२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आर्थिक अभावले पाठेघर झुन्डाएर बस्न बाध्य

रोल्पा - सदरमुकामनजिकै धबाङ गाउँकी २८ वर्षीया कुमारी बिकको पाठेघर झरेको करिब ८ वर्ष भयो।  अहिले उनी सजिलोसँग बस्नसमेत सक्दिनन्।  स्थानीय स्वास्थ्यकर्मीका अनुसार उनको पाठेघर बाहिर निस्किएको छ।  ‘रिङ हालेर पनि काम गर्ने अवस्थामा छैन।  अप्रेसन गर्नैपर्छ,’ स्थानीय स्वास्थ्य स्वयंसेविका भिमला डागी भन्छिन्, ‘२ वर्षयता कुमारीको पाठेघर बाहिरै झुन्डिएको छ।  जिल्ला अस्पतालले ठूलो अस्पताल लैजान रिफर गरेको छ।  तर पैसा नभएकाले समस्या परेको छ। ’

पाठघर निस्किएपछि हिँडडुल गर्नसमेत असहज भएपछि माइत पुगेकी कुमारीलाई त्यहाँ पनि सौतेनी आमासँगको बसाइ असहज भएको छ।  ‘घरमा पनि खानलाउन समस्या छ।  माइतीमा पनि उस्तै हो,’ स्वयंसेविका डागी भन्छिन्, ‘बाहिर निस्केको पाठेघरबाट पिपजस्तो पानी निस्कने र गन्हाउने भएको छ।  सजिलोसँग बस्नसमेत नमिल्ने उनलाई घरमा काम गर्दिन भनेर हेला गर्ने गरेका छन्। ’

चरम गरिबीका कारण कुमारीको परिवारले थप उपचारका लागि उनलाई ठूलो अस्पताल लान सकेको छैन।  आरनमा फलाम पिटेर गुजारा गर्ने कुमारीका ससुराको एक्लो आम्दानीले खानलाउनसमेत सकस पर्ने गरेको छ।  ‘पति कुनै काम गर्दैनन्।  जाँडरक्सी खाने मात्र हो।  मातेर घर आउँछन् अनि काम नगरेको भन्दै मलाई पिट्छन्,’ १२ वर्षीया छोरी र ८ वर्षीय छोराकी आमा कुमारीले बताइन्।  उनका अनुसार दोस्रो सन्तान जन्मिएपछि समस्या सुरु भएको हो र तेस्रो बच्चा बिग्रिएपछि साह्रै गा-हो हुन थालेको हो।

 सानैमा बच्चा जन्माउनु, गर्भवती अवस्थामा गह्रौं भारी उचाल्नु, नियमित स्वास्थ्य जाँच नगराउनु र घरमै बच्चा जन्माउने गर्दा पाठेघरसम्बन्धी समस्या देखिने चिकित्सकहरू बताउँछन्।

गर्भवती हुँदा स्वास्थ्य जाँचसमेत नगराएकी उनले दुवै बच्चा घरमै जन्माएकी थिइन्।  १५ वर्षमा बिहे गरेकी कुमारीले १६ वर्ष नपुग्दै छोरी जन्माएकी थिइन्।  माइतीमा आमा र घरमा सासू नभएकाले परिवारले समस्यालाई गम्भीर रूपमा नलिएको अनुमान गर्न सकिन्छ।  बालविवाह अनि सानैमा बच्चा जन्माएपछि पाठेघरको समस्या भोग्ने कुमारीजस्ता सयौं रोल्पाली आमाहरू आज पनि पाठेघर झुन्डाएर नारकीय जीवन बिताइरहेका छन्।

रोल्पा जिल्ला अस्पतालमा स्त्रीरोग विशेषज्ञ डाक्टर र अप्रेसन सुविधा नहुँदा सयौं महिला आर्थिक अभावमा रोग दबाएर बसिरहेका छन्।  ‘रोल्पामा प्रजनन उमेर समूहका महिलामा पाठेघरको मुखको समस्या पनि बढी छ।  त्यस्तै सानो उमेरमा बच्चा जन्माउने संख्या ठूलो भएकाले यौनांगको समस्या पनि उत्तिकै छ,’ जिल्ला अस्पतालका डा. अनिल केसी भन्छन्, ‘लामो व्यथा अनि होम डेलिभरीले समस्या आउने पनि छन्। ’

डा. केसीका अनुसार जिल्लामा पाठेघर र प्रजनन अंगसम्बन्धी बिरामीको संख्या अलि धेरै नै छ।  सानैमा बच्चा जन्माउनु, गर्भवती अवस्थामा गह्रौं भारी उचाल्नु, नियमित स्वास्थ्य जाँच नगराउनु र घरमै बच्चा जन्माउने गर्दा पाठेघरसम्बन्धी समस्या देखिने चिकित्सकहरू बताउँछन्।  चिकित्सकका अनुसार रोल्पामा अप्रेसन नै गर्नुपर्ने गरी पाठेघर खसेकाहरूको संख्या ठूलो छ।

प्रकाशित: २१ श्रावण २०७६ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App