२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाँदर र दुम्सीको आङ्तक सहन नसकेर गाउँबाटै विस्थापित

बेनी (म्याग्दी)-म्याग्दीको भकिम्ली–९ लरेनीका दुई घर परिवार बाँदर र दुम्सीको आतङ्कका कारण गाउँ छोडेर हिँड्न बाध्य भएका छन् । जङ्गलको बीचमा रहेको गाउँ लरेनीका सूर्य किसान, हरि किसानको परिवार गाउँबाट विस्थापित भइसकेका छन् । सूर्य किसानले वर्षभरि दुःख गरेर खेतबारीमा लगाएको अन्नबाली बाँदर र दुम्सीले सखाप पार्ने गरेपछि गाउँ छोड्न बाध्य भएको बताए।

बाली जोगाउन लरेनीवासीले रातको समयमा लौरो, टर्चलाइट, आगोसहित घरेलु हतियार लिएर खेतबारीको छेउमा रात बिताउने गरे पनि नियन्त्रण गर्न नसकेपछि गाउँ नै छोड्नु परेको हरि किसानले बताए।

“अहिलेसम्म प्रयोग गरिएका सबै घरेलु उपाय असफल भए । हामीले पनि गाउँ छोड्ने निर्णय गरिसकेका छौँ” चार घर परिवार बसोबास गर्ने उक्त गाउँका दले चर्माकारले भन्नुभयो । चर्मकारका अनुसार बाँदर र दुम्सीलाई रोक्न खोज्दा ज्यानकै जोखिम भएकाले बालबालिका र महिलाका लागि समेत घर छोड्नुपर्ने अवस्था आएको हो । खेतबारीमा लगाएको अन्नमध्ये करिब २० प्रतिशत मुस्किलले भित्र्याउनुपर्ने अवस्थामा दैनिक गुजारा चलाउन समेत समस्या भएको लरेनीवासीको भनाइ छ ।

मकै, कोदो, आलु, तरकारी, गहँुलगायतका अन्नबाली जोगाउन नसक्दा सधैँ छिमेकी गाउँबाट खरिद गरेर खाने गरेको गाउँलेले बताए । चार घरधुरी रहेको बस्तीबाट खेतबारीसँगै घरमा राखिएको अन्नबाली समेत जोगाउन मुस्किल भएपछि स्थानीयवासीले गाविस सचिव शिवप्रसाद शर्मालाई समेत जङ्गली जनावरबाट भएको क्षति रोक्न आवश्यक सहयोग मागेका थिए ।
“उहाँहरूको समस्या समाधान गर्न मुस्किल छ । गाउँमा पुग्नेबाटो नै जोखिमपूर्ण छ, तत्काल वैकल्पिक स्थानमा सर्न अनुरोध गरेको छु” सचिव शर्माले भने। रासस

प्रकाशित: २२ कार्तिक २०७३ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App