७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

खुकुरी, सार्वभौमिकता र नेपाल

खुकुरीलाई रक्षा गर्ने हतियारमा लिइन्छ । त्यसैले नेपालीको राष्ट्रिय हतियार भएको हो । नेपालमा बच्चा जन्मेपछि भूतप्रेतबाट बचाउन बच्चाको सिरानीमुनि राखिन्छ, विवाह–ब्रतवन्धमा कम्मरमा भिरिन्छ, घर–गोठालो भिर–पाखा घर गोठ जता जाँदा पनि यसले आलु काट्नेदेखि ज्यान बचाउनुपर्दा गर्धन नै काट्ने पनि काम गर्छ । अनि घर, परदेश र देशको रक्षाका लागि पनि यसले अमूल्य काम गरिसकेको छ । राई, लिम्बु, गुरुङ, मगर, क्षत्री, धनी गरिब सबैको प्यारो छ ।

नेपालका प्राज्ञ–विज्ञहरुले खुकुरीको बारेमा एक पाना नलेखे तापनि धेरै जना विदेशीले यसको बारेमा हजारौं पाना लेखेका छन् । तर यसमा खिया प¥यो भने भुत्ते हुन्छ, काम लाग्दैन । सान लगाइराख्यो भने परेका बेला मलाई, तपाईँलाई र देशलाई समेत बचाउँछ । नेपालीलाई संसारभर वीर भनेर चिनाउने गहना पनि खुकुरी नै हो । घरमा मासु काट्न र किला खाँबो काट्न प्रयोग हुँदै रहे तापनि देशको रक्षा गर्ने काममा भने यसलाई बिर्सिएको धेरै भएको छ । अब नेपालीको घरघरमा सान लगाइएको खुकुरी राख्नु जरुरी छ किनभनेः

सिधै भन्नुपर्दा दक्षिण एसियाको दुःख भनेकै भारत हो । नेपाली हामी वीरका सन्तान हौं तर सरमका साथ हामीले विदेशी दासत्व स्वीकारेका छौं ।

१)    नेपाल भन्ने देश अब नक्सामा मात्र देखिने र भित्तामा झुण्डिने भइसकेको छ । यो देशको राजनीति, सुरक्षा नीति र परराष्ट्र नीति भारतीय झण्डाभत्र गुट्मुटिँदै छ । यहाँको साधनस्रोत उसैको पकडमा जाँदैछ । उतैतिरबाट महिनावारी बुझ्ने केही विज्ञ, प्राज्ञ, मन्त्री, सांसद, नेता, अभिनेता, कर्मचारीहरुकै मिलेमतोमा भारतमय नेपाल बनाइँदैछ । सबैभन्दा ठूलो काम अहिलेको पुष्पकमल दाहाल नेतृत्वको सरकार (नेपाली कांग्रेससमेत)ले गर्दैछ । त्यो हो– नेपालको नागरिकता पाएको कुनै पनि नागरिक १० वर्षपछि नेपालको राष्ट्रपति, प्रधान मन्त्री, प्रधान सेनापति, प्रधान न्यायाधीशलगायत सबै पदमा पुग्न पाउनेछन् । घुमाउरों पारामा भारतीयलाई नेपाल सुम्पने खेल हो यो । सक्ने भए यी नेता भनाउदाले नेपाललाई सिधै भेटी चढाउँथे भारतीय प्रभुको चरणमा । लाज जोगाउन मात्र यिनीहरु विभिन्न घुमाउरा बहाना बनाउँदैछन् ।

