८ वैशाख २०८१ शनिबार
विचार

फिडेल क्यास्ट्रोको बिरासत

अघिल्लो हप्ता समाजवादका स्वप्नद्रष्टाबीच अत्यन्त सम्मानित संसारका एक महान् राजनेताको निधन भयो। उनी थिए क्युबाली क्रान्तिका प्रणेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रो। संसारकै जीवित राजनेतामध्ये उनको कद, सम्मान र जनप्रियता सम्भवतः सबैभन्दा उँचो थियो।

फिडेल क्यास्ट्रो राष्ट्रिय स्वाभिमान, आत्मसम्मान, जनजागरण र जनतासँग अनौपचारिक सम्बन्धका एक अनुपम प्रतीक थिए। क्युबाली जनतासँग उनको सम्बन्ध अत्यन्त हार्दिक, अनौपचारिक र अनुपम थियो। कुनै पनि बेला उनी तिनका दुःखसुख र नयाँ नीतिका लागि मत बु‰न तिनका घरघर पुग्थे। सार्वजनिक ठाउँहरूमा उनी सदैव जनताद्वारा घेरिन्थे। आफ्ना कुरा प्रस्ट राख्थे। जनता पनि उनलाई अत्यन्त अनौपचारिक सम्बोधन गर्थे। तिनले आफूलाई 'तिमी' भनेर सम्बोधन गरेको उनलाई प्रिय लाग्थ्यो।

जनतासँग निरन्तर हार्दिक सम्बन्ध, गलत प्रवृत्तिविरुद्ध जुधिरहने उँचो नैतिकता, राष्ट्रिय स्वाभिमान र न्यायमूलक शासनसत्ता उनले संसारलाई छाडिगएका बिरासत हुन्। हाम्रा कम्युनिस्ट नेतालाई यो बिरासत स्वीकार्य छ?

सडकका जनतासित कुरा गर्दा उनी बिलकुलै तिनकै स्तरमा कुरा गर्थे। अभिव्यक्तिमा जीवन्तता र वास्तविक स्नेह उनको गफको शैली हुन्थ्यो। सबै पद, सम्मान र राजनीतिक कदको दम्भ बिसाएर उनी त्यहाँ एक सर्वसाधारणसरह प्रस्तुत हुन्थे। विज्ञ हुन् वा साधारण किसान, सबैसँग उनी गहिरो सोधखोज गरेर सूचना संकलन गर्थे। अनि तिनै कुरा नीतिगत तहमा घुसाउँथे। तर्जुमा गरिएका नीतिप्रति जनताको राय बु‰थे। तिनले असन्तुष्टि जनाए त्यस्तो निर्णय फिर्ता लिन्थे। बिना कुनै हिचकिचाहट जनता उनीसँग आफ्नो कुरा राख्थे।  मन नपरेका कुराको विरोध गर्थे। दौँतरीलाई जसरी 'तिमीले यसो गर्नु ठीक थिएन फिडेल' भनेर ठाडै हकार्थे। यसरी उनले आफ्नो शासनशैलीलाई पनि अनौपचारिक र जनस्तरमै राम्ररी भिजाएका थिए। त्यसैले त रेडियोबाट उनको निधनको खबर सुन्दा नाचगानको रामरमितामा मस्त रहने स्वभावका क्युबाली जनता एकाएक स्तब्ध र शोकसन्तप्त भए। एकाएक तिनले आफ्ना सबै कार्यक्रम स्थगित गरे। रेस्टुराँ, पसल, क्लब र घरघरका सटरहरू बन्द भए। यस्तो लाग्थ्यो, क्युबामा एउटा ठूलो स्पेस खाली भयो, जुन सायद फेरि भरिँदैन।

मार्खेजका दृष्टिमा फिडेल

उनका हार्दिक मित्र कोलम्बियाली लेखक गाब्रियल गार्सिया मार्खेजले लेखेका छन्, 'फिडेल कार्यालयमा ओथारो बसिरहने कथित प्राज्ञिक नेता होइनन्। समस्याहरू जहाँसुकै खोज्दै हिँड्ने बानीले गर्दा होला, साइरन बजाउँदै सुरक्षा दिने कारगेडबिना नै कुनै पनि समय, मध्य रातमा पनि, उनलाई हवानाका गल्लीहरूमा डुल्दै गरेको भेट्न सकिन्छ।'

