पाण्डवका सल्लाहकार थिए, श्रीकृष्ण। कौरबका सल्लाहकार थिए, शकुनी। रामलाई कैकेइ औधी माया गर्थिन्। तर रामलाई जन्म दिने आमा कौशल्या थिइन्। जब मन्थरा राम र कैकेइको बीचमा आइन्, रामप्रति कैकेइको सारा प्रेम समाप्त भयो। यति मात्र होइन, रामलाई वनबास जानुपर्यो। मन्थराको सल्लाहमा कैकेइले रामलाई वनबास पठाउन र आफ्ना छोरा भरतलाई राजगद्धी दिलाउन त सफल भइन् तर कैकेइले अन्यायपूर्ण तरिकाले रामबाट खोसेको त्यो राजगद्धी भरतले ठाडै अस्वीकार गरेर आफ्नै आमाको गालामा न्यायको थप्पड हाने। मन्थराको बहकाउमा लागेर कैकेइ प्रजाको नजरबाट मात्र होइन, आफ्नै छोरा भरतको नजरबाट पनि गिर्न पुगिन्। शकुनीकै कारण कौरवको सर्वनाश भयो।
यो इतिहास छर्लंग हाम्रो सामु छ। तर हामी शकुनी सल्लाहले जीवनमा कसरी बर्बादी ल्याउँछ भन्ने पढेर-सुनेर पनि यसतर्फ सचेत हुन सकेका छैनौँ। त्यसैले त आज हरेक मानिसमा, घर परिवारमा, समाजमा र राष्ट्रमा समस्याका कारण श्रीकृष्ण होइन, शकुनीहरू छन्। मन्थराहरू छन्। शकुनी मन्थराहरूले नै घरघरमा झैझगडा तथा मारपिट गराएका छन्। समाजको सद्भाव बिगारेका छन्। राष्ट्रलाई भड्खालोमा जाकेका छन्।
प्रजातन्त्र पुनर्स्थापनापछि बनेको पहिलो निर्वाचित सरकारले ठीकठाक काम गरिरहेको थियो। तर शकुनीहरूले आफ्नै पार्टीका ३६ समूहलाई सिध्याउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई उस्काए। नेपाली कांग्रेसको बहुमत भएको प्रतिनिधि सभा विघटन गरेर गिरिजाप्रसादले मध्यावधि निर्वाचन गराए। नतिजा, कांग्रेस हार्यो। नेकपा एमाले ठूलो पार्टी बन्यो। त्रिशंकू संसदका कारण राजनीतिक अस्थिरता मात्र होइन, चरम विकृति देखा परे। गिरिजाप्रसाद कोइराला शकुनी सल्लाहकारहरूको उस्काहटमा नलागी देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर अघि बढेको भए, ५ वर्ष कांग्रेस सरकार रहन्थ्यो। विकास निर्माणले गति लिन्थ्यो, राजनीतिक स्थिरता कायम हुन्थ्यो। नेपालमा राजनीतिक अस्थिरताको सुरुवात यहीँबाट भएको हो।
शकुनी सल्लाहकारहरूकै कारण २०५७ सालमा गिरिजाले कृष्णप्रसाद भट्टाईलाई हटाएर आफू प्रधानमन्त्री बने। गिरिजालाई हटाएर शेरबहादुर देउवा प्रधानमन्त्री बने। शकुनीहरूकै काण उतिबेला शेरबहादुर देउवाले २०५९ सालमा प्रजातन्त्रलाई दरवारमा बुझाउने काम मात्र गरेनन् कि अहिले संघीय सरकार तथा प्रदेश सरकार, जताततैबाट हात धुने स्थिति बन्यो। तर पनि शेरबहादुरको चेत खुलेको छैन, खुल्नेवाला पनि छैन। त्यो किनभने अहिले पनि उनी शकुनीहरूको घेरालाई आफ्नो सुरक्षा कवच ठानेका छन् र उनीहरूकै उस्काहटमा लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेका छन्।
शकुनी सल्लाहकारकै कारण सुशील कोइराला राष्ट्रपति बन्ने अवसर गुमाए। सुशील कोइराला राष्ट्रपति बनेका भए विद्यादेवी राष्ट्रपति बन्न सक्दिनथिइन्। अनि केपी शर्मा ओलीले गिरिजा शैलीमा माधव-प्रचण्ड समूह सिध्याउन पटक पटक मध्यावधि निर्वाचन घोषणाको आँट गर्दैनथे। केपी शर्मा ओली, माधव नेपाल र प्रचण्ड शकुनीहरूको उस्काहटमा नलागेको भए नेकपा फुट्ने पनि थिएन।
