हरेक वर्ष फ्रेब्रुअरी १३ मा विश्व रेडियो दिवस मनाइन्छ। नेपालमा सप्ताहव्यापी कार्यक्रम गरिँदैछ। यस वर्ष रेडियो र शान्ति भन्ने विषयमा केन्द्रित भएर यो दिवस मनाइँदैछ। नेपालका रेडियोले द्वन्द्व रूपान्तरण, मेलमिलाप र समाजमा शान्ति स्थापनाका लागि अहम् भूमिका निर्वाह गर्दै आइरहेका छन्। साथै समाजको विविधता र बहुलतालाई प्रबद्र्घन गर्दै अन्य सञ्चार माध्यमको पहुँच बाहिर रहेका नागरिकलाई निर्वाध रूपमा सूचना, शिक्षा र जानकारी प्रदान गर्ने काम स्थानीय रेडियोले गर्दै आएका छन्।
स्थापनाको ७२ वर्ष पूरा गरेको रेडियो नेपाल र जिल्ला जिल्लामा खुलेका एफएम रेडियोले शान्ति स्थापना र मेलमिलापमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। त्यो भन्दा पनि भाषा र संस्कृति संरक्षणमा ठूलो योगदान पुर्याइरहेका छन्। संयुक्त राष्ट्रसंघको महासभाले अन्तर्राष्ट्रिय आदिवासी भाषा दशकका रूपमा सन् २०२२ देखि २०३२ लाई घोषणा गरेपछि युनेस्कोले भाषा संरक्षणमा नेपालका स्थानीय रूपमा खुलेका एफएम रेडियोले महत्त्वपूर्ण भुमिका खेल्न सक्ने भनेर त्यस्तै कार्यक्रम गरिरहेको छ। भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सञ्चार माध्यमको ठूलो भूमिका हुन्छ। त्यसमा पनि नेपालका सबै जिल्लामा प्रसारण भैरहेका स्थानीय रेडियोले धेरै भूमिका खेल्न सक्छन्।
देशका मूलधारका सञ्चार माध्यमले स्थानीय भाषा, संस्कृति र परम्पराका विषयवस्तुबारे गहिरिएर खोज अनुसन्धान गरेर प्रकाशन र प्रसारण गरेका पाइँदैन। सबै विषय समेट्नुपर्ने मूलधारका सञ्चार माध्ययममा कुनै एक ठाउँको भाषा र संस्कृतिलाई मात्रै प्राथमिकता दिने भन्ने पनि हुँदैन। स्थानीय रेडियोले आदिवासीका सवाललाई बढी भन्दा बढी उठाइरहेका छन् र अझै धेरै प्रभावकारी काम गर्न सक्नेछन्। नेपालका ४५ भन्दा बढी सामुदायिक रेडियोमा आदिवासी जनजातिको नेतृत्व र राम्रो सहभागिता छ भने अन्य समुदायको पनि त्यत्तिकै प्रतिनिधित्व र सहभागिता छ। यसलाई जोगाउने र फस्टाउने काम गर्न आवश्यक छ। सामुदायिक रेडियोले कुनै पनि समुदायको अवस्था, सांस्कृतिक विविधता र उनीहरूको भूमि भूभाग र भूक्षेत्रमा गरिएका परम्परागत अभ्यास, ज्ञानलाई सत्य र संवेदनशील तरिकाले चित्रण गर्दै आएका छन्।
नेपाल विविधताले धनी, भौगोलिक रूपमा तराई, पहाड, हिमाल अनि वातावरणको हिसावले फरक फरक वातावरण भएको देश अनि भाषाको हिसावले १२९ भाषा, त्यो भन्दा बढी जातजाति भएको देश हो। चाडपर्व, संस्कृति, वेषभूषा रहनसहन ठाउँपिच्छे फरक-फरक। यस्तो विविधता भएको देशमा यो विविधताको संरक्षण र प्रचारप्रसारका लागि देशभरका स्थानीय एफएम रेडियोले ठूलो भूमिका खेलिरहेका छन्।