क्यास्ट्रोको जुबानी 'मेरो युवाकाल' (नेपाली अनुवाद :  विकास बस्नेत) को भूमिकामा मार्खेज अगाडि लेख्छन्, 'कुनै मध्यस्थकर्ता वा माध्यममार्फत् होइन, फिडेल जनतासँग आम्नेसाम्ने कुरा गर्न रुचाउँछन्। आफ्नै छविको उज्यालोमा लपेटिएको एक दुर्लभ मान्छेको असली छवि यस्तै गल्लीगफहरूमा देखिन्छ, जुन व्यक्तिगत भेटहरूमा दुर्लभ हुन्छ। राजनीतिको भूतले सम्पूर्ण रूपले नछाडेको बेला भएका घन्टौँ लामो गफगाफपछि मैले चिनेका फिडेल यिनै हुन् भन्ने कुरामा म विश्वस्त हुन्छु। राजनेताका रूपमा उनको सबैभन्दा ठूलो गुण भनेको समस्याको विकासक्रमलाई पहिचान गर्नसक्नु हो। उनी समस्याको दीर्घकालीन निष्कर्षसम्म पुग्छन्। यस्तो लाग्छ, उनी हिउँको डल्लाको बाहिरी भागमात्र होइन, समुद्रभित्र लुकेको सात गुणा ठूलो भाग पनि देख्छन्।'

मार्खेजका अनुसार क्रान्तिपछिका १५ वर्षसम्म न उनको घर थियो, न कार्यालय। उनी जहाँ पुग्थे, त्यहीँ कार्यालय हुन्थ्यो। सबैभन्दा गाह्रो खालका भाषण पनि उनी अनौपचारिक गफजस्तै गर्न सक्थे। प्रत्येक अवसरमा बोल्ने बेग्लै भाषा हुन्थ्यो उनीसँग। श्रमिक, कामदार, किसान, विद्यार्थी, वैज्ञानिक, नेता, लेखक वा विदेशी पाहुना सबैलाई विश्वस्त पार्ने भाषा उनी प्रयोग गर्थे। आफूसँग भएको बृहत् सूचनाभण्डारको सहायताले जोसँग भए पनि उसकै तहमा आएर कुरा गर्न समर्थ हुन्थे।

संसारभरिकै पत्रकारका लागि उनी सधैँ आकर्षक पात्र भइरहे। कुनै पनि मामलामा उनको विचार सार्वजनिक गर्न पाउँदा ती गौरव महसुस गर्थे। अन्तर्वार्ताका लागि उनीहरू महिनाँै हवानाको होटलमा चिसो रात बिताउन पनि तम्तयार हुन्थे।

क्रान्ति सम्पन्न भएको केही दिनपछि हवानाभरि लाउडस्पिकर झुन्ड्याएको १५ लाख जनता उपस्थित विशाल सभालाई सम्बोधन गर्दै भाषणका महारथी क्यास्ट्रोले भनेका थिए, 'यस साँझको सबैभन्दा राम्रो भाषण भनेको तपाईँको उपस्थिति नै हो। तपाईँको यो महान् उपस्थितिले देखाएको छ, यसभन्दा महान् कुनै भाषण हुनै सक्दैन। यो उपस्थिति नै क्युबाका लागि सबैभन्दा महान् क्रान्ति हो। यो अधिकार, न्याय र नैतिकताको जित हो।' भाषणमा भनेजस्तै उनले क्रान्तिको उपलब्धिलाई सधैँ जनअधिकार, न्याय, राष्ट्रिय स्वाभिमान र नैतिकको जितका रूपमा सुरक्षित राखे।

'सबभन्दा चोखा क्रान्तिकारी'

अमेरिकी विदेश मामला विज्ञ तथा नोबेल विजेता हेनरी किसिन्जरले आत्मसंस्मरणमा लेखेका थिए, 'क्यास्ट्रो संसारका सबैभन्दा चोखा क्रान्तिकारी हुन्।' सम्भवतः अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प मात्र यस्ता नेता भए जसले क्यास्ट्रोको निधनलाई 'एक अधिनायकको अवसान' भने। नत्र, बाराक ओबामा लगायत संसारका अधिकांश नेताले उनलाई महान् क्रान्तिकारी नेता स्वीकारेका छन्।

