नेपालमा सडक दुर्घटना अब 'नियमित आकस्मिकता' हुन पुगेको छ। सडकमा हरेक दिनजसो दुर्घटना भइरहेका छन्। गत शुक्रबार एकाबिहानै नारायणगढ–मुग्लिन सडक खण्डमा गुडिरहेको बस एकाएक त्रिशूली नदीमा खस्दा २२ यात्रुको मृत्यु हुुनुका साथै झन्डै त्यति नै संख्यामा घाइते भएका छन्। वर्षामा उर्लंदो त्रिशूलीमा कति जना हराएका छन्, त्यसको लेखाजोखा कठिन भएको छ। प्रतिकूल मौसम तथा नदीको तीव्र बहावका कारण उद्धार कार्य जटिल बनेको छ। यसले नेपालमा सडकयात्रा दिनप्रतिदिन असुरक्षित बन्दै गएको देखाएको छ। प्रहरीको आँकडाअनुसार नै दैनिक ४० वटा साना–ठूला दुर्घटना हुने गरेको छ भने सडक दुर्घटनाकै कारण वार्षिक करिब दुई हजारले ज्यान गुमाउने गरेका छन्। दुर्घटनाको यो भयावह तस्बिरले नेपालका सडकमा गुडिरहेका सवारीसाधन तथा सडकको अवस्था, चालक–सवारी धनी तथा सवारीसम्बद्ध संगठनहरूको जिम्मेवारीबारे एकपटक गम्भीर ढंगमा बहस हुनुपर्ने आवश्यकताबोध गराएको छ। साथै, ट्राफिक प्रहरीले निर्वाह गर्नुपर्ने भूमिकामा समेत यतिखेर प्रश्नचिह्न लागेको छ।
सडकयात्रु लामो समयदेखि यातायातमा कायम 'सिन्डिकेट'को मारमा पर्दै आएका छन्। तिनले तोकिएको भाडा तिर्दा पनि नयाँ तथा रोजेको सवारीसाधनमा यात्रा गर्न पाएका छैनन्। सिन्डिकेट नामको जालोले थोत्रा र आवश्यक मर्मतसम्भार नभएका सवारी सडकमा निर्वाध गुडिरहेका छन्। जब सवारीसाधन नै ठीक अवस्थामा छैन तब दुर्घटना त हुने नै भयो। अर्कोतिर यही सिन्डिकेटका कारण आवश्यक संख्यामा सवारीको व्यवस्था हुन नसक्दा क्षमताभन्दा बढी यात्रु बसमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता निम्तिएको छ। 'ओभरलोड' भएको अवस्थामा बसको बे्रकमात्र होइन स्टियरिङले पनि काम गर्दैन। सिन्डिकेट नभएर प्रतिस्पर्धात्मक व्यवस्था गर्न सकिएको भए यात्रुले छनोटको सुविधा पाउने थिए। सिन्डिकेटराजको अन्त्य हुन सकेको भए सडकमा राम्रो अवस्थाका सवारीमात्र गुड्ने थिए र दुर्घटना कम हुने थियो। अर्कोतिर लामो दूरीमा एउटै चालकले बस गन्तव्यमा पुर्याउन खोज्दा पनि दुर्घटना भएको देखिन्छ। नियमतः लामो दूरीमा कम्तीमा पनि दुई जना चालक हुनु अत्यावश्यक छ। प्रत्येक अढाइ सय किलोमिटर दूरीमा चालक परिवर्तन गर्नुपर्ने नियम छ। तर, विडम्बना हजार किलोमिटरसम्म पनि एउटै चालकले बस हाँक्नु सामान्य हुन पुगेको छ। शुक्रबार त्रिशूलीमा खसेको बसका चालक निदाएको आशंका गरिएको छ। यो सरासर बसमालिकको गैरजिम्मेवारी हो। बसमा सवार यात्रुको जीवनको महŒव, चालकको जिम्मेवारीलगायतका आधारभूत तŒवको महसुस गर्न नसक्ने व्यक्ति चालक बन्दा पनि दुर्घटना हुने गरेको देखिएको छ। त्रिशूलीमा खसेको बसमा कतिजना यात्रु थिए भन्नेसमेत यकिन छैन। बसको चलानी तथा यात्रुको नाम–ठेगानसहित टिकट पनि नकाटिएको अवस्था छ। यातायात व्यवसायी तथा संगठनले सिन्डिकेट बलियो बनाउनमात्र चाहेको, तर यात्रुको सम्मान गर्न नजानेको यो उदाहरण हो।
सरकारले सडकको आवधिक मर्मतसम्भार गर्न नसक्दा पनि कतिपय दुर्घटना निम्तिएका छन्। शुक्रबारको घटनामा केही हदसम्म खराब सडक पनि जिम्मेवार छ। नारायणगढ–मुग्लिङ सडक निकै जर्जर छ, सोही कारण पनि त्यो सडकका कतिपय खण्ड अहिले निर्माणाधीन अवस्थामा छन्। त्यहाँ चौबीसै घन्टा ट्राफिक प्रहरी खटिनुपर्ने हो। तर, जोखिमपूर्ण छ भन्ने थाहा हुँदाहुँदै पनि उक्त खण्डमा सवारी चौबीसै घन्टा निर्वाध गुडिरहेका छन्! कम्तीमा अधिक जोखिमका स्थानमा संकेत सूचक चिह्नमात्रै राख्न सक्दा पनि चालक सचेत हुने थिए। सडक निकै बिग्रेको छ भन्ने थाहा हुँदाहुँदै पनि रातिको समयमा बस गुड्न किन दिइयो भन्ने प्रश्न पनि त्रिशूली दुर्घटनाले उठाएको छ। यस्ता विषयमा ट्राफिक प्रहरी बढी जागरुक हुनुपर्ने देखिएको छ। दुर्घटना भइसकेपछि चितवन प्रहरीले देखाएको तदारुकता तारिफयोग्य छ। तर, दुर्घटना हुन नदिन ट्राफिक प्रहरीमात्र होइन सवारीधनी, चालक–सहचालक, सवारीसम्बद्ध संघ–संगठन तथा सरकारका प्रतिनिधिबीच गम्भीर छलफल हुनु अनिवार्य भएको छ। सडकयात्रालाई सबैभन्दा बढी सुरक्षित बनाउन उल्लिखित निकायबीच तत्काल समन्वय हुनु र कडा नीति–नियम तयार पारी कार्यान्वयन हुनु अत्यावश्यक छ।
प्रकाशित: १२ भाद्र २०७३ ०४:०३ आइतबार