७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

अस्थिर राजनीतिले अलमल

पश्चिमी वायुको निम्न चापीय तापक्रमका कारण यसपटक पानी पर्न नसकेको मौसमविदहरूको तर्क छ। हिमाली भेगमा पनि हिउ नपर्दा अग्ला चुचुराहरू नाङ्गा देखिन थालेका छन्। यसबाट देशमा धेरै कुराको असर पर्ने कुुरामा शंका छैन। हिउँद महिनाको प्रतिकूूल मौसम जस्तै विगत २ वर्षदेखि नेपाली राजनीतिक मौसम पनि प्रतिकूल वन्दै आएको देखिन्छ। यसो त राजनीतिक विश्लेषकहरू नेपालमा प्रत्येक १०/१० वर्षमा केही न केही परिवर्तन हुदै आएको पनि तर्क गर्छन्। अब जनताले सुुशासन शान्ति र विकासबाहेक अरू थोक चाहेको देखिन्न। लोकतन्त्रमय गणतान्त्रिक शासन प्रणालीबाहेक जनताले अब अरू शासनप्रणाली रूचाएको देखिन्न।

राजनीतिशास्त्रका पण्डित हक्स लक र रुसोले राज्य प्राकृतिकन्यायको सिद्धान्त अनुसार चल्नुपर्छ। प्राकृति भूवनोट इतिहास, संस्कृति र देशको परम्परागत मान्यताका आधारमा राज्य सञ्चालन गर्नु उत्तम शैली हो भनेका छन्। यी मान्यता स्थापित गर्न राज्यको हितचाहने व्यक्ति, समूह र राजनीतिक शक्तिसँग सम्झौता गर्न सकिन्छ पनि भनेर त्यसबेला युरोपका देशहरूलाई राजनीतिक शिक्षा दिलाएका थिए।

अहिले हाम्रो देशमापनि हक्स, लक र रुसोझैँ शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड देखापरेका छन्। यी ३ जना नेताका बीच घुमिरहेछ देशको वर्तमान राजनीति। देउवा, केपी र प्रचण्डबीच विगत २ वर्षदेखि राजनीतिक ध्रुवीकरण कहिले उकालो चढ्छ कहिले ओरालो झर्छ। आ-आफ्ना पार्टीका प्रमुखपात्र यी ३ जना राजनीतिक पण्डितहरू एक ठाउँमा नउभिएसम्म देशको राजनीति अगाडि बढ्न पनि मुस्किल देखिन्छ। लोकतन्त्रको विकल्प लोकतन्त्र भएकोले बिपी कोइरालाको २०३३ सालको मेलमिलापको सिद्धान्तलाई वर्तमान अवस्थामा यी ३ जना नेताले अनुशरण गर्नु उत्तम देखिन्छ। जसरी २०४६ सालको जनक्रान्ति सफल पार्नका लागि तत्कालीन मालेका नेताहरूले पुष्पलालको मार्ग अपानाएर कांग्रेससँग हातेमालो गर्दै त्यसबेलाका सर्वाेच्च कमान्डर गणेशमानको नेतृत्व स्वीकारेका थिए।

हाम्रो देशको राजनीति संस्कृति दक्षिण एसियाली अरू मुलुकको भन्दा भिन्न छ। पाकिस्तानको जस्तो सैन्यबलको डर पनि छैन, बंगलादेशको जस्तो पैतृक परम्पराजस्तो पनि छैन। श्रीलंकाको आर्थिक विपन्नताको राजनीति पनि खेप्नु पर्दैन, मालदिभ्समा झैँ पटक-पटक सैनिक कुको डर हाम्रो मुलुकमा देखिन्न। बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भनेजस्तै नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो।

