१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

कम्युनिस्टका नाममा

आजभोलि कम्युनिस्ट नामधारी कम्युनिस्टहरूको अनुहार देख्दा पनि वाक्क लाग्छ । भर्खरै नेकपा माओवादी केन्द्रले आफैँ संलग्न नेपालको सरकार भारतीय शासकको योजनामुताबिक आफैँ ढाल्यो र आफूलाई उत्कृष्ट भारतीय दलाल प्रमाणित ग¥यो । त्यो देख्दा आफैँलाई कम्युनिस्ट हुँ भन्न झनै बढी लाज लाग्छ । प्रचण्ड जस्तो कम्युनिस्ट त होला नि ? भनेर कसैले प्याच्चै भनिदिन्छन् कि भन्ने डर भइरहन्छ । किनकि प्रचण्डले आफ्नो कम्युनिस्ट जात र धर्म छाडेर प्रधान मन्त्री पदका लागि आफ्नो र पार्टीको भविष्यलाई समेत धरापमा पार्ने काम गरेका छन् । त्यतिमात्र होइन, नेपालमा स्थापित वामपन्थीहरूको प्रभाव रोक्दै भारतीय विस्तारवादी राजनीतिको मूल खम्बा नेपाली कांग्रेसलाई फेरि उठाउने अधर्मी काम गरेका छन् । मुलुकका लागि वामपन्थीहरू मिल्ने हो भने अरु कसैको उपाय नलाग्ने रहेछ भन्ने सामान्य ज्ञानलाई उनले जानी÷बुझिकन पदका लागि सम्पूर्ण कुरा त्यागेर कम्युनिस्ट विरोधी शक्तिलाई नेतृत्वमा ल्याइदिएका छन् । उपप्रधान मन्त्री र मन्त्री हुनका लागि जता पनि समर्थन गर्दै ढोका चहार्ने विजय गच्छदार र सिपी मैनालीलगायतका दर्जनभन्दा बढी साना पार्टीका नेताहरू र प्रचण्डमा पद लालची प्रवृत्तिका हिसाबले अब केही भिन्नता रहेन ।

मुलुकप्रति कुनै जिम्मेवारी नभएका साना पार्टी र तिनका नेताका कुरा चर्चालायक विषय होइनन् । तर प्रचण्ड र उनको पार्टीको भने आजसम्म चर्चा गर्नैपर्छ भविष्यमा यस्तो दिन नआउन पनि सक्छ । किनभने प्रचण्डका व्यवहारले त्यही संकेत गरिरहेका छन् । हुन त आफैँले नेतृत्व गरेको १० वर्षे ‘जनयुद्ध’ मा मारिएका हजारौँ सहिदका सपना र युद्ध लड्दा भएका हजारौँ अन्ध, अपाङ्ग, घाइते, विधवा, विधुर, बेघरबार आदिका सुनौलो सपनालाई तहसनहस र निमिट््यान्न पार्न सक्ने प्रचण्डले आफ्नै सरकार ढाल्नु के अचम्मको कुरा भो र ? जे होस्, अब प्रचण्डको नेतृत्वमा सरकार बन्छ तर उनको सरकार सानेपाबाट हैन, सोझै दिल्लीबाट चल्नेछ । उनको पार्टीका लागि अन्तरपार्टी निर्देशन दिल्लीमा तयार हुनेछ। प्रधान मन्त्री प्रचण्ड भए पनि नेतृत्व देउवाको रहनेछ । प्रचण्डको यो क्रियाकलाप र हाउभाउले उनी शक्तिमा पुग्न जहाँ, जे, जति र जस्तोसुकै हदमा पनि गिर्न सक्छन् भन्ने कुरा पुष्टि गरेको छ । यी सबै घटना प्रवृत्ति हेर्दा उनको जनयुद्ध वास्तविक सर्वहारा श्रमजीवी वर्गका लागि थिएन र देशको स्वाधीनता र सार्वभौमसत्ताका निम्ति पनि थिएन भन्ने कुरा छर्लङ्ग भएको छ ।

