नियुक्त नगरी संसद् नै समाप्त पार्ने पात्रकै रूपमा राष्ट्रपति अग्रसर भइन्। जनताको धरोहर प्रतिनिधिसभा विघटनको विषय अत्यन्त गम्भीर बन्छ। अन्य कुनै पनि विकल्प नदेखिँदा मात्र सबै राजनीतिक शक्तिबीच मतैक्यता कायम गरेर मात्र स्वीकृति दिनुपर्ने हुन्छ। यसमा राष्ट्रपति गम्भीर नभएकामा सन्देह गर्नुपर्ने स्थिति छैन। एमालेको एक समूहमा बढी रुचि देखाउँदै विद्याले एमाले दलका सबै क्रियाकालापमा गम्भीरपूर्वक चासोदिँदै आएकी हुन्।

एमाले दलको पदाधिकारीहरूको निर्णयलिँदा उनको ठूलोभूमिका रहँदैआएको थियो। वाग्मती प्रदेशको मुख्यमन्त्रीमा तत्कालीन समयमा माधव नेपाल समूहकी अष्टलक्ष्मी शाक्यलाई पाखा लगाई डोरमणिलाई बनाउने निर्णायक भूमिका विद्याले खेलेकी एमाले वृत्तमा ठूलोचर्चा हुने गरेको छ।  माओवादीसँग एकता गरेर बनेको नेकपामा विवाद आउँदै गर्दा ओलीलाई सहज बनाउन प्रचण्ड, ओली र माधव नेपाल लगायतसँग पटकपटक वार्ता गरेकी विद्याले एमालेभित्र पनि एक समूहको मात्र पक्षमा सक्रिय राजनीति गर्दै आएकी हुन्। शीतल निवासलाई शक्ति केन्द्रका रूपमा स्थापित गरेकी थिइन्।

राजनीति गरेर एक दलभित्र एक समूहको राष्ट्रपति बन्न तयार विद्यामा महारानी बन्ने अभिलाषा स्पष्ट देखिएको थियो। कार्यालय हाताभित्रै हेलिप्याड राख्ने प्रयास गरेकी थिइन्। राष्ट्रपतिको सवारीमा तामझाम गरेर नागरिकलाई सास्ती दिने काममा अब्बल देखिएकी थिइन्। वीर अस्पतालका चिकित्सक सवारीको समयमा सडकमा देखिँदा निर्मम प्रकारले कुटिनु, शिवरात्रिमा पशुपति दर्शन गर्न अपराह्न पुगेकी विद्याविरुद्ध नाराबाजी हुनु, यी घटनाक्रममा राष्ट्रप्रमुख विद्यालाई कुनै प्रकारको असहज नहुनुले पनि उनको राजनीतिक संस्कार जगजाहेर भएको छ। दसैँमा टीका थाप्न पुगेका विशिष्टहरूलाई घुँडा टेकेर टीका थाप्नुपर्ने व्यवस्था मिलाइएको भद्दा दृश्य सञ्चार माध्यमवाट प्रसारित भएको थियो।

यसप्रकार आफ्नो इतिहास स्वर्णिम अक्षरमा लेख्ने अवसरबाट विद्या विचलित भइन्। नजिकका इस्टमित्र र स्वार्थलोलुप झुण्डबाहेक उनले आफूलाई सम्मान गर्ने जनमत तयार पार्न सकिनन्। सबैभन्दा ठूला प्रशंसक ओली देखिए। उनको प्रशंसाले आफ्नो समूहभित्र सक्रिय राजनीतिमा पुनःस्थापित गराउन सफल हुन सक्लान् तर राष्ट्रपतिका रूपमा जुन सम्मान प्राप्त गर्नुपर्ने हो, त्यो सम्भव हुँदैन। विद्याको चाहना सक्रिय राजनीतिमा आउने भएकै कारण सम्पूर्ण नेपालीको राष्ट्रपति हुन नसकेकी हुन्।

