१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

लुम्बिनी विश्वविद्यालयको प्राज्ञिक यात्रा

भगवान् गौतम बुद्धका उपदेश अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवद्र्धन तथा शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन, अध्यापन र अनुसन्धान गर्न २०६१ सालमा लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना गरिएको हो । २०६७ सालदेखि विद्यावारिधि कार्यक्रम थालेको यस विश्वविद्यालयले २०६९ सालदेखि सम्बन्धन प्राप्त कलेजमा बौद्ध अध्ययनअन्तर्गत थेरबाद बुद्धधर्मस, महायान बुद्धधर्मस, एप्लाइड बुद्धिज्म, बुद्धधर्म र पिस स्टडिज, बुद्धधर्म र हिमालयन स्टडिज विषयमा स्नातकोत्तर तहको अध्ययन–अध्यापन थालेको छ । शैक्षिक सत्र २०७०।७१ देखि केन्द्रीय क्याम्पस लुम्बिनीमा स्नातकोत्तर तहमा एप्लाइड बुद्धिज्मको समेत पढाइ हुँदै आएको छ । 

विश्वविद्यालय स्थापना भएको यत्तिका वर्ष बिते पनि गुरुयोजनाको अभाव खड्किएको थियो । विश्वविद्यालयको तेस्रो उपकुलपतिको हैसियतले कार्यभार सम्हालेपछि गुरुयोजना निर्माण एवं कार्यान्वयनको उद्घोष गरेलगत्तै लुम्बिनी बौद्ध विश्वविद्यालय गुरुयोजना मस्यौदा निर्माण समिति गठन भयो । बौद्घ अध्ययन पढाइ हुने विदेशका १० बौद्ध विश्वविद्यालय, १० बौद्ध अध्ययन संस्थान र ३२ अन्य विश्वविद्यालय गरी ५२ विश्वविद्यालयको शैक्षिक कार्यक्रमको अध्ययनपछि बौद्ध अध्ययनका सरोकारवालाहरू बौद्ध धर्मगुरु, संघसंस्था, अनुयायी, विद्वान, शिक्षाविद् एवं स्थानीयबीच बुटवल र काठमाडौंमा अन्तक्र्रियापछि गुरुयोजनाको प्रमुख अंग प्राज्ञिक गुरुयोजनाको काम सकिएको छ । विश्वविद्यालयको २०७२ साल जेठ २७ मा भएको छैटौं सभाले गुरुयोजना अनुमोदन गरेको छ । त्यसपछि प्राज्ञिक गुरुयोजनाअनुरुप प्रस्तावित विभिन्न तहका शैक्षिक उपाधि पनि प्रक्रियागत रूपमा २०७३ साल असार २ को विश्वविद्यालयको सातौं सभाबाट पारित भइसकेको छ ।

 प्राज्ञिक गुरुयोजनाले विश्वविद्यालयको लक्ष्य प्राप्तिको लागि अध्यापन एवं अनुसन्धानका विषयको पहिचान र वर्गीकरण गरिसकेको छ । निश्चित उद्देश्यका साथ विश्वविद्यालयअन्तर्गत अध्यापन गराउन सकिने विषय पहिचान गरी तीन खण्डमा बाँडिएको छ, जसअनुसार पहिलो, ‘कोर बुद्धिस्ट सब्जेक्टस्’, दोस्रो, ‘न्यु बुद्धिस्ट सब्जेक्टस्’, तेस्रो, ‘जेनरल सब्जेक्टस्’ । यी तीनैै खण्डका आ–आफ्ना छुट्टाछुट्टै उद्देश्य, क्षेत्र र विशेषता छन् ।

कोर बुद्धिस्ट विषय पठनपाठनको दृष्टि बौद्ध दर्शन, साहित्य, संस्कृति, इतिहास आदि विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने रहेको छ । जसअनुसार विषयवस्तुको सान्दर्भिकताअनुसार पाली, संस्कृत, चिनियाँ र तिब्बती भाषामध्ये कुनै एक भाषाको अध्ययन अनिवार्य छ । विद्यार्थीलाई कुनै एक परम्परागत मूल विधामा विशेषज्ञता हासिल गराइने लक्ष्य छ । विद्यार्थीले मूल ग्रन्थमा आधारित भएर अध्ययन र अनुसन्धान गर्न सक्षम हुनेछन् भन्ने अपेक्षा गरिएको छ । थेरवाद, महायान, वज्रयान र बौद्ध इतिहासजस्ता विषयमा स्नातक/स्नातकोत्तर तहको शैक्षिक उपाधि प्रदान गरिने छ । यस्तो शैक्षिक कार्यक्रमले स्वदेश तथा विदेशका लागि थेरवाद/महायान/बज्रयानमा विशेषज्ञ, दक्ष जनशक्ति उत्पादन हुने विश्वास लिइएको छ ।