प्रचण्डको यो जनघात र राष्ट्रघातको हिसाब आगामी निर्वाचनहरूमा नेपाली जनताले गर्नेछन् । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा बम र बन्दुकको आतङ्क, डर, धाकका कारण र उनलाई जङ्गलबाट गाउँमा ल्याउन नेपाली जनताले माओवादीलाई पहिलो दर्जा दिएका थिए । तर २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा प्रचण्डलाई ६ वर्षमै तेस्रो दर्जामा झारेर उनको सही स्थान देखाएका थिए । भविष्यमा पनि उनको स्थान त तेस्रो नै हुनसक्ला तर एमालेको उमेरसम्म आइपुग्दा माओवादीको आकारमा सोची नसक्नुको संकुचन आउनेछ । शान्ति प्रक्रियापछिको उनको देश, जनता र उनको जनयुद्धकालीन योद्धाहरूमाथिको विश्वासघातका कारण उनको वास्तविक सानो आकार अझै देख्न बाँकी नै छ। त्यसका लागि टाढा जानुपर्दैन, अब आउने चुनावसम्ममात्र पर्खिए हुन्छ ।

प्रचण्डपथका नाममा नेपाली समाजको आमूल परिवर्तनका लागि जनयुद्धमा अन्धाधुन्ध बन्दुक बोक्नेहरूले वास्तवमा प्रचण्ड र बाबुरामको भित्री आशय बुझेका थिएनन् । मलाई त जनयुद्ध सुरु गरिएको बेला नै ‘प्रचण्ड र बाबुरामलाई नेपाली राजनीतिमा आफ्नो उपस्थिति गतिलो भएको जब लाग्न थाल्छ तब जनयुद्ध बिसाउँछन्’ भन्ने लागेको थियो र भयो पनि त्यस्तै । मैले तेह«थुमको धेरै ठाउँमा नेकपा माओवादीको वैचारिक प्रतिरोध गर्ने नेकपा एमालेको अभियानमा यस्तो भाषण गरेको थिएँ । नेकपा एमालेबाट जनयुद्धमा लागेका नेता र कार्यकर्ता जनयुद्धको त्यही भ्रममा धमाधम मारिएको देखेपछि मलाई असाध्य दुःख लागिरहेको थियो । किनकि माओवादीको पूर्व जग जनमोर्चाको नाममात्र रहेको पूर्वाञ्चलमा एमालेबाहेक अरु कम्युनिस्ट पार्टी नै थिएन । माओवादीमा लागेका प्रायः सबै मान्छे एमालेबाट गएकाहरू नै थिए । जोसँग मेरो निकटता थियो नै । त्यसैले उनीहरूको मृत्युमा दुःख लाग्नु स्वाभाविक थियो । फेरि म तत्कालीन माओवादीका असल र इमानदार प्रयत्नको समर्थनमै थिएँ । तर जब एक माउ भैँसी वा गाई पालेर दूध बेचेर गुजारा गर्ने गरिब किसानहरूलाई समेत अत्यन्त दुःख र यातना दिएर माओवादीले हत्या, हिंसा, आतङ्क सिर्जना गर्दै जबरजस्त रकम असुली गर्दै सम्पत्ति आर्जन गर्न थाल्यो, वास्तवमा त्यही बेला नै उनीहरूको पतनको सुरुवात भएको थियो । सामन्तवाद र साम्राज्यवाद अन्त्यका लागि युद्ध लडिरहेको भूमिगत कम्युनिस्ट पार्टीले जनतासँग त्यस्तो व्यवहार गर्नु माओत्से तुङ्गको शिक्षाको बिलकुल विपरित थिए । यी सबै कार्यको सूत्रधार प्रचण्ड नै थिए ।