यो सुन्दर फूलबारीभित्र सबै जातजाति र उनीहरूको धर्म, संस्कृति वेशभूषा अटाएको छ। यी विशिष्ट गुणका कारण २०७२ असोज ३ गते लागु भएको संविधानअनुसार अहिले देशको सर्वाेच्च निकाय संसद्मा हरेक जातजाति वर्ग र समुदायको सुखद उपस्थिति देखापरेको छ। यो नै नेपालको पृथक र हेर्न लायक राजनीतिक संस्कृति हो। यही सुन्दर राजनीतिक संस्कृतिभित्र रही आ-आफ्नो पार्टीको मात्र हित नहेरी समग्र राष्ट्रको भलो हुने मार्गचित्र कोर्नु वर्तमान राजनीतिक दल र गठबन्धन सरकारको प्रथम दायित्व हो।

प्रचण्ड सरकारले पूर्णता नपाउँदै गत १ गते माघे संक्रान्तिका दिन काठमाडौँबाट पोखराका लागि उडेको ६८ र ४ जना चालक दलका सदस्य गरी ७२ जना यात्रु बाकेको यती एयरको जहाज धावनमार्ग नजिक सेती नदीको खोँचमा खस्यो। सबै जनाको निधनमा दशले शोक मनायो।

यसैबीच नागरिकता सम्बन्धी प्रकरणमा सर्वाेच्चको निर्णयले रास्वपा अध्यक्ष एवम् उपप्रधान र गृहमन्त्रीले पदबाट गत माघ १३ गते राजीनामा दिए। सम्मानित सर्वाेच्च अदालतले गरेको फैसलाको पूर्ण विवरण आउन नपाउँदै रविले पुनः नेपालको नागरिकता प्राप्त गरे। एउटा जन्मसिद्ध नागरिकले आफ्नो देशको नागरिकता पाउनु सबैको नैसर्गिक अधिकार पनि हो। पुनः उपप्रधान तथा गृहमन्त्री पद प्राप्तिका लागि उनी शक्तिकेन्द्र पुगे। केही लागेन। अन्ततः स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सामेल सबै सदस्यले सामूहिक राजीनामा दिए। गृहमन्त्री लगायत अरू मन्त्रालय पनि अहिले प्रधानमन्त्री प्रचण्डको मातहत छन्।

यसैबीच पूर्वप्रधानमन्त्री ओलीले गृहमन्त्री रवि लामिछानेले नै किन नपाउने भन्ने तर्कसहित अन्य राजनीतिक दलका बारेमा पनि तीखो व्यङ्ग्य प्रहार गर्दै केही दिन पहिले संसद्मा १ घण्टा लामो भाषण पनि सुनाए। जनताले अब भाषण होइन, मिलेर काम गर भन्ने सन्देशको हेक्का उनले नबुझे जस्तो देखिन्छ। सरकारलाई समर्थन गर्दै आफ्नो पार्टी सरकारमा सामेल नभएकोबारे जानकारी गराउँदै पत्रकारमाझ सो पार्टीका अध्यक्ष रविले टिप्पणी गरे। नरम शैलीका साथ प्रस्तुत भैदिए अझ ओजनदार हुन्थ्यो लामिछानेको व्यक्तित्व भन्ने पंक्ति पनि देखिन्छ समाजमा। उनीपनि सफल पत्रकार भएर नै लोकप्रिय बनेका थिए, केही वर्षपहिले।

यो देशमा व्यवस्था परिवर्तनका लागि र जनताका हक अधिकार स्थापित गर्न नेपाली पत्रकारहरूको दक्षिण एशियाली मुलुकमा नै गरिमामय भूमिका रहेको छ। पञ्चायती व्यवस्थाविरुद्ध ज्यान जोखिममा राखी कलम चलाउने वरिष्ठ पत्रकार होमनाथ दाहाल, किशोर नेपाल, माथवरसिंह बस्न्यात, पुरुषोत्तम दाहाल, हरिहर विरही, रघुजी पन्तलगायतको योगदान कदापि भुल्न हुन्न। २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलन सफल पार्न राजनीतिक पार्टीको भन्दा पत्रकारहरूको भूमिका अहम् थियो। त्यसबेला ७ दलका रूपमा परिचित थिए पत्रकारहरू।

