१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

सामना गरिरहनुपर्ने यक्ष प्रश्न

 नयाँ शक्ति विस्तार गर्ने क्रममा माओवादीको राजनीतिक आधार क्षेत्र मानिएको मध्यपश्चिमको दाङ पुगेका डा.बाबुराम भट्टराईसमक्ष पुराना माओवादी कार्यकर्ताले जे सोधे, ती प्रश्न हिजो कथित जनयुद्धको निर्णय गर्ने सबै माओवादी नेताहरुसँग निरन्तर नेपालको राजनीतिक इतिहासमा सोधिने प्रश्न हुन्। ती कालजयीे कुनै पनि यस्ता प्रश्नको कुनै पनि उत्तर दिने क्षमता तत्कालीन माओवादी नेताहरुसँग छैन । जनयुद्ध र हिंसाबाट सभ्य समाजमाथि विजय प्राप्त गरी एकाधिकारवादी राज्यसत्ता स्थापना गर्छु भन्दै नयाँ पुस्तासामु काल्पनिक सपना देखाउनेहरु कसैसँग पनि यस प्रश्नको उत्तर भविष्यमा पनि हुने छैन । तैपनि आश्चर्य र विडम्बना के हो भने स्वयं डा. बाबुराम वा पुष्पकमल दाहाल जस्ता वर्गीय युद्धका, जातीय युद्धका, क्रान्तिकारी सोच र चिन्तन भएका र राष्ट्रको कायापलट गर्न कमोवेस बुद्धि र क्षमतासमेत भएका नेताहरुले समेत त्याग गरिसकेको सपनाको क्षतविक्षत थोत्रो वैचारिक जडाउरी भिर्ने सपना बोक्नेहरु नेपाल र विश्वका कतिपय स्थानमा अझै पनि पर्याप्त छन् ।

       दश वर्षसम्म भोक, निद्रा, थकाइ, आलस्य, घरपरिवार, पढाइ सबै परित्याग गरी आफ्नो जीवन हत्केलामा बोकेर माओवादीका लागि समर्पित हुने जंगबहादुर रोका हुन् कि सन्तोष पोख्रेल, सबैले गरेको अनुभव समान हुनसक्छ । दश वर्षको कथित जनयुद्धको निर्णय डा. बाबुराम एक्लैले भने गरेका होइनन् र उनले मात्र त्यो हिंसाविरुद्ध २०६२ सालपछि आफूलाई शान्ति, संविधान र सत्ताको यात्री बनाएका होइनन् । २०५० सालअघिदेखि नै हतियारको राजनीतिमार्फत देशमा स्थापित संसदीय पद्धति अन्त्य गर्ने प्रपञ्च रचना गरिएको थियो । गणतन्त्रको सपना बाँड्नेहरुसँग राजसंस्थाका जिम्मेवारहरुको सहकार्यले नै प्रपञ्चलाई प्रमाणित गरिरहेको थियो । तर पनि अनेक युवा भित्री यस्तो गुत्थी नबुझिकनै हतियार बोक्न व्यग्र भएका हुन् । कतिपय त काम नगरी खान, लाउन र आफूलाई सुरक्षित गर्न माओवादीको हतियारको भारी बोक्न पुगेका हुन् । कतिपय अन्य मूलधारका राजनीतिक दलको नेतृत्वसँग क्रुद्ध हँुदै प्रतिशोधको बाटोमा लागेका हुन् । कतिपय त  संसदीय पद्धतिमा हुने अतिशय ढिलासुस्ती, भ्रष्टाचार, नातावाद जस्ता कारणले पनि हतियार बोक्न आफैँ अभिप्रेरित भएका हुन सक्छन् । गाउँघरका मसिना विवादलाई आफ्ना पक्षमा गराउनसमेत हतियारको सहारा लिनेहरु कम थिएनन् । धार्मिक–सांस्कृतिक अतिक्रमणको आगोमा चरु हाल्न उद्यतहरु पनि माओवादी हतियारका मतियार हुन पुगेका थिए । एमालेको विभाजन, नेपाली कांग्रेसमा देखिएको कलह र विभाजनले पनि माओवादीलाई पर्याप्त ऊर्जा मिल्न पुगेको थियो । छुवाछूतको कुष्ट रोगबाट आक्रान्त नेपाली समाजको एउटा हिस्सा शीघ्र परिवर्तनको सपनामा बहनु अस्वाभाविक थिएन।