न्यु बुद्धिस्ट विषय पठनपाठनको दृष्टि सामान्य बौद्ध अध्ययन र आधुनिक विशेष विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने रहेको छ, जसअनुसार विद्यार्थीलाई परम्परागत मूल विधामा विशेषज्ञता हासिल गराइँदैन तर बौद्ध अध्ययनको अध्यापन गराई आधुनिक विशेष विषय जस्तोः एप्लाइड बुद्धिज्म, हिमालयन स्टडिज, पिस स्टडिज, सामाजिक सेवा, अर्थशास्त्र, व्यवस्थापन आदि विषयमा गहन ज्ञान प्रदान गरिने लक्ष्य छ । ती आधुनिक विशेष विषयमा बौद्ध धर्म, दर्शन, संस्कृतिको प्रभावबारे अध्यापन गरिनुका साथै बौद्ध धर्म, दर्शन, संस्कृति, आदिबाट पु¥याउन सकिने सम्भावित योगदानबारे पढाइने छ ।

 पुरातत्व, संग्रहालय विज्ञानजस्तो आधुनिक विषय र त्यससँग सम्बन्धित बौद्ध अध्ययन, जस्तैः आक्र्योलोजी एन्ड बुद्धिस्ट आक्र्योलोजिकल साइट्स र  म्युजिओलोजी एन्ड बुद्धिस्ट कलेक्सन्स्मा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य  छ। बौद्धधर्म–दर्शन–अभ्यासको प्रत्यक्ष प्रभाव भएका परम्परागत/प्राचीन उपचार पद्धतिको अध्यापन गराइने दृष्टि राखिएको छ भने ती विषयको विशेषज्ञबाट प्रत्यक्ष रूपमा जनतालाई लाभान्वित गराइने लक्ष्य छ। न्यु बुद्धिस्ट सब्जेक्टस्को माध्यमबाट मानव समस्यादेखि विश्व्यापी मुद्दा सम्बोधन गर्ने लक्ष्य छ। यसमा आवश्यकताअनुसार स्नातक, पिजिडी तथा स्नातकोत्तर तहको उपाधि प्रदान गर्ने व्यवस्था छ।

प्रागऐतिहासिक एवं ऐतिहासिक कालदेखि आजसम्म अनवरत रूपले जीवन्त बुद्धभूमि नेपालका अधिकांश नागरिकलाई बुद्ध, धर्म, दर्शन, क्षेत्र, संस्कृति आदिबारे आधिकारिक एवं औपचारिक ज्ञान दिन सकिएको छैन। मुलुकले यो ज्ञान दिने जिम्मेवारी लुम्बिनी बौद्ध विश्वविद्यालयलाई ऐनमार्फत् सुम्पिदिएको छ। त्यसकारण लुम्बिनी बौद्ध विश्वविद्यालयले घर–घरमा बौद्ध अध्ययन (डोर टु डोर बुद्धिस्ट स्टडिज्)  पुर्‍याउने उद्देश्य राखेको छ ।  आधारभूत बौद्ध अध्ययन विषय न्यूनतम कक्षाभार अनिवार्य हुने गरी क्षेत्र विशेषको आवश्यकता र माग भएका रोजगारीमूलक आधुनिक विषयलाई जेनरल विषयमा राखिएको छ । जसअन्र्तगत स्नातक तथा स्नातकोत्तर तहमा मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि विषयको अध्यापन गराई ‘घरघरमा बौद्ध अध्ययन’ पु¥याउने लक्ष्य राखिएको छ ।

यस योजनाअनुसार लुम्बिनी बौद्ध विश्वविद्यालयका जेनरल सब्जेक्टस्का विद्यार्थीले आफ्नो विषयमा दक्षता हासिल गर्नुका साथै आधिकारिक रूपमै आधारभूत बौद्ध अध्ययनको ज्ञान हासिल गर्ने छन् । उनीहरूले निर्धक्क शिर ठाडो पारी गौरवका साथ केही घन्टासम्म बुद्ध, बौद्ध दर्शन, साहित्य, संस्कृति, इतिहास, विश्व शान्तिमा बौद्ध दर्शनको योगदान आदिबारे सन्देश सम्प्रेषण गर्न सक्नेमा विश्वस्त हुन सकिन्छ ।

–उपकुलपति, लुम्बिनी बौद्घ विश्वविद्यालय

प्रकाशित: १५ मंसिर २०७३ ०३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App