११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

मैले आत्महत्या गरिनँ

‘फोर्ब्स थर्टी अन्डर थर्टी’ सम्मेलनमा पहिलो पटक म सार्वजनिक रुपमा बोल्न उभिँदा त्यहाँ ३० वर्षभन्दा कम उमेरका १५ सय प्रतिभासम्पन्न युवायुवती थिए। अन्दाज गर्नुस्, १९९८ मा तिनीहरुमध्ये सबैभन्दा उमेरदार १४ वर्षको थियो होला र सबैभन्दा सानो चाहिँ चार वर्षको। मैले ठट्टा गर्दै भनेँ, 'तपाईंहरुमध्ये निकै कमले मेरो नाउँ सुन्नु भएको होला, धेरैले चाहिँ र्‍याप गीतमा।'

अचम्ममा नपर्नुस्, मेराबारेमा र्‍याप गीत पनि गाइएका छन्। गनेर ल्याउँदा ४० वटा जति पुग्लान्! त्यो रात बडो अचम्म भयो, एउटा २७ वर्षे ठिटो नजिकिन खोज्यो। ऊ आकर्षक थियो तर मैले ऊसित केही क्षण कुरा गरेपछि टक्टकिन खोजेँ। त्यो बेला उसले के भन्यो थाहा छ? 'मसँग संगत गर्नुस्, तपाईंलाई म पुनः २२ वर्षे महसुस गराउनेछु।' त्यो रात मैले सोचेँ, यो संसारमा म मात्रै एउटी ४० वर्षे महिला हुँली, जो अब पुनः २२ वर्षकी हुन चाहन्नँ।

२२ वर्षकै उमेरमा मैले मेरो बोसलाई प्रेम गरेँ अनि २४ वर्षको उमेरमा मैले त्यसको भयानक परिणाम झेलेँ पनि। संसारमा को यस्तो व्यक्ति नहोला जो २२ वर्षको उमेरमा गल्ती गरोस् र त्यसको पछुताउ नहोस्! तपाईंहरुमध्ये कतिपय मैले जस्तै २२ वर्षे जोवनमा गलत मोडमा गलत व्यक्तिको प्रेममा पर्नुभयो होला। मैजस्तो आफ्नो ‘बोस’सँग प्रेममा पर्नुभयो होला तर त्यो व्यक्ति अमेरिकाको राष्ट्रपति थिएनन् होला! त्यस दिनदेखि मेरो गल्तीबारे नसम्झाइएको एक दिन पनि छैन र प्रत्येक दिन त्यसको पश्चाताप पनि छ।

१९९८ मा पहिलो पटक यस्तो रोमान्सको भूमरीमा फँसे, त्यसको कुनै अन्त्य थिएन। म भयानक राजनीतिक, कानुनी र मिडियाको भूमरीमा फँसे, जुन मैले न कहिल्यै देखेकी थिएँ न कहिल्यै सोचेकी नै!

सन् १९८८ सम्म समाचारका तीन वटा मात्र ठेगाना थिए, अखबार–रेडियो–टेलिभिजन। मेरो भाग्य त्यति बलियो थिएन। मेरो काण्डको खबर डिजिटल क्रान्तिमार्फत् सार्वजनिक भयो। अनलाइनमार्फत् आयो। पहिलो पटक पारम्परिक मिडियालाई इन्टरनेटले एउटा ठूलो खबर छापेर उछिन्यो। एउटा क्लिकले सारा संसारले थाहा पायो। म रातारात गुमनाम व्यक्तिबाट संसारकै बदनाम व्यक्तिमा बद्लिएँ। आफ्नो सारा प्रतिष्ठा संसाभरमै क्षणमै गुमाउने नयाँ रोगको पहिलो शिकार म नै थिएँ। फैसला सुनाउने दौडलाई टेक्नोलजीले अझै बढी बहकायो। भर्चुअल ढुंगामुढा गर्नेको पूरै भिड थियो। त्यो बेलासम्म सोसल मिडिया थिएन तापनि मानिसहरु अनलाइनमा, इमेलमा भद्दा–तिखो मुख छाड्न सक्थे।

