२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नयाँ योजना कार्यान्वयनमा चुनौती

आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्य।

काठमाडौं - काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकाभित्र आउने सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रण गर्नको लागि उपत्यकाभित्र छिर्ने नाकामा आधुनिक भेहिकल क्लििनिङ सेन्टर निर्माण गर्ने घोषणा गरेको छ। महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरमा भइरहेको प्रदूषण एवं धुवाधुलोलाई न्यूनीकरण गरी नो मास्क सिटिका रुपमा विकास गर्ने घोषणा गरेका छन्।

‘स्वच्छ हावा र स्वस्थ जीवनलाई साकार पार्न वायु प्रदूषण नियन्त्रण, फोहोरमैला व्यवस्थापन, खुला स्थान र हरियाली व्यवस्थापन गर्ने खालको एकिकृत कार्यक्रम सञ्चालन गरिनेछ,’ महानगरको नीति तथा कार्यक्रममा भनिएको छ, ‘एकीकृत कार्यक्रम सञ्चालन महानगरलाई बस्नलायक सहरको रुपमा स्थापित गरिनेछ।’ नगर प्रमुख शाक्यले काठमाडौं सहरलाई आधुनिक पूर्वाधारयुक्त सहर सहर बनाउने घोषणा गरेका छन्। आव २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाको आवधिक योजना, क्षेत्रगत गुरुयोजना एवं नीति तयार अन्तर्राष्ट्रिय स्तरको सहर बनाउने घोषणा गरेका छन्।

‘आगामी आर्थिक वर्षभित्र बृहत् जनसहभागितामा काठमाडौं भिजन २१०० तयार गरिनेछ,’ प्रमुख शाक्यले भने, ‘दिगो एकीकृत विकासको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय असर अभ्यासहरुको अनुसरण गरी टुलकिट म्यानुअल मापदण्ड पारेर लागू गरिनेछ।’ नगरप्रमुख शाक्यले महानगरको क्षेत्रधिकार भित्र पर्ने सडकहरुको तत्काल मर्मतसम्भार गर्न स्पेसल टास्क फोर्स बनाई परिचालन गर्ने नीति अघि सारेका छन्।

प्रमुख शाक्यले महानगरपालिकाको कार्यहरुमा पारदर्शिता, आर्थिक अनुशासन तथा सामाजिक न्यायलाई अंगिकार गर्दै भष्ट्राचारमुक्त विधिको शासन व्यवस्थाको सुनिश्चिता गर्ने बताए। ‘स्थानीय जनताको जीवनस्तरमाथि उकास्न स्थानीय ज्ञान, सीप र क्षमता प्रस्तुत गर्ने नीति अवलम्बन गरिनेछ,’ नगरप्रमुख शाक्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने, ‘राष्ट्रको सांस्कृतिक धरोहर मानिने सम्पदा र संस्कृतिलाई सम्वद्र्धन एवं प्रवद्र्धन गर्ने नीति अख्तियार गर्नेछौं।’

महानगरले काठमाडौंको भित्री सहरमा रहेका पुराना भवनहरुको जोखिमलाई न्यूनीकरण गर्न त्यस्ता भवनहरुको स्थानमा सुविधासम्पन्न एकीकृत मौलिक वस्ती विकास गर्ने नीति अघि सारेको छ। ‘सुरक्षित भवन निर्माण गर्न महानगरबासीलाई प्रोत्साहन गर्ने उद्देश्यले दुई वा दुईभन्दा बढी जग्गाधनीहरुको सहमतिमा एउटै आवसीय भवन निर्माण गर्ने गरी नक्सा पेश गरेमा नक्सापास दस्तुरमा ९० प्रतिशत छुट दिने नीति ल्याइनेछ,’ महानगरको नीति तथा कार्यक्रममा भनिएको छ, ‘नेपाली मौलिक झल्कने कलात्मक घरलाई थप प्रोत्साहन गर्ने कार्यविधि बनाई लागू गरिनेछ।’ मुख्य चोकहरुमा आधुनिक ट्राफिक लाइट जडान गरिने, स्मार्ट पार्किङको व्यवस्था गरिने र सहरका विभिन्न ठाउँमा स्मार्ट–भर्टिकल पार्किङ र अन्डरग्राउन्ड पार्किङ निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। नगर प्रमुखले वृद्धावस्थामा हुने रोगहरु समयमै निदान र उपचार गर्नका लागि अस्पताल खोल्न लागिएको बताए।

‘वृद्धवृद्धाहरुको सेवाको लागि अस्पताल खोल्ने नीति ल्याइएको छ,’ उनले भने, ‘अस्पताल खोल्नका लागि प्रदेश तथा संघीय सरकारसँग समन्वय तथा सहकार्य गरिनेछ। निमोनिया तथा अन्य संक्रमणको रोकथामको लागि मनमोहन अधिकारी जेष्ठ नागरिक निःशुल्क खोप कार्यक्रम सञ्चालन गरिने छ,’ प्रमुखले भने। महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रविधि तथा व्यावसायिक शिक्षाको विस्तार, महानगर निर्माणको आधारलाई साकार पार्नको लागि आगामी दुई वर्षभित्रमा महानगरपालिकाभित्र प्राविधिक विद्यालय सञ्चालन गरिने र सबै सामुदायिक विद्यालयहरुमा विज्ञान तथा कम्युटर प्रयोगशाला स्थापना गर्न सुरु गरिने उल्लेख छ।

स्वास्थ्य तथा पोषण नीतिमा महानगरपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरुको आर्थिक वर्षदेखि लागू हुनेगरी महानगरपालिकाद्वारा वार्षिक बिमा गरिने छ। ‘संस्कृति तथा सम्पदा नीतिमा हनुमान ढोकादेखि स्वयम्भूसम्मको पुरातात्विक सम्पदालाई पदमार्गलाई कार्यान्वयनमा लगिने छ,’ नगर प्रमुख शाक्यले भने, ‘पशुपतिदेखि बौद्धस्तुपसम्म हरित सम्पदा मार्गको लागि यसै वर्षबाट थालनी गरिने छ।’

नीति तथा कार्यक्रममा युवा तथा खेलकुद नीति कार्यक्रमा युवाहरुलाई उत्प्रेरित गर्न हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा १० जना युवाहरुलाई महानगर आदर्श युवा पुरस्कारले सम्मान गर्ने, सामाजिक विकास, सुरक्षा तथा संरक्षण नीतिमा स्वर्गीय मनमोहन अधिकारीको स्मृतिमा मनमोहन जेष्ठ नागरिक सम्मान कार्यक्रमबाट विभूषित गरिने, अन्य नगरपालिका र निजी क्षेत्रसँग समन्वय गरेर विद्युतीय सवारीसाधन सञ्चालन गर्ने, तीनकुनेमा अन्तरर्राष्ट्रिय स्तरको बुद्ध पार्क बनाउने, दमकल जान नसक्ने ठाउँमा फायर हाइड्रेन्टको व्यवस्था गर्नेलगायतका योजना छन्।

प्रकाशित: ६ असार २०७६ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App