११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

नेविसंघका भावी चुनौती

नेपाल विद्यार्थी संघको एघारौं राष्ट्रिय महाधिवेशन 'समृद्ध नेपाल निर्माणका लागि संघीय लोकतान्त्रिक संविधान कार्यान्वयन, गुणस्तरीय र रोजगारमूलक शिक्षाका निम्ति नेविसंघको एघारौंँ राष्ट्रिय महाधिवेशन' भन्ने मूल नाराका साथ साउन २३ देखि २५ गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशन जतिजति नजिकिँदैछ, उतिउति नयाँ नेतृत्वको होड पनि चलिरहेको छ। क्याम्पसदेखि जिल्ल्ाा, क्षेत्र र केन्द्र जताततै नेविसंघबारे गरमागरम बहस सुरु भएका छन्। माउ पार्टीको एकतापछि हुन लागेको पहिलो महाधिवेशनमा नेतृत्वका आकांक्षी धेरै देखिएका छन् तर अहिलेसम्म धेरैले आफ्नो उम्मेदवारीको औचित्य स्पष्ट पार्न र कारण पेश गर्न भने सकेका देखिँदैन। उनीहरू 'म भए ठीक बाँकी सबै बेठीक' भन्ने मनगढन्ते ढिपीमात्र गरिरहेका देखिन्छन्। 

संविधान सभाको दोस्रो निर्वाचनपछि माउ पार्टी पहिलो पार्टी बनेर सरकारको नेतृत्व गर्दै ऐतिहासिक लोकतान्त्रिक संविधान जारी गर्न सफल भएको र अहिले पुनः सरकारमा सहभागी भई क्रियाशील भइरहेको पृष्ठभूमिमा हुन लागिरहेको महाधिवेशन आफँैमा ऐतिहासिक छ। आसन्न यो महाधिवेशनमा विद्यार्थीको जमघट र यसले ल्याउने उत्साह, उमङ्ग र ऊर्जा विद्यार्थी तथा तरुणका लागि निकै चासोको विषय बनेको छ। मेचीदेखि महाकालीसम्मका युवा–विद्यार्थीको उपस्थितिले नेविसंघको भावी जीवन कस्तो हुने हो भन्ने निर्धारण गर्नेछ। लोकतन्त्रमा विश्वास गर्ने मुलुककै एकमात्र पार्टी नेपाली कांग्रेसको कार्यकर्ता उत्पादनको नर्सरी मानिने नेविसंघको आन्तरिक जीवन सुदृढ बन्न सकेमात्र पार्टीको भविष्य सुन्दर र समृद्ध हुने भएकाले नेविसंघको आसन्न महाधिवेशनको विशेष अर्थ र महत्व रहन्छ नै।

विगत कार्यकालको समीक्षा, वर्तमान अवस्थाको यथार्थ चित्रण, भावी योजना निर्माण र सक्षम नेतृत्व चयन महाधिवेशनका मुख्य अभिभारा हुन्।

'शैक्षिक संस्था बाहुबलको प्रयोग गर्ने स्थल होइन, यो त विचार र सिद्धान्तको द्वन्द्वात्मक भूमि हो' भन्ने बिपी कोइरालाको भनाइ र राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता हाम्रा आदर्श हुन् भन्ने मूल आदर्शलाई आत्मसात गर्दै विद्यार्थीको हक, हित र अधिकारको पक्षमा सधंै प्रतिबद्ध रहेको एकमात्र विद्यार्थी संगठन हो नेपाल विद्यार्थी संघ। यो संगठनले बल र धम्कीमा विश्वास नगरी स्वस्थ र प्रतिस्पर्धात्मक राजनीतिलाई आत्मसात गर्दै आएको छ। फेरिँदो समयसँगै नेपाल विद्यार्थी संघको विद्यार्थी आन्दोलनका चुनौती र अरु दलका भातृ संघ/संगठनसँगको सम्बन्धबीच आफ्ना मूल मन्त्र र मान्यतालाई सम्झेर संगठनको गरिमालाई जिउँदोजाग्दो राख्नु तथा मातृपार्टीले अङ्गीकार गरेको नीति सधंै शिरोपर गरी दूतको भूमिका निर्वाह गर्दै अगाडि बढ्नु नेविसंघको मुख्य जिम्मेवारी बनेको छ।