किनकि हामीले लाज र डर नमानी सिधै भन्नुपर्छ– नेपाली कांग्रेसको जन्मथलो र पालनपोषण पनि उतैबाट भएको थियो भने तत्कालीन माओवादी पार्टीलाई भरणपोषण र पेन्सन पनि उतैबाट भएकै हो । साउथ ब्लक, रअ र एसडी मुनीवादको टाङमुनि छिरेको यो पार्टीले भारतीय झण्डालाई नेपाली राष्ट्रिय झण्डा, हिन्दीलाई नेपाली राष्ट्रिय भाषा र दौरा–सुरुवाल–कोटको सट्टा भारतीय पोशाकलाई नेपाली राष्ट्रिय पोशाक बनाए भने आश्चर्य हुने छैन । अनि उताबाट भनेको नमान्ने हो भने यो पार्टीका अरबपतिहरुलाई उतैबाट कि ‘अकुत सम्पत्ति र भ्रष्टाचार’ कि त ‘मानव अधिकार हनन गरेको भनी हेग’ देखाएर थर्काइनेछ । उखान नै छ– ‘सित्तैमा गाई दान दिने मालिकलाई जाबो गोबर किन नदिने ?’ अहिले नेपाल भन्ने देश ‘जाबो गोबर’ बनेको छ । अनि भारतीय प्रभुलाई नजराना चढाइँदैछ ।

२)    सबैभन्दा संगीन कुरो नेपालमा रहेका ८० प्रतिशतभन्दा बढी जनतालाई माइनोरिटी (न्यून संख्या) मा पारेर उनीहरुको भावना कुल्चेर करिब १ प्रतिशत क्रिस्चियनहरुको स्वार्थमा देशको संविधान बनेको छ । यो जतिको महाभूल कुनै भएकै छैन । जुन देशमा न्यून संख्यामा रहेको समूहले अधिकतम संख्यामा रहेका समूहमाथि जबर्जस्ती शासन लाद्न खोज्छ त्यहाँ द्वन्द्व अवश्यम्भावी हुनेछ । काला डलर र युरो कमाउने हाम्रा केही प्राज्ञ, विज्ञ, न्यायमूर्ति, सांसद, मन्त्री । कर्मचारीले गरेको जबर्जस्तीबाट नेपाललाई खाल्टोमा हालिंँदैछ । नेपालको माटोको माया गर्नेहरुले होसियार हुने दिन सकिनै लागेको छ ।

३)    तिनै काला डलर र युरो दिनेहरुको लहैलहैमा लागेकाहरुकै नेपालले नमागेको संघीयता थोपरेर अब हामी नेपालीबीच काटामार मच्चाइँदैछ । भ्रष्टाचार गर्ने र खरबपति हुने नेताजी र कर्मचारीको धन तायदात गरेर विकासमा लगाउनुपर्छ । यति सानो नेपालमा त्यति धेरै संघीयता कसरी धान्ने ? अनि कुन भूगोललाई चिरेर कता लग्ने ? के हालको राजनीतिक भूगोल चिर्न सक्ने ताकत अहिलेका नेताहरुमा छ ?

४)    सबैभन्दा खतरनाक कुरो भनेको भारतीय ग्रायन्ड डिजाइनमा नेपालको तराई खण्डलाई टुक्रयाएर सिंगो पाकिस्तानलाई फुटाई बंगलादेश बनाएझैं आफ्नै तराई क्षेत्र मित्र राष्ट्र बन्दैछ । पुराना तराईबासीलाई लात मारेर नेपालीमाथि घात गराउन र नेपाल फुटाउन उतैबात ५÷७ जनालाई नवनेपाली नेता बनाई ‘एक मधेस एक प्रदेश’को माग गराइएको छ । अब त वर्तमान सरकारले १० वर्षे नागरिक बनेका उताका सबैलाई संवैधानिक नियुक्ति दिने बाटो खुलाई एक मधेस एक प्रदेशमात्र होइन ‘सिंगो नेपाल भारत क हाल’ भनिनेछ । अब नेपालीले एक दशकमात्र कुरे पुग्नेछ । परापूर्व कालदेखि तराईमा बस्ने सिंगो नेपालप्रेमी सबैले यस्ता नवनेपालीलाई समयमै तह लगाउनुपर्छ । तराई भूमि तपाईँहरुको हो अनिमात्र सिंगो नेपालीको हो ।

