१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

अर्धवार्षिक अवधिको आर्थिक परिवर्तन

आ.व. २०७९।८० मा अघिल्ला महिनामा आयात, वैदेशिक व्यापारसँगै निर्यात पनि घटेको छ। आयात र निर्यातमा भएको कमीले देशको व्यापार घाटा पनि घटेको छ। २०७९।८० को चार महिनामा देशको व्यापार घाटा १५ दशमलव ८८ प्रतिशतले घटेर ४ खर्व ७७ अर्ब ९१ करोड कायम भएको छ। व्यापार घाटा कम भएपछि २०७९।८० को असोजमा १४ महिनापछि अर्थात २०७८।७९ को पछिल्लो २ महिनासहितमा देशको शोधनान्तर स्थिति बचतमा गएको थियो। असोज मसान्तसम्म शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपियाँ बचतमा रहेको देखिन्छ।  

यसैगरी लामो समयदेखि दबाबमा रहेको विदेशी मुद्रा सञ्चितिसमेत २०७९ असारको तुलनामा २ दशमलव ५ प्रतिशतले बढेर असोजमा १२ खर्ब ४६ अर्ब २२ करोड रुपियाँ पुगेकोे तथ्यांकले देखाउँछ। शोधनान्तर घाटा वृद्धि र विदेशी मुद्रा सञ्चितिमा कमी आएपछि २०७८ मार्गदेखि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको थियो। यस प्रावधानमा २०७८ मार्ग १३ गते एउटा बिजकबाट एकपटकमा ३५ हजार अमेरिकी डलर भन्दा बढीको चाँदी आयात गर्न नपाइने व्यवस्था भयो। डिएपी अर्थात डकुमेन्ट एगेन्स्ड पेमेन्ट, टिटी र ड्राफ्टबाट चाँदी आयातको भुक्तानीमा पनि रोक लगायो। त्यसको १ महिनामा आयात कर्जामा कडाइ गरियो। २०७८ पुस ५ गते विभिन्न २० हार्मोनिक कोडअन्तर्गतका सामान आयातको एलसी खोल्दा ५० र शतप्रतिशत नगद मार्जिन राख्नुपर्न व्यवस्था गरियो।  

सबै किसिमका वस्तुको मूल्य वृद्धि अझै कायम रहने देखिएको छ। मूल्य वृद्धि अनिश्चतकालसम्मका लागि रहने भनाइले आमसर्वसाधारण नागरिकको दैनिक जनजीवन अझ कठिन हुने देखिएको छ। दोस्रो आमचुनावपछिका सरकारले मूल्य वृद्धि व्यवस्थापन गरेर नागरिकको दैनिक जीवनमा सहज गर्ने अपेक्षा गरिएकै अवसरमा आर्थिक वर्ष २०७९।८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक पहिलो समीक्षा सार्वजनिक गर्दै मूल्य वृद्धि नेपालको मात्र नियन्त्रणमा नरहेको र केही समयसम्म कायम रहने भन्दै अनिश्चितको संकेत गरिएको हो।  

स्वदेशमा उत्पादन कार्य हुँदै आयातित वस्तुहरूका खपत बढ्नुका साथै अमेरिकी डलरसँगै नेपाली रुपियाँको अवमूल्यन तया इन्धन पदार्थको भारी मूल्य वृद्धिका कारण वस्तुका मूल्य बढ्न गएको भनिएको छ। केही वस्तुका मूल्य वृद्धिमा बाह्य कारण भएको भन्दै त्यसमा सुधार आउन विश्वको अर्थतन्त्रमा सुधार आउनुपर्ने भनिएको छ। पेट्रोलियम पदार्थको उच्च मूल्यको अवस्था र नेपाली रुपियाँको अवमूल्यनका कारण आयातित वस्तुका मूल्य बढ्न गई उपभोक्ता मूल्यमा चाप पर्न गएको देखिन्छ।  

