१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

भारुमा परिवर्तन र मान्यतामा लागेको चोट

 आजको दुनियामा सत्य जे भए पनि यथार्थता यही हो कि पैसाको कुनै विकल्प छैन् । हाम्रो दैनिकीमा घरको दाल, चामल, तरकारी, दूध, तेलदेखि लिएर हरेक सामान किन्न, केटाकेटीको विद्यालय शुल्क, कापी किताब, औषधोपचार, सञ्चार, यातायात सबै काम पैसाबिना गर्नै सकिन्न । हाम्रो विनिमयको साधन पैसा रहेको अवस्थामा खुसी र सुख विनिमय गर्ने माध्यम पनि पैसा नै भएको छ । प्रशस्त पैसा कमाएको व्यक्ति नै जीवनमा सुखी, खुसी र धनी हुन सक्छ भन्ने मान्यता छ ।

बाहिरबाट हेर्दा त्यही देखिन्छ पनि । सुन्दा र बुझ्दा सामान्य लाग्ने कुरा भए पनि हाम्रो मापन त त्यही नै हो पैसा । जसले प्रशस्त पैसा खर्च गरेर बंगला, गाडी, आधुनिक कपडा खरिद गर्न सकेको छ, जसले छोराछोरीलाई महँगो विद्यालयमा धेरै शुल्क तिरेर पढाएको छ, त्यही धनी र सुखी हो समाजले देख्ने । आज जो जो जहाँ जे जति संघर्ष र कर्म गरिरहेका छन्, सबै भन्छन्– पैसा कमाउनका लागि गरेको । किनकि पैसा छ जीवन छ, पैसा छैन जीवन छैन । समाजको मान्यताले हामीलाई त्यहाँ पु¥याइदिएको छ ।

तर गहिराइमा जीवन बुझ्ने हो भने मानिसको जीवन साक्षीको जीवन हो । वर्तमानलाई साक्षीपूर्वक हेर्दै, अनुभव गर्दै, कर्ममा अगाडि बढ्दै र आफ्नो दायित्व निर्वाह गर्दै जिउनु नै जीवन हो । किनभने यो अनुभव, संघर्ष, वर्तमान अनि आफू हुनु र छुको बोधसहित जिउनु नै जीवन हो । यो साक्षी, जीवित बोधले विश्राम लिएपछि हाम्रो जीवन पनि समाप्त हुन्छ ।

पृथ्वीमा पाइला राख्यौं, सृष्टि चलाउँदै गयौं, अनुभव बटुल्दै गयौं ,जाँदै छौँं र यही जीवन यात्रामा वर्तमानको बोधसहित जीवनलाई हेर्नु र सँगसँगै जीउनु नै जीवनको परिभाषा हो सायद । तर कहिलेकाहीँ विगतका अनुभव र घटना, भविष्यका चिन्ता र सपनामा वर्तमानमा आफू हुनु र छुको बोध नै हुन दिदैनौं हामी । बेहोसीमै जीवन बिताइरहेका हुन्छौं । यसको पछाडि हाम्रा विभिन्न मान्यता छन् । जीवनमा धन, पद, मानमर्यादा, सम्मान आर्जन गरेर समाजलाई देखाउनुपरेको छ अन्यथा हाम्रो परिचयलाई सम्पन्नताको आधार दिने र मानिदिने मान्यता अरु छैनन् ।

आज हामीले आफ्नै जीवनमा यति धेरै कष्ट र संघर्ष किन गरिरहेका छौँं भनेर प्रश्न ग¥र्यौं भने पनि जवाफ उही आउँछ– समाजको मान्यता छ परिचय बनाउने कि धनले कि पदले । त्यसकै लागि अनेक बहाना गर्दै अनेक कष्ट र संघर्ष गरिरहेछौं । बेला मौकामा बचाउन पनि खोज्छौं । सुख, शान्ति र आनन्दित जीवन बिताउनका लागि संघर्ष गरिरहेछौं भन्ने अभिव्यक्ति दिएर आफैँले आफैलाई बचाउने यो एउटा बहानामात्र हो ।

किनभने खुसी हुन आशा, उमंग र धार्मिकताले भरिभराउ हृदय चाहिन्छ । कुनै सामाजिक मान्यताले काम गर्दैन किनकि त्यो मान्यता बनाइएको मान्यता हो जुन कालान्तरमा परिवर्तन पनि हुन सक्छ । जुन कुरा बनाइएको छ, त्यो परिवर्तन हुन र हराउन सक्छ, त्यो आश्चर्यको विषय होइन बरु मान्यतालाई सत्यता र यथार्थताको हिसाबले नलिई पछ्याउनु हाम्रो बेहोसी र कमजोरीपन हो । पैसा धेरै भए धनीको संज्ञा पाइन्छ र धनी भनेर परिचित भइन्छ भन्ने कुरामा मान्यताबाहेक सत्यता छैन किनभने आज संसारमा मनग्य  पैसा भएर खुसी नहुने धेरै मानिस छन् जुन परिचयले सुख दिँदैंन, खुसी राख्दैन भने त्यो परिचयको के काम ?