मेराबारे नराम्रा टिप्पणी गरिए। म आवारा भएँ, बेस्या मानिएँ, बेकुप, चरित्रहीन र  'त्यो खालकी आइमाई' भएँ। मलाई थाहा छः 'त्यो खाले आइमाइ'को पनि अस्तित्व छ, त्यसको पनि आत्मा छ भन्ने बिर्सन निकै सजिलो हुन्छ। कुनै बेला उसको मुटु टुक्राटुक्रा थिएन न त निराश नै थिई।

जुन बेला यो घटना घट्यो, यसको कुनै नाम थिएन। हिजोआज यसलाई साइबर बुलिङ वा अनलाइन उत्पीडन भन्ने गरिन्छ। त्यो बेलाका अनुभवको आधारमा म केही टिप्पणी गर्न चाहन्छु र आशा गर्छु, ममाथि भएको त्यो उत्पीडनबाट अरुले पाठ सिकून् र उनीहरुको जीवनमा तनाव कम होस्।

१९९८ मा मैले आफ्नो प्रतिष्ठा र आत्मसम्मान गुमाएँ। मेरो लगभग सबै कुरा लुटियो। मैले आफ्नो ‘जीवन’ गुमाएँ। मेरो अवस्था के थियो भन्ने बुझाउन म एउटा दृश्य रच्छु। १९९८ को सेप्टेम्बर महिना छ। म कुनै झ्याल नभएको कार्यालयमा बसिरहेकी छु। इन्डिपेन्डेन्ट काउन्सिलको कार्यालयमा। त्यहाँ चर्को उज्यालोमा म आफ्नै आवाज सुनिरहेकी छु। राष्ट्रपतिसँगका गोप्य वार्ता एक वर्षअघि टेप गरिएको थियो। निजी कुराकानी गरिएका २० घण्टा लामो ती टेपका कुराकानी आठ महिनादेखि रेकर्ड गरिएका थिए। त्यो टेप रेकर्ड मेरालागि नाङ्गो तरबार थियो।

टेपमा राष्ट्रपतिप्रति प्रेम अभिव्यक्त गरिरहेकी छु र मेरो मन उनले दुखाएको गुनासो गरिरहेकी छु। कहिलेकाहीँ म दुर्व्यवहार गर्छु, छिटोछिटो, गुनासोपूर्ण कुरा गर्छु, कहिले निकै नराम्रो व्यवहार गर्छु र कहिले ज्यादै असभ्य हुन्छु। सुरिरहेकी छु... भित्रसम्मै लाज लागिरहेको छ। मेरो सबैभन्दा खराब स्वरुप यस्तो पनि रहेछ भन्ने आफैँलाई चिनेर छक्क परिरहेकी छु, जुन स्वरुप मैले यसअघि कहिल्यै देखेकी थिइनँ।

केही दिनपछि यही कुरा अनलाइनमा छापिन्छ... अब सबैले पढ्न सक्ने भए ती कुरा। अडियो टेप टेलिभिजनमा पनि प्रसारण गरिन्छ। यस्तो बेलामा सर्वसाधारणले जे जति अपमान गर्नुपर्थ्यो गरे तर त्यो खप्न निकै गाह्रो हुन्छ। त्यो बेला जीवन जिइँदैन, घिसारिन्छ। १९९८ ताका यस्ता घटना हरेक दिन घट्दैन थिए। कसैको निजी कुराकानी र क्रियाकलाप चोरी हुँदैनथ्यो। न त नसोधी त्यसलाई सार्वजनिक गरिन्थ्यो, बिना कुनै स्वीकृति, बिना कुनै सन्दर्भ, बिना कुनै संवेदना सार्वजनिक हुँदैनथ्यो।

यस घटनाको एक दशकपछि सन् २०१० मा एउटा नयाँ सोसल मिडिया जन्मिइसकेको थियो। दुर्भाग्य, मेराबारेमा जे भयो त्यो एउटा सामान्य भइसकेको छ। भलै कसैले कुनै गल्ती गरेको होस् या नहोस्, भलै त्यो व्यक्ति कुनै चर्चित होस् या सर्वसाधारण। केही मानिसका लागि यसको परिणाम ज्यादै ज्यादै नराम्रो साबित भएको छ।

