१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

जिम्मेवारी बोध बढेको छ

मैले गिरिजाबाबुलाई पहिलोचोटि भेटेको २०२४ सालमा हो। उहाँ त्यतिखेर नख्खु जेल हुनुहुन्थ्यो। हामी विद्यार्थी थियौं। हामीलाई प्रहरीले समात्यो र नख्खु जेलमै लगेर राख्यो। त्यस्तै ४/५ महिना रह्यौं हामी त्यहाँ। त्यसैबेला मेरो गिरिजाबाबुसँग भेट भयो। जेलमा हाम्रो कुराकानी हुन्थ्यो। पछि उहाँ छुट्नुभयो। बिपी कोइराला पनि छुटेपछि उहाँहरू भारत निर्वासनमा जानुभयो। हामी नेपालभित्रै थियौं। बीचबीचमा बिपीलाई भेट्न भारत जान्थ्यौं। त्यसबेला गिरिजाबाबुसँग पनि भेट हुन्थ्यो। उहाँ हामीलाई पूरा सहयोग गर्नुहुन्थ्यो। युवाहरूलाई बढी प्रोत्साहित गर्नुहुन्थ्यो।

२०३६ सालमा जनमत संग्रहको मतदान हुनु केही दिनअघि उहाँ नेपाल फर्कनुभयो। आममाफी पाएपछि मात्र उहाँहरू नेपाल आउनुभएको हो। जनमत संग्रह र त्यसपछिका दिनमा उहाँसग मेरो बढी काम पर्न थाल्यो। बिपीको निधनपछि त उहाँसँगै धेरै काम हुन्थ्यो। उहाँ देशभरि घुम्नुहुन्थ्यो। हामी पनि सँगै जान्थ्यौं। त्यसैक्रममा कावासोती नजिकको अघौली भन्ने ठाउँमा हामी एकजना चौधरीको घरमा बसेका थियौं। प्रहरीको आक्रमण भयो। प्रहरीले हामीलाई बेस्सरी पिटे। त्यसपछि रुपन्देहीको सुरजपुरामा पनि हामी सँगै थियौं। त्यसबेला प्रहरीको कुटाइबाट लागेको घाउको दाग अझै छ। आन्दोलनमा हामी युवाहरू गिरिजाबाबुसँगै हिँड्न रुचाउँथ्यौं।

२०४६ सालको जनआन्दोलनपछि देशमा राजनीतिक परिवर्तन भयो। कांग्रेसले आमनिर्वाचनमा बहुमत ल्यायो। उहाँले सरकारको नेतृत्व गर्ने जिम्मेवारी लिनुभयो। मलाई गृहमन्त्रीको महŒवपूर्ण जिम्मेवारी सुम्पनुभयो। लामो समय सँगै काम गरेकाले उहाँ मेरा बारेमा राम्ररी परिचित हुनुहुन्थ्यो। २०५१ सालपछि म कांग्रेस संसदीय दलको नेता बनेँ। त्यसमा मैले गिरिजाबाबुको ठूलो सहयोग पाएँ। एमाले अल्पमतको सरकार ढलेपछि गिरिजाबाबुले नै मलाई प्रधानमन्त्री बन्न भन्नुभएको हो। संयुक्त सरकारको प्रधानमन्त्री बन्ने उहाँको रुचि थिएन। त्यतिखेर पनि उहाँले मलाई निकै सहयोग गर्नुभयो।

मेरो राजनीतिक व्यक्तित्व विकास गर्न, मलाई राजनीतिमा अघि बढाउन गिरिजाबाबुको ठूलो योगदान छ, त्यसमा दुईमत छैन। पछि उहाँसँग मेरो खटपट पनि भयो, जुन सबैलाई थाहै छ। मैले बेग्लै पार्टी खोलेँ। यो विवाद र विभाजनको कुरामा अहिले म जान चाहन्नँ। गिरिजाबाबुबारे भन्नुपर्दा उहाँ सिद्धान्तमा कसैसँग सम्झौता नगर्ने, कसैसँग नदब्ने, आफ्नो अडान नछोड्ने र कहिल्यै नथाक्ने मानिस हुनुहुन्थ्यो। यिनै विशेषताले उहाँ नेता हुनुभएको हो। म उहाँबाट धेरै प्रभावित छु।