तेस्रा राष्ट्रपति रामचन्द्र

सार्वभौम नेपालको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेल बनेका छन्। राष्ट्रपतिको कार्यभार प्रारम्भ नगर्दै उनको देवत्वकरण हुन थालेको छ। रामचन्द्रका बारेमा धेरैप्रकारका सहानुभूति प्रकट भएको देखिन्छ। उनलाई प्रधानमंत्री बन्नुपर्ने, अमुक प्रधानमन्त्रीभन्दा धेरै योग्य, समाजवादका व्याख्याता, लोकतान्त्रिक दल हाँक्ने सामथ्र्यवान राजनीतिज्ञ पनि भनिन्छ। तर कहिल्यै दलको सभापति र प्रधानमन्त्री हुन सकेनन्। रामचन्द्रलाई अभागी राजनीतिज्ञका रूपमा सहनुभूति राख्नेहरू पनि छन्।  सकारात्मक रूपमा हेर्दा रामचन्द्र दलभित्रका अपवादमा पर्ने सादगी हुन।  तुलनात्मक रूपमा वर्तमान समयका राजनीतिज्ञहरूमा भन्दा बढी सच्चरित्रता कायम गरेका छन्। तर उनलाई देवत्वकरण गर्नेहरूले प्रशंसा गरे जस्तै व्यक्तित्वको अभाव उनमा स्पष्ट देखिन्छ।

देशको सामान्य परिवारमा जन्मलिएको एक किसानको छोरो, लोकतन्त्र प्राप्तिको महायज्ञमा आफूलाई समर्पित गर्दैगर्दा दिव्य १४ वर्ष कठोर कारागारको सजाय भोग्न विवश भएका पात्र हुन्।  यस देशको शासन सत्तामा लामो समयदेखि सहभागी छन्। मन्त्री, उपप्रधान मन्त्री, सभामुख, नेका दलको महामन्त्री, उपसभापति हुँदै कार्यबाहक सभापति, संसदीय दलका नेता सबै बनेका छन्।  सर्वोच्च पदमा आसिनहुने अवसर पाएका व्यक्ति हुन्। उनलाई राजनीतिमा भाग्यमानीको कोटीमा राख्नुपर्छ। प्रचण्डले एमालेको समर्थन लिइ कांग्रेससँगको गठबन्धन तोडेको समयमा ‘सबै सपना उडायो हुरीले’ भन्दै विक्षिप्त भएर अन्तर्वार्ता दिने रामचन्द्रले एकाएक पुरानै गठबन्धनमा प्रचण्ड फर्किएपश्चात राष्ट्रपति हुने अवसर पाएका हुन्। त्यसकारण पनि पौडेल राजनीति फापेका भाग्यमानी पात्र हुन्।  यद्यपि रामचन्द्रको प्राथमिकता कार्यकारी प्रमुखमै हो, आलंकारिक राष्ट्रपतिमा होइन।

राजनीतिमा इमानदारिता निर्वाह गर्नुपर्छ। यसको अभाव रहेकाहरूमा सार्वजनिक पदको जिम्मेवारी पूराहुनेमा शंका गर्नुपर्ने हुन्छ। पौडेलको राजनीतिक इतिहास दृष्टिगत गर्दा उनी अवसर प्राप्त गर्न मात्र उन्मुख रहे। तर राजनीतिमा उनको रणनीति सधैं असफल भयो। काँग्रेसभित्र उनको भूमिका भरपर्नयोग्य रहेन। शेरबहादुरजीले दल फुटाउँदा ठूलो पदपाउने प्रलोभनमा देउवासँग समाहित हुने निर्णय लिएका पौडेल आफ्नो अभीष्ट पूरा नहुने स्थिति देखिनासाथ संस्थापन पक्षमै फर्किए। देउवा र गिरिजाबाबु दुवैले विश्वास गर्न सन्देह गर्नुपर्ने स्थिति बनाए।  उपप्रधान मन्त्री बनिसकेका पौडेल मन्त्री बने। सुशीललाई पछि पार्दै नेकाको सभापति बन्न लागिपरेकामा सफल हुन् सकेनन्। तेह्राैं महाधिवेशनमा देउवाविरुद्ध प्रतिस्पर्धा गरेकामा पराजित बने। चौधौँ महाधिवेशनमा संस्थापन इत्तरपक्षको साझा उम्मेदवार भई दलको केन्द्रीय सभापति बन्न तयार बनेकामा कार्यकर्ता पंक्तिमा शेखरसरह प्रिय बन्न सकेनन्। संस्थापन पक्षमा उनले अवसरपाउने स्थिति थिएन।