       यसरी हतियार बोक्न पुगेकाहरु वा माओवादीमा आबद्ध हुन पुगेकामध्ये थोरै केहीमा मात्र परिवर्तनको सपना हुनसक्छ र भावनामा बहेर उनीहरु कुदेका हुन सक्छन् । माओवादीले वर्ग संघर्ष परित्याग गरी जातीय संघर्ष अघि बढाउनासाथ यथार्थमा माक्र्सवादी वर्ग संघर्षको बाटो छाडिसकेको थियो र माक्र्सवाद, माओवाद र सर्वहाराको विषयलाई पूर्ण धोका दिइसकेको थियो । यस सत्य नबुझीकन माओवादीका लच्छेदार शब्दजाल र बन्दूकको भूमरीमा कुद्ने कसैका लागि पनि धोका दिएको वा परेको भन्ने प्रश्नको कुनै अर्थवत्ता देखिँदेैन । क्रान्तिमा धोका दिनु र धोकापूर्ण क्रान्तिको सपना देखाउनु दुई फरक विषय हुन् । जंगबहादुर वा सन्तोषहरुको डा. भट्टराईबाट क्रान्तिलाई धोका दिइएको भन्ने बुझाइ आफँैमा यसै कारण पूर्ण होइन । जनता मारेर गरिने तथाकथित क्रान्ति देशका लागि, समाज विकासका लागि र सभ्यता निर्माणका लागि आफँैमा धोका हो । लेनिन र स्टालिनले रुसमा सन् १९१७ यता दोस्रो विश्वयुद्धसम्म गरेको क्रान्तिले कति मानिसको जीवन तवाह भयो ? माओले गरेको जनवादी क्रान्ति र वर्गदुश्मनसहित परम्पराविरुद्ध गरेको सांस्कृतिक क्रान्तिले कति वर्गशत्रुको अन्त्य भयो ? पूर्वी युरोपमा भएको साम्यवादी रुसको हस्तक्षेपदेखि अफगानिस्तानमा भएका घटनाहरुका परिणामहरुको फाइदा कसले लियो ? करिब सत्तरी वर्षको राजनीतिक इतिहासमा साम्यवादी क्रान्तिको सपना बोकेर हिँडेका देशहरुले नेतृत्व हातमा लिनासाथ उनीहरुले गरिबीमा समानताबाहेक अरु केही खोजेको देखिँदैन । सभ्य समाजले समृद्धिमा समानताको सिद्धान्तलाई महत्व दिन्छ । सबैलाई गरिब बनाएर गरिबीमा समानता उसको आदर्श हँुदैन । अहिले संसारबाट पृथक हुँदै गएको उत्तर कोरियाबाहेक अबको संसारमा साम्यवादको सपना कुहेको पीठो सावित हुन पुगेको छ । यद्यपि उत्तर कोरियामा सामन्ती सत्ताको सबैभन्दा कुरूप पारिवारिक वंश परम्परा स्थापित छ । सर्वहारा वर्गको सत्ताका नाउँमा बसाएको किमइलसुङको सत्ताको विरासतमा उनका छोरा र त्यसपछि अहिले नातिले रजगज गरिरहेका छन् र आफ्ना विपक्षीलाई अनेक बहानामा मूल काटेको जस्तै काट्दै र बाँकी विश्वलाई तर्साउँदै उनी बसेका छन् ।