५)    अर्को संगीन पक्ष के हो भने भारतले सबै छिमेकी देश (भुटानबाहेक) सँग स्थायी सीमा बनाएको छ । तर सन १९५० को सन्धिको हवाला दिँदै नेपाललाई यो कुरो बोल्न पनि दिंँदैन । हरेक वर्ष नेपालको हजारौं विगाहा जमिन जबर्जस्ती मिचेको छ भने हजारौं भारतीयलाई नेपाली नागरिक बनाएको छ । अन्तर्राष्ट्रिय मान्यताअनुसार नेपाल र भारतबीच खुला सिमाना रहनुहुँदैन । लाजमर्दो कुरो त के हो भने नेपाल सरकारमा भएका नेपाल आमाका कुपुत्र तथा भारतीय दलालहरुले भारतीय राजदूताबासलाई नेपालीको एकता भाँड्ने काममा लगाउन पाउनेसमेत गरी सुरुमा ३ करोड र पछि पाँच करोड रुपियाँको खेलो गर्ने छुट दिइयो । त्यो राष्ट्रघाती काम थियो । अर्को कुरो नभएको हल्ला पिटाउनेहरुले विवादमा रहेको सीमा क्षेत्र कालापानीमा राजा महेन्द्रले भारतीय सेना राख्न दिए भनिन्छ । तर श्री ५ राजाहरु हटेपछि नेपालमा बनेका नवराजाहरुले वीरगन्ज र विराटनगरमा भारतीयहरुले कब्जा जमाएका थप कालापानी खडा गराइएका छन् । अनि भारतीय पेन्सन बाँड्ने केन्द्रको नाममा नेपाल अधिराज्यभरी उतैको जासुसी केन्द्र खडा गरिएका छन् । अनि नेपालका सुरक्षाकर्मीहरु रमिते बनेका छन् । नेपालमा धार्मिक, जातीय, क्षेत्रीय द्वन्द्व हुने खतरा देखिन्छ भने नेपालको भूमि छिमेकीले हडप्छ भने, देशभित्र अनाधिकार तरिकाले विदेशीले अखडा जमाउँछन् भने अनि नेपालको खुलेआम गुप्तचरी (ओभर्टली इस्पायोनज) हुन्छ भने तिनका पालनपोषण गर्ने कुनै नेता, मन्त्री, प्राज्ञ, विज्ञ तथा कर्मचारीलाई नम्रता तथा कठोेरता (स्विट एन्ड सावर) तरिकाले खबरदारी गराउनैपर्छ । यो देशको नूनको भार हो । अन्यथा, पाप लाग्नेछ, तपाईँ कर्मचारीहरुलाई ।

६)    प्रष्ट पार्नुपर्ने अर्को कुरो के हो भने आतंक भनेको गोली र बन्दुकले मान्छे मार्नुमात्र होइन । हजारौं घटना त्यसभित्र पर्छन् र तीमध्ये नाकावन्दी पनि हो । गोली, बन्दुक, बमले गरेको आतंकवादले छानिएका व्यक्ति र संरचनाको क्षति हुन्छ भने नाकाबन्दी आतंकवादले जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले हानेको न्युक्लियर बलले जस्तै सोलोडोलो निर्दोष जनता पनि मार्छ । त्यस्तै आतंकवाद भारतले पटकपटक गरेको छ, नेपालविरुद्व । नाकावन्दी भनेको ठूलो अपराध हो । अहिले आएर पाकिस्तानलाई मात्र आतंकवादको खानी भन्ने भारतले पटकपटक नेपालविरुद्व नाकाबन्दी जस्तो घातक आतंक थोपर्ने कामप्रति पश्चाताप लाग्नैपर्ने हो । अर्को शब्दमा भन्नुपर्दा नेपाललाई भारतले कहिल्यै पनि एउटा स्वतन्त्र राष्ट्रका रूपमा लिएकै छैन र लिने छैन पनि । यो समस्या भारतको सबै छिमेकीसँग छ नै । सिधै भन्नुपर्दा दक्षिण एसियाको दुःख भनेकै भारत हो । नेपाली हामी वीरका सन्तान हौं तर सरमका साथ हामीले विदेशी दासत्व स्वीकारेका छौं ।

