३२ श्रावण २०७७ आइतबार
विचार

तसलिमा, युवा र विचार

दसैँ, तिहार सकिएको छ । हिन्दु चाड भनेर विरोध गर्नेहरू पनि यी अवसरमा उल्लासमय मुडमा देखिन्छन्। राज्यले दिने लामो बिदा र अतिरिक्त तलब प्राप्तिका कारण यस्तो हुनु स्वाभाविक हो । हाम्रा अधिकांश युवाको दसैँ, तिहार भने सिर्जनशील काममा भन्दा मदिरा, मैमत्ता, तुजुक र मारपिटमा बित्ने गरेका छन् । बिना अर्थ र बिना कारण कतिले ज्यानै गुमाएका घटना खबर बनेर आउँछन् त कतिपय प्रसंग खबर बन्नै पाउँदैनन् ।

      युवा शरीरमा बूढो टाउको

  चिनिया साहित्यकार लु सुनले शरीरले युवा र विचार तथा प्रतिबद्धताले थोत्रा मानिसलाई ‘युवा शरीरमा टाँसिएको बूढो टाउको’ भनेका छन् । जापानमा चिकित्साशास्त्र अध्ययन गरिरहँदा एउटा वृत्तचित्रमा चिनियालाई फासी दिइएको घटनामा चिनिया युवाहरू रमिते भइरहेका देखेपछि उनलाई लाग्यो, यी अकर्मण्य मानिस युवा हुनुको अर्थ छैन । यिनै हुन्, युवा शरीरका बूढो टाउका । त्यसपछि नै उनी चिकित्साशास्त्रको अध्ययन छाडेर राजनीतिक तथा सांस्कृतिक आन्दोलनमा होमिएका थिए ।

हाम्रो देशका सर्वसाधारण युवा बिनाअर्थ क्रूरतापूर्वक मारपिटमा संलग्न भएको देख्दा यस्ता प्रवृत्तिको समाजशास्त्रीय खोज र विश्लेषण हुन ढिलो भसकेको महसुस हुन्छ । जब युवाहरू विवेकले भन्दा भिडले सञ्चालित हुन्छन्, तब भन्नैपर्छ, ती युवा हुनुको अर्थ छैन । जब युवाहरू विवेकले म के हुँ भन्दा मेरो पारिवारिक खानदान के हो, मेरा पुर्खा को हुन्, मेरो संलग्नता कति ठूलो शक्तिको स्रोत भएको संस्थामा छ भनेर तुुजुक देखाउँछन्, तब तिनको शरीर र उमेर युवा हुनुको अर्थ हुँदैन । हो, हाम्रा युवा राष्ट्रियताका मामलामा अति चाँडै आन्दोलित हुन्छन् । एक हिसाबले यो राम्रै कुरा हो । तर, कति अर्थमा राष्ट्रियताभन्दा मानवता श्रेष्ठ कुरा हो भन्ने ती महसुस गर्दैनन् । जब पसिना बगाएर नेपालमा कमाइ गरिरहेका अन्य देशका नागरिकमाथि हाम्रा मान्छेले अत्याचार गर्छन् भने हामी स्वतः अन्यायमा परेका व्यक्तिका पक्षमा हुन्छौँ । यस्तै बेला राष्ट्रियताभन्दा मानवता महत्वपूर्ण हुन्छ । हामीकहाँ राष्ट्रियतालाई भौगोलिक र राजनीतिक सीमाका रूपमा मात्र बुझ्नु अर्को भूल भइरहेको छ । बिपी कोइरालाले उबेलै भनेका हुन्, राष्ट्र भनेको भौगोलिक सीमामात्र होइन, जनता पनि हुन् । राष्ट्रिय भूगोलका अतिरिक्त, यहाँका समुदायको आत्मसम्मान, संस्कृति, संवेदना, भाषा, जीवनशैली पनि राष्ट्रियताका अभिन्न अंग हुन् भन्ने बोध गर्न ढिलो भइसक्यो ।

