अमेरिकी राष्ट्रपति बाराक ओबामा राष्ट्रपतिको पदावधि जनवरी २०१७ मा सकिएपश्चात् कस्तो काममा लाग्ने गहन छलफलमा जुटेका छन्? अन्य पूर्व राष्ट्रपति जस्तै ओबामा पनि एउटा फाउन्डेसन खोलेर काला जातिका समस्या समाधानमा विशेष भूमिका खेल्नेबारे चर्चा भइरहेको छ। कसैले त अमेरिकाको अनुसन्धान केन्द्र मानिने सिलिकन भ्यालीमा उनलाई काम गर्न पनि सल्लाह दिँदैछन्। धेरै विषयवस्तुमा हामी अमेरिकालाई मानकका रूपमा लिन्छौं। अधिकारदेखि नयाँ प्रविधिमा अमेरिकाले गरेको प्रगतिपथलाई पछ्याउँछौँ। हाम्रा पूर्व सरकार प्रमुख/राष्ट्र प्रमुखले त्यहाँका सरकार प्रमुखको अनुशरणचाहिँ किन नगर्ने?
केही समयअघि पूर्व राष्ट्रपति रामवरण यादव बसेको घर भाडासम्बन्धी खुब चर्चा भयो। अन्ततः सरकारले सो भाडा पनि तिर्यो। आफ्नै घर हुँदाहुँदै सरकारी सेवा/सुविधा नै ताक्ने प्रवृत्ति आफैँमा कति उचित हो रामवरण नै जानून्। उनीमात्रै होइन, अन्य उच्च ओहोदामा पुगेकाहरुले पनि सरकारी सेवा/सुविधामा जोड गर्ने गरेको हामीले देख्ने गरेका छौं। आफ्नो साथमै भएका कुरा पनि सरकारबाट प्राप्त गर्ने लालसा देखाउनु विशिष्टहरुका लागि सुहाउँदैन। हाम्रा विशिष्टहरुले जनताको करबाट लिने होइन, जनतालाई आफूले केही दिने उद्देश्य राख्न जरुरी छ। यसले दुर्गन्धित बन्दै गएको राजनीतिलाई सफा राख्न सानै भए पनि मद्दत गर्छ।
गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिका रूपमा लगभग आठ वर्ष रहेर देशको शिशु गणतन्त्रलाई संस्थागत गर्न महत्पूर्ण भूमिका खेले डा. यादवले। नेपाली इतिहासमा उनकोे स्थान सुरक्षित छ। लगभग एक सामान्य नेपालीको वार्षिक औसत आयभन्दा दोब्बर रकम त सरकारले डा. यादवको प्रतिमहिना घरभाडा नै तिर्छ, ६/७ जना सुरक्षकर्मी तैनाथ छन्। ३ वटा गाडी उपलब्ध छन् र इन्धन पाउँछन्। योभन्दा बढी उनले सरकारबाट के आशा गर्ने? समयसमयमा राज्यबाट उचित प्रबन्ध नभएको गुनासो गर्छन् पूर्व राष्ट्रपति। अझ उनी जनकपुर गएर बस्ने घुर्की पनि लगाइरहेका छन् सरकारलाई।
पञ्चायती व्यवस्थामा विश्वेश्वरप्रसाद कोइरालाको उपचारमा अहोरात्र खटिएका र वषर्ौंसम्म बिरामीको सेवा गरेका डा. रामवरण अब फेरि चिकित्सा पेशामै फर्कन किन नहुने? संसारका धेरै सरकार प्रमुखका प्रेरणादायी कथा छन्। जसले आफ्नो असाधारण जीवनशैली र कर्मद्वारा देश र जनतालाई डोर्याउँदैछन्।
दक्षिण अमेरिकी राष्ट्र उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिका पदमा रहँदासमेत आफ्नो साधारण घरमा बसे, महँगा गाडी र सुरक्षाकर्मीको घेरा कहिल्यै लिएनन्। उनले आफ्नो तलवको ९० प्रतिशत रकम विभिन्न सामाजिक संस्थालाई दिए। ८१ वर्षीय पूर्व राष्ट्रपति मुहिका एक अत्यन्त साधारण नागरिकका रूपमा अहिले पनि सक्रिय जीवन जिउँदैछन्। उनी संसारको सबैभन्दा गरिब राष्ट्रपतिका रूपमा पनि चिनिन्छन्। पूर्वविद्रोही मुहिकाले १३ वर्ष त जेल जीवन बिताए। आफ्नो साधारण जीवनशैलीबारे सोध्दा उनी भन्छन्– यो कुन अचम्म हो र? वास्तवमा सबै राष्ट्र प्रमुखले यस्तै सामान्य जीवन जिउनुपर्छ।
भारतका ११ औं राष्ट्रपति एपिजे अब्दुल कलामले आफ्नो कार्यकालपश्चात प्रतिष्ठित आइआइएमलगायत विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा काम गरे। जीवनको अन्तिमसम्म उनी पढ्ने र अनुसन्धान कार्यमा व्यस्त रहे। उनको निधन विश्वविद्यालयका विद्यार्थीलाई लेक्चर दिँदै गर्दा भयो।