२०१० को सेप्टेम्बरमा रुटगर युनिभर्सिटीको पहिलो वर्षकी १८ वर्षीया छात्रा टाइलर क्लेमेन्टीका बारेमा मेरी आमाले सुनाउनु भयो। उनी प्यारी, संवेदनशील, रचनात्मक थिइन्। उनी एक पुरुषसँग अन्तरङ्ग सम्बन्ध गाँसिरहेको भिडियो कसैले खिच्यो। अनलाइन संसारले यस घटनाको खबर सार्वजनिक गर्नेबित्तिकै भद्दा बेइज्जती र साइबर बुलिङ विष्फोट भयो। केही दिनपछि टाइलरले जर्ज वासिङ्टन पुलबाट हाम्फाली आत्महत्या गरिन्। मेरी आमा टाइलर र उसको परिवारका बारेमा सोचेर निकै दुःखी हुनुभयो। मैले सुरुमा त बुझिनँ तर पछि बिस्तारै महसुस गरेँ, मैले जे कुरा १९९८ मा भागेकी थिएँ, टाइलरले पनि २०१० मा त्यही भागेकी थिई।

मेरी आमा त्यो बेला मेरो सिरानीमा बसिरहनु हुन्थ्यो। मलाई बाथरुमको ढोका बन्दसमेत गर्न दिनु हुन्नथ्यो। यस्तो बेला मेरा आमाबुवालाई सधैँ डर लागिरहन्थ्यो, यो बद्नामीले छोरीको ज्यान कतिबेला लैजाने हो! मेरा बा–आमाजस्ता निकै कम भाग्यमानी अभिभावक छन्, जसले यस्तो पीडाका बेला साथ दिएका होऊन्। उहाँहरुको साथले मैले आत्महत्या गरिनँ तर धेरैजसो मजस्तो भाग्यमानी हुँदैनन्। अधिकांश अभिभावकले त सन्तानको पीडा निकै ढिला चाल पाउँछन्। टाइलरको दुःखद्, बेमतलब मृत्यु मेरा लागि ठूलो क्षण बन्न पुग्यो। त्यस घटनाले मेरो अनुभवलाई एउटा नयाँ सन्दर्भ दियो र मैले आफ्ना वरिपरि फैलिएको शोषण र जोरजबर्जस्तीलाई महसुस गरेँ अनि त्यसलाई नयाँ कोणबाट हेर्न थालेँ।

अहिले इन्टरनेटले हराएका दिदीभाइ भेट गराएको छ। ज्यान बचाएको छ, कैयौँ आन्दोलन गराएको छ। तर एउटा अँध्यारो पाटो पनि छ, साइबर बुलिङ (साइबर उत्पीडन)। यसैले कसैलाई बिना कारण बेश्या बनाएको छ र त्यसको लज्जाबोध कैयौँ गुणाले बढाएको पनि छ।

हरेक दिन अनलाइनमा विशेष गरी कम उमेरका युवायुवती यस्ता समस्यासँग जुझ्न तयार नभएकै बेला शोषित त प्रताडित भएका छन्। त्यसपछि त उनीहरु एक दिन पनि ज्यूँदो हुन चाहँदैनन्। केही त बाँच्लान् र ज्यूँदो हुँदैनन्।

बेलायतको चाइल्ड लाइन नामक संस्थाले गएको वर्ष एउटा तथ्य जारी गरेको थियो, २०१२ देखि २०१३ का बीचमा साइबर बुलिङसँग जोडिएका इमेल र फोन कल ८७ प्रतिशतले बढेको छ। नेदरल्यान्डमा पहिलो पटक अफलाइन बुलिङका तुलनामा साइबर बुलिङ आत्महत्याको सबैभन्दा ठूलो कारण बनिरहेको छ। अन्य व्यक्तिप्रति निष्ठुरता कुनै नयाँ कुरा होइन तर अनलाइन र प्रविधिमार्फत् हुने निष्ठुरताले यसको प्रतिशत निकै गुणा बढाउँछ र कहिलेकाहीँ त यो नियन्त्रणबाहिर पुग्छ। पहिला लज्जाबोध वरिपरिका क्षेत्र, गाउँ वा विद्यालय, नजिकैको समाजसम्म मात्र हुन्थ्यो, अब त यो अनलाइनमा पनि हुन्छ। चिनजान बिनाका लाखौँ मानिसले तपाईंलाई शब्दले छियाछिया पार्छन् र नचिनेकाले पनि तपाईंलाई त्यस्तो गर्दा ज्यादै पीडा महसुस हुन्छ।