माओवादीको जनयुद्धकालीन कुरालाई मात्र विश्वास गर्ने हो भने पनि जनयुद्धको पृष्ठभूमिबाट आएका यस्ता नेताहरू भारतीय शासकको कार्यकर्ता बन्न पुग्नु अचम्मको घटना हो । त्योभन्दा पनि अचम्मको घटना त उसले आफूलाई नेपाली कांगे्रसबाट सुरक्षित हुन्छु भनी ठान्नु हो । जे होस्, आज प्रचण्डका कारण हाम्रो देशको राजनीतिको बागडोर भारतको हातमा फेरि पुगेको छ । प्रचण्डलाई त केही नहोला किनकि उनी जानिबुझी नै भारत भक्त बनेका छन् । उनका कारण मुलुक र जनताचाहिँ डुब्ने भए भए । उनकै पार्टीका इमानदार, देशभक्त र सही अर्थका कम्युनिस्टहरूको मानमर्दन भएको छ र उनीहरू अब एक्लो प्रचण्ड र उनका केही मतियारका कारण नेपालको राजनीतिक इतिहासमा कहिल्यै नमेटिने गरी ‘भारतीय दलाल’ भएका छन् । कम्युनिस्टहरू देशभक्त हुनु प्रथम र अनिवार्य सर्त हो तर त्यसको ठीक उल्टो हुन पुगेको छ। प्रचण्डले एक अंशमा कम्युनिस्ट जात र धर्म त्यागिसके । अब उनी देशभक्तिविहीन प्रधान मन्त्री हुन्छन्, उनकै विश्वासिला केही नेता (भारतीय कार्यकर्ता ?)हरू उपप्रधान मन्त्री, मन्त्री र राज्य मन्त्री हुन्छन् तर उनका पार्टीमा रहेका हजारौँ पूर्व योद्धा, जो विधवा, विधुर, अन्ध, अपाङ्ग, घाइते, बेघरबार र सहिद परिवारका मान्छे भएका छन्, उनीहरू केही हुँदैनन् । किनकि यी सबै घटना उनीहरूका लागि भइरहेका होइनन् । अब सरकार नजिकका माओवादी केन्द्रका नेताहरूमात्र लखपति करोडपति, करोडपति महाकरोडपति, महाकरोडपति अरबपति र अरबपति प्रचण्डहरू महाअरबपति हुनेछन् । उनीहरूका लागि त्यसो हुनु नेपाली क्रान्तिको उपलब्धिको उत्कर्ष हुनेछ । अब नेताहरूका लोकल ठर्राबाट ब्लु लेबल ह्विस्कीसम्मको स्तर वृद्धिलाई स्वाभाविक मान्नुपर्ने भएको छ । किनकि सम्पत्तिमा महाअरबपति हुनु र रक्सीमा ब्लु लेबलसम्म पुग्नु भनेको समानान्तर विकास हो र त्यो एकार्कामा हैसियतमा सन्तुलनका लागि आवश्यक पनि थियो ।  

ओली सरकारले नेपालीलाई वर्षौंवर्षपछि बल्लबल्ल भारतको दबदबाबाट मुक्त भयौँ जस्तो महसुस गराएको थियो, आशा जगाएको पनि थियो । तर प्रगतिशील, देशभक्त र जनवादी शब्दले पनि नपुगेर आफ्नो पार्टीको नाममा माओवादी नै लेखाएका महाक्रान्तिकारीकै हातबाट त्यो स्वाभिमानी दिनको अन्त्य भएको छ । हाम्रो सार्वभौमसत्ता सम्पन्नतालाई प्रधान मन्त्री पदसँग सट्टापट्टा गरिएको छ । नेपाल र नेपाली जातिको राष्ट्रिय स्वार्थ, स्वाभिमान र राष्ट्रियताको प्रचण्डले हत्या गरेका छन् यो कम्युनिस्ट मात्र हैन नेपाली जातिका लागि शिर निहुराउने ऐतिहासिक घटना हो । प्रष्ट थियो, केपी शर्मा ओलीको हातबाट सिधै देउवाको हातमा सत्ताको बागडोर पु¥याउन भारतका लागि असम्भव थियो । त्यसलाई नेपालीले सिधै भाषामा बुझ्थे र त्यसको प्रतिवाद भारतले नाकाबन्दीका बेला जस्तो सहनुपथ्र्याे । त्यसैले प्रचण्डको शिरमा टेकेर फुत्त उफ्रेर हिलो नटेकी देउवाको छेउमा पुग्नु अनिवार्य थियो भारतलाई । त्यसको अभियानमा लागेको भारतलाई सत्ता लालची र अस्थिर प्रचण्ड पाउनु सजिलै भयो ।

