१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

सतहमा 'रोटीबेटी' सम्बन्ध

निकटतम छिमेकी भारत र नेपालबीचको जनस्तरको सम्बन्ध यस्तो छ कि, त्यस्तो सम्बन्ध दुनियाँमा विरलै देख्न पाइन्छ। दुई देशलाई छुट्याउने सीमासमेत स्पष्ट छैन, किनकि यी दुवै देशका जनता सीमाहीन रहन चाहन्छन्। दसगजा वा जंगेपिलरहरू कमजोर छन्, तर सीमा जोडिएका कतिपय स्थानका जनताबीचको सम्बन्ध निकै दह्रो छ। तिनलाई दुई देशबीचको राजनीतिक वा कूटनीतिक सम्बन्ध जतिसुकै चिसियोस् कुनै मतलब छैन। सिरहाको लगदियानी–४ स्थित नेपाल–भारत सीमाको आरपी २८ नम्बरको जंगेपिलरवरपर बस्ती विस्तार भएको छ। सोही जिल्लाको इनर्वा गाविसमा पर्ने ठाढीको दक्षिणतर्फको दजगजामा लौकाहा भन्सार कार्यालय बनाइएको छ। यी उदाहरण त पछिल्ला समयका हुन्, विगत खोतल्ने हो भने यस्ता अन्तर्राष्ट्रिय कानुनअनुरूप गर्न नहुने तर दुई देशीय भावनात्मक सम्बन्धका बलमा हुँदै आएको थुप्रै घटना छन्। यी घटनामा दुवै तर्फका सर्वसाधारणलाई कुनै चासो र चिन्ता छैन। कारण प्रष्ट छ, शदियौँदेखि कायम रोटीबेटीको सम्बन्ध। रोटीबेटी तथा नाताकुटुम्बजन्य सम्बन्धका कारण आफ्नो देशको सीमा मिचिँदा पनि जनस्तरमा दुखेसो प्रकट हुँदैन। तर, गत बिहीबार सोही भावनात्मक सम्बन्धमाथि खेलबाड हुँदा नेपालको सप्तरी तथा भारत बिहारको सुपौल जिल्लाका बासिन्दाबीच मारपिट मच्चियो। दर्जनभन्दा बढी नेपाली घाइते भए। त्यहाँको खाडो नदीको मुहानै थुन्नेगरी भारतीय पक्षबाट एकतर्फी बाँध निर्माण हुन थालेपछि सप्तरीबासी आक्रोशित भए। खाडो नदी सप्तरीको तिलाठी र बिहारका सुपौल जिल्लाअन्तर्गतको कुनैली ग्राम पञ्चायतको बीचबाट बग्छ। एकतर्फीरूपमा बाँध बनाउँदा नेपालतर्फको भूभाग डुब्ने नै भयो। यही कारण तिलाठीका स्थानीय उक्त कार्यको विरोधमा उत्रनु स्वाभाविक छ।

दुवै देशका नागरिक झडपमा उत्रिएपछि स्थिति साम्य पार्न प्रशासन तथा सुरक्षानिकायलाई हम्मे नै पर्‍यो। यद्यपि, भारतीय पक्षले नेपालतर्फ बलमिच्याइँ भएको महसुस गरेपछि बाँध निर्माण कार्य रोक्ने सहमति हुन पुग्यो र तत्कालका निम्ति विवाद टर्‍यो। पाँच वर्षयता खाडो नदीको धार परिवर्तन भएकाले विवाद उत्पन्न हुन पुगेको हो। अब नदीको धारलाई पुरानै स्थानबाट बगाउन च्यानलाइज गर्ने, दसगजामा हराएका सीमास्तम्भ खोजीका निम्ति दुवै देशले केन्द्रीयस्तरबाटै पहल गर्ने र तत्कालका लागि जलउत्पन्न प्रकोप नियन्त्रण विभाग (नेपाल)का प्रमुख तथा भारतीय जल संशाधनका प्रमुख सम्मिलित टोलीले अध्ययन गरी दिएको प्रतिवेदनका आधारमा बाँध निर्माण अगाडि बढाउनेजस्ता तीनबँुदे सहमति भएपछि विवाद साम्य हुन पुगेको छ। विवाद साम्य भए पनि जनस्तरसम्म यसको जानकारी हुन बाँकी रहेको देखिन्छ, किनकि दुवै देशको सीमा क्षेत्रमा अहिले पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति कायमै छ भने स्थानीयलाई प्रभावित क्षेत्रमा प्रवेश गर्न दिइएको छैन।

एकतर्फी बाँध निर्माणले निम्त्याएको विवाद सतहमा आउँदा दुवै देशका सम्बद्ध क्षेत्रका स्थानीयले केही समयअघिको तराई–मधेस विद्रोहलाई स्मरण गरेका छन्। त्यसबखत सर्वसाधारण जनताको सहभागिताका बलमा आन्दोलन ६ महिनासम्म चलेको थियो। तराई–मधेसका नेताहरूको 'राजधानीलाई गलाउने' मनसायलाई स्थानीय जनता आफ्नो दुःख–कष्टको पर्वाह नगरी साथ दिइरहेका थिए। तर, अहिले भारतको एकतर्फी बाँध निर्माणका कारण गाउँ नै डुब्न लाग्दासमेत नेताहरूले कुनै वास्ता नगर्नु विडम्बना मान्नुपर्छ। देश यतिखेर सत्ता परिवर्तनको संघारमा उभिएको छ। यही कारण पनि सप्तरीका सर्वसाधारणले भोग्नुपरेको पीडाप्रति मधेसी दलमात्र होइन, सिंगो राज्यको ध्यान कम गएको छ। यस्तो समयमा दुवै देशका नागरिकले भीडन्त होइन, समझदारी अपनाउनु आवश्यक छ। दुई देशबीच परापूर्वकालदेखि कायम सम्बन्धलाई स्मरण गर्दै एकअर्काको हितमा कदम चाल्नुपर्छ। सुपौलबासीले के बु‰नु आवश्यक छ भने ठाडो नदीमा अहिले जसरी बाँध निर्माणको प्रयास भयो, त्यसले नेपालतर्फका आफ्ना हितैषी तथा नाताकुटुम्बको थातथलो डुबानमा परेको छ। यस्तो अन्याय हुन दिनु हुँदैन। राज्यस्तरबाट गर्न खोजिएको अन्यायलाई जनस्तरले रोक्न सक्दामात्रै रोटीबेटीको सम्बन्ध बलियो र दिगो हुन्छ।  

प्रकाशित: १६ श्रावण २०७३ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App