२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेपालगन्ज कारागारमा आर्थिक अनियमितता

नेपालगन्जस्थित कारागार कार्यालय। तस्बिर: अर्जुन/नागरिक

नेपालगन्ज– नेपालगन्ज कारागारभित्रको आर्थिक अनियमितताको विवाद बाहिरिएको छ। आर्थिक अनियमिता भएको भन्दै त्यहाँ रहेका कैदी, बन्दीले आन्दोलन थालेका छन्। कारागारका जेलर भरतराज पाण्डे र चौकीदार भरत फडेराको मिलेमतोमा अनियमितता भएको कैदी, बन्दीको आरोप छ।

आर्थिक अनियमिततामा संलग्न भनिएका जेलर पाण्डे र चौकीदार फडेराको सरुवा गर्नुपर्ने माग राख्दै कैदी, बन्दीले कारागारको २ नम्बर गेटमा ताला लगाएर बिहीबार बिहान ७ बजेबाट आन्दोलन थालेका हुन्। 

आन्दोलनरत कैदी, बन्दीले जेलर र चौकीदारको सरुवा नहुँदा सम्म बार्तामा नबस्ने जिकिर गर्दै आएका छन्। जिल्ला प्रशासन र कारागार प्रशासनले आन्दोलनकारीसँग बार्ता गर्न दिनभर प्रयास गरेपनि सफल हुन सकेन। कैदी, बन्दीको आन्दोलन पश्चात उत्पन्न सुरक्षा परिस्थितीबारे जिल्लास्थित सुरक्षा समितिको बैठक बसेर गम्भिरता पुर्वक छलफल गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।

‘कैदी बन्दीले उठाएको माग र उत्पन्न समस्या समाधान गर्ने विषयमा हामी गम्भिर छौं, त्यसको लागि हामीले सुरक्षा समितिको बैठक बसेर पनि छलफल गर्यौं,’ उनले नागरिकसँग भने। कैदी, बन्दीले उठाएको माग सामान्य भएको प्रजिअ खड्काले बताए। कैदी, बन्दीको आन्दोलन सम्बन्धी समाचार संकलनका लागि पुगेका पत्रकार र अनुगमन गर्न पुगेका मानव अधिकारकर्मी तथा कानुन ब्यवसायीलाई कारागार प्रशासनले दिनभर प्रवेशमा रोक लगाएको थियो।  

कारागारका जेलर पाण्डेले करिव १५÷२० लाख रुपैयाँ घुस खाएर फडेरालाई चौकीदारमा नियुक्त गरेको गम्भिर आरोप कैदी बन्दीले लगाएका छन्। फडेरा चौकीदारमा नियुक्त भएयता कारागारभित्र आफुहरुले प्राप्त गर्दै आएको सेवा, सुबिधामा भारी रुपले कटौती गरिएको उनीहरुको दाबी छ।

‘कारागारभित्र चरम आर्थिक अनियमितता छ, चौकीदार नियुक्तीमा १५/२० लाख रुपैयाँको आर्थिक चलखेल भयो,’ एक आन्दोलनकारीले भने ‘चौकीदारको अत्याचार सहन नसकेर आन्दोलनमा उत्रियौं।’ कारागारले एक जना कैदी, बन्दीलाई दैनिक रुपमा ७ सय ग्राम चामल र ६० रुपैयाँ उपलब्ध गराउँछ। कैदी, बन्दीले खानामा आफ्नो खर्च कटाएर पाउँदै आएको अतिरिक्त ३ सय रुपैयाँमा ५० घटाएर चौकीदारले २ सय ५० रुपैयाँमा झारेको, टेलिफोन गरेको शुल्क महंगो असुल्ने गरेको जस्ता आरोप पनि लगाएका छन्।  

कारागार कार्यालयका अनुसार गतवर्षबाट पाण्डे जेलर र फडेरा चौकीदारको जिम्मेवारीमा रहेका छन्। जघन्य बाहेक अन्य अपराधमा अदालतबाट कैद फैसला भएर आचरण सुधार गरेको ब्यक्तिलाई कारागार कार्यालयको सिफारिसमा चौकीदार नियुक्त गरिन्छ। कारागार प्रशासनले आन्तरिक ब्यवस्थापन गर्ने जिम्मा चौकीदारलाई दिने गरेको छ। तीन सय जना अट्ने क्षमता रहेको नेपालगन्ज कारागारमा हाल पुरुष र महिला गरेर ७ सय ७२ जना कैदी बन्दी रहेका छन्।

कारागारभित्र एक जना चौकीदार, ७२ जना पुरुष नाईके र सह–नाईके तथा १० जना महिला नाईके र सह–नाईके रहेको बताइएको छ। कारागारका जेलर पाण्डेले कैदी, बन्दीले एक्कासी आन्दोलन गर्नुको भित्री रहस्य अर्कै रहेको बताए।

‘तिहार मनाउन म बिदामा रहेको बेलामा एक्कासी कैदी, बन्दीले आन्दोलन गरे,’ उनले भने ‘यो चौकीदारलाई हटाईयो भने आफु चौकीदार बन्न पाईएला भन्ने उद्देश्यले पनि आन्दोलन गरेको देखिन्छ।’ आफुलाई अनियमितता गरेको हावादारी आरोप रहेको जेलर पाण्डेले जिकिर गरेका छन्। अनियमितता गरेको भए निश्पक्ष छानविन गर्नुपर्ने र आफु कानुनी कारबाही भोग्न तयार रहेको उनले बताए। पाण्डेले थपे, ‘हामीले बार्ता गर्ने प्रयास ग¥यौं, उनीहरुले सिडियो साबसँग माग राखिसकेका छौं, तपाईसँग कुरा गर्दैनौं भनेर जवाफ दिए, सरुवा गरेर समस्या समाधन हुन्छ भने हामी गर्यौं पनि यहाँ बसिरहनुपर्छ भन्ने पक्षमा छैनौं।’

 

 

प्रकाशित: १५ कार्तिक २०७६ ०५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App