अहिले त के देखिन्छ भने उहाँका कटु आलोचकहरू पनि उहाँ नभए के होला भन्ने चिन्ता गरिरहेका छन्। यसबाट देखिन्छ, विरोधीहरूले पनि उहाँबाट धेरै आस गरेका रहेछन्। उहाँको सबभन्दा ठूलो योगदान नेपालमा गणतन्त्र स्थापना गर्न रह्यो। वास्तवमा राजाहरूले कांग्रेसलाई धेरै दुःख दिए। ०७ सालदेखि नै हामीले राजाहरूलाई च्याप्दै आयौं। दिल्लीबाट ल्यायौं। तर राजाहरूले बारम्बार हामीलाई दुःख दिइरहे। राजाहरू कांग्रेस र प्रजातन्त्रविरुद्ध जाइलागे। ३० वर्षसम्म लड्दालड्दा ४६ सालमा प्रजातन्त्र ल्यायौं। त्यो पनि राजाले देखिसहेनन्। राजाले सधैं दुःख दिन्छन, राजतन्त्रको काम छैन भन्ने कुरा आएको त धेरैअघि हो। ४६ पछि राम्रो होला भन्ने ठानेका थियौं। तर, उनीहरू सुधि्रएनन्। मलाई त ४६ सालपछि पनि जेल हाले। म त जुँगाको रेखी पलाउँदादेखि नै जेल परेको मान्छे, बुढो हुन्जेलसम्म जेलमा बस्नुपर्‍यो। राजतन्त्रका कारण नेपालीले प्रशस्त दुःख पाए। भारतमा सन् १९४७ मा बहुदलीय प्रजातन्त्र आएपछि प्रजातान्त्रिक पद्दति बसेको छ। राजनीतिक कारणले कोही जेल जानु पर्देन। त्यहाँ स्वतन्त्रता छ। सबैले आफ्नो पेसा गर्न पाएका छन्। अमेरिका, बेलायत सबैतिर राजनीतिक पद्दति स्थापित भएको छ। त्यहाँ समस्या छैन। हामीकहाँ भने राजाहरूले कहिल्यै लोकतान्त्रिक पद्दति बस्न दिएनन्। त्यसैले, राजालाई राखिराख्यो भने फेरि दुःख दिन्छन्, मौका पाउनासाथ लोकतन्त्र खान्छन् भन्ने चिन्ता थियो। नयाँ पुस्ता राजतन्त्रको पक्षमा छँदै थिएन। यस्तो अवस्थामा कांग्रेसले गणतन्त्रको बाटो लियो। गणतन्त्रमा जानु कांग्रेसको सुरुको कोसिस नभए पनि ऐतिहासिक कारणले राजतन्त्र समापन गर्न कांग्रेस तयार भयो।

गिरिजाबाबुले प्रधानमन्त्रीको हैसियतमा राजतन्त्र अन्त्यको घोषणा गर्नुभयो। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कुरा उहाँले नै गर्नुभएको हो। गिरिजाबाबुले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेबेला म त जेलमै थिएँ। मैले पनि माओवादीसँग कुरा नगरेको होइन। सबैलाई थाहा भएकै हो, माओवादीसँग २०५७ पछि मेरो नेतृत्वको सरकारले वार्ता गरेको थियो। उनीहरूले संविधानसभा मागेका थिए। म प्रधानमन्त्री भए पनि उनीहरूको माग पूरा गर्न सक्ने स्थितिमा थिइनँ। त्यसबेला कांग्रेस पार्टीले संविधानसभा माग गरेको थिएन। राजा पनि संविधानसभा दिन चाहँदैनथे। म कसरी दिनसक्थेँ? यही कारणले मेरो पालामा वार्ता विफल भएको हो। त्यसपछि धेरै कुरा भए। संविधानसभा हाम्रो पनि मुद्दा बन्यो। यद्यपि संविधानसभा हामीले २००७ सालदेखि नै उठाएको मुद्दा हो। हामीले जेनतेन राजासँग सम्झैाता गर्दै आएका थियौं। तर, परिस्थिति यस्तो बन्दै गयो, ण्गिरिजाबाबु नेतृत्वको सरकारले गणतन्त्रको प्रस्ताव संसदमा ल्यायो। माओवादीलाई खुला राजनीतिमा ल्याउने काम पनि गिरिजाबाबुबाटै भएको हो। माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन र गणतन्त्र स्थापना गर्न उहाँको ठूलो योगदान छ।