नेपाली राजनीतिमा आजसम्म कुनै पनि पूर्व प्रधान मन्त्री अथवा मुख्य नेताले राजनीतिबाट अवकास लिएर अर्को पेशा अंगालेको उदाहरण छैनन्। जीवनको अन्तिम समयसम्म राजनीति वरिपरि घुमिरहन्छन् ती पात्र। धेरैजसो नेतामा न अन्य सिप छ न त अध्ययन/अनुसन्धान गर्ने कला र क्षमता नै। एकाध नेताले बाहेक पत्रपत्रिकामा लेख लेखेका उदाहरणसमेत छैनन्।
हाम्रा ६८ वर्षीय पूर्व राष्ट्रपति डा. यादवले अब क्लिनिक खोलेर जनताको सेवा किन नगर्ने? सामान्य शुल्क लिएर क्लिनिक खोल्दा देशभरिका साधारण जनतालाई अत्यन्त उत्कृष्ट प्रेरणा बन्छ। सोको कमाईले डा. यादवलाई साधारण जीवन जीउन कुनै समस्या हुँदैन। अनि देशभरका जनता आफ्नो पहिलो राष्ट्रपतिबाट उपचार पाउन पनि पक्कै आउँछन्।
डा. यादवले एमबिबिएसपश्चात् २०३६ सालमा जनकपुरमा ४ वर्ष जेनेरल फिजिसियनका रूपमा आफ्नै क्लिनिक खोलेर बसे र पछि २०४२ देखि २०४६ सम्म जनकपुरमै काम गरे। २०४८ को सरकारमा स्वास्थ्य मन्त्रीसमेत भए डा. यादव। उनलाई नेपालको ग्रामीण क्षेत्रको स्वास्थ्य समस्याबारे कसैले व्याख्या गर्नुपर्दैन। उनको आफ्नै जन्मगाउँ सपही, धनुषा काफी छ।
सर्वसाधारण नागरिकलाई लाग्छ आठ–आठ वर्ष राष्ट्रपति हुँदा पनि डा. यादवको रोइलो किन? राज्यले कति सुविधा दिने उनलाई? गणतान्त्रिक नेपालको अभिभावकका रूपमा भूमिका निर्वाह गर्नुपर्नेमा किन राज्यले उचित घर–सुविधा नदिए जनकपुर गएर बस्ने धम्की दिँदैछन्? उनलाई जीवनमा अब के बन्न बाँकी छ?
देशमा राजाका ठाउँमा राष्ट्रपति आएका छन् तर प्रवृत्ति भने फेरिएको छैन। नेपालीसँग हात मिलाउन हाम्रा राष्ट्रपति राजाले झैं धक मान्छन्। उनीसँग बोल्न कतिपय मानिसलाई दोहोरो सवाल जवाफ नगर्न भनिन्छ। राष्ट्रपति हिँड्दा 'सवारी' को नाममा सडक खाली गरिन्छ, बिरामी बोक्ने एम्बुलेन्ससमेत रोकिन्छ। एक अधिकारीका अनुसार काठमाडौं बाहिर राष्ट्रपतिको एउटा 'सवारी' मा कम्तीमा १० लाख खर्च हुन्छ। अनि जनताले पसिना चुहाएर तिरेको करबाट त्यो चुक्ता गरिन्छ।
वास्तवमा डा. यादवलाई बुलन्द अवसर छ अन्य नेतालाई सवक सिकाउने। उनले आफ्नो पेशालाई अघि बढाए भने पछिसम्मका नेतालाई उत्कृष्ट उदाहरण बन्छ। राजनीति उद्योग होइन र जिजीविषाका खातिर काम गर्नैपर्छ भन्ने सन्देश जान्छ। सर्वसाधारण मानिसलाई समेत यो प्रेरणादायी बन्छ।
गोविन्द केसी जस्ता डाक्टरसँग मिलेर देशका दूरदराजमा घुम्ती स्वास्थ्य क्लिनिक पुर्याउन सके सबैभन्दा ठूलो गुन हुन्छ जनतालाई। त्यसको अनुशरण गर्दै अन्य कैयन् डाक्टर पुग्नेछन् गाउँगाउँमा। खाँचो छ हामीलाई डा.यादव जस्ता 'सेलिब्रेटी' जसलाई युवाले पथप्रदर्शक मानून्। देशमा बढ्दै गएको आन्तरिक द्वन्द्वमा मलम लगाउने महत्वपूर्ण सेतु बन्न डा. यादवलाई सुनौलो अवसर पनि हुन्छ। घुम्ती क्लिनिक लिएर तराई, मधेस, पहाड र हिमाल पुग्ने उनको आह्वानलाई नामी चिकित्सक र औषधि कम्पनीले नमान्ने कुरै हँुदैन।
डा. गोविन्द केसीको निस्वार्थ सेवाभाव र नैतिक बलले आजको हाम्रो जुम्सो समाजमा नयाँ तरंग पैदा गरेको छ। उनले उठाएका भ्रष्टाचार/बेथितिका मुद्दालाई देशका जागरुक युवाले होस्टेमा हैंसे गरेका छन्। सारा सरकारी निकाय लाचारी र भ्रष्टहरुको थलो बन्दै गर्दा डा. केसीले सबैलाई सत्यको पक्षमा लड्न झक्झकाएका छन्। यसै परिप्रेक्ष्यमा डा. रामवरण यादवले डा. केसीसँगको सहकार्यमा देशभर पुगेर कमसेकम न्यूनतम स्वास्थ्य शिविर चलाएमात्रै पनि सरकार, मिडिया र जनतालाई त्यहाँको वस्तुस्थितिबारे राम्रै ज्ञान मिल्छ। हाम्रा ६० कटेका अन्य नेतागणलाई पनि केही चेतना र प्रेरणा मिल्ला। अनि पटकपटक सिंहदरबारको सिंहासनमा आसीन हुने लालसाको भूतले छाड्ला कि? यही कामना, यही प्रार्थना।
प्रकाशित: २० श्रावण २०७३ ०२:२२ बिहीबार