युवराज घिमिरे, नारायण वाग्ले, राजेन्द्र दाहाल, कनकमणि दीक्षित आदि जस्ता कलमजीवी पत्रकारहरू, जसले प्रतिगमन कदमको खरोरूपमा विरोध गरेबापत तत्कालीन सरकारको धम्कीपूर्ण भाषा पनि सुन्नुपरेको थियो। यसैगरी सरकारी मुखपत्र, भएर पनि गोरखापत्रमा कार्यरत पत्रकारले कालोपट्टी मुखमा बाँधी सरकारकै विरोध गरेका थिए भने नेपाल टोलिभिजनका पत्रकारहरूले कालो पट्टी बाँधी समाचारहरू सम्प्रेषण गरेका थिए। लोकतन्त्र रक्षाका लागि कैयौँ पत्रकारको हत्यासमेत गरेका घटना भुलेका छैनन् जनताले।

गठबन्धन सरकार संचालन भएयता इलामका प्रेमप्रसाद आचार्यले संसद् भवनअगाडि आफ्नो शरीरमा आगो लगाए। उपचारका क्रममा उनको निधन भयो। संसदीय शासन प्रणालीमा यो नौलो घटना हो। यो घटनालाई सरकारले र सरकार सञ्चालनमा उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहेका ओलीले कुनरूपमा हेर्नुभएको छ? देशभरका हरेक घटना एकपछि अर्काे देखापरिरहेछन्। हालै चितवनका कृषकले समुचित बजार व्यवस्था नपाउँदा र सरकारको ऋण तिर्न नसक्दा गोलभेँडा, सागसब्जी, सडकमा फ्याँकेर डोजर लगाउन लगाए। सडकमै कुखुराका अण्डा फुटाए, दूूध पोखे। किन भैरहेछ यस्तो? लोकतन्त्रको पक्षमा सपथ खाएका मन्त्रीले संविधान विपरित भाषा प्रयोग गर्नुहुँदैनथ्यो भन्ने आमनागरिकको भनाइ पनि छ।

आगामी फागुन २५ गते सम्पन्न गरिने राष्ट्रपति पदको निर्वाचनलाई प्रत्येक राजनीतिक दलले आ-आफ्नो राजनीतिक प्रभावका रूपमा लिएका छन्। आलंकारिक राष्ट्रपति पदलाई यतिसारो राजनीतिक मुद्दा नबनाउँदा सहज हुने थियो। छिमेकी भारतमा राष्ट्रपति पदलाई राष्ट्रको गरिमासँग जोडेका हुन्छन्। हाम्रो देशमा पार्टीसँग मात्र हेरिन्छ। जानी नसक्नुको विषय यहीँनेर छ। राजनीतिक पार्टीसँग परोक्ष र प्रत्यक्ष सम्बन्धबाहेकको राष्ट्रिय व्यक्तित्वलाई सबैले मिलेर राष्ट्रपति पदमा आसीन गराउँदा धेरैले जय/जयकार गर्नेछन्। अहिलेसम्म राष्ट्रमा जिम्मेवारी नपाएको, राष्ट्रिय भावनाले ओतप्रोत भएको, ज्ञानी र उच्च शिक्षा हासिलगरी कुनै विषयमा विशेषज्ञताको अनुभव संगालेको व्यक्तिलाई सो सम्मानित पदमा पुर्‍याउँदा भोलिको राजनीति निर्मल गंगाझैँ बग्नेछ। यो कार्यकालागि तीनजना नेता, प्रचण्ड, देउवा र ओलीले व्यक्तिगत चाहना र पार्टीका अभिरुचिहरूको तिलाञ्जली दिनु श्रेय ठहरिनेछ। समाजमा योग्य व्यक्तिहरू प्रशस्तै छन् तर राजनीतिक कोटाका कारण ती सबै ओझेलमा छन्। यस्ता योग्य व्यक्तिको खोजी गर्नु, जिम्मेवारी दिनु र समझदारी जुटाउनु वर्तमान प्रधानमन्त्रीको प्रमुख दायित्व हुन आउँछ।

