२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नौबिसे-नागढुंगा सडकमा ठूला र मालबाहक सवारी रोक, जाम हट्यो

राजमार्गका खुल्ला ठाउँमा रोकिराखेको ठूला मालबाहक सवारी । तस्बिर : सरिता/नागरिक

धादिङ– ठूला मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएपछि नौबिसे–नागढुङ्गा सडक खण्डमा सवारी आवागमन सहज भएको छ। दुई दिन अघिसम्म सवारी चापले आजित बनेको सडकमा प्रहरी परिचालन र ठूला मालबाहक सवारीसाधन प्रवेशमा रोक लगाएपछि जाम हटेको हो। साँघुरो सडक, घुमाउँरो मोडमा बढी लोड बोकेका ट्रकहरु बिग्रने र बिग्रेका ट्रकलाई तुरुन्तै हटाउन नसक्दा घण्टौँ सवारी लाम लाग्ने गरेको छ। 

सवारी जामले बिरामीको समेत मृत्यु भएपछि आइतबारबाट ठूला मालबाहक सवारी साधनलाई बढी सवारी चाप हुने समयमा रोक लगाएको छ। १० र १२ चक्के सवारीलाई खानीखोला भन्दा तलतिरका खाली ठाउँहरुमा साइड लगाउने र १८ चक्के सवारीलाई भने चितवनदेखि नै रोकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। ‘चाडपपर्व मनाउन राजधानीबाट पूर्वपश्चिम जाने सवारीको चाप बढेका कारण ठूला मालबाहक सवारी प्रवेशमा रोक लगाएका हौं’, प्रहरी उपरीक्षक बैदवारले भने, ‘यात्रुहरुलाई सहज र सजिलैसँग गन्तव्यमा पुर्याउन ठाउँठाउँमा प्रहरी परिचालन गरेका छौं।’ 

चाडपर्व नजिकिएसँगै त्रिभुवन राजपथमा पर्ने नौबिसे–नागढुङ्गा सडकखण्डमा सवारीको चाप अत्याधिक बढ्न थालेपछि कंलकीदेखि धादिङको सिम्लेसम्म नै सवारीको लाइन लागेको थियो। जसका कारण बिरामी, अत्यावश्यक काममा आवतजावत गर्ने र विदेशको यात्रा गर्न हिडेँकाहरु बढी मारमा परेका थिए। चाडपर्व लागेपछि सडकको मर्मत सम्भार, खाल्डाखुल्डीले सडक दुर्घटनाको जोखिम बढाएको छ। 

राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिने सवारीका साधनहरुको चाप अत्याधिक हुने र मालवाहक सवारीका कारण नौविसे–नागढुङगा सडक खण्डमा सवारी जाम हुने गरेको छ। यात्रुहरुलाई सुरक्षित र समयमा नै गन्तव्यमा पुर्याउन ठाउँठाउँमा प्रहरी पनि परिचालन गरिएको छ। चाडपर्व मनाउन राजधानी बाहिर जाने यात्रुहरुलाई सहज र सजिलो बनाउनका लागि मालबाहक सवारी प्रवेश रोक लगाएको प्रहरीले जानकारी दिएको छ। 

मालबाहक सवारीका साधनहरुले क्षमता भन्दा बढी भार बोकेर राजधानी प्रवेश गर्ने गरेका छन्। बढी भार बोकेर काठमाडौं प्रवेश गरेका मालबाहक सवारी साधन उकालोमा बिग्रने गरेर जाम लाग्ने गरेको छ। जसका कारण राजमार्ग हुँदै राजधानीबाट बाहिरिने र भित्रने सयौ सवारीका हजारौ यात्रुहरुले यात्राका क्रममा झन्झट बेहोर्नु परेको प्रहरी उपरीक्षक बैदवारले बताए। ‘निर्माण सामग्री बोकेको लरी नागढुङगाको उकालो तथा मोडहरुमा बिग्रने र साइड नै नपुग्दा सवारी जाम हुने गरेको छ’, उनले भने, ‘चाडपर्वमा निर्माण सामग्रीको आवश्यक भन्दा पनि यात्रुहरुलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था मिलाएका छौं।’ 

मालबाहक सवारी रोक लगाएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी चाप आधाले घटेको छ। जिल्ला प्रहरी कार्यालयले घटस्थापनादेखि एक साताका लागि ठूला मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएको हो। जाम हुन नदिन तत्कालका लागि सडकमा भैपरी आउनसक्ने समस्याका लागि क्रेन र डोजर जस्ता उपकरण स्ट्यान्डवाई राखिएका छन्। १२ चक्के सवारीलाई असोज १८ गतेसम्म निश्चित समयमा मात्र प्रवेश गर्न पाउनेगरी व्यवस्थापन गरिएको छ। १२ चक्के सवारीलाई सवारी चाप हेरेर रातको ९ बजेपछि मात्र प्रवेश अनुमति दिइने छ। 

धादिङ प्रहरीले दशै, तिहार लगायतका चाडपर्वमा बेला हुनसक्ने अपराधिक गतिविधिहरु रोकथाम तथा नियन्त्रणको लागि विशेष कार्ययोजना समेत निर्माण गरेको छ। सुरक्षाका लागि जिल्लाका विभिन्न स्थानहरुमा ६ वटा मोवाईल गस्ती, एवम् २७ वटा पैदल गस्ती दैनिक रुपमा परिचालन गरेको छ। महादेवबेसीदेखि नागढुङगादेखिको क्षेत्रका ठाउँठाउँमा १५ वटा मोटरसाइकल गस्ती गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले बताए। 

अघिल्ला बर्षहरुमा घटस्थापनादेखि राजमार्गमा सवारी चाप बृद्धि हुने गरेको थियो। यस वर्ष त्यस अगावै जाम सुरु भएपछि प्रहरीलाई सवारी व्यवस्थापनमा हम्मे परेको थियो। सडकमा ओभरटेकको समस्या देखिएकाले प्रत्येक सय मिटरमा प्रहरी परिचालन गरी सवारी अनुशासनलाई कडाई गरिएको र प्रहरीलाई समन्वयात्मक भूमिकाको जिम्मेवारी दिइएको छ। यस सडकखण्डमा नोओभर ट्याक जोनको रुपमा पनि घोषणा गरिएको छ। नौबिसे–नागढुंगा सडकमा खास गरी साना ६ पांग्रे सवारीले भन्दा पनि भारतीय नम्बर प्लेटका लामा–लामा मालवाहक टेलर र कन्टेनरले गर्दा सडकखण्डको उकालोमा जाम लाग्ने गरेको छ।

प्रकाशित: १२ आश्विन २०७६ ११:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App