बाह्य तथा आन्तरिक आर्थिक दृश्य नियाल्दा मूल्यमा रहेको चापको स्थिति झै केही समयसम्म कायम रहने भनिएको छ। सार्वजनिक गरिएको मौद्रिक नीतिको पहिलो चौमासिकमा यो उल्लेख छ। २०७८।७९ को तुलनामा २०७९।८० को असोजसम्म मूल्य वृद्धि दोब्बर भन्दा बढीले वृद्धि हुन लागेको छ। २०७९ असोजसम्म वार्षिक विन्दुगत मुद्रास्फीति ८ दशमलव पाँच प्रतिशत रहेको देखिन्छ। २०७८।७९ को असोज मसान्तसम्म यस्तो मुद्रास्फीति ४ दशमलव २४ प्रतिशतले बढेको भनिएको छ। २०७९।८० मा तलव सूचकांक १२ दशमलव ३९ प्रतिशत र ज्याला दर सूचकांक ११ दशमलव चौँतीस प्रतिशत वृिद्ध भएको छ। यसले पनि मूल्य वृद्धिलाई बढाएको छ। तलव, सामाजिक सुरक्षा खर्च र आमनिर्वाचनका कारण सरकारी खर्चमा पनि वृद्धि भएको देखिन्छ। अनुत्पादक क्षेत्रमा यसरी खर्च वृद्धि हुँदा मूल्य वृद्धि स्वाभाविकरूपमा बढ्ने भनाइ छ।  

निर्वाचन भएको वर्ष २०७९।८० मा मूल्य वृद्धि हुने गरेको देखिन्छ। २०७९।८० मा रुस–रुक्रेन युद्धका कारण विश्वभर इन्धन पदार्थको मूल्य बढेको छ। अमेरिकी डलरको मूल्य उच्च भएका कारण विश्वभर उपभोक्ता मूल्य बढ्ने विश्वास गरिएको छ। २०७९।८० को संघीय सरकारको कुल खर्चमा २०७८।७९ को तुलनामा २२ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएर तीन खर्ब ५० अर्ब ९८ करोड पुगेको छ। त्यसमा पनि २०७९।८० मा चालु खर्चको अंश ८० दशमलव १६ प्रतिशत रहेको छ। तलव, सामाजिक सुरक्षा र आमनिर्वाचनका लागि उतm रकम खर्च भएको देखिन्छ।  

राजस्व भने २०७८।७९ को असोजसम्मको तुलनामा २०७९।८० मा १९ दशमलव ८१ प्रतिशतले घटेको देखिन्छ। २०७९ कात्तिकसम्म तीन खर्ब ३४ अर्ब ३१ करोड राजस्व परिचालन भएकामा २०७९।८० को कात्तिकसम्म २ खर्ब ६८ अर्ब सात करोड रुपियाँ मात्र राजस्व परिचालन भएको छ। आयातमा संकुचन आएकाले राजस्व परिचालन प्रभावित भएको देखिन्छ र अमेरिकी डलरको अधिमूल्यन र ब्याज दरमा भएको वृद्धिका कारण सरकारको ऋण दायित्व बढ्नुका साथै ऋणको ब्याज भार पनि बढ्न गएको छ।  

पछिल्लो समय अर्थात २०७९।८० को पहिलो चार महिनामा आयात हुने वस्तुका सूचीका सबै भन्दा माथि रहँदै आएको इन्धन पदार्थको आयात २०७८।७९ को तुलनामा घटेको पाइएको छ। डिजेल आयात परिमाण पनि घटेको देखिन्छ। इन्धन पदार्थका आयातका मात्रा घटे पनि कच्चा तेलको मूल्यमा भएको अति वृद्धिसँगै र नेपाली मुद्रा अवमूल्यनका कारण पैठारीका लागि बाहिर गएको रकम भने वृद्धि भएको देखिन्छ। २०७८।७९ को चार महिनामा ३४ अर्ब ३३ करोड २१ लाख रुपियाँ डिजेल आयातमा बाहिर गएकामा २०७९।८० को पहिलो चार महिनामा घटेको देखिन्छ। २०७९।८० को चार महिनामा सबै भन्दा बढी आयात भएको वस्तु डिजेल परेको छ। तरल इन्धन २०७९।८० को पहिलो चार महिनामा २३ अर्ब ६९ करोड ७० लाख रुपियाँको आयात भएको छ। २०७८।७९ को पहिलो चार महिनामा १८ अर्ब ६६ करोड ६५ लाख मात्रै तरल इन्धन आयातमा रकम बाहिरिएको थियो। २०७९।८० को चार महिनामा एलपिजी ग्यास तेस्रो नंबरको आयातमा परेको छ। २०७९।८० कै चार महिनामा नेपालबाट सबै भन्दा बढी पामोलिन रु. ५ अर्ब बढी रुपियाँको निर्यात भएको छ। यस्तै भटमासको तेल ५ अर्ब बढी र पाम तेल रु. ३ अर्ब बढी रुपियाँको निर्यात भएको छ।

(पूर्वनायव कार्यकारी निर्देशक, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र) 

प्रकाशित: ५ पुस २०७९ ००:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App