२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
विचार

राजा महेन्द्रको कदम: प्रजातन्त्रमाथि कुठाराघात

२००७ सालको जनक्रान्तिद्वारा एक शताब्दी लामो निरंकुश जहानियाँ राणातन्त्रको अन्त्य भएपछि प्रजातन्त्रको स्थापना भएको थियो। प्रजातन्त्रको घोषणासँगै गणतन्त्रात्मक विधिद्वारा मुुलुकको शाासन व्यवस्था सञ्चालित हुने कुरा उल्लेख गरिएको थियो। तत्काल अन्तरिम संविधान २००७ राजा त्रिभुवनबाट घोषणा गरी दुई वर्षभित्रै संविधान सभाको चुनाव गरिने पनि उल्लेख थियो। तर विभिन्न बहाना बनाई कहिले प्रत्यक्ष शासन त कहिले सल्लाहकार सभामार्फत शासन सञ्चालन गरियो। त्यति मात्र होइन, राजा त्रिभुवनले २०१० साल माघमा अन्तरिम संविधान संशोधन गरी कार्यकारी अधिकार पनि आफ्नै हातमा लिए।

२०११ सालमा राजा त्रिभुवनको मृत्युपछि राजा महेन्द्रले सत्ता सम्हाले। पिता त्रिभुवनजस्तै राजा महेन्द्रले पनि कहिले संविधान सभाको चुनाव गराउने त कहिले संसद्को चुनाव गराउने भनी दलहरूलाई आश्वासन दिइरहे। त्यसैबीच २०१२ मा नेपाली कांग्रेसले सत्याग्रह सञ्चालन गरेपश्चात् करिब २ वर्षपछि राजा महेन्द्रले २०१४ साल कात्तिक पूर्णिमाका दिन संसद् चुनावको घोषणा गरे। फलस्वरूप २०१५ साल फागुनमा पहिलो आम निर्वाचन भयो र नेपाली कांग्रेसले दुई तिहाइको बहुमत ल्याई बिपी कोइरालाको नेतृत्वमा सरकार गठन भयो। त्यो सरकारले थोरै समयमा क्रान्तिकारी कार्यक्रमहरू सञ्चालन गर्‍यो, जस्तै: बिर्ता उन्मूलन, वनजंगलको राष्ट्रियकरण, सहकारी कार्यक्रम, वैज्ञानिक भूमिसुधारजस्ता समाजवादी अभियान आदि।

प्रधानमन्त्री विपी कोइरालाको दूरदर्शी नेतृत्वमा मुलुक प्रगतिको खुड्किलो चढिरहेको थियो। बिर्तावाल सामन्तहरू यो कदम देखेर तिल्मिलाउन थाले। प्रधानमन्त्री कोइरालाका विरुद्ध राजा महेन्द्रलाई उस्काउन थाले। विपीको देश विदेशमा बढिरहेको व्यक्तित्वदेखि राजा स्वयम् ईष्र्या गर्न थाले। संयुक्त राष्ट्रसंघमा बिपी कोइरालाले दिएको भाषणले शक्तिशाली राष्ट्र अमेरिका र रुसका राष्ट्रप्रमुखहरू प्रभावित भई प्रशंसा गर्न थाले। सरकारलाई असफल गराउन प्रपञ्च रच्न थाले।

राजा महेन्द्र अवसरको खोजीमा थिए। यसका लागि छिमेकी मुुलुकको मौन समर्थन पर्खिरहेका थिए। सबै तारतम्य मिलाई राजा महेन्द्रले २०१७ साल पुस १ गतेका दिन प्रधानमन्त्री कोइराला थापाथलीमा आयोजित तरुणदलको उद्घाटन कार्यक्रममा मञ्चासिन भइरहँदा सेनाले कुगरी गिरफ्तार गरे साथै त्यहाँ रहेका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत सबै नेताहरूलाई पनि गिरफ्तार गरी जेल हाले। त्यति मात्र नभई जिल्ला जिल्लाका कांग्रेसका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरे। मुलुकमा आतङ्कको सिर्जना भयो। मुलुकभरी सन्नाटा छायो। भोलिपल्ट बिहानैको रेडियो नेपालबाट प्रधानमन्त्री बिपी कोइरालाहरूलाई गिरफ्तार गरी निर्वाचित सरकार पनि विघटन गरेको समाचार प्रसारण गरियो। त्यति बेला आजकोजस्तो सञ्चार माध्यमको विकास भएको थिएन। गाउँघरतिर सम्पन्न व्यक्तिहरूले मात्र रेडियो राख्ने गर्थे।

