२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दरबारमार्गका व्यापारी भागाभाग

काठमाडौं – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमन गर्न थालेपछि राजधानीको दरबारमार्गका व्यवसायी पसल बन्द गरेर भागेका छन्।

बिहीबार अनुगमनका लागि शेर्पा मलमा विभागको टोली पुग्दा अधिकांश पसल सञ्चालक पसल बन्द गरेर भागेको अनुगमन टोलीका निरीक्षण अधिकृत कपिल रेग्मीले बताए।

रेग्मीले बन्द गरेर भागेका पसलमा भोलि नै अनुगमन गर्ने बताए। के कारणले उनीहरु बन्द गरेर भागेको भन्ने नखुले पनि पसल दर्ताबिनै सञ्चालन भएको हुन सक्ने रेग्मीले बताए। बिहीबार अनुगमनका लागि न्युरोड, दरबारमार्ग, असन लगायतका क्षेत्रका लागि विभागबाट पाँच टोली परिचालन भएको थियो।

अनुगमन टोलीका अर्का निरीक्षण अधिकृत रमेशकाजी श्रेष्ठले अनुगमनका क्रममा एउटा पसलमा ७५ हजार जरिवाना गरेको र केहीलाई स्पष्टीकरण मागेको बताए।

उनले धेरै पसलमा बिल नभएको र भएकाको पनि बिल अनुसार सामान नभएको बताए। ‘बिलमा पाँच हजारको जुत्ता भनेर उल्लेख गरेको छ। तर, जुत्तामा नौ हजार मूल्य अंकित गरिएको छ,’ श्रेष्ठले भने, ‘यसरी मूल्य फरक पार्नेलाई तीन दिनको स्पष्टीकरण सोधिएको छ। चित्त बुझ्दो जवाफ नआए नियमानुसार कारवाही हुन्छ।’

अनुगमन टोली पुग्दा कालीमाटीका तरकारी पसल सञ्चालक पनि भागेका छन्। टोलीले यसरी भाग्ने पसललाई २० हजारका दरले जरिवाना गर्दै सात दिनको समय दिएर स्पष्टीकरण मागिएको निरीक्षण अधिकृत श्रेष्ठले बताए।

प्रकाशित: १० आश्विन २०७६ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App