७)    अन्त्यमा, नेपालको अस्थिरताले छिमेकीलाई पनि असर पार्छ नै । नेपालको राजनीतिलाई सधैँ आधा गाग्री पानी जस्तै छचल्कने गरी हल्लाइराख्ने भारतीय रणनीति घीनलाग्दो छ । किनभने उसले हरेक सत्तालाई फाल्न लगाउने अनि नयाँ सत्तालाई स्थिर हुनै नदिने खेल खेल्छ । जस्तै– वि.सं. २००७ सालको राणा सत्ताविरुद्धको क्रान्तिका भारतीय फौज (सुवासचन्द्र वोसको सेनाबाट जमेका) र हतियार लगाएरै राणा शासन अन्त्य गरियो । उसले भनेको नमान्दा राजा तथा अन्य शक्ति लगाएर बिपी कोइरालाको राजनीति अन्त्य गराई प्रजातन्त्र मासियो, त्यसैताका नेपालमा भारतीय सेनासहित अन्य पदाधिकारी नेपाल पठाई नेपालको राज्य सञ्चालन गरियो । अनि नाकाबन्दीको आतंक गरियो ।

वि.सं. २०४६ सालमा राजनीतिक आतंक मच्चाई व्यवस्था परिवर्तन गराइयो, त्यसको एक दशक नै नपुगी नेपाललाई माओवादी नाम गरेका टाउकेहरुलाई उतै घर ज्वाइँ बनाइ नेपालमा लडाइँ सञ्चालन गर्ने हेडक्वार्टर उतै राखियो, अनि राजसत्ता ढालियो । अनि १२ बुँदे सम्झौता उतै गराई नेपालको राजसंस्था फालियो, ८५ प्रतिशत नेपालीले मानेको हिन्दु धर्ममाथि एक प्रतिशत क्रिस्चियन डलरवादीको धर्म फस्टाउने नीति नियम बनाइयो, हिन्दु राष्ट्र हटाइयो, हरेक प्रधान मन्त्रीको कार्यकाल १ वर्ष कट्न नदिने खेलाडी बढाइयो, अब बनेको संविधानलाई कार्यान्वयन हुन नदिएर अझै राजनीतिक अस्थिरता बढाई अर्कै तन्त्र ल्याउने खेल खेलाउँदैछ, हाम्रो मित्र राष्ट्रले ।

दुःखसाथ भन्नुपर्छ– वि.सं. २००७ सालबाट मात्र औपचारिक नेपाल–भारत सम्बन्ध सुरु भएको हो । यो ६६ वर्षे सम्बन्धमा भारतबाट नेपालले ६०० वर्षको नर्कबाससरह दुःख भोगेको छ । जति खर्ब सहयोग गरे पनि नेपालीलाई कहिलै स्वतन्त्र देश र जाति नठान्ने हेपाहा पाराले गर्दा त्यो सहयोग श्रापजस्तै भएको छ । हरेक क्षण नेपाल र भारतको विशेष भनिएको सम्बन्ध माछा र बकुल्लाको जस्तै बनेको छ । यो नेपालको रक्षा गर्न हामी तराई, पहाड र हिमालका नेपाली एक भएर फेरि एक पटक कम्मरमा खुकुरी भिर्नुपर्ने दिन आएको छ । आइलाग्नेमाथि जाइलागी म, तपाईँ, हामी अनि देश बचाउनैपर्छ । हामी वीरका सन्तान वीर नै रहेका छौ, रहने छौँ ।

प्रकाशित: ८ मंसिर २०७३ ०६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App