९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

बाइरोडको बाटोमा: सबै उस्तै होइनन्

लोकतन्त्रको सर्वोत्तम अभ्यासका रूपमा यो आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निम्ति निर्वाचन हुँदैछ। निर्वाचनको दिनमा आइपुगेर पनि कतिपयलाई द्विविधा हुन सक्छ– सबै उस्तै हुन् कसलाई भोट हाल्ने हो र?  

त्यस्तो मात्र कुरा होइन। सबै उस्तै हुन् भनेर मतदान नगरी बस्ने हो भने झन् खराब व्यक्तिले जित्ने सम्भावना हुन्छ। सबैको कुनै न कुनै दल वा उम्मेदवारप्रति झुकाव हुन सक्छ। आफ्नो उम्मेदवारले जित्दैन भनेर मतदान नगर्ने पनि प्रवृत्ति देखिन्छ। त्यस्तो भयो भने पनि आफूले नचाहेका व्यक्ति विजयी हुन सक्छन्।  

मताधिकार भनेको जित्नेका निम्ति मात्र होइन। हामीकहाँ भने मतदाताले जित्नेलाई भोट हाल्नुपर्छ भनेको सुनिन्छ। तर त्यो सही तरिका होइन। जित्नेले जित्लान्। तर, नजित्ने भए पनि आफ्नो आस्था र विश्वासका मानिस उम्मेदवार छन् भने तिनलाई किन मतदान नगर्ने? जित्नेलाई नै सबैले मतदान गर्ने हो भने अहिलेको प्रणाली सुधारमा मतदाताको योगदान पुग्दैन।  

जित्नेबाहेक पराजित हुने उम्मेदवारको मत संख्याले पनि राजनीतिको प्रवृत्ति थाहा पाउन सहज हुन्छ। त्यसैले नजित्नेका निम्ति पनि मतदान गर्न तत्पर हुनुपर्छ। अझ सबै उस्तै हुन् भन्नु भनेको पनि एक किसिमको अल्छीपन हो। यसो भएपछि भएका उम्मेदवारमध्ये कुन राम्रा छन् भनेर हेर्नुपर्ने काम सकिन्छ।  

मतदाताले एकैछिन भए पनि योग्य उम्मेदवारको खोजीमा आफूलाई लगाउने हो। आफूले खोजे जस्तो नपाए पनि भएकैमध्ये कम हानिकारक व्यक्तिलाई छान्न सकिन्छ। हामीले अचेल एकै स्वरमा भनिरहे जस्तो सबै उस्तै होइनन्। केही व्यक्ति खराब होलान्। खराबको हुलमा असल छेकिएका मात्र हुन्। हामीले असल खोज्ने प्रयास गर्‍यौँ भने त्यो सम्भव छ।  

आफूलाई सकारात्मक बनाउने कि नकारात्मक बनाउने भन्नेमा ओसोको एउटा रोचक प्रसंग छ। उनी भन्छन्– जसलाई नकारात्मक बन्नु छ तिनले दुई रातको बीचमा एउटा दिन हुन्छ भन्ने सोचे हुन्छ। जसलाई सकारात्मक बन्नु छ तिनले दुई दिनको बीचमा एक रात हुन्छ भन्ने सोचे हुन्छ। वास्तवमा निर्वाचनको सन्दर्भमा पनि यो ठ्याक्कै मिल्छ। सबै खराब छन् भन्ने हो भने राम्रो भेटिँदैन। राम्राका बीचमा केही खराब पनि छन् भनेर खोज्ने हो भने अहिलेको निराशा मेटिन्छ।  

