२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पानी नपर्दा गर्मी असह्य

फाइल तस्बिर/नागरिक

काठमाडौं - समयमै मनसुन सुरु नहुँदा गर्मी ह्वात्तै बढेको छ। गर्मीले तराई मधेसका साथै पहाडी क्षेत्रको जनजीवनसमेत प्रभावित भएको छ। असार सकिन लाग्दा पनि वर्षा सुरु नभएपछि विराटनगरलगायत पूर्व तराईका बासिन्दाले अत्यधिक गर्मीको सामना गर्नुपरेको छ।

कोसी हावापानी फिल्ड कार्यालय विराटनगर विमानस्थलकी कर्मचारी हिना मिश्रका अनुसार पछिल्लो ३ दिनमा विराटनगरको अधिकतम तापक्रम ३४ देखि ३६ डिग्री आसपास छ। यो वर्ष जेठ ३१ गते विराटनगरको तापक्रम सबैभन्दा बढी ३८ डिग्री पुगेको थियो। हाल ३६ डिग्री आसपास भए पनि वर्षा नभएकाले अत्यधिक गर्मी महसुस भइरहेको छ। निरन्तर टन्टलापुर घाम लागिरहेकाले पनि गर्मीको महसुस भएको हो। असारको पहिलो साता सामान्य वर्षा भएका कारण जमिन ओसिएको र त्यसयता निरन्तर घाम लागिरहेकाले जमिनको सतहमाथि जमेको बाफका कारण अत्यधिक गर्मी महसुस भएको हो। गर्मीका कारण दिउ“सो हिँडडुल गर्न र घरबाहिर काम गर्न निकै मुस्किल परेको छ।

गर्मी बढेसँगै झापाको जनजीवन पनि प्रभावित बनेको छ। विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको छ। प्याब्सन दमकका उपाध्यक्ष राजन प्रसाईंले बढ्दो गर्मीका कारण विद्यार्थी विद्यालय आउन छाडेको बताए। मध्यपूर्वी तराईमा केही दिन यता बिहानैदेखि तातो हावा चल्ने क्रम जारी छ। तातो हावा र टन्टलापुर घामका कारण मानवसँगै जीवजन्तु र बालीनालीमा समेतमा असर परेको छ। दिउँसो सडक सुनसानजस्तै हुन्छ। ‘मध्य असारमा नियमित वर्षा भए धमाधम रोपाइँ भइरहेको हुन्थ्यो, बजारमा चहलपहल हुन्थ्यो,’ जनकपुरका व्यवसायी रामबाबु साहले भने, ‘बजार सुनसान छ, खेतमा धुलो उडेको छ।’

गर्मीले पठनपाठन प्रभावित भएको छ। श्रमिकलाई घरबाहिर काम गर्न गाह्रो भएको छ। बजारमा चहलपहल हुन छाडेको छ।

जनकपुरस्थित मौसम पूर्वानुमान शाखाको तथ्यांकअनुसार पछिल्लो साता यस वर्षकै सर्वाधिक गर्मी महसुस भएको छ। दुई दिनअघि यस वर्षकै सबैभन्दा उच्च तापक्रम ४३ डिग्री सेल्सियस पुगेको शाखाले जनाएको छ। दिउँसो अत्यधिक ताप बढेपछि विमान उडानका साथै सडक यातायात र बजार व्यवसायसमेतमा असर परेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले बताए।

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवका अनुसार गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप बढेको छ। सामान्य अवस्थामा दैनिक करिब साढे तीन सय बिरामी आउने गरेकोमा जेठ दोस्रो सातायता दैनिक करिब ४ सय ५० देखि ५ सय ५० सम्म पुग्ने गरेको उनले बताए।

वीरगनजमा पनि गर्मीले बजार सुनसान छ। ‘पसलमा ग्राहक छैनन्, बजारमा मानिसको संख्या घटेको छ। व्यापार लगभग ठप्प छ,’ रेडिमेड कपडा व्यवसायी सचिन अग्रवालले भने, ‘गर्मीले जनजीवन नराम्ररी प्रभावित भएको छ।’ गत शुक्रबार पानी पर्नुअघि गर्मीका कारण वीरगन्ज महानगरपालिका कार्यालयले आकस्मिक सूचना जारी गरी विद्यालय नै बन्द गरायो। यस क्षेत्रमा यसपटक ४३ डिग्री सेल्सियससम्म तापक्रम पुग्यो। विगत ३ दिनदेखि अधिकतम तापक्रम ३७ डिग्री सेल्सियय र न्यूनतम २८ डिग्री सेल्सियस कायम छ। ‘यस्तो गर्मी मैले अनुभव गरेको थिइनँ। पहिलेभन्दा फरक छ, राप बढी छ,’ वीरगन्ज छप्कैयाका कमल महतो नुनियाले भने, ‘राति अलि शीतल हुनुपर्ने, त्यो पनि छैन।’