दुई दशकयता हामी बिस्तारै बेसरम र सार्वजनिक बेइज्जतीको बिऊ रोप्दै आइरहेका छौँ। गसिप वेबसाइट, पापाराजी क्यामेरा, रियालिटी टिभी र कहिलेकाहीँ ह्याकर पनि प्रताडनाको अंशियार बन्ने गर्छन्। संवेदनहीनताको पराकाष्ठाका कारण दादागिरी, निजत्वको हनन, साइबर बुलिङजस्ता कुरालाई बढावा दिइँदैछ। यस किसिमको संस्कृतिलाई प्राध्यापक निकोलस मिल्स 'प्रताडनाको संस्कृति' भन्न रुचाउँछन्। तर प्रताडनाको यो संस्कृतिमा सार्वजनिक लज्जाको पनि प्राइस ट्याग (मोल) झुण्डिएको छ। यो मोल पीडितले चुकाएको मूल्यसँग कहिल्यै नापिँदैन। टाइलर र अन्यले खासगरी महिला र अल्पसंख्यकले जसरी चुकाउनु पर्छ, त्यसको त कहिल्यै हिसाब गरिँदैन। हिजोआज प्रताडना एउटा बजार बनेको छ, उद्योग बनेको छ। जति बढी लज्जा, उति बढी क्लिक र जति बढी क्लिक उति बढी विज्ञापनबाट आउने पैसा।

हामी यस्तो भूमरीको जालमा छौँ, हामी जति बढी क्लिक गर्छौं उति बढी संवेदनाहीन बन्छौँ– त्यस खबरका पछाडि लुकेको व्यक्तिप्रति। यसबीचमा पूरै समय कसैले चाहिँ पैसा कमाइरहेको हुन्छ, कसैको दुःख, पीडा र उत्पीडनबाट। हरेक क्लिक गर्दा हामी विकल्प चुनिरहेका हुन्छौँ, कति बढी लज्जाहीन हुने। जति बढी लज्जाहीन हुन्छौँ, उति बढी साइबर बुलिङ भइरहन्छन्, त्यस्ता चिज हेरिरहन्छौँ। त्यति नै बढी ह्याकिङ र धम्की बढाइरहेका हुन्छौँ।

हामीले लज्जाबोध नै त्यागिसकेपछि यही संस्कृति बढ्नु स्वाभाविक पनि हो। हामी सुसंस्कृत छौँ त्यसैले आज कतिपय रेसिज्म, होमोफोयिबा इतिहास बनिसकेका छन्। समलैंगिक बिहेलाई लिएर हाम्रा दृष्टिकोण परिवर्तन हुनाले बढीभन्दा बढी मानिसले चैनको श्वास फेर्न पाएका छन्। हामीले रिसाइकल गरिएका सामग्री प्रयोग गर्न थालेका छौँ। अब हामीले अर्को एउटा सांस्कृतिक आन्दोलन थाल्नुपर्ने बेला भएको छ र सार्वजनिक लज्जाबोधको यो खुनी खेल बन्द गर्नुपर्ने बेला आएको छ। हामीले इन्टरनेट संस्कृतिमा हस्तक्षेप गर्ने बेला आएको छ। सुरुवात कुनै सानो कुराबाट हुन सक्छ र यो सजिलो हुने छैन। हामीले संवेदनशीलता र सहानुभूतिलाई पुनः हासिल गर्नुपर्ने बेला आएको छ। अनलाइन संसारमा सहानुभूति र संवेदनाको गहिराई निकै कम छ। म त भन्छु, खडेरी नै छ।

मैले मेरो जीवनमा धेरै अँध्यारा दिन गुजारेकी छु। मेरो परिवार, साथी र आफन्त अनि कहिलेकाहीँ नचिनिने अञ्जान व्यक्तिको सहानुभूति र संवेदनाले नै मलाई जोगायो, मर्नबाट म बाँचेँ, मैले आत्महत्या गरिनँ। मानिसलाई उसमाथि व्यक्त गरिने सहानुभूतिले निकै ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण म स्वयं छु।

