६ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

धार्मिक र सांस्कृतिक पक्ष

सनातन हिन्दु धर्मावलम्बीहरुले वैदिक कालदेखि नै प्राकृतिक देवताहरुको पूजा र आराधना गर्दै आएका छन् । छठ पर्वमा सूर्य भगवानको पूजा गरिन्छ । सृष्टिको आदिकालदेखि नै साक्षत सूर्यको वन्दना गर्ने प्रचलन रहिआएको छ । वैदिक साहित्यमा ‘तमः आसित’ अर्थात सृष्टिको उत्पत्ति हुनुअघि सर्वत्र अन्धकार थियो । हिरण्यको गर्भबाट एउटा दिव्य तेज गोलाकाररूपमा प्रकट भयो । त्यो तेज दिगन्त व्यापनी भएकाले नै ऋग्वेदमा ‘सूर्य आत्मा जगस्तस्युषश्य’ भनिएको छ । यसै प्रभावबाट सम्पूर्ण सम्पूर्ण दिशाको अन्धकार नष्ट भयो । आधुनिक वैज्ञानिकले पनि सूर्यलाई एक अग्निपिण्ड नै मानेको छ ।

सूर्यका अनेकौँ नाम छन् । महाभारतमा १०८, अमरकोषमा ५४ र शतपथ ब्राह्मणमा १२ नामका वर्णन छन् । सूर्यका चार पत्नी संज्ञा, राज्ञी, प्रभा र छायाँको नाम आउँछन् । सूर्य परिवारका अन्य देवता र नवग्रहहरुको उत्पत्ति सूर्यबाट भएको वर्णन पुराणमा छन् । साम्वपुराणका अनुसार सूर्य तेज, प्रकाश र अग्निका उष्माको परस्पर संयोगबाट सूर्य रश्मि उत्पत्ति हुन्छ । जसमा सात रश्मि मुख्य छन् ।

यसै सप्त किरणलाई आधुनिक वैज्ञानिकले सात रंग रातो, हरियो, निलो, पहेलो, सुन्तला, आकाशे र खैरो भनेका छन् । भौगोलिक स्थितिका कारण सूर्यका सातौं किरण गंगा–जमुना मध्यभागमा अत्यधिक समयसम्म उष्णता प्रदान गर्ने भएकाले आध्यत्मिक जन्मभूमि स्थल रहेको छ । त्वचासम्बन्धी रोगको उपचार सातौं रंगबाट हुन्छ । तसर्थ आधुनिक चिकित्सामा पनि सूर्य स्थानको महत्व बन्दै गएको छ । वैदिक कालदेखि आधुनिक कालसम्म ‘सुवति प्रेयति कर्मणि लोकम्’ भन्छन् । सूर्य उपनिषद्मा सूर्यलाई ब्रह्माको साकार रूप, सृष्टि संचालक विराट पुरुषको आँखाबाट उद्भव–‘चक्षे सूर्यो अजायत’ भनिन्छ ।

सूर्य पूजाको परम्परा
अति प्राचीनकालदेखि नै मानव मस्तिष्कलाई सूर्यले जति प्रभावित गरेको छ त्यस्तो अरु कुनै देवताले गरेको छैन । विश्वका सबै धर्मस्थलमा सामान्यरूपबाट प्रकाशलाई ईश्वरको प्रतीक मानेको छ । तसर्थ सबै मन्दिरमा दीप जलाउने गरिन्छ । हाम्रा ऋषिहरु ‘तमसोमा ज्योतिगर्मय’ का वन्दना गरेका छन् । ऋवेद कालदेखि सूर्य उपासना प्रारम्भ भई अनवरतरूपमा अथर्व वेद उपनिषद्, सूर्योपनिषद्, तैतरीय ब्राह्मण रामायण, महाभारत इत्यादी ग्रन्थमा यसको चर्चा पाइन्छ ।

