२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बुटवलमा डेंगीको उच्च जोखिमः एकको मृत्यु, ७० जनामा संक्रमण

रुपन्देही– बुटवलमा डेंगीको संक्रमण डरलाग्दो गरि फैलिएको छ। एक साता यता यहाँका अस्पतालहरुमा डेंगीका विरामीको चाप बढ्दै गएको हो। प्रदेश नम्बर ५ मा सबैभन्दा बढि डेंगीको संक्रमण बुटवलमा देखा परेको हो।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा डेंगीको संक्रमणबाट कपिलवस्तु बाणगंगा मोतीपुरका ६१ वर्षीय सावित्रा आचार्यको मृत्यु भएको छ। डेंगीको संक्रमणबाट एक जनाको मृत्यु भएपछि भने बुटवलसहित यस आसपासका क्षेत्रमा थप त्रास देखिएको छ। रुपन्देहीमा ७० जनामा डेंगीको संक्रमण फेला परेको जिल्लास्थित जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको छ। बुटवलमा मात्रै ६८ जनामा डेंगी संक्रमणका बिरामीले उपचार गराइरहेका छन्।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालसहित बुटवल हस्पिटल प्रालि, गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, क्रिमसन अस्पताल मणिग्राम तथा भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा डेंगीका बिरामीले उपचार गराइरहेका छन्। यसका साथै अन्य अस्पतालहरुमा समेत उपचार गराइरहेकाले रुपन्देहीमा डेंगी संक्रिमत सय भन्दा बढि भइसकेको अनुमान छ।

प्रदेश ५ का अन्य जिल्लाको तुलनामा रुपन्देही त्यसमा पनि बुटवल सहरमा डेंगी संक्रमित एजिट एजिप्टाई नामक पोथी लामखुट्टे बढि सक्रिय भएको पाइएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. उमाशंकर प्रसाद चौधरीले जानकारी दिए। उनले दुई प्रादेशिक अस्पताल र ११ वटा जिल्ला अस्पतालहरुलाई डेंगी संक्रमित विरामीको उपचारमा कुनै पनि कमी हुन नदिने गरि उपचारमा लाग्न मन्त्रालयले निर्देशन दिएको जानकारी दिए।

प्रदेश राजधानीमै डेंगीको संक्रमण डरलाग्दो गरि फैलन थालेपछि सरकारको समेत ध्यानाकर्षण भएको छ। आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले भने ‘डेंगी विरामीको अवस्था बुझ्न लुम्बिनी प्रादेशिक अस्पताल पुगें। विरामीको अत्याधिक चाप रहेको प्रादेशिक अस्पतालमा उपचारमा संवेदनशिलता अपनाउन मन्त्रीले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन्। दैनिक १० देखि १५ जनामा डेंगीको संक्रमण भेटिएको छ।

दिनप्रतिदिन संक्रमितहरुको संख्या बढ्न थालेपछि यहाँका अस्पतालमा रगतको खपत अत्यधिक बढेको छ। स्वयंसेवी रक्तदाता समाज, विभिन्न सम्पर्क समाज तथा व्यक्तिहरुले रगत उपलब्ध गराउन तयार भएकाले प्लेटलेसका लागि आवश्यक ताजा रगत आपूर्ती भइरहेको छ।

पोथी एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाईबाट लाग्ने डेेंगीले महामारीको रुप लिन थालेको छ। बुटवल उपमहानगरभित्रका सरकारी कर्मचारीलाई समेत डेंगी संक्रमण भएको छ। बुटवलमा प्रत्येक वर्ष डेंगीको महामारी बढ्दो छ। देशैभर डरलाग्दो गरि डेंगी संक्रमण भेटिएको अवस्थामा बुटवलमा पनि दैनिक रुपमा विरामी बढ्न थालेपछि बुटवल उपमहानगरले खोज र नष्ट गर अभियान थाल्ने भएको छ। १९ वटै वडाका जनप्रतिनिधि, टोल विकास समिति र स्वास्थ्यस्वयमसेविका खटाएर डेंगी जीवाणु हुर्कने बासस्थान नष्ट गर्न सचेतना अभियानको सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए।

बुटवलमा अत्यधिक जोखिम भएकाले सञ्चारमाध्यम मार्फत सूचना दिने, माइकिङ तथा पर्चा पम्पलेट बाँडेर सचेतना जगाउनेदेखि वडा कार्यालयमार्फत लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान समेत शुरुवात गरिएको उनले बताए।

बुटवलमा आर्थिक वर्ष ६७÷६८ देखि डेंगु संक्रमण देखिएको हो। शुरुको बर्षमा रुपन्देहीमा २ सय ९० जनामा डेंगु संक्रमण भेटिएको थियो। जसमा ४ जनाको मृत्यु नै भएको थियो। त्यसयता प्रत्येक वर्ष रुपन्देही डेंगीको सक्रमण भेटिएको हो। 
बुटवलमा थोत्रा टायर, फुलदानी, गमला, पुराना बट्टा, डिब्बाहरु प्रसस्त मात्रामा रहेकाले डेंगीको उच्च जोखिम रहेको हो। अभियानका क्रममा थोत्रा टायरमा पानी जमेको भए पm्याक्ने, टायरलाई पानी नपर्ने स्थानमा राख्ने, टायरका पानी हटाउन नसकिए डढेको मोविल राख्ने, फुलदानी, खाली डब्बा, टिनका डब्बाहरुमा पानी जम्न नदिने, हप्तामा एक दिन खाली बनाएर राख्ने सन्देश दिईने जनाईएको छ।

डेंगी रोग संक्रमित लामखुट्टे बढिमा ३० दिनसम्म मात्रै बाच्ने भएकाले यसको प्रजनन क्रियालाई नियन्त्रण गर्न चिकित्सकहरुले सुझाव दिएका छन्। सामान्य लक्षण देख्नासाथ नजिकको स्वास्थ्य संस्थामा जानसमेत सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक चौधरीले बताए।

प्रकाशित: २२ भाद्र २०७६ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App