संयोगवश सप्तरीको मेरो गाउँ विषहरियामा मेरा हजुरबुबा पर्ने झवरलाल देवको घरमा ठुलो फिलिप्स रेडियो थियो। जसमा बिहान गाउलेहरू उहाँको दलानमा घुर (आगो) ताप्दै बसी गफ गरिरहेका थिए। त्यतिबेला नै काठमाडाैंमा प्रधानमन्त्री कोइरालालगायत सबै नेतालाई गिरफ्तार गरी जेल हालिएको समाचार आयो। सबैजना आश्चर्यचकित भए। सबै आगो ताप्ने बुढाहरूले बिपी, किसुनजी, गणेशमानजीको कुरा गर्न थाले। २०१५ साल फागुनमा भएको आम चुनावमा सबैले कांग्रेसलाई भोट दिई जिताएका थिए। २०१४ सालमा सत्याग्रहको सन्दर्भमा गणेशमानजी मेरो गाउँमा आउनुभएको थियो र स्थानीय मिडिल स्कुलको प्राङ्गणमा आम सभा गरी राजा महेन्द्रलाई संविधानसभाको चुनाव नगराएकाले गाली गरेका थिए। त्यो आम सभामा दश गाउँहरूका मानिसहरू उहाँको भाषण सुन्न आएका थिए। बुढाहरूको गन्थन सुन्दा हामी केटाहरूले पनि बडो चाख लिएर सुनिराखेका थियौं।

म आफ्ना दौंतरीहरूमा सबभन्दा बाठो र फुर्तिलो थिएँ। सबैका अगुवा म नै थिए। करिब २ वर्षअघि आम चुनावमा म आफ्नो गाउँको मतदान केन्द्रमा स्वयंसेवक भएर खटिएको थिएँ। मोटर वा बयलगाडामा लाउडस्पिकर राखी चुनावी प्रचारमा आएका उम्मेदवारहरूसित पर्चा लिई हामी केटाहरूले गीत गाउँदै रमाउँदै वीर विश्वेश्वर जिन्दावाद, नेपाली कांग्रेस जिन्दावाद, गाछ (रुख) छापमे भोट दो भनेर हुल बाँधेर हिँडेका थियौं। त्यो चुनावको सम्झना ताजै थियो। हाम्रो जिल्लाको ३६ नं. क्षेत्रबाट डा. नागेश्वरप्रसाद सिंहलाई टिकट दिई उम्मेदवार बनाइएको थियो। उहाँभन्दा राजनीतिमा पुरानो गजेन्द्र नारायण सिंहलाई टिकट दिइएन।  

डा. तुलसी गिरीको दबाबमा बिपीले डा. नागेश्वर सिंहलाई टिकट दिएको भने कुरा गाउँका पुराना कांग्रेसीहरूले भन्नुहुन्थ्यो। उक्त आम चुनावमा स्वयंसेवक भई बसेको तथा कांग्रेसको पक्षमा प्रचार गरेको कुरा सम्झिराखेको थिएँ। राजा महेन्द्रले कांग्रेसको सरकारलाई विघटन गरी बिपीलगायतका नेतालाई गिरफ्तार गरी जेलमा हालिएको कुराले मलाई भित्रैदेखि नै निकै रिस उठेर आएको थियो। त्यही रिसले हामी युवा–केटाहरू स्थानीय मिडिल स्कुलको चौरमा जम्मा भई राजाको कदमको विरोध गरी नारा लगाउन थाल्यौं। गाउँभरि नारा लगाउँदै पुनः त्यही स्कुलमा जम्मा भई भाषण गर्न थालियो। गाउँका पुराना नेताहरू पनि जम्मा भए।  

मैले बोल्न थाल्दा बुढाहरूले प्रशंसा गरेका थिए। मेरा पिताजी भोलालाल देव, नेपाली कांग्रेस, सप्तरीका सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो। उहाँ नेपाली कांग्रेस, सप्तरीका संस्थापक अध्यक्ष रामेश्वरप्रसाद सिंहको साथी हुनुहुन्थ्यो। चुनावका बेला पिताजी गाउँमा नै बस्नुभएको थियो। गाउँका बुढापाकाहरूले राजनीतिका कुरा गरिरहन्थे। खास गरी बिपी कोइराला, कांग्रेसका कुरा हुन्थे। म बडो चाख लिएर सुन्ने गर्थें। मेरो दरबाजाको दलानमा गाउँभरिका बुढाहरू आइरहन्थे र मेरा पिताजीसित राजनीतिक वार्ता गरिरहन्थे।  

