११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

वेद–पुराणमा जातीय विभेद: सामाजिक अभ्यासको प्रारूप

वर्णशंकर व्यवस्था

सनातन धर्म, दर्शनमा जातीय विभेद छैन। चार वर्ण कार्य विभाजन हो। पूर्वीय वाङ्मयको सभ्यतामा चार वर्णाश्रमको व्यवस्था पाइन्छ। पूर्वीय वाङ्मयले विभाजन गरेको चार वर्णाश्रम हुन्– पच्चीस वर्षसम्म अध्ययनका लागि गुरुकुलीन ब्रह्मचर्याश्रम, उपरान्तपचास वर्षसम्म गृहस्थ, तदोपरान्त पचहत्तरसम्म वानप्रस्थ अर्थात् तीर्थाटन र त्यसपछि सन्यासाश्रम। शिष्यले गुरुकुलमा रहेर जुन विषयमा निपूर्णता हासिल गर्छ, त्यही विषयको कार्याधिकार प्राप्त गर्ने व्यवस्था गरिएको हुन्छ वर्ण व्यवस्थामा। जस्तै– ब्रह्मज्ञान प्राप्त गर्नेले ब्राह्मण कर्मधारणा गरेका थिए भने राजनीतिक ज्ञान प्राप्त गरेकाले क्षत्रीय अर्थात् राजकाज सञ्चालन गरेका थिए। जसले क्षत्रिय धर्मपालना गरेर राजकाज सञ्चालन गरे। उनीहरूलाई क्षत्रिय कहलाए भने उद्योग–व्यापारको ज्ञान प्राप्त गर्नेलाई वैश्य वर्णाशंकरमा राखियो। राष्ट्रसेवातर्फको ज्ञान गरेकाले नोकरी–जागिर आदि वर्णगत पेसा गरेकालाई शूद्रभित्र राखिएको थियो। यो वर्ण व्यवस्था वैज्ञानिक थियो। त्यसैले यसलाई लामो समयसम्म अपनाइएको थियो। यही परम्परा पछिसम्म चलेको थियो। यस्तो वर्णाशंकर अवस्था अहिले पनि हामी सबै समुदायमा देख्न सकिन्छ तर पनि समाजको लामो सामाजिक प्रयासपछि अहिले हामी मानव समुदाय ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्रमा विभाजन भएका छौं।  

शास्त्रले वर्णको विभाजन गरेको हो, न कि जातीय विभेदको। विभेद त केवल समाजमा कर्म गर्दै जाँदाको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाको निर्मिति हो। शास्त्रले स्पष्टरूपमा उपदेश गरेको छ कि ‘जन्मना जायते शूद्रः कर्मणा द्विज उच्यते’ अर्थात् सबैको शूद्रका रूपमा जन्म हुन्छ र पछि कर्मबाट मात्रै उसको दोस्रो रूप वर्णको निर्धारण हुन्छ।  

मनुकै कुरा गरौं। मनुको ‘ब्राह्मण’भित्र अहिलेका धेरै ब्राह्मण अटाउँदैनन्। हाम्रो सामाजिक सोचले मनुलाई नै अनुशरण गर्‍यो। वर्णाशंकर व्यवस्थाको ‘शूद्र’भित्र आजका दलितलाई राखिएको छैन। जातीय उत्पीडनको कोशेढुङ्गा मानेर हाल गरिएको ‘दलित’ र ‘गैरदलित’ जस्तो जातीय वर्गीकरण मनु स्मृतिको कल्पना होइन। यो सामाजिक संरचनाको अभ्यास हो। उनको तात्कालीन समाजमा सामाजिक ढाँचाभित्र समाजका कस्ता चरित्रका व्यक्तिलाई कुन वर्गमा किन राखियो भनेर गहन अध्ययन गर्दा छर्लङ्ग हुन्छ।

जातीय विभेद

समाजमा मानिसको आर्थिक अवस्था र सामाजिक संस्कृतिको पहुँच कम हुँदै जाँदा मानिस अपहेलित बन्दै गए। देखासिकीयुक्त समाज बन्दै गयो। शक्ति र सत्ताको प्रयोग गर्दै जाँदा आर्थिक विपन्नता भएका समाज अपहेलित हुँदै गए। फलस्वरूप जातीय विभेद हुँदै आयो। अहिले चलेको जातीय विभेद वर्णकर्मबाट आएको होइन। जातीय विभेद राजकीय शासन पद्धतिमा समयानुकूल हुनुपर्ने परिमार्जन तथा परिष्कार नगरिँदा उत्पन्न समस्या हो। विडम्बना जसलाई धर्म एवम् सांस्कृतिक पक्षसँग जोडेर व्यवहार गरिँदा यसको अपजस जहाँ पनि धर्म क्षेत्रले पाउने गरेको हुन्छ।  