ज्योतिषशास्त्रको उत्पत्तिको मूल कारक योगीहरुको ध्यान केन्द्र सूर्य र त्यससम्बन्धी अनेकौ कथाहरुको वर्णन हिन्दु वाङमयमा भएको छ । कृष्णपुत्र शाम्वमा कुष्ठ निवारण सूर्य शतकका रचनाकार महाकवि मयुरको कुष्ठ रोग निवारण, कथाहरु सूर्यसँग सम्बन्धित छ । सूर्यवंशका उद्भव राजाहरुको उपाधि ‘विक्रम’ मुद्राहरुमा सूर्यचक्रको चिह्न जस्ता कुराले पनि सूर्यको महत्व दर्शाउँछ । सिन्धु घाँटी सभ्यतादेखि नै भारतवर्षमा सूर्य उपासनाको परम्परा छ । यसका अतिरिक्त जापान, चीन, इरान इत्यादि देशरुमा पनि सूर्य पूजा गर्ने चलन थियो । अमेरिकाको कयालि फोर्निया मान्ट पैलिमरीमा अवस्थित हेलमान मन्दिरबाट प्राप्त सूर्य मूर्तिबाट सूर्य पूजाको प्रसार सर्वव्यापी रहेको देखिन्छ ।

मिथिलामा सूर्य उपासना

 मिथिला वैदिक धर्मको सर्वाङ्गीण अभ्युथानका लागि प्रसिद्ध थियो । उपनिषद्कालीन मिथिला विशेषरूपमा आध्यत्मिक चिन्तकको उद्भव भूमि थियो । जसको पोषक राजा जनक याज्ञवल्कय मैत्रेयी, गार्गी अष्यवक्र, सदानन्द आदि थिए । धर्मको स्वरूप निर्णयमा कुनै मतभेद भएमा विद्वान्हरुको खोजी गर्नु आवश्यक थिएन । मिथिलाको व्यवहार देखेर नै निर्णय गर्नुपर्छ भन्ने मान्यता स्थापित भयो । ‘धर्मस्य निर्णयोज्ञेयः मिथिला व्यवहारतः’ भन्ने उक्तिले यसलाई प्रमाणित गर्छ । यसै वैदिक परिवेशमा मिथिलामा सूर्य पूजा प्रारम्भ भएको थियो ।

छठ पर्वको सुरुवात

 छठ पर्वको उत्पत्ति कुन कालमा भयो यसको कुनै ऐतिहासिक प्रमाण उपलब्ध छैन । साथै यसको सम्बन्ध सूर्यसँग कसरी भयो यसमा पनि मतभेद नै छ । पर्व दुई प्रकारका हुन्छ– शास्त्राचार र लोकाचार । छठ पर्वको उत्पत्तिको कारण शास्त्राचारअन्तर्गत प्रत्यक्ष देवता सूर्यको पूजा र उपासना वैदिक कालदेखि नै आइरहेकाले मान्न सकिन्छ । त्यस्तै लोकाचारअन्तर्गत महोत्सवका रूपमा मनाइने प्रथा विकसित भएको मान्न सकिन्छ । यसको महत्वपूर्ण कुरा षष्ठी तिथि हो । जून अपभ्रश भई छठ भएको हो ।

 षष्ठी–छठी–छठ शब्दको यसरी रचना भएको हो । सूर्यसँग षष्ठी तिथिको सम्बन्धको चर्चा ब्रह्मवैवर्त पुराणमा उल्लेख छ । यस पुराणअनुसार प्रकृति देवीले आफूलाई पाँच भागमा विभाजित गरिन्– दुर्गा, राधा, लक्ष्मी, सरस्वती र सावित्री ।

यिनी पूर्ण प्रकृति देवी हुन् । यिनका नै अंश र कलाबाट अनेकौं देवीको उत्पत्ति भयो जस्तो कि मार्कण्डेय पुराणमा भनिएको छ– ‘स्त्रियः समस्ता सकला जगत्सु’ । प्रकृति देवीको एउटा प्रधान अंशलाई देवसेना भनिएको छ, जसलाई श्रेष्ठ मातृका मानिएको छ । यसलाई समस्त शिशुहरुको रक्षिका देवी मानेको छ । प्रकृतिमा छैटो अंश भनेको कारण यसलाई षष्ठी देवी भनेको छ । शिशु रक्षिका भएको हुनाले यस देवीको पूजा विशेषरूपमा हुन्छ । यो बच्चा जन्मेको छेटौं दिन होस् वा कार्तिक शुक्ल पक्षको षष्ठी तिथिको होस् ।
    

 

प्रकाशित: २१ कार्तिक २०७३ ००:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App