       स्वयं माओको चीनमा समेत कम्युनिस्ट पार्टीले अरु दललाई निषेध गर्ने राजनीतिक संयन्त्र निर्माण गर्नमा मात्र साम्यवादलाई अवलम्बन गरिरहेको देखिन्छ । तर बाँकी समाज र समाज वर्गमा कतै पनि साम्यवाद जीवित छेैन । खुला समाजका सबैखाले विकृति चीनमा व्याप्त छन् । त्योभन्दा पनि कुनै दिन सर्वाधिक दुश्मन घोषित अमेरिकाबाट आयातीत प्रविधिको उपयोग यतिखेर साम्यवादी चीनको स्पन्दन हुन पुगेको छ । चीनको प्रगतिका लागि पश्चिमी प्रविधि किन आवश्यक हुन पुग्यो ? यो प्रश्नको सही उत्तर खोज्नासाथ क्रान्तिको सपनाको विवेचना गर्न सक्छ । पूर्वी युरोपको साम्यवादी सपना भताभुंग भएको अढाइ दशक पूरा भएको छ । साम्यवादले जनताको सवालमात्र होइन, राष्ट्र र राष्ट्रियताको जगेर्नासमेत गर्ने सामथ्र्य राख्देैन भन्ने सत्य थाहा पाउन १९९० अघि र पछिको सोभियत संघ र छरपुष्ट स्वतन्त्र गणराज्यहरु हेरेमात्र पुग्छ । चेकोस्लोभाकियाको तस्बिर त अझ कहालीलाग्दो छ । हामी आफँै सबै कुरामा निपुण हुन सक्दैनौं । तर कमसेकम अरुका असफलता र सफलताहरुको पाठ पढ्न त सक्छौं नि ! यसै कारण पुष्पकमल दाहाल वा डा. भट्टराईले क्रान्तिलाई धोका दिएको होइन, त्यो तथाकथित क्रान्ति नै जनता र देशका लागि धोकापूर्ण थियो भनेर बुझ्नु र बुझाउनु जरुरी छ । त्यस धोकापूर्ण बाटोमा जानेर हिँडेकाहरु सबैले आमजनता र देशलाई हिजोका दिनमा धोका दिएका हुन् । जसले बिनास्वार्थ साम्यवादी सपनाको भारी बोकेर कष्टसाथ यात्रा तय ग¥यो निश्चय पनि उसलाई पीडा हुनेछ । तर त्यस पीडाको पाठ नयाँ पुस्ताले सिक्ने कि पुराना नेताहरुको अनुभवलाई पाठका रूपमा वरण गर्दै कथित जनवादको सपना परित्याग गरी लोकतान्त्रिक संस्कृति, सामाजिक न्याय, सद्भाव र शान्तिको मार्गमा अग्रसर हुने ? यो प्रश्न कसैप्रति व्यक्तिगत लक्षित होइन । आमरूपमा उत्तरणीय छ ।

