काठमाडौं– भारतीय तरकारीमा विषादी परीक्षण बिनै नेपाल भित्र दिने निर्णयपछि सरकार आलोचित भएको छ। अरु त अरु, आफ्नै सांसददेखि आफ्नै भातृसंगठनसम्मले पनि सरकारको यो कदमको आलोचना गरेका छन्। स्वच्छ खानेकुरा सर्वसाधारणको स्वस्थ्यसँग जोडिएको संवेदनशील विषय हो। त्यसमा पनि तरकारी नियमित प्रयोग हुने खानेकुरा भएकाले पनि यसको संवेदनशीलता बढेर गएको छ।
नेपालकै कुरा गर्ने हो भने नेपालमा विषादी प्रयोगको मात्रा अन्य देशको तुलनामा कम छ। वरिष्ठ बाली संरक्षण अधिकृत राम कृष्ण सुवेदी भन्छन, ‘नेपालमा लगभग ३९६ ग्राम प्रतिहेक्टर मात्र विषादी प्रयोग हुँदै आएको छ। जबकी जापान कोरिया जस्ता देशहरुमा १२ देखि १६ किलो प्रतिहेक्टरसम्म प्रयोग हुने गरेको छ।’ नेपालमा उत्पादित तरकारीको विषादी देशभरका विभिन्न ७ विषादी परीक्षण केन्द्रमा परीक्षण हुँदै आएको छ। तर, बाहिरबाट आउने तरकारीमा विषादी परीक्षण नहुने हो भने उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्ने निश्चित छ।
विषादीयुक्त तरकारी प्रयोगको तत्कालीन र दीर्घकालीन असरहुने बताउँछन् वरिष्ठबाली संरक्षण अधिकृत राजिबदास राजभण्डारी। उनका अनुसार तत्कालिन असर स्वयम कृषकलाई पर्ने गर्छ। विषादी प्रयोगको तरिका नजान्दा र सुरक्षाको उपायहरु नअपनाउँदा कृषक आफै समस्यामा पर्ने गरेको उनी बताउँछन्। ‘अर्गानोफस्पोरस र कार्बोनेट समूहका बिषादीले थकान, रिंगटा लाग्ने, धमिलो देख्ने, वाक्कवाक्क लाग्ने, आँखा नाक पोल्ने, स्वास प्रश्वासमा कठिनाइ छाला चिलाउने जस्ता समस्या हुन्छ।’ उनले भने, ‘यसको मात्रा बढि भएमा तत्कालै वा केही हप्तापछि मृत्यु पनि हुनसक्छ।’
घातक विषादीको प्रयोगले दम, एलर्जी तथा रोग प्रतिरोगात्मक क्षमतामा ह्रास ल्याउने चिकित्सकहरु बताउँछन्। यसका अलावा स्नायुको विकास र व्यवाहारमा विकृति, जन्म विकृतिदेखि क्यान्सरसम्मको सम्भावना रहन्छ। घातक विषादीले बालबालिकामा धेरै असरहुने बताइन्छ। यसले बालबालिकाको विभिन्न अंगहरुमा मासु पलाउने, टाउको ठूलो हुने, प्यारालाइसिस हुनेसम्मको असर पु-याउँछ।
वरिष्ठ फिजिसियन डाक्टर खेमराज भुषालका अनुसार तरकारीमा प्रयोग गरीने विषादीको प्रकारले त्यसबाट निम्तने रोगको निर्धारण हुने बताउँछन्। त्यस्तै, त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. प्रदिप ज्ञवाली विषादीले विभिन्न रोगहरु निम्ताउने बताउँछन्। ‘विषादी अर्थात कीरा मार्ने औषधीले पहिलो त प्रयोगकर्तालाई र पछि उपभोक्ताई असर गर्छ,’ उनले भने, ‘केही पुराना विषादी लामो समयसम्म टिकीरहने हुनाले त्यसले उर्वराशक्तिदेखि लिएर स्वास्थ्यसम्म गम्भीर असर पार्ने गर्छ।’ ज्ञवालीका अनुसार विषादीको कारणले ग्यास्ट्रिकदेखि क्यान्सरसम्मका रोग लाग्ने गर्छ।
विषादीको असर मानवस्वास्थ्यमा मात्र सीमित छैन। यसले पर्यावरणमा पनि नराम्रो असर पार्ने गर्छ। नेसनल कलेजका एकेडेमिक डाइरेक्टर उकेसराज भुजुका अनुसार विषादीले फुडचेनमा असर गर्ने गर्छ। भोजुका अनुसार पछिल्लो समय विषादी प्रयोगकै कारण विभिन्न कीट, विरुवा तथा जनावर दुर्लभ बन्दै गएका छन्। ‘काठमाडौंमा आजकल भ्यागुतोको आवाज एकदमै कम सुनिन्छ, विभिन्न खोला नालाहरुमा माछाको संख्या घट्दै गएको छ। त्यस्तै पछिल्लो समय मौरीको संख्या पनि घटेको छ,’ उनले भने, ‘यी सबको पछाडि विषादीको असर छ। भ्यागुतो, मौरी जस्ता जीवहरु स्वच्छ ठाउँमा रहन्छन्।’ पर्यावरण जोगाउन पनि विषादीको प्रयोग नियन्त्रण गर्नुपर्ने उनको सुझाव छ।
त्यसो त सरकारले स्वास्थ्यमा गम्भीर असर गर्ने २१ प्रकारका विषादीलाई प्रतिवन्ध नै गरेको छ। तर, खुला सीमाका कारणबाट भारतबाट यस्ता विषादी भित्रिइरहेको जानकारहरु बताउँछन्। फितलो कानुन र कार्यन्वयनमा कमजोरीका कारण प्रतिबन्धित विषादीसमेत सर्वसाधारणले उपभोग गरीरहेका छन् जसको भान उपभोक्तालाई भानसम्म छैन्। फलफूल तथा तरकारीमा प्रतिवन्धित विषादी प्रयोग गर्नेलाई प्रचलित कानुन बमोजिम ५ हजार रुपैयाँ जरिवाना र सामान जफत हुने अति समान्य व्यवस्था रहेको छ। जसले गर्दा जनताको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी विषादीको दुरुपयोग गर्नेहरु सजिलै छुटने अवस्था रहेको छ।
प्रकाशित: २२ असार २०७६ १२:४८ आइतबार