विक्षिप्त बनेका पौडेल एकाएक सभापतिको निर्वाचनमा मौनतासाँध्दै देउवालाई समर्थन गर्न पुगे, देउवा प्रसन्न हुनुको परिणाम राष्ट्रपति बन्ने अवसर पाए।  पौडेलका कटु आलोचक देउवालेनै उनलाई राष्ट्रपति बन्ने अवसर दिए। देउवा लगायतले रामचन्द्रको चित्त अत्यन्त सानो भएको आलोचना पटकपटक गरेका छन्। उनी खुला दिल नभएका नेता हुन्।  कमजोर निर्णय र आदेशहरूको ठूलै फेहरिस्त तयार हुने अवस्था बनाएका छन्। अत्यन्त सानो वृत्त परिवार र सीमित इस्टमित्रलाई नै समग्र नेपाल सम्झने प्रवृत्ति र कार्यशैली निर्माण गरेका छन्। यस प्रकारका कमजोरीका बाबजुद सर्वोच्च पदमा आसीनहुन् पुग्नुका पछाडि लोकतन्त्रको बहाली र पुनर्बहालीमा उनीबाट भएका योगदानकै प्रतिफल भएको विश्लेषण हुँदैछ।

निष्कर्ष

अब पौडेलले गल्ती गर्ने छूट पाउने छैनन्। उनको परीक्षण हुनेसमय आएको छ। राजनीतिक यात्राको उत्तराद्र्धमा प्रवेश गरेका छन्। उमेरले नेटोकाटेको छ। राष्ट्रपति यस्तो महत्वपूर्ण पद हो जसले राष्ट्रियता र राजनीतिक स्थिरताका पक्षमा ठूलो योगदान गर्न सक्छन्। उदाहरणका लागि छिमेकी देश भारतका तत्कालीन राष्ट्रपति बैंकट रमणले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्दा बजेट ल्याउने समय भएकाले सो प्रस्तुत गर्न सहजीकरण गर्ने अभिप्रायले तत्काल स्वीकृत गरेका थिएनन्। आमनिर्वाचनमा कांग्रेस आइ अल्पमतको तर सबैभन्दा ठूलो दल भएर पनि संसदीय दलका नेता राजीव गान्धीले सरकारको नेतृत्व गर्न स्वीकार गरेनन्। अर्को दलको प्रधानमन्त्रीले मिलिजुली सरकार गठनगर्दा विश्वासको मत प्राप्तनभई राजीनामा दिएका थिए। यसपछि कांग्रेस आइकै समर्थनमा चन्द्रशेखर प्रधानमन्त्री बने।  केही समयपश्चात कांग्रेस आइले समर्थन फिर्ता लिँदा चन्द्रशेखरले प्रतिनिधि सभा विघटनको प्रस्ताव गर्दा स्वीकृति दिइएन। वैकल्पिक सरकार बन्नसक्ने सम्भावनाका बारेमा दलबीच छलफल प्रारम्भ गर्दै प्रधानमन्त्रीलाई कामचलाउका रूपमा परिणत गरेका थिए।

कमीकमजोरीलाई यथासमयमै सुधार गरेर राष्ट्रपति पदको गरिमा, प्रतिष्ठा र मर्यादा कायम गर्नु राम्रो हुनेछ। पदावधि समाप्त भएपश्चात दलीय राजनीतिमा क्रियाशीलता दिने सोचबाट मुक्तरहनु वेश हुन्छ। आफ्ना केही सीमित अन्धाभक्तहरूलाई मात्र योग्यदेख्ने मानसिकतावाट मुक्त हुनुपर्छ। शीतल निवासलाई सबै नेपालीको आस्थाको केन्द्र बनाउने प्रयास गर्नुपर्छ। तीन करोड नेपालीको माया र श्रद्धा आर्जन गर्ने राष्ट्रपतिमा आफ्नो कार्यहरू केन्द्रित गर्नुपर्छ। पदीय गरिमाको लक्ष्मणरेखा प्रारम्भकै दिनबाट कोर्नुपर्छ। राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको पक्षमा अटल रहनुपर्छ। संविधानको वास्तविक संरक्षकका रूपमा पौडेलको भूमिका राष्ट्रले खोजेको छ।