जातीय विभेद सुरुवातको सवालको अध्ययन गर्नका लागि गहिरो रूपमा नेपाली समाजको अवस्था र परिवेशको अध्ययन गर्नुपर्ने हुुन्छ। विभिन्न कालखण्डमा शासकले शासन व्यवस्था बलियो राख्न चलाएको व्यवस्था पनि हो यो। समयको कुनै कालखण्ड त्यस्तो थियो, जतिबेला विकासको स्थिति निकै कमजोर थियो। मानिसलाई सामान्यतया पिउने पानी लिन नै धेरै टाढासम्म पुग्नुपथ्र्यो। यस्तो अवस्था आजको विकसित समयमा पनि अझै जीवित छ। यो यही लेखकले पनि अध्ययन अनुसन्धान गर्ने क्रममा भोगेको छ। आज पनि कतिपय ठाउँमा पानी लिन तीनचार घण्टा हिँडेर जानुपर्छ भने त्यो समयमा अवस्था कस्तो थियो होला ? हामी कल्पना गर्न सक्छौं। चाडबाड आउँदा कपडा सिलाउन र खेतीपातीको सिजनमा कोदाली, हँसिया आदि औजार बनाउन भिड लागेको देखेको धेरै समय बितेको छैन। ‘अतिथि देवो भवः’ को सिद्धान्त रहेको समाजमा पाहुनालाई भोकै राखेर आफूले भोजन गर्नु संस्कार विपरीत हुन्छ। पानीको सत्कार त सामान्यतया सबैलाई गर्नु नै पर्छ। टाढाबाट ल्याउनुपर्ने पानी भिडलाई पुर्‍याउन निकै गाह्रो हुन्छ। त्यस्तै भोजन निर्माण कार्य आफैमा कठिन थियो।

तत्कालीन समाजको परिस्थिति बुझेर त्यस समयका शासकबाट कपडा सिलाउने र औजार बनाउनेकहाँ अरूले पानी नखानू भन्ने कडा कानुनी नियम जारी गरेको पाइन्छ। सो समयमा यो नियम निकै राम्रो र व्यावहारिक कानुन भएको र सम्बन्धित कर्मीले ठूलो राहत पाएको महसुस गरेका थिए होलान्। तर समयानुकूल परिमार्जन नगरी त्यसैलाई अपव्याख्या तथा दुरूपयोग हुने क्रम बढ्दै जाँदा जातीय विभेद र छुवाछुत प्रथा सुरु भयो।  

रोकथाम र समाधान

कुसंस्कार, विकार, विकृति समयानुसार परिवर्तन हुँदै जाने कुरा हुन्। मानिसमा जनचेतनाको विकास र शिक्षाको विज्ञताले यस्ता परम्परा हट्दै जान्छन्। विभेद हाम्रो परम्परा र संस्कार होइन। यो आर्थिक, सामाजिक र सांस्कृतिक कुण्ठाले सिर्जित अभ्यास हो। अझ साम्राज्यवादी–विस्तारवादी सोचका मुलुकले यही विभेदरूपी कुप्रथालाई हतियार बनाएर यहाँका नागरिकलाई विभिन्न तरिकाबाट हातमा लिने, फुटाउने, धर्मान्तरण गराउने र बिस्तारै आफ्नो वर्चस्व स्थापित गर्ने षड्यन्त्र बुनिरहेका छन्। जातीय प्रथामा विस्तारवादी रणनीतिभन्दा माथि उठेर यही समाजले नै यसको रोकथाम गर्नुपर्छ। जातीय विभेदमा मर्कामा परेको जाति भनेको दलित जाति हो। हामीले दलित भनेको अछुत जाति हो भन्ने बुझ्छौं। शब्दकोशीय परिभाषाअनुसार दलित भनेको छिन्नभिन्न भएको जाति हो। विभेदरूपी परम्परा कसरी बस्दै आयो भन्ने कुराको मिहिन अध्ययन गरेर दीर्घकालीन रूपमा समाधानतर्फ लाग्नु नै आजको आवश्यकता हो। 

प्रकाशित: २१ माघ २०७९ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App