अहिले बजारमा, समाजमा, नेपालमा र भारतमा चारैतिर पाँच सय र एक हजार दरका भारुमाथि प्रतिबन्ध लगाउने भारत सरकारको घोषणापछि नेपालका व्यावसायिक प्रतिष्ठानमात्र नभएर घरमै भारु सञ्चय गरेर राख्ने व्यक्तिहरुलाई समेत ठूलो प्रभाव पारेको छ । नेपालले भारु नोट सटहीका लागि कूटनीतिक पहल थालेको छ । एक हिसाबमा भन्ने हो भने त्यसले चिन्ताको विषय बनाइदिएको छ । नगद जुन सञ्चय गरेर राखिन्छ त्यसमै आफ्नो सुरक्षाको कसी बनाएका हुन्छन् किनभने अहिले सबैलाई लाग्छ, पैसा भए सबै कुरा हुन्छ । हुन पनि हो पैसाबिना बिहान उठेदेखि बेलुकासम्म कुनै काम नै बन्दैन । त्यही पैसा (भारु) अब बजारमा चल्दैन भनेपछि चिन्ता लाग्नु स्वाभाविक पनि हो किनभने हाम्रो मान्यता नै नगद सञ्चय गरेर राखेमा आपद्विपद्मा काम चलाउन पाइन्छ । नगद नै सबै समस्याको समाधान हो भन्ने मान्यता हामीले राखेका छौंँ ।

सद्गुरु ओशोले कैयौं वर्षपहिले प्रवचनका क्रममा भन्नुभएको थियो– ‘तिमीहरु जेलाई पैसा भनेर काम चलाउँदै र यही नै प्रतिष्ठा र धनीको परिचय बनाएर आएका छौँ त्यो केवल एक मान्यता हो, कुनै दिन सरकार परिवर्तन भयो र रातारात फलानो नोट चल्दैन भनेर घोषणा गरिदिएमा तिमीहरु के गर्छौ ? मान्यता बनाएको हो भने त्यो परिवर्तन गर्न कतिबेर लाग्छ र ? कागजकै टुक्रामा कुनै चित्र अंकित गरेर, कसैको हस्ताक्षर गरेर पैसा बनाइयो र त्यो काम र व्यवहारमा ल्याइयो, त्यही मान्यताले निरन्तरता पायो, कुनै दिन त्यो मान्यता बदलियो भने त्यो नोट कौडी बराबर हुनेछ ।

समाजमा बनेका यस्ता धेरै मान्यता छन् जसलाई हामीले मान्दै आएका छौं, तिमीहरु यी समाजका मान्यताबाट थोरै माथि उठेर हे¥यौ भने धनी बन्न र भन्न लायक धेरै कुरा छन् जसले वास्तवमै सुखी र आनन्दित पनि बनाउँछ जीवनलाई । तिमीले बाहिर देखिने र प्रयोगमा ल्याउने नोटलाई नै धन भनेर परिभाषा नगर, एकदिन त्यो परिभाषा परिवर्तन हँुदा नदेखिने धनको उपभोग गर्नबाट वञ्चित हौला ।’ आज ५०० र १००० का भारुमा लागेको प्रतिबन्धले यही कुरा प्रष्ट्याएको छ । सन्तहरुले, बुद्ध पुरुषहरुले बोलेका वाणी कैयौं वर्षपछि भए पनि सार्थक हुनेछ भनेको यही होला शायद ।

समुद्रको गहिराईमा मात्र मोती भेटिन्छ भनेजस्तै जीवनलाई जीवनकै रूपमा अनुभूति गर्न पनि गहिराइमै डुब्नुपर्छ । पैसाले गरेको विकासका नयाँ र चमत्कारी प्रयोगसँग पनि प्रकृति र संस्कृति जोड्न नसक्ने हो भने मान्छे रमाउन सक्दैन भने त्यस्तो विकास र सुखको के महत्व ? सुखी र आनन्दित हुन पैसाले मात्र होइन, मानिस र भौतिक जगतबीचको संस्कृति र ज्ञानको पुलले मात्र सुख र आनन्दको मार्गमा लग्छ । आर्थिक सम्पन्नता विकासको एउटा मापन भए पनि पारिवारिक र सामाजिक सुख महत्वपूर्ण पक्ष हुन आउँछ ।

आर्थिक सम्पन्नताले सामाजिक, राजनीतिक, धार्मिक, आध्यात्मिक, शैक्षिक सबै क्षेत्रमा सुखको अनुभूति दिलाउन सके त्यो सम्पन्नता वास्तविक सम्पन्नता बन्नेछ । अन्यथा चरम आर्थिक विकासको साक्षी बसेका राष्ट्रका मानिस पनि बाहिर रोबोट जसरी जीवन बिताएका र भित्र खोक्रो र अशान्त भेटिन्छन् । मानिस मुख र पेटमात्र भएको प्राणी अवश्य होइन । नयाँ चुनौती खोज्ने मन, आत्मीयता र आफ्नोपन खोज्ने हृदय र शान्ति एवं आनन्द खोज्ने आत्मा पनि यही मानिसको अभिन्न अंग हो । आर्थिक विकास एउटा अनिवार्य पक्ष हो तर त्यतिले मात्र पुग्दैन । विकासको कुनै पनि योजना बनाउँदा मनुष्यलाई पूरै चिन्ने र उसका आवश्यकता बुझेर सही प्रकारले सम्बोधन गर्न सक्ने नयाँ प्रकारको खोज आजको मानिसलाई चाहिएको छ । अन्यथा नोट र भोटमा सम्पन्नता देख्ने मानिसलाई यसरी बेलामौकामा हुने मान्यता परिवर्तनले ज्यादै नै चोट पु¥याउनेछ ।

 

प्रकाशित: १ मंसिर २०७३ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App