अहिले कतै केही हुँदैन, सबै मानिस उस्तै छन् भन्ने हो भने उज्यालो कतै देखिँदैन। हामीलाई यतिका धेरै निराश हुन वा छट्पटाउन पनि अहिलेकै राजनीतिक प्रणालीले दिएको हो। नेपालको संविधान २०७२ जारी भएपछिको दोस्रो निर्वाचन बल्ल हुँदैछ। संसद्ले एउटा कार्यकाल मात्र पूरा गरेको हो। त्यसले अपेक्षित परिणाम दिन सकेन भन्ने दल, नेता र सर्वसाधारण सबैलाई लागिसकेको छ। यो स्थितिमा नयाँ बन्ने संसद्ले धेरै फरक परिणाम दिन सक्छ। तीनवटासमेत निर्वाचन हुन नपाइ हामी निराश हुन थाल्ने हो भने अहिलेको व्यवस्थाले मौका पाउँदैन। यसले काम गर्दैन, सबै भ्रष्ट भए भनेर आवाज उठाउनेहरूलाई पनि चिन्नु जरुरी छ। तिनीहरूका बीचमा कस्ता मानिस आएर कराइरहेका छन् भन्ने थाहा पाएनौँ भने हामी अल्मलिन सक्छौँ।

पहिलो, लोकतान्त्रिक शासन व्यवस्थाले मात्र आफ्नो विरुद्धमा बोल्न दिन्छ। त्यसै कारण आज सबैले आफूलाई अभिव्यक्त गर्न पाएका छन्। हामीले त हिजो बोल्न नपाउने शासन व्यवस्था पनि भोगिसकेका छौँ। त्यसकारण पनि हामीलाई अहिलेको बोल्न पाउने व्यवस्था प्यारो लाग्छ। जसले एकैचोटि अहिलेको स्वतन्त्रता अनुभव गर्न पाए, तिनका लागि हिजोको दुःखको कुनै अर्थ छैन।  

दोस्रो, अहिले सबै भन्दा धेरै गाली खाने राजनीतिक व्यक्तिहरू छन्। तिनीहरूले सजिलै गाली किन खाएका छन् भने परिवर्तनका निम्ति काम गरे पनि मुलुकको प्रगतिका निम्ति ढंग पुर्‍याउन सकेनन्। तिनले पनि युवा नेतृत्वलाई अघि सारेर काम गर्न थाले भने अहिलेका बेथिति कम हुन थाल्छन्। तिनले काम गर्न ढंग नपुर्‍याएको दोष राजनीतिक परिपाटीलाई लाग्नु आवश्यक छैन। राजनीतिक परिपाटी भनेको समयक्रममा अभ्यासबाटै सुधार हुँदै जान्छ।  

तेस्रो, अहिले केही हुँदैन, सबै सकियो भनेर जसले भनिरहेका छन्, ती फेरि एउटा भिन्न परिस्थिति सिर्जना गर्न चाहन्छन्। उनीहरू सकेसम्म अहिलेको व्यवस्थाले हुँदैन भनेर आफैँ अर्को स्थानमा पुर्‍याउन चाहन्छन्। त्यसका निम्ति आफू नेता हुनेमा ती विश्वास पनि गर्छन्। अभ्यासबाट सुधार गर्ने हो। कुनै व्यक्तिले जादूको छडीले जसरी समस्या समाधान गर्न सक्दैन।  

त्यसकारण सबै व्यक्तिका काम हेरेर मतदानको लाममा लाग्ने मतदाताले मात्र मुलुकका निम्ति सही बाटो दिन सक्छन्। सबै नेता, दल, संस्थालाई एउटै डालोमा हालेर गाली गर्दैमा समस्याको समाधान निस्किँदैन। समस्याको समाधान सही व्यक्तिलाई निर्वाचित गर्न सक्दा मात्र निस्कन्छ। निर्वाचनका बेला झुटलाई सत्य सावित गर्न खोज्ने मीठो मुख भएका धेरै देखिन्छन्। तर त्यसैको बीचमा पनि यथार्थमै मुलुकलाई पार लगाउन सक्ने व्यक्ति छन्। तिनलाई हेर्ने हो। मतदाताको बुद्धिमत्तापूर्ण निर्णयले मात्र सही ठाउँमा देशलाई लैजान सक्छ।  