समाज विज्ञानी सेर्गेइ मोस्कोविस्कीको 'माइनोरोटी इन्फ्लुएन्स'को सिद्धान्तले भन्छ, लामो समयसम्म ज्यादै सानो संख्याले केही कुरा अँगाले भने संसारमा ठूलो परिवर्तन ल्याइदिन सक्छ। अनलाइनको संसारमा हामी यही माइनोरिटी इन्लुएन्स ल्याउन सक्छौँ।

कुनै कुराको विरोध गर्नुको अर्थ चुपचाप उभिनु होइन। हामी कसैप्रति सकारात्मक कमेन्ट गर्न सक्छौँ, साइबर बुलिङ भइरहेको देखेर गुनासो दर्ता गर्न सक्छौँ। सकारात्मक कमेन्टले नकारात्मकता पूरै बद्लिन्छ। बुलिङविरुद्धको एउटा संस्कृति उभ्याउन सक्छौँ हामीले र त्यस्ता संस्थालाई सहारा दिन सक्छौँ।

अमेरिकाकी टाइलर क्लेमेन्टी फाउन्डेसनले साइबर बुलिङविरुद्ध काम गरिरहेको छ, बेलायतमा एन्टि बुलिङ प्रोग्राम छ, अस्ट्रेलियामा प्रोजेक्ट रोकिट छ। हामी फ्रिडम अफ एक्स्प्रेसनका बारेमा सचेत भएर कुरा गर्छाैं तर हामीले के पनि कुरा गर्नु जरुरी छ भने फ्रिडम अफ एक्स्प्रेसनप्रति हाम्रो कर्तव्य चाहिँ के छ? हामी चाहन्छौँ, हाम्रा कुरा सबैले सुनून् तर उद्देश्यपूर्ण तरिकाले बोल्नु र अर्काको ध्यान आकर्षित गर्न बोल्नुमा फरक छ।

अनलाइन सम्वेदनशीलताले हामी सबैको भलो नै हुन्छ, एउटा उम्दा, सुरक्षित संसार बन्छ। हामीले अनलाइन व्यवहारमा सहानुभूति ल्याउनु पर्छ। समाचारहरुलाई सम्वेदनाका साथ ग्रहण गर्नुपर्छ। कुनै समाचार क्लिक गर्दा विचार पुर्‍याएर क्लिक गर्नुपर्छ। यो अभियान सुरु भएका नौ महिनायता मलाई सबैभन्दा बढी सोधिएको प्रश्न नै 'किन?' हो। म यत्तिका वर्षपछि मैले टाउको उठाएर किन हिँड्न थालेँ? राजनीतिसँग मेरो कुनै लेनदेन छैन तर मेरो एउटै उत्तर छ कि अब समय आइसक्यो। समय आइसक्यो कि विगतका घटनाबाट लजाएर लुकीलुकी हिँड्न बन्द गरुँ, अपमानित भएर बाँच्ने समय अब गइसक्यो, मेरा घटना इन्टरनेटले नियन्त्रण गर्ने होइन, आफैँले नियन्त्रण गर्ने अधिकार पाउँ। यो मेरो एक्लैका बारेमा होइन। जो कोही पनि शरम र सार्वजनिक रुपले उत्पीडित छ, उनीहरुले बुझून्ः तिमीहरु त्यसविरुद्ध लड्न सक्छौँ र अघि बढ्न सक्छौँ। मलाई थाहा छ, यसो गर्नु निकै कठिन छ। ज्यादै पीडायुक्त हुन्छ, सजिलो पक्कै छैन र छ लामो यात्रा पनि। तर तपाईंले आफैँप्रति सहानुभूति र संवेदना राखेर आफ्नो कथालाई बेग्लै अन्त्य दिन सक्नुहुन्छ।

अनुवादः अच्युत कोइराला

(अमेरिकी राष्ट्रपति बिल क्लिन्टनसँग यौन काण्डमा मुछिएकी लेवेन्स्कीको यो टेड टक सम्पादन, परिवर्द्धनसहित अनुवाद गरिएको हो।)

प्रकाशित: ३० भाद्र २०७३ ०५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App