शान्ति र संविधान उहाँकै परिकल्पना हो। यी दुवै टुंगोमा पुगेका छैनन्। तर मलाई विश्वास छ, गिरिजाबाबुको अभावमा पनि उहाँको परिकल्पना पूरा हुनेछ। मलाई लाग्दैन माओवादी फेरि काटमारमा उत्रनेछन्। उनीहरू फेरि जंगल पस्दैनन् भन्नेमा म विश्वस्त छु। अब हामी सबै मिलेर छिटोभन्दा छिटो शान्ति प्रक्रिया र संविधान निर्माणको काम सक्नुपर्छ। हामी सबै लाग्यौं भने निर्धारित समयभित्र यी दुवै हासिल हुनेछन्। माओवादीबाट शान्ति प्रक्रिया र संविधान निर्माणमा व्यवधान नभएका होइनन्। तर अहिले नकारात्मक कुरा नगरौं। सबै मिलेर अघि बढे शान्ति प्रक्रिया टुंगोमा पुग्छ, संविधान पनि लेखिन्छ।

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन र संविधान निर्माण गर्न सजिलो होस् भनेर उच्चस्तरीय संयन्त्र निर्माण गर्नुभएको पनि गिरिजाबाबुले नै हो। यो संयन्त्र क्रियाशील हुन आवश्यक छ। समस्या छन्, तर सबै पक्ष एकठाउँ बसेर छलफल गर्ने र भेटघाट गर्ने कामको थालनी गिरिजाबाबुबाट भइसकेको छ। यसलाई हामीले निरन्तरता दिँदै निष्कर्षमा पुर्‍याउनुपर्छ। पार्टीहरूबीच भेटघाट र छलफल हुनु राम्रो हो। माओवादी र हामीबीच समस्या छन्, अरू पार्टीबीच पनि समस्या छन् । आपसी छलफलबाटै समस्या समाधान हुन्छन्। संयन्त्रको नेतृत्व कांग्रेसको हुनुपर्छ भन्ने हाम्रो धारणा छ।

गिरिजाबाबुको निधनपछि राष्ट्रिय राजनीति र कांग्रेसमा पनि नेतृत्व रिक्तताको कुरा आउने गरेका छन्। गिरिजाबाबुको अभावमा हामी अझ बढी जिम्मेवार बनेका छौं। बढी चिन्तित भएका छौं। हामी मुलुकको आवश्यकता पूरा गर्न तयार छौं। हामीमा जिम्मेवारीबोध बढेको छ। हिजोसम्म गिरिजाबाबु हुँदै हुनुहुन्छ भन्ने थियो। आज त्यो अवस्था छैन। म आफै बढी जिम्मेवार भएको महसुस गर्दैछु।

गिरिजाबाबु पार्टी सञ्चालनबारे छलफल गर्नुहुन्थ्यो। सरसल्लाह गर्नुहुन्थ्यो। हामीसँग पनि सोध्नुहुन्थ्यो। उहाँले एक्लै निर्णय गर्नुहुन्थ्यो भन्ने होइन। कहिलेकाहीँ मात्र आफै निर्णय गर्नुहुन्थ्यो। जति बाहिर भनिन्छ, त्यो होइन। उहाँ अरूबाट आइडिया लिनुहुन्थ्यो। कहिलेकाहीँ मसँग पनि विचार विमर्स गर्नुहुन्थ्यो। कहिलेकाहीँ म आफै आफ्ना विचार उहाँसमक्ष राख्थेँ। अरूले भनेका कुरालाई महत्व दिनुहुन्थ्यो। पारिवारिक निर्णय गर्नुहुन्थ्यो भन्छन्, त्यो मलाई थाहा छैन।