  तसलिमाको अठोट

   युवा हुनुको अर्थ के हो ? बंगलादेशी नारीवादी लेखक तसलिमा नसरिनलाई हेरे हुन्छ । तसलिमा त्यस्ती सुदृढ लेखक हुन् जसले मृत्युकै मूल्यमा विचार र आदर्शमा सम्झौता गरिनन् । गरेकी भए उनको जीवनमा चरम सुखसयल हुन्थ्यो । गाडी, बंगला, छोराछोरी, लोग्नेको माया सबै हुन्थे । अहिले उनीसँग कोही छैन, केही छैन । छ त केवल पाठकको असीम माया । छन् त केवल अभाव, असुरक्षा, थातबासको बेठेगान र कट्टरपन्थी मुसलमानको ‘फतवा’ । तसलिमाले स्त्री स्वाधीनताका पक्षमा निर्भिक भएर कलम चलाइन् । उनको धारदार भाषाले कथित धर्मको जञ्जिरमाथि शक्तिशाली प्रहार ग¥यो । त्यसपछि उनको टाउकाको मूल्य तोकियो । बंगालादेश सरकारले उनको लज्जा, मेरो बाल्यकाल, जंगली हावा, द्विखण्डित, सारा अन्धकार जस्ता किताबमाथि प्रतिबन्ध लगायो र माफी माग्न भन्यो । नमागेपछि देश निकाला ग¥यो । भारतको पश्चिम बंगालबाट पनि उनलाई निर्वासित गरियो । त्यसअघि दिल्ली र कोलकातामा सात महिनासम्म नजरबन्द राखियो । त्यसपछि असुरक्षाको तरबार गर्धनमा झुन्ड्याएर उनी विभिन्न देशमा शरण लिँदै, निकालिँदै भौतारिइरहेकी छन् । कहाँसम्म भने आफ्ना वृद्ध बाबुआमाको अन्तिम अवस्थामा पनि उनी स्वदेश फर्कन पाइनन्।                

केही वर्षअघि भारतीय दैनिक जनसत्तामा उनले एउटा लेख लेखिन् । लेखमा उनले आफूलाई सलमान रुस्दी र एमएफ हुसेनको नामसँग जोडिएकामा आपत्ति जनाइन् । हुन पनि लेखेबापत रुस्दी र उनका नाममा कट्टरपन्थीले फतवा जारी गर्नुबाहेक यी दुईबीच कुनै समानता भेटिन्न । फतवापछि रुस्दीले कट्टरपन्थीसँग माफी मागे र मुसलमान रहिरहने वाचा गरे। तसलिमाले माफी मागिनन् । मुस्लिम परिवारमा हुर्केर पनि आफूलाई नास्तिक घोषणा गरिन् । उँचो शिर बनाएर धर्मको नाममा नारीमाथि हुने अत्याचारविरुद्ध निर्धक्क लेखिरहिन् । स्त्री यौन स्वाधीनताको सवाल उठाएर उनले मुस्लिम कट्टरपन्थी समाजमा ‘बाह्र बजाइदिइन्’ । खासगरी उनका पाँच भागसम्मको आत्मकथा र वैचारिक लेखहरु अत्यन्त प्रभावशाली छन् । ती विचार, आस्था र आत्मस्वीकृतिका अनुपम उदाहरण हुन् । ‘जंगली हावा’मा उनले किशोरवयबारे खुलेर लेखेकी छन् । त्यसमा उनले तीव्र अनुभूति र अत्यन्त प्रभावशाली भाषामा कवि रुद्रसँगको प्रेम, कागजी बिहे, पुरुषसँगको पहिलो संसर्ग, परिवारमा आमाको अत्यन्त दयनीय स्थिति, भिरुंगी सल्केको धोकेवाज प्रेमी रुद्रसँग सम्बन्ध विच्छेद आदिबारे लेखेकी छन् ।