नेपालमा रेडियोको इतिहास सुरु भएदेखि नै रेडियोले भाषालाई प्राथमिकता दिन थालेका पाइन्छ। २० चैत २००७ बाट सिंहदरवारभित्रबाट राष्ट्रिय रेडियो प्रसारण हुन थालेपछि भने भाषाभाषी र संस्कृतिको विषयलाई रेडियोले राम्रोसँग उठाउन थाल्यो। बिस्तारै-बिस्तारै रेडियोमा नेपाली बाहेकका अन्य भाषाभाषीका अगुवाहरूले पनि आफ्नो भाषामा प्रसारण भएको रेडियो कार्यक्रम माग गर्न थाले। तर रेडियो नेपालले सबै भाषालाई समेट्न सकेको थिएन। जब २०५४ सालबाट एफएम रेडियोहरूले प्रसारण अनुमति पाएपछि धेरै भाषाले रेडियोमा स्थान पाउन थाले। अहिले सबै जिल्लामा खुलेका एफएम रेडियोले स्थानीय भाषालाई प्राथमिकता दिन थालेका छन्।
सङ्घीय तहमा भाषा आयोगका साथै अन्य आयोगहरू भाषाको संरक्षण, संवद्र्धन र विकासमा क्रियाशील छन्। नेपाल प्रज्ञा प्रतिष्ठान, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जनजाति महासङ्घका साथै जाति र भाषासम्बन्धी संस्थाहरू धेरै छन् तर उनीहरूले भाषा संरक्षण र संवद्र्धनको काममा स्थानीय रेडियोसँग खासै सहकार्य गर्ने योजना बनाएका छैनन्।
अहिले पनि स्थानीयरूपमा सञ्चालन भैरहेका ६ सय भन्दा बढी रेडियोले भाषा र संस्कृति संरक्षणमा योगदान गरिरहेका छन्। त्यसमध्ये पनि ३८५ वटा सामुदायिक रेडियोले त रेडियो खोल्नुको उद्देश्य नै विविधताको संरक्षण गर्ने उल्लेख गरेका छन्। फरक फरक पहिचान र विविधता बोकेका समुदायले स्थानीय रेडियो सञ्चालन गरेका छन्। काभ्रेको नमोबुद्ध एफएम, काठमाडौँको नेवा एफएम, बर्दियाको गुरुबाबा एफएम, बाँकेको रुवरु एफएम आदि धेरै रेडियो स्थानीय भाषा र संस्कृति संरक्षणका लागि भनेरै खुलेका छन्। भोजपुरमा रहेको चोमोलुङ्मा एफएमले राई समुदायको चाडपर्व, कला र संस्कृति संरक्षणका लागि त्यही समुदायका व्यक्तिलाई रेडियोमा समावेश गरेर काम गरिरहेको छ।
पूर्वका धेरै रेडियोले लिम्बू भाषामा पनि कार्यक्रम सञ्चालन गर्ने गरेका छन्। लिम्बू भाषालाई अनुसन्धानकर्ताहरूले विश्वकै पुरानो भाषा बताउने गरेका छन्। नेदरल्यान्ड्सका जर्ज भान ड्रिमले नेपालमा आएर भाषाहरूको अनुसन्धान गर्दै भनेका छन्-हिमाली भाषा परिवारभित्र हरेक भाषाका हाँगा छन्, करिब चालीस वटा। त्यहाँभित्र किराती एउटा हाँगा छ र फेरि त्यसभित्र लिम्बू छ। अन्य किराती भाषा, जस्तै-राई सुरुदेखि अलि छुटेको छ र त्यो फरक भेटिन्छ। पूरा भाषा परिवार हेर्दा प्राचीन चीनको भाषा धेरै लिम्बूसँग मिल्छ। तर, चिनियाँको भाषिक पुर्खा यही पूर्वी हिमाली भेग देखिन्छ। किनकि लिम्बूहरू त चीनबाट आएका होइनन्। यसबाट भाषिक विविधताको केन्द्र पूर्वी हिमाली भेगमा पर्छ भन्ने प्रमाण देखाउन सकिन्छ। नेदरल्यान्ड्सबाट आएर ड्रिमले भाषाको अनुसन्धानमा यति ठूलो योगदान गरिरहँदा स्थानीय समुदायमा भएको ज्ञानलाई उजागर गर्न र यस्ता कुराको पहिचान गर्न स्थानीय रेडियोले अझै धेरै काम गर्न सक्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ।