आदर्श अन्तिम प्रतिबद्धता हो, सिद्धान्त माध्यम हो, कार्यक्रम प्रयोग हो र योजना कार्यतालिका हो । तर व्यवहार र सिद्धान्त विपरित हुनासाथ आदर्श आफँैमा खोक्रो ढुंग्रोमा परिणत हुन्छ । साम्यवादको आदर्श बोक्नेहरुको चरित्र, आचरण र व्यवहार आफँैमा आडम्बरबाहेक केही पनि देखिँदेैन । सबैजना गोविन्द ज्ञवाली वा बोधराज काफ्ले अथवा रूपलाल विश्वकर्मा हुँदैनन् । आडम्बरको कृत्रिम डुंगामा बसेर सोझासिधा नागरिकलाई वर्गल्याउने खेती नेपालका साम्यवादका भाष्यकारहरुले गरिरहेका छन् । २००६ यताको साम्यवादी सपनाका भाष्यकारहरुले एकपछि अर्को गरी वर्ग संघर्ष परित्याग गर्नुमात्र होइन, पुँजीवादी समृद्धि, सुविधा, पदीय विरासत र विद्यालयीय उपाधिहरु हासिल गरेको प्रत्यक्ष छ । के ती सबै अज्ञानी हुन् ? के ती सबै बेइमान हुन् ? के डा. बाबुराम भट्टराई सन्तोष वा जंगबहादुर बराबरको योग्यता राख्देैनन् ? हिंसाको महाभासमा डुब्न लागेको माओवादी पार्टीलाई उकासेर लोकतन्त्रको पदमार्गमा ल्याउने पुष्पकमल दाहाल हुन् कि भट्टराई, हिजोका दिनमा मदन भण्डारी हुन् कि सिपी मैनाली, मोहनविक्रम सिंह हुन् कि निर्मल लामा, के नबुझेर मात्र लोकतन्त्रका यात्री भएका होलान् ? कि भन्नुप¥यो ः बिहानभरि पूजापाठ, कर्मकाण्ड, धर्मकर्म गर्दै दिनरातभरि माओवादको, साम्यवाद वा भौतिकवादको सपना बाँड्दै हिँड्नु, निजी लाभका लागि अरुको सम्पत्ति कब्जा गर्नु, चन्दाबाट नै रोजगार बनाउनु, श्रमिक सर्वहारासँग लेभी उठाएर संगठनका नाउँमा आफ्नो घर व्यवहार चलाउनु, राष्ट्रमा चलेका विद्यालय ध्वस्त गरी विदेशमा विद्यार्थी जाने राजमार्ग बनाउनु, दूरसञ्चारका टावर भत्काउँदै देशलाई लथालिंग गराउनु, मानिसलाई आतंकित गराउनु र विदेशमा श्रम बेच्ने टिकट काट्न बाध्य पार्नु नै सही क्रान्तिकारी चरित्र हो ।

यो सही हो भने दोहोरो चरित्रधारीहरुको जगजगी भएका समयमा डा. भट्टराईले हिजोको गल्तीलाई सुधार गर्न खोज्नु धोका नै मान्नुपर्ने हुन्छ । डा. भट्टराईमात्र होइनन्, लोकतन्त्रको मार्गमा हिँड्न तयार सबै हिजोका हिंसावादीहरु समेत धोकेवाज हुन् भन्नुपर्ने हुन्छ । हो, हिजोका दिनमा गलत सपना बाँडेर गरिएका यावत् अपकर्म, हत्या र आतंकका कारबाही, पुँजीवादी शिक्षा लिन निषेध गरिएका काम र मर्न र मार्न उक्साइएका अनेक अमानवीय कृत्यहरुको जिम्मेदारी लिँदै २०५२ देखि २०६२ सम्म वर्गशत्रु सखाप पार्ने सपनाको बिस्कुन छर्दै गरिएका सबैखाले हिंसाबाट पीडितहरुसामु सार्वजनिक क्षमायाचना उनीहरुले गर्नैपर्ने हुन्छ । यस्तो क्षमायाचनाबाट कोही पनि लज्जित हुनुपर्ने हँुदैन । क्षमायाचना आफँै महानताको पर्याय मानिन्छ । त्यसमा पनि पुनः सत्तारोहणको तयारीमा आजेैबाट जुटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट सार्वजनिक सम्बोधनमार्फत हिंसापीडितहरुसँग क्षमा माग्ने काम भए यथार्थमा हिजो धोकापूर्ण क्रान्तिको बाटोमा लाग्दा भएका आमगल्तीप्रति आमनेपाली क्षमाशील हुन सक्छन् र उनको पदारोहणको अवधि सार्थक हुन सक्नेछ । अर्थात् नयाँ पुस्ताले कसैलाई धारे हात लगाउनुभन्दा पनि हिजोका गल्तीबाट पाठ सिक्दै आफूलाई सही दिशामा हिँडाउने प्रयास गर्नु समयको आग्रह हो ।

प्रकाशित: १९ श्रावण २०७३ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App