१४ माघ २०७९ शनिबार
विचार

नेपालको दीर्घरोग: भ्रष्टाचार

भ्रष्टाचार जहाँ पनि र जहिले पनि छ। हामीकहाँ त झन् यो राष्ट्रिय जीवनको एउटा तथ्य मात्र नभएर जीवन पद्धतिकै रूपमा देखिन थालेको छ। प्रायः सबैले भ्रष्टाचारको निन्दा गर्छन्।  

राजनीतिक नेतृत्वले त भ्रष्टाचार नियन्त्रण गर्ने वाचा कसम नै गरेका हुन्छन्। कर्मचारीहरू पनि भ्रष्टाचार गर्छौ भनेर कहाँ भन्छन् र? विद्वान् लेखक तथा विज्ञहरूले भ्रष्टाचार नियन्त्रणका उपायहरू पनि सुझाइरहेका हुन्छन्। आम नागरिक यसबाट राहत पाउने अपेक्षा गरिरहेका छन् तर भ्रष्टाचार घट्नुको साटो विकराल  

बनिरहेको छ।  

नेपालमा भ्रष्टाचार किन मौलाइरहेको छ ? यसको नियन्त्रण गर्न सम्भव छ कि छैन ? नियन्त्रणका प्रभावकारी उपायहरू के के हुनसक्छन्? यसबारेमा घरेलु विमर्शसहितको पुस्तकको अभाव यस पुस्तकले परिपूर्ति गर्न सक्छ।

भ्रष्टाचार विरुद्ध लेखिएका केही पुस्तक बजारमा हुँदै नभएका होइनन् तर अधिकांश पुस्तकले प्राज्ञिक मूल्य मान्यतालाई पछ्याउन सकेको देखिँदैन। कतिपयमा त सन्दर्भसूचीसम्म छैन। निश्चित विधि र पद्धतिमा रही उद्धरण गर्नुपर्ने प्राज्ञिक अभ्यासलाई समेत वेवास्ता गरिएको देखिन्छ।  

भ्रष्टाचारलाई बुझ्न खास विश्व परिवेश वा अवस्था, देशले अवलम्बन गरिरहेको शासन प्रणाली, त्यस्तो राजनीतिक प्रणालीको जगमा उभिएको कर्मचारीतन्त्र, न्यायालय, सांस्कृतिक अभ्यास, सामाजिक चालचलनलगायतका सवालहरूलाई पनिसँगै राखेर हेर्नुपर्ने हुन्छ। भ्रष्टाचारलाई हल्का रूपमा लिने र सोही अनुसार विश्लेषण गर्ने अभ्यास नेपालमा निकै अघिदेखि रहेको देखिन्छ।

नेपाल सरकारका पूर्व सचिव एवम् अध्येता रामकुमार आचार्यले नेपालमा भ्रष्टाचारः कारण र निवारण शीर्षकको पुस्तकमार्फत यो सिलसिलालाई रोक्ने प्रयत्न गरेका छन्। ३२ वर्ष लामो सरकारी सेवामा रहँदा न्यायपालिका, विधायिका र कार्यकारिणी समेत तीनवटै राजकीय निकायको अनुभव सँगाल्ने निकै कम व्यक्तिहरू मध्ये पर्छन्– लेखक। आचार्य सिर्जित यो पुस्तक गहन अध्ययन र अनुसन्धानको जगमा उभिएको देखिन्छ। लेखकले भ्रष्टाचारलाई ऐतिहासिक सन्दर्भ, विश्व परिवेश र नेपाली सन्दर्भलाई सँगै राखेर विश्लेषण गरेका छन्।

पुस्तकको संरचना

नेपालमा भ्रष्टाचारः कारण र निवारण पुस्तक ५२८ पृष्ठको छ। अग्र–पाश्र्व पृष्ठ रङ्गिन कलेबरमा राखिएको छ। ८ परिच्छेदमा विभाजित पुस्तकको मुख्य खण्डले ४९४ पृष्ठ ढाकेको छ। यसैअन्तर्गत ८ वटा पृष्ठमा भ्रष्टाचारका प्रतिनिधिमूलक उदाहरण समेटिएका रङ्गिन तस्बिर पनि राखिएका छन्।

