२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसायनिक मलको कालोबजारी गर्ने दुइजना पक्राउ

लहान– सिरहा नगरपालिका १२, सारश्वर र बेल्हा टोलका दुईजना रसायनिक मलको डिपो सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। बिक्रिका लागि तोकिएको भन्दा बढी मूल्य लिएर रसायनिक मल बिक्रि गरेको पाइएपछि सारश्वरस्थित रोहित खाद्य भण्डार तथा जेनरल स्टोरका सञ्चालक ४२ वर्षीय सन्तोष प्रसाद गुप्ता र अनिल खाद्य एवं जेनरल स्टोरका सञ्चालक ४५ वर्षीय भगिरथ साहलाई पक्राउ गरि कारबाहीअघि बढाइएको सिरहा प्रहरीका सूचना अधिकारी अपीलराज बोहराले जानकारी दिए।

रोहित खाद्य भण्डारबाट प्रहरीले युरिया मल २२ बोरा, डिएपी मल ४ बोरा, हिरा मल २ बोरा सरदार मल १ बोरा र पोटास मल १ बोरा बरामद गरेको छ। अनिल खाद्य भण्डारबाट प्रहरीले १४ बोरा युरिया मल, १ बोरा डिएपी मल तीन पोका खुल्ला मल बरामद गरिएको बोहराले बताए।

साल्ट ट्रेडिङ लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडबाट रसायनिक मल खरिद गरी स्थानीयस्तरमा वितरणको जिम्मेवारी पाएका यी खाद्य डिपोहरु तोकिएभन्दा बढी मूल्यमा रसायनिक मल बिक्री गरिरेहेको किसानहरुको व्यापक गुनासो छ।  सखुवानन्कारकट्टी गाउँपालिका सोठियाइनका बालकृष्ण यादवका अनुसार मलखाद्य डिपोका नाममा गाउँगाउँमा कालोबजारियाहरुको बिगबिगी बढेको छ। जसका कारण किसानहरू मारमा परेका छन्।

किसानलाई वितरण गर्न लहानबाट लगिएको रसायनिक मल गाउँ पुर्याएर तीन हजारसम्ममा बिक्री गरिरहेको यादवको गुनासो छ। स्थानीय खाद्य डिपोहरु प्रतिबोरा दुई हजार पाँच सयदेखि तीन  हजार रुपैयाँसम्ममा रसायनिक मल बिक्री गरेको पाइएको छ उनले भने, ‘धानमा मल हाल्नै पर्ने बाध्यताले किसान एक बोरा मलको तीन हजार रुपैयाँसम्म हाल्न बाध्य छन्।’

जिल्ला मलखाद आपूर्ति समितिले डिएपी मलको अधिकतम खुद्रा मूल्य दुई हजार तीन सयसम्म तोकेको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार प्रतिबोरा डिएपी मलको सरकारी मूल्य दुई हजार एक सय ८८, निकासी १५, ढुवानी २५ रुपैयाँ छ  त्यस्तै, अन्य खर्च गरी लहानबाट १० किलोमिटर क्षेत्रसम्मका लागि खुद्रा मूल्य दुई हजार दुई सय २५ रुपैयाँ तोकिएको छ।

मलखाद आपूर्ती समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मागअनुसार आपूर्ती नभइरहेको समयमा प्राप्त मल व्यवस्थित रूपले वितरण गर्नुपर्नेगरी व्यवस्था मिलाइएको छ। ‘बढी मूल्य लिएर बिक्री–वितरण गरेको प्रमाण भेटिएको खण्डमा कारबाही हुन्छ, भएको छ।’ प्रजिअ अधिकारीले भने।

लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले २८ हजार दुई सय ९१ बोरा युरिया र डिएपी मलको बोरा वितरण गरेको जनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेड लहान प्रमुख चन्द्रप्रसाद चौलागाईले कृषि सहकारीलाई मंगलबारसम्म १९ हजार पाँच सय ७२ बोरा युरिया वितरण गरिएको बताए। ‘१२ हजार बोरा डिएपी मल एसैसाता आइपुग्दै छ उनले भने। कम्पनीले वार्षीक रूपमा एक लाख २० हजार बोरा युरिया र एक लाख बोरा डिएपी मल माग गरे पनि मागअनुसार आपूर्ति नहुने उनले बताए।

प्रकाशित: २४ श्रावण २०७६ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App