२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

घाँसखेतीले पशुपालनमा सहज

धादिङको सिद्धलेकका किसानले लगाएको घाँसखेती । तस्बिर: सरिता/नागरिक

धादिङ- प्रायजसो बारीका कान्लामा खेती गर्ने चलन छैन । खेती गरिएका गह्रामा पनि उब्जनी नहुने भएपछि बाँझो छोड्ने गरिन्छ । तर जान्यो भने खेती गर्न नमिल्ने बारीका कान्ला र बाँझो जमिन आम्दानीको स्रोत बन्न सक्छन् ।
धादिङको सिद्धलेकका किसान बारीका कान्लामा घाँस खेती गरेर उदाहरणीय बनेका छन् ।

जीविकोपार्जनका लागि बस्तुभाउ पाल्ने गरेका किसान आवश्यक घाँस पुर्‍याउन नसक्दा टाढाटाढाका जंगलमा धाउनुपथ्र्यो ।

यस्तै समस्या सिद्धलेक गाउँपालिका वडा नं १ धौंखोलाकी सुमित्रा श्रेष्ठ पनि सदियौंदेखि भोग्दै आइरहेकी थिइन । बिहानै भैंसी, गोरु, बाख्रा, पाडापाडीलाई चाहिने घाँस पुर्‍याउँदै आइरहेकी उनको समस्या व्यावसायिक घाँसखेती पछि टरेको उनले बताइन् । ‘हाम्रो पेसा नै बस्तुभाउ पाल्ने, खेतीपाती गर्ने हो,’ उनले भनिन्, ‘बस्तुभाउलाई चाहिने घाँस पुर्‍याउन नसक्दा टाढाटाढा जंगलमा घण्टौं धाउनुपर्ने हुन्थ्यो ।’

घर वरिपरिका बारी बाँझै थिए, खेती खासै नहुने भएपछि बस्तुभाउलाई अन्नपात पुर्‍याउन पनि कठिन पथ्र्यो । गाउँमा गठित वलदेवी आमा समूहमार्फत घाँसखेतीबारे थाहा पाएपछि आफ्नो बारीमा पनि घाँस लगाउन थालिन् । उनले सात रोपनी जग्गामा घाँसखेती गरेकी छन् । किम्बु, म्यान्दोला, बकाइनो, भटमासे, नेपेर, मलाटो, टाकी, इपिल जातका घाँस खेतीले वरपरको वातावरणलाई हरियाली बनाएको छ भने बस्तुभाउलाई घाँस लिन जान टाढा धाउनुपर्ने बाध्यता हटेको छ ।

बाँझो पाखोमा घाँस लगाउन थालेपछि आम्दानीको स्रोत पनि बढेको छ । उत्पादन भएको घाँस बस्तुभाउलाई खुवाउने र बिक्रीसमेत गर्ने गरेको तिमिल्सिनाले बताइन् । ‘एकभारी घाँस काट्न बिहानभरि जंगल चहार्नुपथ्र्यो, हिजोआज बोक्नसक्ने भारी घाँस काट्न आधा घण्टा लाग्दैन,’ उनले भनिन्, ‘पोसिलो घाँस खुवाएर दूध र मासुको मात्रा बढाइ पशुबाट राम्रो आम्दानी लिने गरेका छौं भने घाँस पनि बिक्री गर्न सुरु गरेका छौं ।’ बारीमै घाँस खेती गरेपछि जंगल

जानु नपर्दा समय बचत भएको उनले सुनाइन् ।
स्थानीय डालीघाँसका रुख, बिरुवाबाट बाह्रै महिना किसानलाई चाहिनेजति घाँस आउँदैन । ठीकसँग बेलाबेलामा काटछाँट नगरे बालीनालीमा पनि सेप लाग्छ । यस्तो हैरानी बेहोर्दै आइरहेका सिद्धलेकका किसानले बारीमा घाँस खेती थालेका हुन् । आफूलाई चाहिनेजति डालेघाँस तथा भुइँघाँसका बोटबिरुवा आफ्नै घरछेउमा नर्सरी बनाएर उत्पादन गर्ने गरेका छन् । किसानले खेती नगरिने कान्लाबाट पनि घाँसखेती गरेर फाइदा लिन थालेका छन् ।

धौं खोलाकी खुसकुमारी तिमिल्सिनाले पनि तीन रोपनी जग्गामा घाँसखेती गरेकी छन् । विभिन्न १० थरिका घाँसको बीउ लगाएर आम्दानी थालिसकेकी छन् । भर्खरै लगाएको घाँसखेतीले आफूलाई निकै सहज बनाएको उनले सुनाइन् । ‘बारीका कान्ला र अन्नबाली राम्रो नहुने पाखो जमिनमा घाँस लगाएका छौं,’ उनले भनिन्, ‘घाँस लिन टाढा जानु नपर्ने र घाँस निकै पोसिलो भएकाले पशु निरोगी पनि हुने गरेका छन् ।’

आफूले पालेका बस्तुभाउलाई पुर्‍याएर तीन हजारको घाँससमेत बेचिसकेको उनले बताइन् । उनले नौवटा बाख्रा, भैंसी, पाडापाडी पालेकी छन् । दैनिक आवश्यक पर्ने घाँस नहुँदा सधैं टाढा धाउनुपर्ने र जंगल जानुपर्ने समस्या हटेको उनले सुनाइन् । कान्लाको डिलमा घाँस लगाउँदा गाईबस्तुलाई घाँस पनि हुने र खेती गरिने पाखो जग्गाबाट वर्षायाममा माटो बग्न पनि रोकिने उनको अनुभव छ ।

हेफर इन्टरनेसनलको सहयोगमा प्रयास नेपालले जीविकोपार्जनका लागि बाख्रासँगै घाँसखेती सम्बन्धी तालिम दिएपछि किसान घाँसखेतीतर्फ आकर्षित भएका हुन् । खासगरी यहाँका महिलालाई जीवनपयोगी सीप, आधारशिला तालिम र पशुपालन प्रविधि सिकाउँदै आएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

‘जीवनउपयोेगी सीप र पशुपालन प्रविधिले किसानमा धेरै परिवर्तन ल्याएको छ,’ उनले भने, ‘पाखो बाँझोमा घाँसखेती गर्न थालेपछि पशुपालन गर्न निकै सहज भएको छ ।’ यसले स्थानीय महिला किसान विस्तारै उद्यमी बन्दै गएको उनको बुझाइ छ ।

आम्दानी राम्रो हुने र आफूलाई फाइदा हुने भएपछि सिंगो गाउँबासी नै घाँस खेतीतर्फ आकर्षित भएका छन् । कम लगानीमा आम्दानी राम्रो हुने भएकाले यसतर्फ आकर्षण बढेको किसानको भनाइ छ । जमिन जोत्नु नपर्ने, मल हाल्नु पनि नपर्ने र पटक पटक सिँचाइ गरिरहनु नपर्ने भएकाले कृषकलाई थप सहज भएको छ ।

यी घाँस गाईभैंसी र बाख्राका लागि पोषिलो मानिन्छ । घाँसका प्रजाति सुक्खाग्रस्त र हिउँदमा पनि हुने गर्छ ।


 

प्रकाशित: ५ आश्विन २०७६ ०९:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App