२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आत्महत्या गर्नेहरु बर्षेनी बढ्दै

धादिङ - जिल्लाको धुनीबेसी नगरपालिकाका नगर सदस्य ३४ वर्षीय काली मिजारले गत असार ८ गते विष सेवन गरिन्। तरकारीमा हाल्ने ल्यखबलब जातको औषधी खादाँ उनको मृत्यु भयो। उनले किन विष सेवन गरिन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै जेठ २८ गते ज्वालामुखी गाउँपालिकाको वडा नं ४ ढोलामा १३ बर्षिय बालक सुनिल परियार घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा भेटिए। घटनापछि स्थलमा पुगेको प्रहरीले अनुसन्धान गर्दा एउटा सुसाइड नोट फेला प¥यो। त्यसमा लेखिएको विवरण अनुसार बालकले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ यद्यपी जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी डिएसपी रुपक खड्काका अनुसार घटनाको सुक्ष्म अनुसन्धान भइरहकोले सुसाइट नोट सार्वजनिक गरेको छैन।

झुण्डिएर र विष सेवन गरेर बढी आत्महत्या

गएको बैशाख ७ गतेपनि त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ कार्की गाउँ कि मेनुका न्यौपानेले विष सेवन गरिन्। घटनापछि मेनुकाकी माइतीपक्ष र घरपक्षवीच हत्या र आत्महत्याको विषयमा चर्को विवाद निम्त्यायो र अहिले मुद्धा विचाराधिन छ। गत जेठ महिनामा मात्रै झुण्डिएर र विष सेवन गरेर ९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङमा उल्लेख छ।

यी केही प्रतिनिधिमुलक घटनाहरु मात्रै हुन्। धादिङ जिल्लामा विभिन्न कारणले आत्महत्या गर्नेहरुको सङख्या पछिल्ला वर्षहरुमा बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यलय धादिङमा दर्ता भएको रेकर्ड अनुसार हरेक वर्ष आत्महत्या गर्नेहरुको सङ्ख्यामा बृद्धि हुँदै गइरहेको हो। प्रहरीको जानकारीमा नआइकन पनि आत्महत्या गर्नेहरुको अन्तिम संस्कार गरिने भएकाले आत्महत्या गर्नेहरुको सङख्या अझै बढ्ने गरेको हुन्छ।

प्रहरीका अनुसार हरेक वर्ष झुण्डिएर, विष सेवन गरेर तथा हाम फालेर आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ। मानिस बढी महत्वाकांक्षी बु, मानसिक तनाव, बहुविवाह, आत्मग्लानी र गरिबी लगायतका कारण वर्षे्नि आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको हो। धादिङका प्रहरी प्रमुख राजकुमार बैदवारका अनुसार यो आर्थिक बर्षको हालसम्म मात्रै ८७ जनाले आत्महत्या गरेको तथ्याङ प्रहरीमा आएको छ। जसमा ५६ जना झुण्डिएर, ३१ जना विष सेवन गरेर र एक जना हाम्फालेर आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा महिलाहरु भन्दा पुरुष बढी रहेका छन्। ती मध्ये ४३ जना महिला र ४४ जना पुरुष रहेका छन्। यी बाहेक पनि प्रहरीको सम्पर्कमा नआएका आत्महत्याका घटनाहरु पनि छन्।

धादिङमा चार बर्षको अवधिमा ३ सय १६ जनाले आत्महत्या गरिसकेका छन्। जिल्ला प्रहरी कार्यलय धादिङको रेकर्ड अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा धादिङ जिल्लामा ६२ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०७३÷०७४ मा आत्महत्या गर्नेहरुको सङ्ख्या ७५ पुग्यो। आर्थिक वर्ष २०७४÷०७५ मा अझै बढेर ९२ जना पगेको प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। ‘प्रत्येक वर्ष आत्महत्या गर्नेहरुको संख्या बढिरहेको छ’, उनले भने, ‘विष सेवन गरेर र झुण्डिएर आत्महत्या गर्ने गरेका छन्।’ आत्महत्या पछि पोष्टमार्टम गर्ने झमेलाका कारण कतिपय ठाउँमा गुपचुप दाहसंस्कार पनि हुने गरेको छ। त्यस्ता घटनाहरुको भने कुनैपनि रेकर्ड नरहने जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी रुपक खड्काले बताए। ‘घटना थाहा पाएसम्म हस्तक्षेत्र गरेर भएपनि हामीले पोष्टमार्टम गराएकै हुन्छौँ।’ खड्काले भने, ‘गुपचुप दाहसस्कार हुने कुरा हाम्रो जानकारी मा पनि हुन्न र रेकर्डमा पनि छैन।’

गुपचुप रुपमा हुने दाहसंस्कार समेत गनिने हो भने आत्महत्याको रेकर्ड अझै बढी हुनसक्छ। धादिङमा आत्महत्या गर्नेको सङ्ख्या यति धेरै भएको र हरेक वर्ष बढ्दै गएको भएपनि मानसिक स्वास्थ्यको क्षेत्रमा न कुनै स्थानीय तहहरुले काम गरेका छन् न त कुनै गैरसरकारी सस्थाहरुले नै। आत्महत्या गर्नेहरुको ४ वर्षे आँकडा हेर्दा धादिङ जस्तो कम जनघनत्व भएको जिल्लामा यति धेरै आत्महत्या हुनु र वर्षेनी त्यो संङख्या बढ्दै जानु निकै भयावह अवस्था रहेको सिनिएर मनोविमर्शकता रामकुमार थापाले बताए। ‘जीवनदेखि हार खाएर वा आफुलाई सहयोग र माया गर्ने मानिसको अभावका कारण मानिसको दिमाग शुन्यतामा पुग्छ, उनले भने, ‘विभिन्न समस्याहरुले एकैपटक घेरेपछि मानिस दिमागशुन्य अवस्थामा पुग्छ र आफैलाइ नष्ट गर्न अघि सर्ने गर्छन्।’ थापाका अनुसार कुनै एउटा कारणले मात्र नभइ थुप्रै कारण र समस्याहरुले गर्दा मानिसहरु आत्महत्या गर्ने मनस्थितिमा पुग्छन्। यो कारणले आत्महत्या गर्छन भनेर ठम्याउन र ठोकुवा गरेर भन्न गाह्रो हुने मनोसामाजिककर्ताहरुको भनाई छ। आत्महत्या न्युनिकरण गर्नको लागि सवैभन्दा पहिलो कुरो परिवारमा माया, एक–आपसमा हेरचाह र सोधपुछ हुनुपर्ने थापाको भनाइ छ।

प्रकाशित: १३ असार २०७६ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App