वर्तमान राजनीतिक सन्दर्भको नयाँ संविधान जारी गर्ने संघारमा महाधिवेशनमार्फत विद्यार्थी राजनीतिलाई नयाँ भूमिका, नयाँ कार्यक्रम र नयाँ परिभाषामा फरक ढंगले परिवर्तन गर्नुपर्नेछ। विद्यार्थी संगठनको काम केवल नारा, जुलुस, ढुङ्गामुढा, टायर बाल्ने, तोडफोड र तालाबन्दी गर्नेमात्र होइन, नयाँ विचार, नयाँ सिर्जना तथा समाजका लागि नयाँ चेतना र सन्देशमूलक काम गर्नु हो। शैक्षिक गतिविधिलाई मर्यादित तुल्याउन नेविसंघको आसन्न महाधिवेशनबाट केही ठोस निर्णय गरिनुपर्छ। विद्यालय क्षेत्रलाई साँच्चिकै शान्ति क्षेत्र घोषणा गर्ने निर्णय गरिनुपर्छ। पछिल्ला वर्षमा विद्यार्थी संगठनको भूमिका र त्यसका कारण आमनागरिकमा परेको विद्यार्थी संघ/संगठनप्रतिको नकारात्मक छाप मेटाउन पनि अबको नेतृत्वले रचनात्मक काम गर्न अत्यावश्यक देखिन्छ।

शैक्षिक विभेद अन्त्य, गुणस्तरीय, व्यावहारिक, वैज्ञानिक र रोजगारमूलक शिक्षा प्राप्तिका लागि नेविसंघले आफ्नो स्थापनाकालदेखि नै अविच्छिन्नरूपमा आवाज बुलन्दरूपमा उठाइरहेको छ। झण्डै नौ वर्षमा हुन गइरहेको यस एकता महाधिवेशनमा प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा ३ वटा विज्ञानका उच्च मावि स्थापना हुनुपर्ने, स्नातकसम्म निःशुल्क शिक्षाको व्यवस्था, शिक्षा, स्वास्थ्य र यातायात एवं मनोरञ्जनको क्षेत्रमा ५० प्रतिशत विद्यार्थी सहुलियतको व्यवस्थाबारे बहस गरिनुपर्छ। २१ औं शताब्दीको नेपाली समाजले अपेक्षा गरेअनुसारको शिक्षा नीति निर्माण गरिनु आजको आवश्यकता हो। नेविसंघ सर्वसुलभ र समतामुखी शिक्षाबाट नेपाली शिक्षालाई रूपान्तरण गर्न सकिन्छ भन्ने प्रष्ट दृष्टिकोण राख्ने संगठन भएकाले त्यसलाई व्यवहारमा पुष्टि पनि गर्नुपर्ने बेला आएको छ। अहिले विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने कारखाना बन्न पुगेका छन्। त्यसकारण दिन/प्रतिदिन बढ्दै गएको शिक्षित बेरोजगारलाई सम्बोधन गर्न राज्यबाट नै बेरोजगार भत्ताको व्यवस्थाका साथै उनीहरुलाई शैक्षिक प्रमाणपत्र धरौटी राखी निर्ब्याजी शैक्षिक ऋणको व्यवस्था, विद्यार्थीका लागि रासन कार्डको व्यवस्था, घरभाडासम्बन्धी विशेष नीति निर्माण गर्नका लागि यो महाधिवेशनले उचित वातावरण कानुनीरूपमै मिलाउन सकारात्मक भूमिका खेल्नुपर्छ। शिक्षामा राज्यको लगानी वृद्धि र विशेषगरी धूमपान, मद्यपान जस्ता पदार्थमा विशेष शैक्षिक कर उठाउनुपर्ने व्यवस्थाबारे पहल गरिनुपर्छ।