विविधिताको धनी देश नेपालको पहिचान जोगाउन यस्ता विविधताकोे संरक्षण गर्न रेडियोले सघाउनुपर्छ। नेपालमा आधा भन्दा बढी भाषा लोपोन्मुख अवस्थामा छन्। पछिल्लो समय लोपोन्मुख भाषाहरूको संरक्षण र उत्थानका लागि विभिन्न क्षेत्रबाट प्रयास पनि भएका छन्। यी भाषाको संरक्षण, प्रवर्द्धन र उत्थानका लागि स्थानीय रेडियोहरूले विशेष योगदान गर्न सक्छन्। भाषाजस्तै अन्य पहिचान र विविधतालाई सम्पत्तिका रूपमा हेरेर यसको संरक्षणको बाटो स्थानीय सरकारले लिनुपर्छ र त्यसमा रेडियो जस्तो सञ्चार माध्यमले पनि सहयोग गर्नुपर्छ। मधेसमा पुग्दा त्यहाँको मैथिली, भोजपुरी, बजिका, थारू आदि भाषाका गीतहरू स्थानीय एफएम रेडियोमा (प्रसारण भैरहेको) घन्किरहेको सुनिन्छ भने पूर्वमा पुग्दा राई भाषाका गीत घन्किरहेका छन्। गण्डकी प्रदेशमा पुग्दा गुरुङ भाषाको गीत त सुदूरपश्चिम प्रदेश पुग्दा डोटेली भाषाको गीत स्थानीय रेडियोमा प्रसारण भैरहँदा निकै खुसी लाग्छ। गीत मात्रै होइन, स्थानीय गीत र भाकाका सर्जकलाई स्थानीय रेडियोले अन्तर्वार्ता लिएर प्रसारण गर्दा उनीहरूमा उत्साह समेत थपिएको छ। यस्ता बिषयलाई रेडियोले प्राथमिकता दिँदा समुदायले पनि रेडियो सुन्ने बानी बसाल्छन् र यो हाम्रो रेडियो भन्न सक्छन्।
समानुपातिक र समावेशिताको सिद्धान्तलाई संविधानले आत्मसात् गरेको सन्दर्भमा समाजलाई दिशानिर्देश गर्ने निकाय सञ्चार माध्यममा पनि यो सिद्धान्त लागु हुनुपर्छ। राज्यशक्तिले यसको कार्यान्वयनमा केके गरेको छ त्यसको समीक्षा छुट्टै पाटो भयो तर रेडियोले विविधता संरक्षणलाई त आफैँले सकी-नसकी योगदान गरेकै छन्। सबै रेडियो स्टेसनले आफ्नो रेडियो प्रसारण हुने क्षेत्रका विविध वर्गका स्रोतालाई समेट्ने प्रयास गरेका छन्। धेरै स्थानीय रेडियो स्टेसनले स्टेसनबाट प्रसारण हुने कार्यक्रम तालिका विविधतालाई समेट्ने गरेर तयार पारेको देखिन्छ। तर अब यतिले मात्रै पुग्दैन। सम्बन्धित समुदायले रेडियोलाई पनि सहयोग गर्ने र आफ्नै सहभागितामा कार्यक्रम सञ्चालन गर्ने बाटो बनाउनुपर्छ।
नेपालको सामुदायिक रेडियोको अभियान राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नमुनाका रूपमा प्रशंसित छ। विविधतालाई अझै प्राथमिकता दिने र सम्बन्धित समुदायलाई रेडियोमा अर्थपूर्ण रूपमा सहभागी गराउने कार्य गर्न सके अर्को नमुना प्रस्तुत गर्न सकिन्छ। स्थानीय रेडियोहरूको संख्यात्मक वृद्धिले मुलुकको भाषिक र सांस्कृतिक विविधतालाई उजिल्याउने मात्रै होइन, तिनको संरक्षण र संवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान गर्न सक्छ भन्ने कुरालाई स्थानीय सरकारदेखि संघीय सरकारसम्मले बुझ्नुपर्छ। अझ अहिले अन्तर्राष्ट्रियरूपमा मनाइरहेको भाषा दशकका अवसरमा भाषा संस्कृति संरक्षणको अभियानमा रेडियो जस्ता सञ्चार माध्यमलाई सहभागी बनाएर यस क्षेत्रका सरोकारवालाले पनि कार्यक्रमहरू गर्नुपर्छ।
(प्रबन्धक, सामुदायिक रेडियोहरूको नेटवर्क-सिआइएन)
प्रकाशित: १ फाल्गुन २०७९ ००:२३ सोमबार