राजनीतिमा व्यक्ति होइन कर्म प्रधान हुन्छ। विगतमा ठूूला राजनीतिक पार्टीका केही केही नेताका अवगुणका कारण अहिले राष्ट्रिय स्वतन्त्र पार्टी र जनता उन्मुक्ति पार्टी लगायतका राजनीतिक दलहरू देखापरेका हुन्। समाजले इमानदार व्यक्ति चाहेको छ। घूसमा डुबेको हाम्रो समाजलाई मुक्ति दिनका लागि दोस्रो मुलुकबाट कुनै देवदूत भित्रने होइन। नेपालमा नै खोज्न सकिन्छ। यसका लागि पाका नेता नारायणमान बिजुक्छे, चित्रबहादुर केसी, महन्थ ठाकुरले आफ्ना अनुभव बाँड्नु जरूरी छ। सो कार्यका लागि राजनीतिक खेलाडी प्रचण्ड, देउवा र ओलीले लोकतान्त्रिक गणतन्त्रमा निश्पक्ष हातहरू मिलाउनु पनि जरुरी देखिन्छ।

केही दिनअघिसम्म सप्तरंगी आकारको नामकरण गरिएको सरकारलाई छोटो अवधिमा नै दाँतमा ढुङ्गा लागेझैँ भएको छ। बाहिरबाट हेर्दा वर्तमान सरकार सञ्चालन गर्न त्यति सजिलो देखिन्न। निकै धैर्य र सहिष्णुता देखाउनुपर्नेछ, सरकार सञ्चालन र देशबासीलाई इमानदार भएर राष्ट्रसेवा गरेको देखाउन। पद प्राप्त गर्नु ठूूलो पौरख होइन। सिंहदरबारका महत्वपूर्ण भित्तामा पञ्चायतकालदेखि वर्तमान समयसम्मका प्रधानमन्त्री र मन्त्रीहरूका तस्बिर नराखिएका होइनन्। ती भित्तामा डा. तुलसी गिरीको तस्बिरपनि झुण्डाइएको छ, कृष्णप्रसाद भट्टराईको र मनमोहन अधिकारीका तस्बिर पनि राखिएको देख्न पाइन्छ। चेतनशील जनताले बुझिसकेका छन्-पदले मात्र प्रतिष्ठा कमाइन्न भन्ने कुरा। प्र.म. प्रचण्डको यो सुनौलो अवसर पनि हो देश विकास गर्ने। चुनौती हो सबै पार्टीलाई मिलाएर कसरी लैजाने भन्ने। हक्स, लक र रुसोको राजनीतिक सिद्धान्त अपनाउँदा देशलाई राजनीतिक फाइदा हुनेछ।

यसैबीच गठबन्धन सरकारलाई दोस्रो धक्का सुदूरपश्चिम प्रदेशबाट लागेको छ। गत पुस २७ गते एमालेबाट मुख्यमन्त्री बन्न सफल राजेन्द्रसिंह रावलले संसद्बाट विश्वासको मत प्राप्त गर्न सकेनन्। एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने थियो तर नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसद उपस्थित नभएर उनले सत्ताबाट बाहिरिनुपर्‍यो। कांग्रेसबाट कमल शाह मुख्यमन्त्री बन्न सफल भएका छन्। सुदूरपश्चिममा कांग्रेस पार्टी गत मंसिर ४ गतेको चुनावमा पहिलो राजनीतिक दल बनेको थियो। 

प्रकाशित: ३ फाल्गुन २०७९ ००:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App