अब हाम्रा लागि राष्ट्रवादलाई कसरी उँचो उठाउने भन्ने सवाल प्रमुख भएको छ । अब विस्तारै भारतीय निर्भरता बढाइनेछ वा जगाइनेछ । दुई ठूला छिमेकी राष्ट्रबीचको सन्तुलित व्यवहारको तयारीस्वरूप भएका चीनसँगको व्यापार तथा पारवहन सम्झौतालगायतका सबै नयाँ कदम बन्द गरिनेछ वा अघि बढाइने छैनन् वा अघि बढाउन दिइने छैन । किनकि त्यसकै रोकथामका लागि यी सारा भारतीय चलखेल भइरहेको हो । अर्को कुरा, अब भारतीय एजेन्डा बन्दै आएको मधेसवादी आन्दोलनको एजेन्डा अगाडि सारिनेछ । मधेसवादी एजेन्डाका लागि अब भारतले विदेशमा बोलिरहनुपर्दैन । भारतले अब नेपालको सरकारमार्फत नै बोलिरहनेछ । त्यसका लागि प्रचण्डले बाटो प्रशस्त गरिदिइसकेका छन् । त्यतिमात्र हैन, भारतका लागि प्रचण्डले नेपालमै फुटबलको मैदान खनिदिएका छन् । भारतले अब नेपालमै आफू र आफ्ना नेपाली खेलाडीमार्फत् फुटबल खेल्छ मात्र हैन, गोल गरिरहन्छ, जस्तो विगतमा गर्दै आएको थियो ।  विगतको हाम्रो दास मानसिकताका कारण नेपाली नागरिकता लिएका लाखौँ भारतीयको नेपाली नागरिकता अब खारेज गरिने छैनन् । जनसंख्यालाई मात्र आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गरिन बेर छैन । सबैभन्दा डरलाग्दो कुरो त वर्तमान संविधानको पुनर्लेखन गर्नुपर्छ भन्ने मधेसवादी एजेन्डा (जुन केही समयअघिदेखि मधेसवादी दलहरूबाटै पुनर्लेखन र संशोधन उस्तै हो भन्न थालिएको छ) लाई स्वीकारियो भने देश अन्ततः सिक्किमीकरणतर्फ जाने सम्भावना रहन्छ ।

यस्तो बेला माओवादी केन्द्रभित्रका असल, राष्ट्रभक्त, स्वाभिमानी र उनीहरुकै भाषामा महान् जनयुद्धका महान् योद्धाहरूलाई दूरगामी महत्वका एक दुई प्रश्न सोध्न मन लाग्छ ः 

      के अहिलेको सरकार परिवर्तनलाई प्रचण्ड प्रधान मन्त्री हुँदैछन् भन्नेमात्र बुझिरहनुभएको छ ?

      के गैरकम्युनिस्टहरूबाट सुरक्षित हुन्छु भन्ने लागेको छ ?

      के नेपालको राजनीति फेरि भारतको हातमा सुम्पनु प्रचण्डको राष्ट्रिय अपराध होइन ?

      के एमालेजस्तै हुनका लागि नलड्दा पनि हुने तर कथित जनयुद्धको रचना गरेर हजारौँको जीवन तहसनहस गराउने प्रचण्ड जस्तो अस्थिर, सत्ता (सरकार) लालची, विलासी, सम्भ्रान्त, सिद्धान्त र व्यवहारको भेटै नगराउने नेताको अझै पनि विश्वास छ ?

यस्ता धेरै प्रश्न प्रचण्डका कारण उब्जिएका छन् । यिनको उत्तर प्रचण्ड प्रधान मन्त्री हुँदैमा समाधान हुँदैनन् । र, समाधान हुन्छ भनेर प्रचण्ड प्रधान मन्त्री हुन तम्सेका पनि हैनन् । उनलाई जुनसुकै मूल्यमा पनि प्रधान मन्त्री हुनु थियो र हुन्छन् । धेरै भए उनी प्रधान मन्त्री रहेको दिनसम्म उनी र माओवादी केन्द्रविरुद्धका जनयुद्धकालीन मुद्दाहरू पन्छाइएलान् तर सानो भविष्य भएको प्रचण्डको पार्टी सधँै सरकारमा त रहन्न । त्यसबेला के हुन्छ ? ती मुद्दा नब्युँझिएलान् ? वि.सं. २०४६ सालभन्दा अगाडिका पञ्चायती शासकले लगाएका मुद्दाहरू आन्दोलनको सफलतापछि खारेज गरिएजस्तो जनयुद्धकालीन मुद्दा खारेज गर्न नमान्ने र एक हातमा टाउको लिएर आऊ र अर्को हातमा पैसा लिएर जाउ भनी घोषणा गर्ने नेपाली कांग्रेस जस्ता पार्टीहरूबाट यसको उत्तर आउँछ कि आउँदैन ? नेकपा माओवादी केन्द्रले बुझेकै होला।

 

प्रकाशित: १२ श्रावण २०७३ ०५:०७ बुधबार

कम्युनिस्टका नाममा