पश्चिम तराईका जिल्लामा पनि अत्यधिक गर्मी कायमै छ। नेपालगन्ज, बुटवल, धनगढी, बर्दियालगायतका स्थानमा अत्यधिक गर्मीका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई समस्या परेको छ। गर्मीले दैनिक कामकाजमा समस्या भएको छ भने विद्यालयमा पठनपाठनसमेत प्रभावित भएका छन्। एक त चर्को गर्मी, त्यसमा पनि छिनछिनमा हुने विद्युत् अनियमितताले नेपालगन्जवासी कष्टकर जीवन बिताइरहेका छन्। विद्युत् अनियमित हुँदा रातभर सुत्न नसकेर जाग्राम बस्नुपरेको नेपालगन्ज–१०, भृकुटीनगरका रमेश बिसीले बताए। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार नेपालगन्जको तापक्रम ३७ दशमलव ५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २८ डिग्री सेल्सियस रह्यो।

यस्तै सुदूर तराईमा गर्मीको पारो ३४ दशमलव ४ डिग्री सेल्सियस तल झरेकै छैन। अत्यधिक गर्मी हुँदा सुदूरपश्चिम प्रदेशको तराईका साथै डोटीको दिपायलमा जनजीवन कष्टकर बनेको छ। समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षा कोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको शारदा माध्यमिक विद्यालयका शीक्षक तीर्थराज पाण्डेयले बताए।

यो समयमा प्रायः विद्यार्थीमा छालाको समस्या देखिएको बताउँदै शिक्षक पाण्ड्ेयले भने, ‘हाम्रा प्रायः विद्यार्थीमा शरीरभरि घमौरा देखिएका छन्।’ समयसमयमा विद्युत् सेवा अवरुद्ध हुने र केही कक्षाकोठामा पंखाको व्यवस्था नहुँदा पनि समस्या भएको उनले बताए।

गर्मीका कारण नानीबाबुलाई विद्यालय पु¥याउन र ल्याउनै समस्या पर्ने गरेको स्थानीय अभिभावक रमेश जोशीले बताए। उनले भने, ‘विद्यालयमा पंखा भए पनि गर्मीले साना नानीबाबुलाई घरबाट विद्यालय लैजान र घर ल्याउनै समस्या पर्ने गरेको छ।’ अत्यधिक गर्मी बढेपछि गत जेठमा धनगढी नगरपालिकाले एक हप्ता गर्मी बिदा घोषणा गरेको थियो। गर्मी अत्यधिक बढ्न थालेपछि यहाँका केही सामुदायिक विद्यालयले असार तेस्रो सातादेखि प्रथम त्रैमासिक परीक्षा लिएर बिदा दिने तयारी गरिरहेका छन्।

हावापानी कार्यालय अत्तरियाको रेकर्डअनुसार जेठ १३ गतेका दिन अहिलेसम्मकै बढी ४२ दशमलव ६ डिग्री सेल्सियस तापक्रम पुगेको थियो। पछिल्ला दिनहरूमा भने ३४ दशमलव ४ डिग्री सेल्सियसदेखि ३५ दशमलव ७ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको तथ्यांकले देखाउँछ।

समयमै मनसुन सुरु नहुँदा बुटवल र भैरहवामा पनि गर्मी बढेको छ। गर्मीले बजारमा चहलपहल घटेको छ। अत्यावश्यक काममा बाहेक सर्वसाधारण बाहिर निस्कन सकेका छैनन्। सरकारी कार्यालयमा पनि सेवाग्राहीको संख्या कम छ। ससाना बालबालिका तथा वृद्धवृद्धालाई गर्मीले बढी असर गरेको छ। गर्मीले ज्याला मजदुरी गर्नेहरू सबैभन्दा बढी प्रभावित भएका छन्। फुटपाथमा व्यापार व्यवसाय गर्नेहरू गर्मीको मारमा परेका छन्।

सडक किनारमा उखुको जुस बेचेर गुजारा चलाउँदै आएका भैरहवाका शिवकुमार यादवले गर्मीले बजारको चहलपहल घट्दा व्यापार ठप्पजस्तै भएको बताए। दिनभर घाममा ग्राहक कुरेर बस्दा आफैं बिरामी हुने अवस्थामा पुगेको यादवको गुनासो छ। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय भैरहवाका अनुसार रुपन्देहीमा बिहीबारको अधिकतम तापक्रम ३७.४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २९.४ डिग्री सेल्सियस रहेको छ। भैरहवामा यो वर्षको सबैभन्दा बढी गर्मी जेठ ३२ गते ४३.३ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।

(विनोद सुवेदि/विराटनगर, युवराज विवश/झापा, सुरेश यादव/जनकपुर, रितेश त्रिपाठी÷/वीरगन्ज, रेखा भुसाल/बुटवल, अर्जुन ओली/नेपालगन्ज, पुष्पराज जोशी/कैलाली)

प्रकाशित: २० असार २०७६ ०१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App