२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नहर पुरेर सडक

गढीमाई नगरपालिका–३ र ४ जोड्ने बाग्मती सिँचाइ आयोजनाको नहर पुरेर बनाइएको सडक । तस्बिर : मदन/नागरिक

रौतहट - प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिए पनि सांसदले नहर पुरेर सडक बनाएको पाइएको छ । रौतहट–४ प्रदेश ‘ख’ का सांसद सेख फुलबाबु भनिने अब्दुल कलाम आजादले आफ्नै गाउँछेउको नहर उपभोक्ता समितिमार्फत पुरेर सडक बनाएका हुन् । गढीमाई नगरपालिका–३ र ४ जोड्ने बाग्मती सिँचाइ आयोजनाको ३२ फिट चौडा नहर पुरेर रामरहिम जल उपभोक्ता समितिमार्फत सडक बनाइएको हो । करिब १२ सय मिटर नहरलाई पुरेर सडक बनाइएको छ ।

बाग्मती सिँचाइ आयोजनाका प्रमुख विनय गामीले साउदी अरेबियाको बजेटले २०६४ सालमा निर्मित नहर पुरेर सडक बनाउन थालेको जानकारी पाएपछि निरीक्षण गरेर रोक लगाइएको बताए । गामीले नहर पुरेर सडक बनाउनु पूर्णतया गैरकानुनी काम भएकाले नहर जस्ताको तस्तै बनाउन निर्देशन दिएको बताए । उनका अनुसार जल उपभोक्ता समितिसँग स्पष्टीकरणसमेत माग गरेको र आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रौतहटलाई लेखिपठाइएको छ ।

आयोजनाको स्वीकृतिबिना नहर कसैले केही गर्न नमिल्ने आयोजना प्रमुख गामीको दाबी छ । सो नहरबाट कम्तीमा ३० हेक्टर जग्गामा सिँचाइ हुने गरेको आयोजनाका डिई वरुण कर्णको भनाइ छ । आयोजनाले नहर पुर्नेलाई कानुनी कारबाही हुने बताएपछि जल उपभोक्ता समितिले बिनाप्राविधिक सल्लाह गैरकानुनी रूपमा निर्माणाधीन सडकको छेउमा खेतको सतहभन्दा पाँच फिट गहिरो र तीन फिट चौडा कुलो खनेको कर्णको भनाइ छ । आयोजनालाई नहर पुरेर सडक निकाल्ने काम कसको बजेटमा भएको हो भन्ने औपचारिक जानकारी नभए पनि प्रदेश सांसद आजादले सिँचाइ नहुनेगरी बन्द रहेको नहरलाई पुरेर सडक निकालेको र सडककै छेउमा नहर खन्न लगाएको बताएका छन् । यसबाट सर्वसाधारणलाई सडक र नहर दुवैको आवश्यकता पूरा हुने प्रदेश सांसद आजादको दाबी छ ।

राजमार्ग खनेर घन्टाघर
प्रदेश सांसद आजादले गौर–चन्द्रपुर सडकखण्डको गरुडामा राजमार्गलाई नै खनेर घन्टाघरको शिलान्यास गरेपछि अर्को विवाद उत्पन्न भएको छ । सडकसम्बन्धी कुनै निकायलाई नसोधी गैरकानुनी रूपमा खाल्टो खनेर प्रदेश सांसद आजादले जेठमा घन्टाघरको विवादास्पद शिलान्यास गरेका थिए । सडक डिभिजन चन्द्रपुरका प्रमुख डिई दरोगा साहले सडकमै खाल्टो खनेर घन्टाघरको शिलान्यास गरिएपछि तत्काल काममा रोक लगाएको बताए ।

प्रकाशित: ८ असार २०७६ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App