निर्वाचनमा लाम लाग्नुअघि एक घन्टा ध्यानपूर्वक बितेका पाँच वर्षमा के भए भनेर आफूले आफैँलाई सोध्नु उचित हुन्छ। हामीकहाँ राजनीति सचेत मतदाताको कमी छैन। तिनले ध्यानपूर्वक स्थितिको मूल्यांकन गरे भने यथार्थ सामुन्ने आइहाल्छ। अब देशलाई कता लैजाने भन्ने निर्णय तिनले सजिलै गर्न सक्छन्। अब केही हुँदैन भनेर बहकिँदा अव्यक्त परिस्थितितर्फ जाने खतरा हुन्छ।  

श्रीलंकालाई नै अहिले हेरौँ, संसद्मा एक स्थान मात्र भएका रणिल विक्रमसिंघेलाई राष्ट्रपति बनाएर स्थितिलाई सामान्य बनाउने प्रयास भइरहेको छ। त्यहाँ पनि चाहेका भए निरन्तर आन्दोलन गरेर राजनीतिक परिवर्तन हुन सक्थ्यो। तर संसदीय शासन व्यवस्थाको विकल्प खोज्नु भन्दा अहिले भएका समस्याको समाधान खोज्नतिर त्यो मुलुक लागेको छ। हामीकहाँ पनि एकपछि अर्को राजनीतिक परिवर्तन मात्र खोज्ने भन्दा पनि अहिले भएकै व्यवस्थाबाट कसरी मुलुकलाई आर्थिक समृद्धितिर लैजाने भन्ने हो। त्यसैले विभिन्न दल वा स्वतन्त्रबाट उम्मेदवार भएर आएका व्यक्तिले भोलिको प्रतिनिधिसभा र प्रदेशसभालाई प्रतिनिधित्व गर्नेछन्। अबको ध्यान भनेको सर्वसाधारणमा अहिले रहेको द्विविधा हटाउनु नै हो।  

विश्वव्यापीकरणले हामी सबैलाई एउटै आँगनमा खेल्ने स्थितिमा ल्याइदिएको छ। न्युयोर्क वा टोकियोमा भएका घटना हामी नानो सेकेन्डमै थाहा पाउने अवस्थामा पुगेका छौँ। हाम्रो नयाँ पुस्तालाई ती देश नपुगे पनि गल्लीगल्ली थाहा भइसकेको छ। त्यहाँ भएको जस्तो उन्नति यहाँ किन हुँदैन भन्ने प्रश्न तिनका मनमा पनि छ। यसकारण पनि अबको राजनीतिले यी आकांक्षाको जवाफ खोज्ने बेला भइसकेको छ।  

विगत संसद्काल हेर्ने हो भने एउटा सकारात्मक पक्ष त्यसमा भेट्टाउन सकिन्छ। त्यो हो– अब राजनीति सिद्धान्तले मात्र चल्दैन। त्यसैले मुलुकलाई अगाडि लैजाने, खुला र उदार समाज निर्माण गर्ने र समृद्धि यात्रालाई तीव्र पार्न सक्ने जोसुकै उम्मेदवारलाई विजयी बनाएर जान सकिन्छ। त्यसका निम्ति हामीलाई छनोटको सुविधा छ। भएकै उम्मेदवारबाट सही व्यक्तिको चयन सम्भव छ। त्यसैबाट हामीले अपेक्षा गरेअनुसार परिवर्तन गराउन पनि सकिन्छ।  

हामीसँग राजनीतिक संरचना तयार भइसकेको छ। हाम्रा आकांक्षा यसबाट फुल्न र फल्न सक्छन्। त्यसका निम्ति सही नेतृत्व चयन अहिलेको आवश्यकता हो। त्यसमा मतदाताले एक दिन केही घन्टाका लागि अल्छी गर्ने र मत हाल्दिन भन्ने हो भने गलत व्यक्ति छानिएर जान सक्छन्। आफूलाई मन परेका जोसुकै उम्मेदवारलाई मतदान गर्ने हो भने स्वाभाविकरूपमा सही नेतृत्व छानिन्छ।  

सबै उस्तै छैनन्। धेरै राम्रा उम्मेदवार मैदानमा छन्। जाऔँ आज मतदान गरौँ।  

प्रकाशित: ४ मंसिर २०७९ ००:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App