निला छाना भएका हरेक घरमा चिटिक्क परेका चार कोठा छन् । ती घर बालमैत्री, अपांगमैत्री, वातावरणमैत्री, भूकम्प प्रतिरोधी, पहिरो प्रतिरोधी छन् । सबै घरमा भित्रै बाथरुम र ट्वाइलेट पनि छ । बस्तीमा एउटा सामुदायिक भवनसहित तीन वटा सार्वजनिक ट्वाइलेट अनि त्यति नै संख्यामा पार्किङस्थलको पनि व्यवस्था गरिएको छ । बालबालिकाका निम्ति पार्क, घरअघिल्तिर बगैँचा, सफा वातावरण– झट्ट हेर्दा कुनै विकसित समाजमा पुगेजस्तो ! यस्तो नमूना घर पाएका हुन् सिन्धुपाल्चोक गिरानचौरका ६५ परिवारले । र, यसलाई साकार पारिदिएका हुन् कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले । यी दुई कलाकारले नेतृत्व गरेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई यतिखेर सबैले सलाम गरेका छन्, प्रशंसा गरेका छन्, जसले सरकारले गर्न नसकेको काम गरेर देखाइदियो । डेढ वर्षअघि गएको भूकम्पले त्यो बस्ती पूरै लडाइदिएको थियो । त्यसपछि अस्थायी टहरामा जीवन गुजार्दै आएका परिवारले सुविधासम्पन्न नयाँ घरमा सर्न पाउनुजस्तो आनन्द अर्को के होला ? बैशाख १२ को भूकम्प र त्यसपछिका अनुकम्पनले सिन्धुपाल्चोक जिल्लालाई बढी प्रभाव पा¥यो । गिरानचौरमा अधिकांश किसान तथा न्यून आय भएका मान्छेको बसोबास छ । तिनले भूकम्पले तहसनहस बनाएको आफ्नो घर पुनःनिर्माण गर्न सक्ने सम्भावनै थिएन । अहिले धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवाइमा ६ लाख १७ हजार खर्चमा बनेको सुविधासम्पन्न घरमा सर्न पाउँदा तिनको खुसीको सीमा छैन । एकीकृत नमूना बस्तीका लागि फाउन्डेसनले ६ करोड १७ लाख एक हजार एक सय रुपैयाँ जनस्तरबाट संकलन गरेको थियो । बस्ती निर्माण गर्न ६५ परिवारबाट दैनिक एक जना, प्रहरी–सशस्त्र प्रहरी तथा सेनाले श्रमदान गरेका थिए । देश–विदेशका सयौँ स्वयंसेवकले खटेर धुर्मुस–सुन्तलीको यस अभियानमा सघाएका थिए ।
सरकारले भूकम्पपीडितलाई जतिसक्यो चाँडो राहत पु¥याउने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन ग¥यो । धेरथोर राजनीति भए पनि त्यस अधिकारसम्पन्न निकायले पूर्णता पाएको पनि महिनौँ भइसकेको छ । तर पनि भूकम्पपीडितको कष्ट कम हुन सकेको छैन । पुनर्निर्माणका लागि भनेर भूकम्पलगत्तै दाता सम्मेलनसमेत आयोजना सरकारले गरिसकेको छ। सम्मेलनमा सहभागी सबैले नेपाललाई सक्दो सहयोग गर्ने बचनबद्धता पनि जनाएकै थिए, केहीले सहयोग दिई पनि सकेका छन् । राष्ट्रिय बजेटमा पनि केही रकमको व्यवस्था गरिएको छ । तर, सरकारले आवश्यक गतिमा न त दातासँग सहयोग लिन सकेको छ न त भूकम्पपीडितलाई आवश्यक राहत दिनै सकेको छ ! सरकारको यही सुस्त कार्यशैलीका कारण भूकम्पपीडितले दुई वटा वर्षा त्रिपालमुनि काटिसकेका छन् । जाडोमा न्यानो लुगा लगाउन हम्मे परिरहेको तिनलाई चाडपर्वको रौनकले छुन सकेको छैन । यति लामो समय बितिसक्दा पनि घर बनाउन आवश्यक रकम उपलब्ध गराउन सरकारले सकिरहेको छैन । पहिलो किस्तावापत् भनेर ५० हजार रुपैयाँ दिएको सरकार त्यसपछि सक्रिय बन्न सकिरहेको छैन । सरकारी ढिलासुस्तीका कारण नक्कली भूकम्पपीडित बढ्न थालेका छन् । वास्तविक पीडितको लगत तयार गर्नै सरकारलाई कठिनाइ पर्न गयो । भूकम्पपीडितकै नाममा थुप्रै गैरसरकारी अन्तर्राष्ट्रिय संस्था नेपाल आए, तिनले प्रभावित क्षेत्रको भ्रमण पनि गरे । तर, पीडितका नाममा आएका रकम कहाँ, कति र कसरी खर्च भयो त्यसको लेखाजोखा छैन । यस्तो गैरजिम्मेवार अवस्था कायम रहेका बखत धुर्मुस–सुन्तलीले जुन साहस देखाए त्यसको जतिसुकै प्रशंसा गरे पनि कम हुन्छ । सरकारले डेढ वर्षमा राम्ररी आरम्भ गर्नै नसकेको कामलाई तिनले ४ महिनामै सम्पन्न गरेर देखाइदिएका छन् ।
धुर्मुस–सुन्तली फाउन्डेसनले तयार गरेको नमूना बस्ती हस्तान्तरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पुगिन् गिरानचौर, कात्तिक १२ गते । उनले पनि हस्तान्तरण समारोहमा बोल्दै पुनर्निर्माण कार्यमा सरकारले ढिलाइ गरेको बताइन् र दुई कलाकार धुर्मुस–सुन्तलीको अभियानको खुलेरै प्रशंसा गरिन् । काम गर्नेको प्रशंसामात्रले राष्ट्रपतिको जिम्मेवारी पूरा भएको मान्न सकिँदैन । उनले सरकारलाई जतिसक्यो चाँडो भूकम्पपीडित क्षेत्रको पुनर्निर्माणका लागि दबाब दिने र निरन्तर काम भए–नभएको निगरानी गर्नु पनि उत्तिकै आवश्यक छ।
प्रकाशित: १९ कार्तिक २०७३ ०४:५२ शुक्रबार