सूचना प्रविधिका क्षेत्रमा भएको दु्रत प्रगतिले ल्याएका चुनौती र सम्भावनालाई आत्मसात् गर्दै अघि बढ्नु अहिलेको अर्को आवश्यकता हो। त्यसैले अब शिक्षण संस्थामा इ–लाइब्रेरीको व्यवस्था गर्नुपर्ने बेला आएको छ। पछिल्लो समयमा अत्यन्तै आलोचित र चरम आर्थिक अनियमितताको केन्द्रविन्दु एवं राजनीतिक क्रीडास्थल बनिरहेका विश्वविद्यालयहरुलाई सुधार गरी तिनलाई प्राज्ञिक उन्नयनको धरोहरका रूपमा कसरी बचाइराख्ने भन्ने अर्को महत्वपूर्ण चुनौत्ाी हाम्रासामु छ। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा दलीय भागबन्डाको साटो शैक्षिक र प्राज्ञिक प्रतिस्पर्धाका आधारमा योग्य र सक्षम व्यक्तिको नियुक्ति हुनुपर्ने कुरा उठाउनु अत्यन्त आवश्यक छ। त्यसकारण आसन्न एघारौँ महाधिवेशनमा यसलाई गहन छलफलको एजेन्डा बनाउनुपर्छ।

नेविसंघका आन्दोलनको प्राप्तिस्वरूप माध्यमिक तहसम्मको निःशुल्क शिक्षा र शिक्षामा ऋणको व्यवस्थालगायत स्वास्थ्य क्षेत्रमा पनि सोही अनुपातमा छुटको व्यवस्था भएका छन्। अझै उच्च मावि तहको शिक्षा निःशुल्क र अन्य दैनिक उपभोग्य वस्तुहरुमा मूल्य वृद्धिको अनुपातमा विद्यार्थीलाई सहुलियत व्यवस्था हुनुपर्नेलगायतका कुरालाई नेविसंघको आसन्न महाअधिवेशनमा सशक्तरूपले उठाउनुपर्नेछ। राजनीतिप्रति वाक्कदिक्क भइरहेका युवायुवतीलाई आकर्षित गर्ने कार्यक्रमको प्याकेज ल्याउन सकिएको छैन। राजनीतिप्रतिकै आकर्षण र अर्कातिर लोकतन्त्रप्रतिको अगाध विश्वास र अपेक्षा  टुट्न दिनुहुँदैन।

नेपालको शिक्षा नीति स्पष्ट छैन। शिक्षाको उद्देश्य समाज र राष्ट्रिय आवश्यकतासँग तालमेल हुन नसक्दा शिक्षित बेरोजगारको संख्या बढ्दो छ। शास्त्रीय र कोरा सिद्धान्तवादी शिक्षालाई कसरी व्यावहारिक, सिपमूलक र सर्वसुलभ बनाउन सकिन्छ भन्ने सन्दर्भ हाम्रो अर्को चासोको मुद्दा हुनुपर्छ। शिक्षाले विद्यार्थीमा श्रमप्रति सम्मान गर्ने मनोविज्ञान विकास गर्नुपर्छ। सार्वजनिक शिक्षाको अवस्था अत्यन्त नाजुक छ भने निजी क्षेत्रबाट सञ्चालित शिक्षाको अवस्था व्यापारीकरणको महत्वाकांक्षाले मात्र ग्रसित छ। सार्वजनिक र निजी विद्यालयको स्थिति असमान छ। तसर्थ धनी र गरिबको खाडलले ल्याइरहेको असमानता चिरेर महाधिवेशनले स्पष्ट नीति अख्तियार गर्न सक्नुपर्छ।

झण्डै साढे चार दशक लामो यात्रा तय गरेको नेविसंघले एघारौं महाधिवेशनलाई समावेशी बनाएर राजनीतिक/सामाजिक रूपान्तरणको सही सन्देश दिन खोजिरहेको अनुभूत गरिएको छ। खुला प्रतिस्पर्धाबाट पनि महिला, आदिवासी–जनजाति, दलित र मधेसी/मुस्लिम तथा पिछडिएका अल्पसंख्यक समुदायका महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुन पाउने व्यवस्था र निर्वाचनमा लड्न पाउने उल्लेखनीय व्यवस्था गरिएको छ।

