२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षामा नेपाली

काठमाडौं– नेपालको राजकीय भ्रमणमा आज आउन लागेका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि आम नेपाली ब्यग्र प्रतीक्षामा रहेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आज र भोलि हुन लागेको सीको राजकीय भ्रमण सामाजिक, सांस्कृतिक, आर्थिक र आपसी सम्बन्ध अभिवृद्धिका हिसाबले ऐतिहासिक हुने अपेक्षासहित नेपाली जनता स्वागतका लागि अतुर देखिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनको स्वागतको भव्य तयारी गरिएको उल्लेख गर्दै मुलुक विकासको मार्गलाई तीव्रता दिँदै अगाडि बढिरहेका बेला हुन लागेको भ्रमण ऐतिहासिक हुने विचार व्यक्त गरेका छन्।  

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य लालकाजी लामाले फेसबुकमा स्टाटस राख्दै भनेका छन्,‘अतिथि सत्कार हाम्रो संस्कार हो, चिनियाँ राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणमा आज नेपाल आउँदै हुनुहुन्छ, उहाँको स्वागतमा नेपाल सरकार र सम्पूर्ण नेपाली लामबद्ध छौँ, स्वागतम्, स्वागतम्, स्वागतम्।’

चितवनकी सङ्गीता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै भनेकी छन्,‘अतिथि देवोः भवः, छिमेकी राष्ट्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङलाई नेपालमा हृदयदेखि नै स्वागत छ।’ 

आम नेपलीको आशाअनुसार नै भ्रमणका क्रममा नेपाल र चीनबीच महत्वपूर्ण परियोजनामा सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। व्यवसायी कृष्ण ढुङ्गानाले पनि चिनियाँ राष्ट्रपतिलाई ‘हट्ली वेलकम टु नेपाल’ भन्दै सगरमाथाको देश, बुद्ध भूमिको देश र असल छिमेकीको नाता जोड्दै दुवै देशका राष्ट्रपतिको तस्वीर राखेर सामाजिक सञ्जालबाटै भ्रमणको स्वागत गरेका छन्। 

अहिले भारतमा रहेका राष्ट्रपति सी विशेष विमानबाट आजै त्रिभुवन विमानस्थलमा अवतरण गर्दै छन्। उनले आजै नेपाली समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने उहाँको सम्मानमा होटल सोल्टीमा राजकीय भोजको आयोजना गरिएको छ। 

आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच औपचारिक वार्ता हुनेछ। उनको समुपस्थितिमा विभिन्न विषयमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ। राजकीय भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक नेतासँग शिष्टाचार भेट गर्नेछन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई बलियो आर्थिक साझेदारीमा रुपान्तरण गर्ने बताएका छन्। 

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले दुई देशको सम्बन्ध युगौँ पुरानो रहेको र चीनका सामु सम्भावनैसम्भावना भएकाले चीनले जुन आर्थिक प्रगति गरिरहेकोले त्यसबाट नेपालले लाभ लिन सक्ने आशा व्यक्त गरे।

उनले यो भ्रमण ऐतिहासिक हुने उल्लेख गरे। विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरुले पनि भ्रमणलाई ऐतिहासिकको संज्ञा दिँदै आपसी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै स्वागतको प्रतीक्षा गरिरहेको प्रतिक्रिया दिएका छन्। रासस 

प्रकाशित: २५ आश्विन २०७६ ०५:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App