‘इनर कन्टेन्ट’का३२ पृष्ठमा समर्पण, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, इकागजका सम्पादक हरिबहादुर थापा र उपप्राध्यापक दीपेश घिमिरेका मन्तव्य राखिएका छन्। यसबाहेक लेखकीय, आभार, तालिका सूची, सङ्क्षिप्त रूप सूची, तस्बिर सूची संलग्न गरिएका छन्। यसैगरी पाश्र्व पृष्ठमा नेपाल सरकारका पूर्व मुख्य सचिव डा. सोमलाल सुबेदी र अर्थविद एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तकको विषयवस्तु केद्रित सङ्क्षिप्त टिप्पणी ‘ब्लर्ब’  

राखिएका छन्। लेखकले सामान्य चलन भन्दा बाहिर गएर नेपालका भ्रष्टाचार पीडित निर्दोष नागरिक र तस्करको प्रलोभन अस्वीकार गरेर संघर्ष गर्दागर्दै उनीहरूबाट नेपाल भारत सिमानामा निर्मम हत्या गरिएका प्रहरीद्वय सहायक निरीक्षक गोविन्द बिक र जवान रामबहादुर साउद तथा उनका परिवारलाई पुस्तक समर्पित गरेका छन्।

परिच्छेद– १ मा भ्रष्टाचारको परिचय ५ तरिकाबाट गराइएको छ। यस क्रममा क्रमशः व्युत्पत्तिगत अर्थ, विभिन्न परिभाषाहरू, पहिचान गर्ने मापदण्ड र भ्रष्ट कार्यको विवरण दिइएको छ भने अन्त्यमा भ्रष्टाचारका विभिन्न रूपहरूको वर्गीकरण गरिएको छ।  

परिच्छेद– २ मा भ्रष्टाचारको विस्तार र मापनका बारेमा सामान्य जानकारी गराउँदै भ्रष्टाचारसम्बन्धी सूचकाड्ढमा नेपालको स्थिति प्रष्ट्याउने प्रयास गरिएको छ।  

परिच्छेद– ३ मा भ्रष्टाचारका सैद्धान्तिक र व्यवहारिक कारणबारे विभिन्न लेखकका विचारहरूलाई समेटेर प्रचलित मुख्य–मुख्य बुँदाहरू प्रस्तुत गरिएको छ।  

परिच्छेद– ४ भने पूर्णतः नेपालमा हुने भ्रष्टाचारका कारण र मूलकारणमा केन्द्रित छ। यो परिच्छेद पुस्तकको सबैभन्दा महत्वपूर्ण हिस्सा भएकाले दिइएका कारणहरूको आधारसहित विभिन्न घटना र परिघटनाहरूको उदाहरण पनि उल्लेख गरिएका छन्।  

परिच्छेद– ५ मा भ्रष्टाचारको दुष्प्रभावका बारेमा अभिव्यक्त विभिन्न प्राज्ञिक विचारहरूलाई आर्थिक, राजनीतिक, सामाजिक र पर्यावरणीयसमेत ४ भागमा विभाजन गरी छलफल गरिएको छ। अन्त्यमा, भ्रष्टाचारले व्यक्ति, परिवार, समुदाय, राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउने क्षतिसम्बन्धी बुँदाहरूलाई तालिकामा प्रस्तुत गरिएको छ।  

परिच्छेद– ६ मा भ्रष्टाचार नियन्त्रण गर्न भएका अन्तर्राष्ट्रिय प्रयास, सुधारका उपाय र नियन्त्रणका तरिकाहरू प्रस्तुत गरिएका छन्।  

परिच्छेद– ७ मा नेपालमा विद्यमान भ्रष्टाचारविरुद्धका सांस्कृतिक, कानुनी, संस्थागत, राजनीतिक, आर्थिक, प्रशासनिक, जनचेतना, अन्तर्राष्ट्रिय दबाब लगायतका सकारात्मक परिवेशहरूको वर्णन गरिएका छन्।  