रुस्दी र आफूबीच तुलना हुन नसक्ने तर्क गर्दै जनसत्तामा उनले लेखेकी छन्, ‘इरानले रुस्दीविरुद्ध फतवा जारी ग¥यो तर उनी त्यहाँ कहिल्यै बसेनन् । मैले भने आफ्नै देशमा सरकार र कट्टरपन्थीको अत्याचार लामो समयसम्म एक्लै सामना गरिरहेँ।’ हुन पनि तसलिमाविरुद्ध बंगलादेशमा तीन र भारतमा पाँच फतवा जारी गरियो । सबैमा उनको टाउकाको मूल्य तोकियो । रुस्दीको एउटै किताब प्रतिबन्धित भयो, द सटानिक भर्सेज । तसलिमाको भने पाँच किताबमाथि प्रतिबन्ध लगाइयो । इस्लाम धर्मको निन्दा गरे पनि रुस्दी कुनै धर्म निरपेक्षतावादी आन्दोलनमा सक्रिय भएनन् । तसलिमाको भने ध्येय नै त्यही रह्यो । वृद्ध उमेरका रुस्दी बारम्बार नवयौवनालाई प्रेमजालमा फसाइरहेका छन् । तसलिमा अविचल विचारकै कारण लामो समयदेखि पुरुष साथीबिना जीवन बिताइरहेकी छन् । फेरि पनि पुरुषप्रधान समाजले सदैव विकृत आइमाई भनिरहेको छ ।

भारतीय चित्रकार मकबुल फिदा हुसेनसँग आफ्नो तुलना गरिएकामा पनि उनको अस्वीकृति छ । कतिका दृष्टिमा हुसेन भारतका नम्बर १ चित्रकार हुन् । सरस्वतीको नांगो तस्बिर बनाएर उनले हिन्दु धार्मिकहरुको आस्थामाथि आघात पु¥याएका थिए । ‘उनले सरस्वती र लक्ष्मीका नांगा चित्र बनाए । त्यसैगरी उनी मोहमदलाई नांगा चित्रण गर्न सक्लान् ? पक्का छ सक्दैनन्’, तसलिमाले लेखेकी छन् ।

रुस्दी र हुसेन दुवै आफ्नो तुलनामा महान् स्रष्टा भएको तसलिमाले स्वीकारेकी छन् । ‘दुवैको रचनाप्रति असीम श्रद्धा राख्दै म भन्छु, यी दुईबीच कोष्ठकमा मलाई राख्नु उचित छैन’, भन्छिन्, ‘जसरी बेठेगान, अनिश्चय, असुरक्षा र अभावमा म संघर्ष गरिरहेकी छु, त्यसमा कसैको साथ छ भने ती मेरा आदर्श र विश्वास हुन् । कसैले मेरा यी कुरा देख्दैनन् भने जतिसुकै महान् स्रष्टा भए पनि उनी मेरो विचार र आदर्शसामु केही होइनन्  ।’

असली युवा

युवा हुनुको अर्थ के हो ? आफूले ठीक ठानेको कुरामा बिना सम्झौता लागिपर्ने प्रौढ उमेरका डा. गोविन्द केसीमा हेरे पनि हुन्छ। जनसाधारणमाथि राज्यको अत्याचारविरुद्ध १६ वर्षसम्म आमरण अनशन गरेकी मणिपुरे युवती इरोम शर्मिलाई पनि हेरे हुन्छ । गरिब प्यालेस्टिनीको आवास जोगाउन आफूलाई बलिदान गर्ने अमेरिकी युवती रासेल कोरीलाई हेरे पनि हुन्छ । उमेर र शरीरले होइन, विचार र अठोटले मात्र मान्छेलाई युवा बनाइराख्ने हो ।

प्रकाशित: १९ कार्तिक २०७३ १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App