स्पेनी मूलका बाबु र क्याबाली आमाबाट सन् १९२६ अगस्ट १३ मा जन्मेका क्यास्ट्रो भाषणकलाका महारथी हुन्। मार्खेजको अनुमानमा उनको यही कलाले जम्मा ८ सय जनाको छापामारलाई हजारौँको संख्यामा रहेका तानाशाह बाटिस्टाको सेना पराजित गरी सत्ता कब्जा गर्न मनोबल प्रदान गरेको थियो। छापामारका लागि क्युबाभरि सुरक्षित स्थान थिएन। अतः उनले चे ग्वेभारा, राहुल क्यास्ट्रोलगायत निर्भिक क्रान्तिकारीको साथ सियरामाइस्त्राको घना जंगलबाट  बाटिस्टाको सत्ताविरुद्ध उनले युद्धको नेतृत्व गरे। अमेरिकी समर्थनमा टिकेको बाटिस्टाको सत्ता १९५९ जनवरी १ मा ढल्दा संसारमै अनौठो चर्चा र तरंग मच्चियो। क्यास्ट्रो धनी परिवारमा हुर्केका थिए। तर, उनले गरिब र वञ्चित समूहको हितमा मार्क्सवादी–लेनिनवादी राजनीति रोजे। क्रान्ति सम्पन्न भएको ६ वर्षपछि बल्ल १९६५ अक्टोबर ३ मा क्युबा कम्युनिस्ट पार्टी स्थापना भएको थियो जसको संस्थापक सचिव क्यास्ट्रो थिए । उनको नैतिक बलको स्रोत के थियो भने धनी परिवारमा हुर्किए पनि सत्ताको दम्भ त्यागेर गरिब जनताको स्तरमा बाँच्न राजी भए। क्रान्तिपछि सबैभन्दा पहिले उनले आफ्नै बाबुको चिनी कारखानालाई राष्ट्रकरण गरे। उनी चुरोटका औधी सोखिन थिए। तर, क्युबाली जनतालाई धूमपानमुक्त बनाउन उनले आफ्नो देशको प्रमुख आयस्रोतमध्ये एक सूर्ती सेवन नै बन्द गरे। यही दृढ इच्छाशक्तिले उनले क्युबालाई शिक्षा, चिकित्सा, स्वास्थ्य, वञ्चितहरूको पहुँचको विकासमा उदाहरणीय बनाए।

मार्खेज भन्छन्, 'फिडेल क्यास्ट्रो हाम्रो समयका सबैभन्दा ठूला आदर्श हुन्। सायद यो नै उनको सबैभन्दा ठूलो गुण अनि यो उनका लागि सबैभन्दा ठूलो खतरा पनि हो।' नभन्दै क्रान्तिबाट सत्तामा आएको सात महिना नबित्दै अमेरिकाले उनलाई अपदस्थ गर्न क्युबाविरुद्ध आर्थिक नाकाबन्दी लगायो। उनले १० जना अमेरिकी राष्ट्रपतिको कठोर नाकाबन्दी झेले। तर, कसैसँग झुकेनन्। उनले क्युबालाई आत्मनिर्भर बनाउन यथासक्य प्रयास गरिरहे। त्यसमा धेरै हदसम्म सफलता पनि पाए। यो बेग्लै कुरा हो, अमेरिकासँग सम्झौता गरेको भए क्युबालाई आर्थिक रूपले अहिलेभन्दा निकै समृद्ध पार्न सकिँदो हो। तर, क्युबाको स्वत्व र आत्मसम्मान ध्वस्त हुन्थ्यो। न्यायमूलक उन्नत मानवीय समाजको  सपना विघटन हुन्थ्यो। यही कुरामा सम्झौता गर्न नमान्दा अमेरिकी गुप्तचर संस्थाले ६३४ पटक उनको गोप्य हत्याको योजना बनायो। उनी बारम्बार ठट्टा गर्थे, 'हत्याको प्रयासबाट बच्ने ओलम्पिक प्रतियोगिता हुने भए स्वर्ण पदकमा मेरो विश्व कीर्तिमान हुन्थ्यो।'

क्यास्ट्रो ४७ वर्ष क्युबाको सत्तामा रहे। यही लामो शासनकै कारण उनलाई अधिनायक भनेर निन्दा गर्नेहरू पनि संसारमा कम छैनन्। तर, उनले क्युबाली जीवनलाई उन्नत बनाउन गरेको महŒवपूर्ण अवदान धेरैका लागि स्मरणीय छ। त्यसैले त क्युबालीहरू उनलाई 'ईश्वर'कै दर्जामा राख्छन्। जनतासँग निरन्तर हार्दिक सम्बन्ध, गलत प्रवृत्तिविरुद्ध जुधिरहने उँचो नैतिकता, राष्ट्रिय स्वाभिमान र न्यायमूलक शासनसत्ता उनले संसारलाई छाडिगएका बिरासत हुन्। हाम्रा कम्युनिस्ट नेतालाई यो बिरासत स्वीकार्य छ?

प्रकाशित: १७ मंसिर २०७३ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App