जापानका प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य कमजोरहुँदा जनतासमक्ष माफीमागी पदबाट राजीनामा दिएका घटनाबाट सिक्न सक्नुपर्छ। डेनमार्ककी प्रधानमन्त्री साइकलवाट कार्यालय निवास आवतजावत गरेको देखिन्छ। यसैगरी समग्र जनता र राष्ट्रको असली अभिभावक बन्नुपर्छ। राष्ट्रपतिको सवारीमा जनताले दुःखपाउने अवस्थाको उपचार खोज्नुपर्छ।  असल कार्यगर्दा आफ्ना नेताको सुरक्षा जनताले गर्छन्।  यो यथार्थता मनन गर्नुपर्छ। नेल्सन मन्डेलाले श्वेतहरूले अश्वेतविरुद्ध गरेको शोषणविरुद्धको आन्दोलनको लामोसमय नेतृत्व गर्दै सफल हुँदा उनको सुरक्षाथ्रेट पक्कै बढेको थियो।  तर उनले सामान्य जीवन व्यतीत गरे।  विश्वका ठूला नेताहरू साद्गी जीवन बिताएकै कारण जनप्रिय बनेका छन्।

जिम्बाब्वेका तत्कालीन राष्ट्रपति रबर्ट मुगावे जनप्रिय थिए।  लामो समय शासन गरे। उमेरले नेटो काट्दैगर्दा उनको स्वास्थ्यमा समस्या देखियो। उनी पारिवारिक वृत्तमै रमाउन थाले। आफ्नी कान्छी श्रीमतीलाई देशको राष्ट्रपति बनाउने लक्ष्यसाथ अघिबढ्दै गर्दा उनको राजनीतिक इतिहासनै प्रायः समाप्त भई उत्तरार्ध अत्यन्त पीडादायक बन्यो। यी घटनाक्रमबाट मात्र होइन, प्रथम महिला राष्ट्रपति विद्याले सरकारबाट घर बनाइदिने प्रस्ताव अस्वीकार गरी आफ्नै निवासमा रहने निर्णय गरेबाट समेत पाठ सिक्नुपर्दछ। वर्तमान राष्ट्रपति पौडेलका समकक्षी नेपालका नेताहरूमा केही अपवादभित्र पर्ने सच्चरित्र पात्रका रूपमा पौडेललाई स्वीकार गर्नुपर्छ। अब सुनौलो इतिहास निर्माण गर्ने वा बाटो बिराउने हो, निर्णय राष्ट्रपतिमै निर्भर गर्छ। शीतल निवासको बाटो हुदै यात्रागर्ने नेपालीले यसलाई मन्दिरका रूपमा ग्रहण गर्दै आफ्नो सम्मान प्रकटगर्ने अवस्था पौडेलले सिर्जना गर्नेछन् भन्ने आस गरौँ।  राष्ट्रपति पौडेलले कुमारी दर्शनमा जाँदा देखाएका साद्गीपनको स्वागत हुन थालेको छ। सुरक्षाकर्मीलाई आफ्नो प्रोटोकल र डेकोरममा पुनरावलोकन गरेर सुरक्षा व्यवस्था मिलाउन निर्देशन गर्नुपर्छ। राष्ट्रपतिलाई सुरक्षा चुनौती भनेको कर्तव्यच्युत हुँदा हुने हो। निष्पक्ष भूमिकामा रहँदा सामान्य नागरिकसरह राष्ट्रपतिको आवागमन हुन सक्छ।  

प्रकाशित: २९ चैत्र २०७९ ००:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App