हाम्रो एकीकरणमा पनि गिरिजाबाबुको अगुवाई महत्वपूर्ण छ। त्यतिखेर राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले एक हुन आग्रह गरिरहेको अवस्था थियो। पार्टी फुटेको अवस्थामा कतिपय कांग्रेसले कुनै समूहको सदस्यता लिएका थिएनन्। कार्यकर्ता र मतदाताहरूले एकीकरण गर्न निकै दबाब दिइरहेका थिए। गिरिजाबाबुको पनि त्यही इच्छा भएकाले हामी मिल्यौं। उहाँ पनि तयार हुनुभयो, म पनि तयार भएँ। उहाँ भन्ने गर्नुहुन्थ्यो, 'म पार्टी नमिलाई र संविधानसभाको निर्वाचन नगराई मर्दिनँ।' मैले सधैं नेता मानेको मान्छे, उहाँको प्रस्ताव स्वीकार्न ग्राहो भएन।

अहिलेको मुख्य चुनौती भनेको हाम्रो पार्टीलाई बलियो बनाउनु हो। अरू पार्टीलाई कम आक्न खोजेको होइन। तर नेपाली कांग्रेसमात्रै हो प्रजातन्त्रवादी पार्टी। प्रजातन्त्रप्रति पूर्ण प्रतिबद्ध, बचनबद्ध, आस्थावान र घोषित आदर्श भएको पार्टी कांग्रेसमात्रै। यसमा विवादै छैन। कांग्रेसले नै प्रजातन्त्रको स्थायित्व दिनसक्छ।

लोकतान्त्रिक पद्दति बसाल्न कांग्रेस मजबुत हुनु आवश्यक छ। यसका लागि सबभन्दा पहिला कांग्रेसलाई लोकतान्त्रिक बनाउनुछ। यसमा हामी निकै पछाडि छौं। हाम्रो पार्टी हेर्दामात्र दोस्रो, तर हाम्रो स्तर निकै तल खस्केको छ। पार्टी यस्तो कमजोर अवस्थामा पुग्नुमा हामी नै जिम्मेवार छौं। गिरिजाबाबु बिरामी हुनुहुन्थ्यो। पार्टी भर्खरभर्खर मिलेको थियो। यस्तोमा गिरिजाबाबुलाई दोष दिएरमात्र हुँदैन। निकै तल खस्केको पार्टीलाई पहिलेको अवस्थामा ल्याउने महत्वपूर्ण अभिभारा अब हामीसामुन्ने छ। शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने जिम्मेवारी हामीमाथि छ।

कांग्रेस पार्टी बलियो र जनतामा लोकप्रिय भएन भने प्रजातन्त्र बलियो हुँदैन। लोकतन्त्रको सृढुढीकरण र स्थायित्वका लागि कांग्रेस मजबुत हुनैपर्छ। बिपीले आफ्नो अन्तिम अवस्थामा तीनजना नेता गणेशमानजी, किसुनजी र गिरिजाबाबुलाई नेतृत्वको प्रतिस्पर्धामा हालिदिनुभएको थियो। उहाँहरूले राम्रो काम गर्नुभयो। उहाँहरू मिलेर ४६ सालको आन्दोलन सफल भयो। पछि उहाँहरूबीच मेलमिलाप भएन। गिरिजाबाबुमा पनि आफ्नो निधनपछि पार्टी कसरी अघि बढ्ला भन्ने चिन्ता थियो। मैले भेटेको बेला पार्टीमा लाग्न भन्नुहुन्थ्यो। अरूलाई पनि त्यस्तै भन्नुहुन्थ्यो होला। अहिले कांग्रेसमा ट्रोइका (देउवा, सुशील कोइराला र रामचन्द्र पौडेल) को कुरो आएको छ। त्यस्तो होइन। सरसल्लाहबाट पार्टी चलाउनुपर्छ। एक्लैले गर्नुपर्छ भन्ने पनि होइन।

हामीलाई यति चाँडै गिरिजाबाबु गई हाल्नुहुन्छ भन्ने लागेको थिएन। कतिचोटि नाजुक अवस्थामा पुगेर पनि उहाँ ठिक हुनुभएको थियो। हामी त्यही विश्वासमा थियौं। उहाँलाई क्यान्सर भएको रहेछ, जुन उहाँ आफैलाई समेत थाहा रहेनछ। हामीलाई थाहा हुने कुरै भएन। आज नागरिक पढेर थाहा पाएँ क्यान्सर भएको। उहाँलाई पनि थाहा भएको भए, यसो गर उसो गर भन्नुहुन्थ्यो होला।
(विश्वमणि पोखरेलसँगको कुराकानीमा आधारित)

प्रकाशित: १० चैत्र २०६६ २१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App