राजनीतिमा शकुनी सल्लाह ज्यादै खतरनाक हुँदै आएको छ। शकुनी सल्लाहको कारण नेपालका हरेक प्रधानमन्त्री लक्ष्यतिर होइन, विचलनतिर लागेका छन्। काम कुरो एकातिर प्रधानमन्त्रीहरू शकुनीहरूको घेराभित्र भएपछि नेपालको यो स्थिति हुनु अनौठो होइन।
गिरिजा र देउवा सरकार मात्र होइन, मनमोहन सरकार, प्रचण्ड सरकार, माधव र बाबुराम सरकार, ओली सरकार, नेपालमा जति पनि सरकार आए, गए ती सबै सरकार प्रत्यक्ष/परोक्ष रूपमा शकुनी सल्लाहकै कारण जनताका सामु गिरे। बदनाम भए। केही पतन भए। केही नामेट भएर गए। इतिहासको यो तस्बिर यति छर्लंग हँुदासमेत दलले व्यक्तिगत, गुटगत र पार्टीगत स्वार्थका कारण तनमनबाट श्रीकृष्णलाई अपनाउन र शकुनीलाई हटाउन सकेका छैनन्। यो नेपाल र नेपालीको विडम्बना हो।
अहिलेको मात्र होइन, उहिलेदेखि नै नेपाल सरकारका सल्लाहकारहरूमा मेडिकल माफिया छन्, शैक्षिक माफिया छन्, भूमाफिया छन्, काला बजारिया तथा मानव तस्कर छन्। यिनै माफिया शकुनीहरूको सल्लाहबमोजिम सरकारले मनस्थिति र त्यो शकुनी मनस्थितिले योजना बनाउने गरेको छ। त्यसैले त नेपालमा माफियाका लागि हिरा कटाइ र आमनागरिकका लागि ढाड भँचाइको परिस्थिति सिर्जना भएको हो।
एउटा मनोवैज्ञानिक सत्य के हो भने मनस्थितिले परिस्थिति बनाउँछ। मनस्थिति ठीक नबनाएसम्म परिस्थिति कदापि ठीक हुँदैन। के हारको मनस्थितिले कसैले जित्न सक्छ? जीतका लागि जीतको मनस्थिति आवश्यक छ। जब मानिसको मनमस्तिष्कमा जीतको मनस्थिति पैदा हुन्छ र मानिस लक्ष्यमा अर्जुनदृष्टि साँधी अगाडि बढ्छ, तब उसको जीत निश्चित छ।
एकजना मनोवैज्ञानिकले भनेका छन्, तिम्रा साथी को को हुन् मलाई देखाइदेऊ, मैले तिम्रो भविष्य बताउन सक्छु। हुन पनि हो, आसेपासेबाट मानिसको जीवन प्रभावित हुन्छ। मानिसको संगत जस्तो छ, ऊ त्यस्तै हुने गर्छ। शकुनी सल्लाहले मानिस दुर्योधन बन्न त सक्छ तर अर्जुन बन्न सक्दैन। अर्जुन बन्न श्रीकृष्ण सल्लाह नै चाहिन्छ।
हो, अहिले हाम्रो सामु श्रीकृष्ण त छैनन् तर गीता त छ नि। गीताको सम्बन्धमा कतिपय मानिसमा गलत धारणा छ। यो शकुनी सल्लाहको फल हो। वास्तवमा गीता न त कर्मकाण्ड हो न त धर्मग्रन्थ हो। गीता मनोविज्ञान हो। मानिसका लागि श्रीकृष्णले उपहार दिएको सफलता सूत्र हो। दिशा निर्देशक हो। उत्प्रेरक हो।
अतः हामी सबैले मनन गर्नुपर्ने कुरा के हो भने जबसम्म मानिसले आफ्नो मनमस्तिष्कबाट, आफ्नो दायाँबायाँबाट शकुनीहरूलाई निकाल्न सक्दैनन्, मन्थराहरूलाई हटाउन सक्दैनन्, श्रीकृष्ण सल्लाहअनुसार अगाडि बढ्दैनन्, तबसम्म मानिसको जीवन सफल हुन सक्दैन। यो निश्चित छ। राजनीतिक नेतृत्वलाई असफल बनाउने पनि यिनै शकुनी हुन्। राजनीतिक नेतृत्वले यो मनोविज्ञान कहिले बुझ्ने हो? (साइकोथेरापिस्ट)
प्रकाशित: २६ माघ २०७९ २३:४७ बिहीबार