अनिता दाहाल
पिउनै पर्ने चिज ठानी पिउनुहुन्छ तपाईं,
परवाह नगरी फाइदा हानी पिउनुहुन्छ तपाईं !
दुनियाँलाई थाहा छ प्रेम मिठो विष हो,
र पनि जानीजानी पिउनुहुन्छ तपाई।
तिमी साथमा हुँदाको उन्माद काफी छ,
म्यासेन्जर र फोनकै संवाद काफी छ।
सलाई किन कोर्नु प-यो, मुटु जलाउन,
घरीघरी आउने तिम्रो याद काफी छ।
समस्या देखाउँछ समाधान निकाल्छ केको चिन्ता छ र,
सोचविचार गरेरै योजना थाल्छ केको चिन्ता छ र ?
जनताको बारेमा सरकार ढुक्क छ आजकल,
विषादी खुवाएर भारतले पाल्छ केको चिन्ता छ र ?
अग्लाअग्ला हिमालका शिर झुके भने के होला,
मठमन्दिर गुमनाम हुँदै लुके भने के होला ?
पर्यटनलाई अर्थको मुख्य स्रोत मान्ने देशमा
नदीनाला तालतलैया सुके भने के होला ?
भएभरका सबै कुरा बन्धकी राखेर,
आमाका सपना अधुरा बन्धकी राखेर।
ऊ बाकसमा फर्कियो जो गएको थियो,
पत्नीको सिन्दुर र चुरा बन्धकी राखेर।
झ्याप्प मनमा प्यार नै प्यार जाग्नसक्छ एक दिन,
जिन्दगीले कसैको साथ माग्न सक्छ एक दिन।
नराम्रो लागेको मान्छेलाई निरन्तर भेटिरहनुस्,
त्यही मान्छे सारै राम्रो लाग्नसक्छ एक दिन।
गाउँमा हुँदा अम्बा र आरु खुब खाइयो,
त्यही पनि गरेर फारुफारु खुब खाइयो।
अल्ली मुख बिगार्दै भन्यो उस्ले फेरि,
बजार झरेपछि दारु खुबखुब खाइयो।
मनले शंका गरिहाल्छ तिमीले फोन नउठाए,
अनेक पिर परिहाल्छ तिमीले फोन नउठाए।
माया अलिक ज्यादा भएर नि हुनसक्छ,
तप्प आँसु झरिहाल्छ तिमीले फोन नउठाए ।
नजिक आऊ, आँखा जुधाऊ बल्ल पो केही हुन्छ,
स्पर्श गर, चुम्बन बर्साऊ बल्ल पो केही हुन्छ।
सिँढी नचढी टाकुरा कहाँ पुगिन्छ प्यारा,
कुरा बुझ्, पाइला चलाऊ बल्ल पो केही हुन्छ।
कस्तो हुन्छ दिलमा मलाई राखेर त हेर,
नयनले नयनलाई नजिक डाकेर त हेर।
संसार बिर्सिन बोतल ठड्याउनै पर्दैन
मात्र एक प्याला ओठको चाखेर त हेर।
प्रकाशित: ४ श्रावण २०७६ ०३:०७ शनिबार