२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अस्पतालबाटै शिशु चोरीः ‘फोन कल’ले फेला पार्‍याे शिशु

चोरी भएपछि फेला परेको आफ्नो नवजात छोरासँग दीपनारायण र पत्नी बबिता। तस्बिरः रोहित राई/नागरिक

धरान– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसूति वार्डबाट नवजात शिशु चोरी भएको छ। चोरी आरोपमा प्रहरीले दुई जनालाई पक्राउसमेत गरेको छ।

अस्पतालको स्त्री तथा प्रसूति विभागअन्तर्गतको एन्टी नेटल वार्डमा सुत्केरी आमासँगै बेडमा सुतिरहेका नवजात शिशु एक्कासि गायब भए। बच्चा कसले लग्यो भनेर क्याबिनमा सुत्केरीसँगै कुरुवा बसेकी बहिनीले पनि सुइँको पाइनन्। मात्र १३ दिनको शिशु हराएपछि बुधबार मध्यराति करिब १२ बजे गाइनो वार्डमा हल्लीखल्ली मच्चियो। प्रहरी, चिकित्सकको प्रयासमा केही समयपछि धरानका २ महिला बच्चा चोरीको आरोपमा पक्राउ परे भने हराएको बच्चा पनि सशकुल फेला परे। इलाका प्रहरी कार्यालय धरानका अनुसार सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–१ का दीपनारायण मेहता र बबिता मेहताको नवजात शिशु(छोरा) धरान–५ देवीगाउँ माइती घर भएकी २७ वर्षीया लीला विकले अस्पतालबाट चोरेकी थिइन्। 

उनले बेडबाट बच्चा चोरेपछि भाउजू नाता पर्ने धरान–१५ बगरकोटकी ४२ वर्षीया मिना लिम्बू (विक)लाई दिएर पठाएकी थिइन्। ‘बच्चाको खोजतलास गर्ने क्रममा लीला पक्राउ परिन्, उनको मोबाइलबाट सबैभन्दा पछिल्लो नम्बरमा फोन गर्दा मिनाको घरमा बच्चा भएको पत्ता लाग्यो,’ धरानका डिएसपी ढुण्डीराज न्यौपानेले भने, ‘अपहरणमा जाहेरी आइसकेको छ, थप अनुसन्धान गरिरहेका छौं। लीला भन्ने महिला वार्डतिर नै बसेर सहयोग गरेजस्तो गरी विश्वास जितेर राति सबै निदाएको मौकामा बच्चा चोरी गरेको देखिन्छ।’

बबिताले असार १३ गते अप्रेशनमार्फत छोरालाई जन्म दिएकी थिइन्। अप्रेशन भएको घाउ पाकेपछि उनको अस्पतालमा नै राखेर उपचार भइरहेको थियो। बुधबार राति बबिता र छोरा बेडमा सुतेका थिए भने बेडमुनि बबिताकी बहिनी सुतेकी थिइन्। सबै निदाएको मौकामा बच्चा चोरी भएको थियो। शिशुका बुबा दीपनारायणका अनुसार केही दिनअघिदेखि नै लीला विक वार्डमा कुरुवाजस्तो भएर आउने जाने गर्थिन्। बुधबार राति पनि क्याबिनमा आएर केही समय लीला बसेकी थिइन्। ‘हाम्रो मान्छे सबै निदाएको बेला बच्चा उठाएर लगिछन्, बच्चा आफन्तलाई टेम्पोमा पठाएर उनी चाहिँ वार्ड बाहिर पेटीमा सुतिरहेकी रहिछन्,’ दीपनारायणले भने।

भारतको नयाँ दिल्लीस्थित फरिदावाद विवाह गरेकी लीला माइती घरमा बस्दै आएकी थिइन्। बच्चा चोरीमा लीलाको प्रत्यक्ष योजना र संलग्नता देखिएको प्रहरीले जनाएको छ। आफ्नो बच्चा नभएकोले शिशुको चोरी गरेको प्रारम्भिक बयान लीलाले दिएकी छन्। अस्पतालबाट बच्चा टेम्पोमा लगेर घरमा राख्न मिनाको पनि संलग्नता देखिए पनि बच्चा चोरीको पूर्वयोजनामा उनको संलग्नता भए नभएको बारेमा थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ। 

मध्यराति करिब १२ बजेतिर बबिता बिउँझिइन्। आफूसँगै सुतेका नवजात छोरा बेडमा थिएनन्। आफ्नो छोरा कुरुवा बसेको बहिनीसँग पनि नदेखेपछि हल्लीखल्ली भयो। तत्काल डाक्टर र प्रहरीहरू आइपुगे। सोधीखोजी गर्ने क्रममा गाइनो वार्डको बाहिर लीला विक सुतिरहेकी भेटिइन्। उनीमाथि शंका थियो। एक डाक्टरले उनको मोबाइल लिएर सबैभन्दा पछिल्लो पटक कल भएको नम्बरमा डायल गरे । एक जना महिलाले फोन उठाइन्। बच्चा रोइरहेको आवाज थियो। 

फोनमा बच्चा रोएको आवाज आएपछि लीला विकलाई प्रहरीले थप कडाइ गरेर सोधीखोजी ग-यो। बच्चा उनले चोरी गरेको धेरै समय लुक्न सकेन। बच्चा चोरी हुँदा पिता दीपनारायण घरमा थिए। उनी राति नै एक घण्टाभित्र धरान(अस्पताल) आइपुगे। ‘आमा रोएको रोयै, छोरा पनि रोएको रोएकै थिए, बिहान साढे ३ बजेतिर मात्र हात लाग्यो,’ दीपनारायणले भने,‘यो ज्यादै अप्रिय घटना हो। फेरि कसैमा यस्तो नहोस् र पक्राउ परेकालाई कडा कारबाही होस्।’

प्रकाशित: २७ असार २०७६ ०९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App