सन् १९४२ को भारतीय स्वतन्त्रता आन्दोलनताका भारतको हजारीवाग जेल तोडी भागेर आएका नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, सुरज नारायण सिंहहरूलाई सप्तरीका जनताले शरण दिई भूमिगत रूपमा राखेका थिए। पछि तत्कालीन राणा शासकलाई थाहा भएपछि पक्राउ गरी हनुमान नगर जेलमा हालिएको थियो। तिनीहरूलाई सप्तरीबासीले जेल तोडी निकालिएका घटनाहरूको चर्चा बुढाहरूले मेरो दलान घरमा गरिरहन्थे। त्यो सुनेर म निकै रोमाञ्चित हुन्थें।  

२०१७ साल पुस १ गतेको राजा महेन्द्रको प्रजातन्त्र विरोधी कदमका बारे मेरो मनमस्तिकमा खेलिरहेको थियो। त्यो घटनापछि नेपाली कांग्रेस, सप्तरीका नेता र कार्यकर्ताहरू भारत प्रवासमा गई सशस्त्र क्रान्तिद्वारा प्रजातन्त्रको पुनःस्थापनाका लागि क्रियाशील भएका थिए। सीमावर्ती विहारको कुनौली बजारमा नेताहरू रामेश्वरप्रसाद सिंह, गजेन्द्र नारायण सिंह, केदारप्रसाद सिंह, वीरबल विराजी, खुसीलाल मण्डल, हरिप्रसाद रायहरू शिविर बनाई बसिरहेका थिए। शिविरमा कार्यकर्तालाई बन्दुक चलाउने, आक्रमण गर्ने, आक्रमण गरी कसरी भाग्नेजस्ता तालिम दिइन्थ्यो। तालिम दिनेहरूमा भूतपूर्र्व सैनिकहरू थिए।  

एक दिन म बुबासँगै सीमावर्ती भारतीय बजार कुनौली पुगें। मेरो गाउँदेखि करिव ५ किमी दुरीमा रहेको कुनौली बजारको नेपाली कांग्रेसको शिविरमा गएँ। बुबाले त्यहाँका नेता रामेश्वर बाबुसित भेट गरी सबै कुराको जानकारी लिनुभयो। आउने बेलामा केही पर्चा पम्प्लेट दिनुभयो। त्यो पर्चा मलाई नै बोक्न लगाउनुभयो। संयोगले भोलिपल्ट कोसीको मेला थियो। सप्तरीको पुरानो सदरमुकाम हनुमान् नगरमा कोसी नदीको किनारमा ठुलो एकदिने मेला लाग्थ्यो। अहिले पनि पुसको पूर्णिमाका दिन कोसीको मेला लाग्छ। नेपाल र भारतका हजारौं श्रद्धालुहरू मेलामा आई कोसीमा स्नान गर्छन्। यो उहिलेदेखि परम्परागत रूपमा मेला लाग्दै आएको छ। बिहानै श्रद्धालुहरू बयलगाडा तथा अन्य सवारीमा त्यहाँ पुग्छन्। कोसीमा स्नान गरी दान पुण्य गर्छन् तथा घरबाट ल्याएका खानेकुरा जस्तै ः चिउरा, दही, मुरही चना, बदाम तथा विभिन्न तरकारीका परिकारहरू ल्याई कोसी किनारको पारिलो घाम ताप्दै आनन्दले खाने गर्छन्।  

त्यही दिन बिहानै ४ बजे पिताजी नोकर (बहलमानलाई सवारी गाडी, सानो बयलगाडी जसमा ५÷७ जना मात्र बस्न मिल्छ) चलाउन लगाएर सपरिवार गाडीमै बसेर हिँड्यौं। मेरो गाउँदेखि हनुमान् नगर (कोसी मेला) करिब १० किमी पर्दछ। सवारी गाडीलाई रफ्तारमा हाँक्दै बहलमानले ८ बजेतिर पु¥यायो। निर्धारित ठाउँमा गाडी रोकियो अनि हामी कोसीमा स्नान गरी पूजा गरे। त्यसपछि हामी सपरिवार दरी ओछ्याएर एकै ठाउँमा बसेर घरबाट पकाएर ल्याएका परिकार र चिउरा मुरही, तिल र चिउरामा सख्खर मिसाएर बनाएको लड्डु खायौं। त्यहाँ दही खान अनिवार्य भएकाले कोसी टापुको नामी दही किनेर खायौं।  

