धेरैलाई लाग्ने गर्छ, नेपाली समाजको आदर्श पश्चिमी समाजभन्दा माथि छ। हामीमा भाइचाराको संस्कृति छ। हामी लोभी छैनौं। परोपकारी भावना छ। वास्तवमा यो धेरै भ्रम र थोरै सत्य हो। हाम्रो नैतिक रूपमा स्खलित समाज हो। नेपालीको अनुहारमा देखिने खुसी झुटो आवरण मात्र हो। वास्तवमा नेपाली समाज चरम निरासा (डिप्रेसन) र कुण्ठाले भरिएको अनुदार समाज हो। अबको समाज परिवर्तनको बहस हामी असल, महान छौं भनेर होइन, ऐतिहासिक रूपमा जकडिएको हाम्रो खराबी, कुण्ठा, अनुदारता अनि नकारात्मकतालाई पहिचान गरी कसरी सक्षम, न्यायिक अनि आदर्श समाजको निर्माण गर्न सक्छौं भन्ने दिशामा मोडिनुपर्छ।
हामीलाई सबै कुरा तुरुन्त चाहिन्छ। हामीले नेपालमा एउटै पुस्ताले छोटो समयमा बिरलै देख्न पाइने राजनीतिक यात्रा देख्न र भोग्न पायौं। दुई दशकको अन्तरालमा राजतन्त्र ढल्यो, प्रजातन्त्र आयो। माओवादी हिंसात्मक युद्ध भयो। सम्पूर्ण राजपरिवारका सदस्यको हत्या भयो। गणतन्त्र आयो। मधेस आन्दोलन भयो। अझै धेरै किसिमका जातीय, क्षेत्रीय तथा लैंगिक अधिकारका आन्दोलन जारी छन् तर स्थीर परिवर्तनको आशा धुमिल र कमजोर बन्दै गइरहेको छ। राजनीतिक दल तथा तिनका नेताप्रतिको बढ्दो वितृष्णा अनि कमजोर बन्दै गइरहेको नागरिक एकताले जुन गतिमा परिवर्तन भए, त्यही गतिमा देश निरंकुशतामा फर्कने संकेत देखा पर्न थालेका छन्।
परिवर्तनका लागि हामी नेपालीले आहिलेसम्म देखाएका बहादुरी र एकता हाम्रो सामूहिक मूर्खता त होइन भन्ने प्रश्न फेरि उठ्न थालेको छ। आफ्नो र सन्ततिका लागि दीर्घकालीन फाइदा पनि पहिचान गर्न नसक्ने नेपाली समाज अहिलेको समाज हो। २०४६ सालदेखि ओरालो लाग्न थालेका सार्वजनिक संस्था जस्तै शिक्षा, स्वास्थ्य, यातायात ओरालो मात्र लागिरहेका छन्। यसको अर्थ यी क्षेत्र २०४६ सालअगाडि राम्रो थिए भन्न खोजेको होइन। निरंकुश शासनको अन्त्य भएर पनि यी क्षेत्रमा सुधार हुन नसक्नुमा सबैभन्दा ठूलो दोष हामी अनि हाम्रो सामाजिक मनोविज्ञानको छ। २०४६ सालपछिका परिवर्तनले हामीमा ठूला सपना मात्र देखाउने काम गरेका छन् तर दिगो विकासका लागि आवश्यक आधारशीला भताभुंग भएका छन्।
सामाजिक रूपमा हामी दिन–प्रतिदिन कमजोर र निरीह मात्र बनिरहेका छौं। भ्रष्टाचार झन् संस्थागत बन्दै गइरहेको छ। राज्यसंयन्त्र तथा साधनस्रोतको चरम दुरुपयोग भइरहँदा पनि आमनागरिक निरीह र मुकदर्शक छौं। राजनीतिक दल शक्ति, दलाल तथा नाफामूलक संस्थामा परिणत भइसक्दा पनि हामी तिनै अनुहारलाई चुपचाप नेता मानिरहेका छौं। सत्ता र प्रतिपक्षमा बस्नेबीच भिन्नता छैन। व्यापारी र नेतामा भिन्नता छैन। कतिपय अवस्थामा आपराधिक झुन्ड र राजनीतिक दलबीच भिन्नता छुट्टाउन अप्ठ्यारो पर्छ।
गाली कसलाई गर्ने? दोष कसलाई दिने? हामीलाई यो नैतिक प्रश्नको जवाफ दिन गाह्रो छ। अरुलाई फाइदा पुग्छ कि भनेर आफूले पनि कुकुरले जस्तो दुःख पाएर खुम्चेर बस्ने नेपाली समाजको मानसिकता हो। नेपाली मानसिकता भनेको विकासविरोधी पनि हो। यो मानसिकता नेपालमा जहाँ गए पनि देख्न सकिन्छ। उदाहरणका लागि काठमाडौँका भित्री सडकलाई हेर्दा हुन्छ। जहाँ ठूला घर अनि महँगा गाडी चल्छन्, त्यहीं साघुरा, हिलाम्मे अनि बिग्रेका गल्ली हुन्छन्। यो नेपाली समाजको मनोरोग नै हो।
