१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

ठगलाई ठेगान

राजधानी उपत्यकामा वार्षिक हजारको हाराहारीमा ठगीका उजुरी नेपाल प्रहरीको सम्बद्ध शाखामा दर्ता हुन्छन्। डर–त्रास तथा धम्की तथा ठग्ने र ठगिनेबीच हुने अस्वाभाविक मिलापत्रका कारण प्रहरीसम्म उजुरी नपुगेका ठगीका घटनाको संख्या योभन्दा बढी छ । प्रहरीमा दर्ता भएका ठगीका मुद्दाको बिगो दुई अर्ब रुपैयाँभन्दा पनि माथि छ । कतिपय उजुरी अदालतसम्म पनि पुगेका छन् त कतिपय प्रहरीले नै मिलाउँदै आएको छ । ठगीको संख्या र त्यसको बिगो दाबीलाई हेर्दा राजधानी ठगहरूको अखडा बनेको स्पष्ट हुन्छ । ठगहरू आफ्नो जुक्ति बलियो पार्न र प्रहरीको फन्दाबाट बच्न विभिन्न उपाय अपनाइरहेका हुन्छन् । कहिलेकाहीँ त बढी फाइदा देखेर लोभिनेहरू ठगिन पुगेका छन् । राजधानीमा बसेर ठगी धन्दा चलाउनेहरूले नयाँनयाँ जुक्ति, प्रविधि तथा बहाना बनाएर आफ्ना गतिविधि दिनानुदिन बढाउँदै लगेका छन् । झण्डै आधा करोड नागरिकको बसोबासको थलो बनेको राजधानी उसै पनि अभावग्रस्त, सुविधाविहीन र असुरक्षित समेत बन्दै आएको छ । त्यसमाथि ठगलाई ठेगान लगाउन नसक्दा सर्वसाधारणको जीवन कष्टकर बन्न पुगेको छ ।

पछिल्लो समय अधिकांश नेपाली युवाको आकर्षण वैदेशिक रोजगारी बन्न पुगेको छ । मुलुकमा रोजगारीको अवसर नहुनाले विदेश जाने इच्छा राख्नु अन्यथा पनि भएन । पढन्ते वर्गका युवा नेपाल होइन विदेश रोज्न थालेका छन् । तिनलाई स्वदेशी शिक्षामा विश्वास कम छ । यसरी कमाउन होस् या अध्ययन गर्न विदेश जाने वर्गले कुनै व्यक्ति वा संस्थामार्फत् श्रम अनुमति तथा अध्ययन अनुमतिपत्र लिने गर्छन् । यही सिलसिलामा अधिकांश व्यक्ति ठगिएका छन् । वैदेशिक रोजगारीमा नेपालीलाई पठाउने कतिपय म्यानपावर एजेन्सी जिम्मेवार नहुनाले सोझासीधा नागरिक ठगिएका हुन् । एजेन्सी हुन् वा व्यक्ति तिनले फर्जी कागजपत्र बनाएर पनि ठग्ने गरेका छन् । विकसित मुलुकमा पठाइदिने प्रलोभन दिएर ठग्ने त झनै धेरै छन् । छात्रवृत्तिमा पढ्न मिलाइदिन्छु भनेर ठग्ने पनि उत्तिकै छन् । कानुन मिचेर वा कानुनी प्रक्रियाभन्दा अलग रहेर कसैले–कुनै पनि काम गरिदिन्छु भन्छ भने त्यो ठग हो भन्ने चिन्न नसक्दा कतिपय सर्वसाधारण नराम्ररी ठगिन पुगेका छन् । यसरी ठग्नेमा नेपाली नागरिकमात्र नभएर विदेशीसमेत संलग्न रहेको पाइएको छ । ठगहरूले सरकारी कागजात, छाप तथा दस्तखत पनि नक्कली बनाएको प्रहरीले फेला पारेको छ । राहदानी तथा भिसा नै नक्कली बनाइदिने गिरोह राजधानीमा सक्रिय रहेको पाइएको छ । विदेशस्थित रोजगारदाता कम्पनी, कलेजलगायतको नक्कली वेबसाइट नै तयार पारेर तिनको लोगो प्रयोग गर्दै ठग्ने कामसमेत भएको छ ।

प्रश्न उठ्छ यसरी निरन्तर सर्वसाधारण ठगिनु र ठगी धन्दा दिनानुदिन मौलाउँदै जानुको कारण के हो ? सर्वसाधारणमा चेतनाको अभाव नै ठगिनुको प्रमुख कारण मान्न सकिन्छ हो । आफ्नो काम छिटो गराउन वा जसरी पनि फत्ते गर्न कानुन मिच्न पनि पछि नपर्ने प्रवृत्ति हामीमा हावी छ । यस्तो प्रवृत्तिले ठगलाई प्रोत्साहन मिल्छ । अर्कोतिर प्रहरीको कमजोर कार्यशैलीका कारण पनि ठगले उन्मुक्ति पाउँदै आएका छन् । उजुरी गर्न जानेलाई निरुत्साहित पार्ने काम कतिपय प्रहरीले गरेका छन् । कतिपय अवस्थामा प्रहरी नै पनि ठगका मतियार बन्दै आएको समेत पाइएको छ । ठगिविरुद्ध उजुरी गर्नेलाई प्रोत्साहन गर्न प्रहरीले कहिल्यै जानेन, उल्टो झन्झट गराइदिने, प्रक्रिया लम्ब्याइदिने गर्नाले कतिपय अवस्थामा पीडित उजुरी नै गर्दैनन् वा बीचैमा मिलापत्र गरेर झन्झटमुक्त हुन चाहन्छन् । यस्तो क्रियाकलापले पनि ठगी मौलाउन मद्दत पुगेको छ । पछिल्लो समय मुलुकको राजनीतिमा ठग र गुन्डाहरूको बिगबिगी बढेको छ । चुनाव जित्न होस् वा समाजमा त्रास मच्चाएरै भए पनि आफ्नो उपस्थिति देखाउन राजनीतिमा गुन्डाको सहयोग लिने नेता बग्रेल्ती छन् । राजनीतिक संरक्षणमा बढेको ठगी तथा गुन्डागर्दी नियन्त्रण गर्न प्रहरीलाई निकै कठिनाइ परेको छ । प्रहरीले पक्रेर ल्याएका कतिपय गुन्डा र ठग छुटाउन बन्दीगृहसम्म नेता नै पुगेका दृश्य अब नौला लाग्दैनन् । उपत्यकामा ठगीका घटनामा साँच्चै नै नियन्त्रण गर्ने हो भने आजैका मितिदेखि ठगको संरक्षण गर्न राजनीतिकर्मीले बन्द गर्नुपर्छ । ठगी प्रमाणित भइसकेपछि ठगउपर कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्छ । उजुरी गर्ने व्यक्तिलाई हतोत्साही होइन, प्रोत्साहन र पुरस्कृत गरिनुपर्छ । ठगी नियन्त्रण गर्ने मुख्य जिम्मेवारी पाएको निकाय प्रहरीलाई सुविधासम्पन्न पारिनुपर्छ ।    

प्रकाशित: १५ भाद्र २०७३ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App