पार्टी एकीकरणपश्चात्को पहिलो महाधिवेशनको मुखैमा आइपुग्दा पनि माउ पार्टीमै जस्तो भावनात्मक एकताको खडेरी र गुट/उपगुटको धु्रवीकरण तीव्र देखिएको छ। संगठनको आन्तरिक जीवन स्वस्थ नभएसम्म त्यो जीवन्त हुनै सक्दैन। संगठनको अनुशासन अर्को महत्वपूर्ण कुरा हो। नेविसंघले सर्वप्रथम संगठनको आन्तरिक व्यवस्थापन सुदृढ गर्नु जरुरी छ। त्यसका लागि गुट/उपगुट भत्काएर उसले नेतृत्व र कार्यकर्ता पंक्तिमा अनुशासन, मूल्यांकन र जवाफदेहिताको संस्कार बसाउनु जरुरी छ। बैठक, भेला, प्रशिक्षण, विचार गोष्ठी जस्ता कुरामा ध्यान दिन जरुरी छ न कि प्रचारमुखी कार्यशैली। संगठनको आन्तरिक जीवनलाई जीर्ण बनाउँदै आएका कुरालाई बेलैमा झिकेर मिल्काउन सकिएन भने यसले संगठनलाई समाप्तिको बाटोमा हिँडाउनेछ।

विगत कार्यकालको समीक्षा, वर्तमान अवस्थाको यथार्थ चित्रण, भावी योजना निर्माण र सक्षम नेतृत्व चयन महाधिवेशनका मुख्य अभिभारा हुन्। नेविसंघको गरिमामय साख बचाइराख्ने हो भने संघको जीवनमा यो महाधिवेशन निकै महत्वपूर्ण र ऐतिहासिक ठहरिनेछ। माथि भनिएको जस्तो विशिष्ट अवस्थामा हुन लागिरहेको महाधिवेशनले शैक्षिक मुद्दाहरू, आफ्नो आन्तरिक जीवन, माउ पार्टीको उत्तराधिकारीका रूपमा गर्नुपर्ने कामहरू जति प्रभावकारी ढंगले गर्न सक्छ उति नै संगठन चुस्त, दुरुस्त र प्रभावकारी बन्नेछ। यसका लागि नयाँ नेतृत्वका नाममा व्यक्तिमात्र फेरिने प्रवृत्ति रोकिनुपर्छ।

नेविसंघको भूमिका माउ पार्टीको बफादारी आदेश पालकको जस्तो मात्र नभएर रचनात्मक सहयोगी तथा गलत मुद्दा र बाटोमा आलोचनात्मक हुने पनि हो तर जुन कुरा नेविसंघले झण्डै २ दशकसम्म गर्नै सकेको छैन। हामीले पार्टी सुधार्ने त टाढाको कुरा हामी पनि पार्टीअनुसारकै गुट/उपगुट बनाउन पो अग्रसर भयौं, जुन लाजमर्दो कुरा थियो र हो। विगतमा आ–आफ्ना नेता रोजियो र त्यस घनचक्करमा पार्टीसमेत चुक्यो। माउ पार्टी फुट्दा पनि हामीले कुनै विशेष प्रकारको हस्तक्षेप गर्न सकेनौं। हामी सधंै प्रयोग भयौं त्यो पनि व्यक्तिगत स्वार्थका लागि, गुटगत फाइदाका लागि। नयाँ नेतृत्वको आकांक्षा राख्नु जायज होला तर त्यसका पछिको औचित्य प्रमाणित गर्न सक्नु र आमविद्यार्थीलाई विश्वासमा लिन सक्नु नेतृत्वका लागि नभइनहुने कुरा हो। नयाँ नेतृत्व दूरदर्शी र आफूमाथिको अहम् जिम्मेवारी पूरा गर्नेखालको हुन आवश्यक छ। नेतृत्व मलाई चाहियो भन्ने रोइलो गर्न वा म भएमात्र  संगठनको प्राण धानिन्छ भन्ने भ्रमबाट हामी सबै मुक्त हुन आवश्यक छ। नयाँ सोच–शैली, क्षमता र विचारका साथ लोकतान्त्रिक विचारमा आस्था राख्ने लाखौं विद्यार्थीलाई आशाको नयाँ विकल्पका रूपमा नेविसंघलाई स्थापित गर्न सक्ने नेतृत्व अब छानिनुपर्छ। कुशल, योग्य, सक्षम र समर्थ नेतृत्व चयनका लागि उपयुक्त नेतृत्व प्रतिभाप्रति सबै प्रतिनिधिले समयमै सोच्नुपर्ने आवश्यकता ज्वलन्तरूपमा देखिन्छ।

 पूर्वस्ववियु सभापति, त्रिवि कीर्तिपुर

प्रकाशित: २३ श्रावण २०७३ ०४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App