परिच्छेद– ८ नेपालमा भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित छ। यो परिच्छेद परिच्छेद– ४ सँग जोडिएको छ। परिच्छेद– ४ मा वर्णित नेपालमा हुने भ्रष्टाचारका कारणहरूलाई समस्या मानेर यस परिच्छेदमा समाधानका ठोस बुँदा प्रस्ताव गरिएका छन्।

पुस्तकको मुख्य विशेषता

पुस्तकमा भ्रष्टाचारसम्बन्धी प्रचलित सैद्धान्तिक पक्ष र विश्व परिवेशका सन्दर्भ  

समावेश गरिए पनि यो मूलतः नेपाल केन्द्रित छ।

भ्रष्टाचारविरुद्धको संघर्ष सफल हुन त्यसको पहिचान हुनु अनिवार्य हुन्छ। परिभाषाको अभावमा भ्रष्टाचार पहिचान गर्न खोज्दा त्यो अधूरो हुन जान्छ। पहिचानको पूर्णताका लागि पुस्तकमा ‘सुम्पिएको सार्वजनिक अधिकारको दुरूपयोग गरी अनुचित लाभ लिने कार्य’ भ्रष्टाचार हो भनेर सर्वथा मौलिक परिभाषा गरिएको  

छ (पृष्ठ ९)।

भ्रष्टाचारको विस्तार कुन रूपमा भएको छ भन्ने थाहा नपाइ यसविरुद्ध कुन स्तरको प्रतिरोध गरिनुपर्छ भन्ने ठम्याउन सकिँदैन। त्यसैले पुस्तकमा नेपालमा भ्रष्टाचारको विस्तार व्यक्तिगत तहमा सीमित नभएर ‘प्रणालीगत’ स्तरमा भएको छ भन्ने कुरा कारणसहित स्पष्ट गरिएको छ (पृष्ठ २५ र २१५)।

नेपालमा ‘नीतिगत भ्रष्टाचार’ भन्ने शब्दावली छ्यास्छ्यास्ती प्रयोग गरिन्छ। यस्तो शब्दावलीको प्रयोग अन्यत्र भएको पाइँदैन। धेरैजसो प्राज्ञिक रचनाहरूमा हामीले भन्ने नीतिगत भ्रष्टाचारसँग मिल्ने गरी ‘राज्य कब्जा’ (स्टेट क्याप्पचर) र ‘नीति कब्जा’ भनेर लेखिएको पाइन्छ। यस तथ्यलाई पुस्तकले स्पष्ट पार्ने प्रयत्न गरेको  

छ (पृष्ठ २९)।

नेपालमा भ्रष्टाचारविरुद्धका परिवेशहरू सबै नकारात्मक मात्र छन् भन्ने आम बुझाइ छ। यसको विपरीत पुस्तकमा नेपालमा भ्रष्टाचारविरुद्धका पर्याप्त सकारात्मक परिवेशहरू रहेको तथ्य प्रस्तुत गरिएको छ। यी सकारात्मक परिवेशहरूलाई नेपालको भ्रष्टाचारविरुद्धको संघर्षमा उपयोग गर्नु आवश्यक छ (पृष्ठ ३४१)

नेपालमा भ्रष्टाचारविरुद्धका सकारात्मक परिवेश हुँदाहुँदै पनि भ्रष्टाचार प्रणालीगत स्तरमा किन भइरहेको छ भन्ने कारणहरू खोतल्ने क्रममा पुस्तकमा १६ वटा मौलिक कारणहरू प्रस्तुत गरिएका छन्। यी कारणमध्ये एउटा ‘भारत तत्व’ पनि हो। यो विषय धेरैका लागि नौलो हुनसक्छ (पृष्ठ ११५ र १९७)।

नेपालमा भ्रष्टाचारको मूल कारण के हो भन्नेबारे विभिन्न व्यक्तिहरूले विभिन्न कारणहरू दिएको पढ्न र सुन्न पाइन्छ तर कसैले पनि कारणसहित यो नै मूल कारण हो भनेर निर्धारण गरेको पाउन सकिँदैन। यस पुस्तकले भने नेपालको भ्रष्टाचारको मूल कारण ‘राजनीतिक इच्छाशक्तिको कमी’ हो भनेर कारण र प्रमाणसहित ठम्याएको छ (पृष्ठ २१९)।

