२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतीय रिजर्भ बैंकको चासो

काठमाडौं - चिनियाँ नागरिकले नेपालका एटिएम बुथको स्विच ह्याक गरी रकम निकालेको घटनामा भारतीय रिजर्भ बैंकले पनि चासो व्यक्त गरेको छ।  उक्त बैंकले भारतीय प्रहरीमार्फत नेपाल प्रहरीसँग घटनाबारे जानकारी मागेको हो।  केही दिनअघि भारतीय रिजर्भ बैंकको एटिएम बुथको स्विच ह्याक गरी पाँच करोड भारतीय रुपैयाँ निकालिएको थियो।  सो घटनामा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा नेपालमा एटिएमबाट रकम लुट्दै गरेका चिनियाँ नागरिक पक्राउ परेका छन्।

भारतीय रिजर्भ बैंकले चासो देखाएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ।  स्रोतका अनुसार भारतमा एटिएम बुथको स्विच ह्याक गर्ने कोही पनि पक्राउ परेको छैन।  ‘भारतमा पनि यस्तै प्रकृतिको एटिएम ह्याक गरेका रहेछन्।  उता पनि अनुसन्धान हुँदैरहेछ भारतीय प्रहरी र रिजर्भ बैंकले चासो राखेका छन्’, स्रोतले भन्यो।  प्रहरीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकको बयान लिने काम मंगलबारमात्रै सुरु हुनेछ।

केही दिनअघि भारतीय रिजर्भ बैंकको एटिएम बुथको स्विच ह्याक गरी पाँच करोड भारतीय रुपैयाँ निकालिएको थियो।  सो घटनामा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा नेपालमा एटिएमबाट रकम लुट्दै गरेका चिनियाँ नागरिक पक्राउ परेका छन्।

दूतावासका कर्मचारीले भेटे ह्याकरलाई

नेपाली बैंकको एटिएम बुथको स्विच ह्याक गरी चोरी गर्ने गिरोह पक्राउ परेसँगै नेपालस्थित चिनियाँ दूतावासले चासो व्यक्त गरेको छ।  पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासका कर्मचारी आइतबार साँझ ह्याकर गिरोहलाई भेट्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए।  ‘हामीले गिरोहलाई पक्राउ गरेर सार्वजनिक गरेपछि साँझ करिब ७ बजे नेपालस्थित चिनियाँ दूतावासका फस्ट सेक्रेटरी फिङसा ओलिन आउनुभएको थियो’, प्रहरी स्रोतले नागरिकलाई भन्यो। 

करिब डेढ घण्टा बसेका दूतावासका कर्मचारीले परिसरका प्रमुख उत्तम सुवेदीलाई समेत भेटेका थिए।  सुवेदीलाई भेटेर फिङसा ओलिनले आपराधिक गिरोहका हुन् भने अनुसन्धान राम्रोसँग गरिदिन आग्रह गरेका थिए।  ती कर्मचारीले आफ्नो देशको बेइज्जत गरेको भन्दै राम्रोसँग अनुसन्धान गरिदिन आग्रह गरेको स्रोतले नागरिकलाई बतायो।

चिनियाँ दूतावासको टोलीले गिरोहलाई पनि भेटेको थियो।  ‘पक्राउ परेका पाँचैजनालाई भेटेका हुन्’, प्रहरी स्रोतले भन्यो ‘उनीहरुकै भाषामा केही बेर कुराकानी गरे, हामीले बुझेनौं। ’ प्रहरीले चिनियाँ नागरिक ४० वर्षका लु जिया लिङ, ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङ यिङ र २९ वर्षका लिन जिनमिङलाई पक्राउ गरेको थियो।  उनीहरुको बयानका आधारमा प्रहरीले सोमबार विमानस्थलबाट सु लुस ली नामका व्यक्तिलाई पनि पक्राउ गरेको छ।  सु लुस ली भने चिनियाँ मूलका फ्रान्सेली नागरिक हुन।  उनलाई भाग्दाभाग्दै प्रहरीले पक्राउ गरेको थियो।

ह्याकरले नबिल र प्रभु बैंकको एटीएम पिन नम्बर ह्याक गरेका थिए।  प्रहरीले उनीहरुबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकी डलर बरामद गरेको थियो।

तीनजना नेपाली पनि पक्राउ

प्रहरीले ह्याकरहरुलाई पैसा साटिदिने नेपालय मनी एक्सचेन्जका सञ्चालक रोशन श्रेष्ठ र म्यानेजर रेवती दवाडी तथा डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछानेलाई पक्राउ गरेको छ।  ह्याकरहरुले २९ लाख ९९ हजार नेपाली रुपैयाँसँग साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए। 

उनका अनुसार ठमेलका ती मनी एक्सचेन्जमा उनीहरु ४५ मिनेट बसेका थिए।  प्रहरीले सिसिटिभी फुटेज अनुसन्धानबाट मनी एक्सचेन्जका सञ्चालकहरुलाई पक्राउ गरेको हो।  फरार रहेका दुई चिनियाँ नागरिकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०७६ ०१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App