नेपालमा दशकौंदेखि सुरु गरिएका ठूला विकास आयोजना र कार्यक्रम असफल हुनुमा हाम्रो विकासविरोधी मानसिकता प्रमुख छ। यही मानसिकतालाई उपयोग गर्दै विकास अनि सम्पन्नताको विरोधाभासपूर्ण चर्को नारा दिँदै राष्ट्रिय अनि क्षेत्रीय रूपमा च्याउसरी दल उम्रेका छन्। यस्ता दल अनि विकासविरोधी मानसिकतालाई शक्तिको रूपमा प्रयोग गर्ने नेताको प्रमुख काम विकास, उद्यमशीलता अनि आर्थिक क्रियाकलापमा अवरोध पुर्याउनु हो। यो मानसिकता नेपालका सबै राजनीतिक दल र नेतामा व्याप्त छ, अनि हामी आमनागरिक यस मानसिकतालाई मलजल र समर्थन गर्दै बसिरहेका छौं।
नेपाल उल्टो बाटोमा हिँडिरहेको छ। वर्तमानमा राष्ट्रिय महŒव पाइरहेका मुद्दा हाम्रो पुस्ताका लागि उज्यालो बाटोमा लानेखालका छैनन्। जातीय र क्षेत्रीय मुद्दाले समग्र समाजलाई कमजोर मात्र बनाउने हो। सिर्जनशीलता तथा उद्यमको मध्यमबाट १/२ जनालाई पनि रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्न नसक्ने भुइँफुट्टाहरू आज विकास र अग्रगमनको चर्को नारा लगाउँदै हिँड्छन्। जसको जीविकोपार्जन दाताको निगाहमा आश्रित छ, उनै सबैभन्दा ठूलो स्वरमा स्वाभीमान अनि आत्मनिर्भरताको कुरा गर्दै हिँड्छन्। बोलेर, लेखेर अनि आन्दोलन गरेर नेपाली समाजको वर्गीय रूपान्तरणको सपना देख्नेले आज देशलाई अँध्यारो खाडलतिर धकेल्दै छन्।
युवावर्गका लागि आर्थिक अवसर अत्यन्त सीमित छन्। व्यापार–व्यवसायको वातावरण खस्कँदो छ। सामाजिक असुरक्षा र डर सबैमा व्याप्त छ। कानुनी रूपमा हामी सबै नागरिक अझैसम्म पनि समान छैनौं। शक्ति र पहँुच हुनेको मुठीमा कानुन छ। राज्य र आमनागरिकबीचको दुरी दिन–प्रतिदिन बढिरहेको छ। आमनेपाली निराशा र बेथितिको चक्रब्युहमा नराम्रोसँग फसिसकेका छौं। लाखौं युवा यो चक्रव्युहबाट मुक्तिको सपना देख्दै हरेक वर्ष विद्यार्थी, कामदार वा अवैधानिक रूपमा बिदेसिन बाध्य छन्। हरेक बाबुआमा आफ्ना सन्तति सकेसम्म छिटो बिदेसिउन् भन्ने कामना गर्छन्। आजभोलि नेपाल बन्छ, नेपालमा बसेर केही गर्न सकिन्छ भन्ने मानिस भेट्न निकै गाह्रो पर्छ। हरेक दिन हामी नेपालीले हारिरहेका छौं। सीमित नेता, व्यापारी तथा माफिया मुनाफाका लागि झन्डै ३ करोड नेपालीले बन्दीजस्तो जीवन बिताइरहेका छौं।
नेपाली समाज आदर्श र नैतिकताको सबैभन्दा ठूलो संकटमा फसेको छ। भर्खरै नक्कली डाक्टर प्रकरणले युवा पुस्ता लाजले शिर झुकाउन बाध्य छौं। मेडिकल शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा त यस्तो नक्कली काम हुन्छ भने नैतिकता र आदर्शको अपेक्षा अब कुन क्षेत्रबाट गर्ने? विदेश गएर भए पनि दुःखसुख, आत्मसम्मानपूर्ण जीवन बाँच्नसक्ने अवसर पाएका युवाले नेपालमा के हेरेर बस्ने? जुन देशका नागरिक र समाजले अपराधीकरणलाई सामान्य हिसाबमा स्वीकार गर्छन्, त्यस्तो देशमा कस्तो परिवर्तनको आशा गर्ने? गुनासो कसलाई गर्ने अनि कसको नेतृत्वमा नेपाली समाजको रूपान्तरणको अपेक्षा गर्ने? नैतिकता अनि आदर्श नेतृत्वबिना कुनै समाज अगाडि बढ्न सक्दैन। त्यसैले नैतिकता र आदर्शको संकटमा फस्दै गइरहेको नेपालमा हामीले समाजको नयाँ आदर्श स्थापित गर्न सकेनौं भने आगामी दिन अझै निराशाजनक र दुःखदायी बन्नेछन्।
प्रकाशित: २४ असार २०७३ ०४:४२ शुक्रबार