पुस्तकमा नेपालमा हुने भ्रष्टाचारका १६ वटा कारणलाई समस्याका रूपमा प्रस्तुत गरेर प्रत्येक समस्याको समाधानसहित निवारणका उपायहरू सुझाइएको छ (पृष्ठ ३८०)।

नेपालको भ्रष्टाचारको स्तर प्रणालीगत भएको हुनाले यसको निवारण गर्न कठिन छ। यस्तो प्रकारको भ्रष्टाचार निवारण गर्न विश्वमा दुई वटा तरिका (क्रमागत र क्रमभङ्ग) अभ्यासमा छन्। नेपालका सन्दर्भमा पुस्तकले यहाँ विद्यमान आशावादी परिवेशमा (पृष्ठ ३७८) उभिएर क्रमभङ्ग ‘बिग व्याङ’ (पृष्ठ ३२९ र ३७९) तरिका अपनाउन सके भ्रष्टाचार निवारण गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेको छ।  

पुस्तकमा प्राज्ञिक लेखनका मर्यादाहरू यथासम्भव पालना गरिएका छन्। नेपाली भाषाको पुस्तक लेखनमा कमै मात्र पाइने अनुक्रमणिका समेत राखिएको छ। वर्णानुक्रम अनुसार दिइएका शब्द र शब्दावलीहरूले पाठकलाई आफूले चाहेको विषय पुस्तकको सम्बन्धित पृष्ठभित्र खोज्न र पाउन सहज बनाउँछ।

पुस्तकको उपयोगिता

पुस्तक नेपालको भ्रष्टाचार र शासन व्यवस्थाबारे रूचि राख्ने सबैका लागि उपयोगी देखिन्छ। विशेष गरी, प्रशासन, कानुन, व्यवस्थापन, अर्थ र समाजशास्त्र विषयमा उच्च शिक्षा लिँदै गरेका विद्यार्थी बढी लाभान्वित हुन सक्छन्। सो विषयका प्राध्यापक र प्रशिक्षकका लागि पनि पुस्तक सहयोगी हुनसक्छ। यस अतिरिक्त लोकसेवा जस्ता प्रतिस्पर्धात्मक परीक्षा दिनुपर्ने तथा शोधकार्यमा संलग्न हुने व्यक्तिहरू, भ्रष्टाचार निवारणका क्षेत्रमा फलदायी परिणाम ल्याउन चाहने नीति निर्माता तथा कार्यान्वयनकर्ताहरूले पुस्तकमा प्रस्तुत विवरण र विचारबाट कामकाजी लाभ लिन सक्नेछन्।  

यसै वर्ष नेपालमा स्थानीय निकाय, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भएका छन्। निर्वाचनमा कतिपय भ्रष्ट भनिएका र सार्वजनिक ठेक्कापट्टामा स्वार्थ जोडिएका व्यक्तिहरूले पनि राजनीतिक दलको टिकट पाए र विजयी भए भने कतिपय मुख्य प्रतिस्पर्धीका रूपमा देखिए। कतिपय युवाहरूले भ्रष्टाचार विरुद्धको नारामा नै विजय हासिल गर्न सके भने केही भ्रष्ट ठानिएकाहरूको शर्मनाक हारसमेत भयो।  

यसबाट नेपालमा भ्रष्टाचारविरुद्धको जनचेतनामा वृद्धि भएको पाइए पनि राजनीतिक दलको मूल नेतृत्वमा भ्रष्ट तत्वलाई संरक्षण गर्ने प्रवृत्तिमा कमी नआएको प्रस्ट हुन्छ। जनताको चेतनास्तर पनि भ्रष्टाचारीलाई हराएर दण्डित गर्नेसम्मको निर्णायक स्तरमा पुग्न सकेको देखिएन। परिणाम जे आएको भए पनि नेपालको शासकीय वृत्तमा अब नयाँ अनुहारहरू पनि उदाएका छन्। यसबाट भ्रष्टाचारविरुद्धको अभियानले गति लिने आशा राख्न सकिन्छ। यस सन्दर्भमा पनि पुस्तक उपयोगी हुनसक्छ।

प्रकाशित: ७ माघ २०७९ ०९:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App