त्यसपछि मेला घुम्न थालियो। रंगीविरंगी सामानहरू, सर्कस र नाटकहरू हेर्न थालियो। त्यसैबीच मैले नेपाली कांग्रेसको पर्चा छर्किन थालें। कोसी बाँधसम्म पर्चा छरें, जसमा पुस १ गते राजा महेन्द्रले निर्वाचित सरकारलाई विघटन गरी प्रधानमन्त्री बिपी कोइरालालगायत सबै नेतालाई गिरफ्तार गरी जेल हालिएको कुराका साथै राजाको कदमको विरोध गरिएको थियो। एक हातमा झन्डा अर्को हातमा पर्चा छर्दै जाँदा पुलिसले मलाई समातेर हनुमान् नगर थानामा लगेर थुन्यो। मसँग सोधपुछ र केरकार गरियो। पर्चा तँलाई कसले दियो ? कहाँबाट ल्याइस् भनी सोध्न थालियो। मलाई एक जना मान्छेले दियो र मेलामा छरिदिने भन्यो। यसमा के छ थाह भएन भनेर मैले भनें। ममाथि केही लाठी पनि प्रहार गरियो।  

पछि पिताजीलाई थाहा भएपछि थाना जानुभयो अनि पुलिस इन्स्पेक्टरलाई भेटेर मलाई छोडिदिन अनुरोध गर्न थाल्नुभयो। पिताजीको भनाइ थियो–यो केटाकेटी छ। १२ वर्षको उमेर मात्र भएको छ। यसलाई कसले पर्चा दियो थाहा भएन। केही बुद्धि छैन। जसले जे भन्यो त्यही गर्छ। यसलाई राजनीतिबारे केही थाहा छैन। छोडिदिनुस्। अन्तमा इन्स्पेक्टरले पिताजीसित कागज गराएर छोडिदिनुभयो र इन्स्पेक्टरले मलाई गाली गर्दै आइन्दा यस्तो काम नगर्नु भनी हप्काएर पठाउनुभयो।

यसरी मैले पुस १ गतेको कदमको विरुद्धमा १२ वर्षको उमेरमा नेपाली कांग्रेसको झन्डा बोकी पर्चा छरेको थिएँ। त्यसपछि मेरो बदमासी देखेर पिताजीले राजविराज हाईस्कुलमा नपठाएर सीमावर्ती विहारको हाइयर सेकेन्डरी स्कुल वीरपुरमा पठाउनुभयो। त्यहाँ नेपाली कांग्रेसका नेताहरू शिविर सञ्चालन गरी बसिराखेका थिए। म शिविरमा गएर गतिविधिहरूको अध्ययन गर्थें। २०१८–१९ सालमा कांग्रेसले राजाको कदमको विरुद्ध प्रजातन्त्र पुनःस्थापनाका लागि सशस्त्र क्रान्तिको सुरुआत गर्‍यो। हामी नेपाली विद्यार्थीहरूले पनि त्यो क्रान्तिमा भाग लिई बोर्डर क्षेत्रको हरिपुर, भन्टावारी, कोसी ब्यारेजलगायत ठाउँमा राति राति गएर पर्चा छर्ने गथ्र्यौं। म नेपाली विद्यार्थी संघको अध्यक्ष पनि भएकाले बढी जिम्मेवारी थियो।  

नेपाली कांगे्रसको मुखपत्र ‘नेपाल आह्वान’ पत्रिका केशवराज पिँडालीको सम्पादनमा कलकत्ताबाट निस्कन्थ्यो। त्यो पत्रिकामा कांग्रेसका गतिविधिका बारेमा समाचारहरू पठाउन थालें। त्यहींदेखि मलाई पत्रकारिताप्रति चासो बढेको हो। अर्थात् २०१८–१९ सालदेखि पत्रकारिता गर्दै राष्ट्रपुकार, विमर्श, देशान्तर इत्यादि पत्रिकाहरूमा ३/४ दशकसम्म रिपोर्टर भई काम गरें। पछि आफ्नै सम्पादनमा २०३९ सालमा जनमत साप्ताहिक प्रकाशित गर्न थालें। विभिन्न पत्रपत्रिकाहरूमा लेख लेख्नेदेखि स्तम्भकारका रूपमा अहिले पनि सक्रिय छु। नेपाली कांग्रेसको प्रत्येक आन्दोलनमा सक्रिय रूपमा भाग लिई अहिले सात दशकको उमेरमा पनि प्रजातन्त्र र समाजवादप्रति समर्पित छु। तर कांग्रेसले मजस्तो पुरानो पीडित कार्यकर्ताको कुनै मूल्याङ्कन गरेको छैन। जब कि प्रजातान्त्रिक आन्दोलन २०३६/३७ सालमा पञ्चायती सरकारले मेरो शिक्षकको जागिर पनि खोस्यो। यसरी मेरो जिन्दगी नै कांग्रेसमा बित्यो।

प्रकाशित: ९ पुस २०७९ ०१:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App