२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

'बेल्ट एन्ड रोड' विषयक अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु

काठमाडौं- एसियाको सम्वृद्धि र विकासका लागि बेल्ट एन्ड रोड विषयक चौंथो अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ। बिहिबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक बिशेष कार्यक्रमबीच दुई दिने सम्मेलनको उद्घाटन गरेका छन्।

मन्त्री ज्ञवालीले चीनले अघि सारेको बेल्ट एन्ड रोड अवधारणामा नेपाल सहभागी भइसकेको बताउँदै यसका माध्यमबाट चीन तथा विश्वका विभिन्न मुलुकसँग रेल तथा सडक कनेक्टिभीटी, पूर्वाधार विकास, पर्यटन र जनस्तरको संबन्ध जस्ता बिषयमा सहकार्य गर्न चाहेको बताए। ‘बिआरआईमा सहभागी भएका मुलुकले पारस्पारीक आर्थिक विकासका लागि मिलेर काम गर्न सक्ने पर्याप्त अवसर छन्। नेपाल पनि यसमा सहभागी भइसकेको छ। आगामी दिनमा हामी चीनसँग रेल तथा सडक पूर्वाधार विकासका लागि बिआरआई फ्रेमवर्कमा काम गर्न गइरहेका छौं’ उनले भने।

नेपाल—चीन फ्रेन्डसिप एसोसियसनले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले बेल्ट एन्ड रोड अवधारणाका समावेशीता, सुशासन, मुलुकका सार्वभौमिकता र पारदर्शिता जस्ता बिशेषता रहेको बताए। मन्त्री ज्ञवालीले बिआरआइ विश्वव्यापी अवधारणाका रुपमा विकसित भइसकेको बताए। मन्त्री ज्ञवालीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड दोश्रो शिखर सम्मेलनमा विश्वका धेरै मुलुक सहभागी भएबाट यसको महत्व प्रस्ट भएको बताए।

दक्षिण एशीया क्षेत्रमा आर्थिक विकासको पर्याप्त अवसर रहेको बताउँदै मन्त्री ज्ञवालीले यस क्षेत्रमा रेल र सडकका माध्यमबाट कनेक्टिभीटी बढाउन बिआरआई महत्वपूर्ण हुने बताए। ट्रान्स हिमालयन कनेक्टिभीटि नेटवर्क र नेपाल चीन सीमापार रेल चीनमा सम्पन्न दोश्रो बेल्ट एन्ड रोड शिखर सम्मेलनको संयुक्त वक्तव्यमा परिसकेको उल्लेख गर्दै दक्षिण एसियाली मुलुकहरुले बिआरआईबाट लाभ लिने बताए।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले दक्षिण एसिया क्षेत्रले बेल्ट एन्ड रोड अवधारणामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। ‘चीन—पाकिस्तान आर्थिक करिडोर र श्रीलंकामा हम्बनटोटा बन्दरगाह बिआरआई फ्रेमवर्कभित्र निर्माणाधीन परियोजना हुन्’ उनले भनिन्। उनले पारदर्शिता, अन्र्तराष्ट्रिय मापदण्ड र नियम तथा साझा स्वार्थबाट निर्देशित भई बिआरआईमा परियोजनाहरु निर्माण हुने बताइन्। ‘चीनले बिआरआई अघि बढाएपछि कुनै पनि मुलुक ऋणको जालोमा परेका छैनन्’ उनले भनिन्।

बंगलादेशका सांसद तथा जातिय समाजतान्त्रिक दलका अध्यक्ष हसनुल हक इनुले बंगलादेशले बिआरआई, सार्क, विमस्टेक जस्ता बहुपक्षिय र क्षेत्रीय फोरममा भाग लिँदै आफ्नो विदेश नीतिलाई सन्तुलित रुपमा अघि बढाइरहेको बताए। उनले चीन र भारतजस्ता निकट छिमेकीको विकासबाट लाभ लिन बंगलादेशले उनीहरुसँग आर्थिक विकासमा हातेमालो गरिरहेको उनले बताए। आर्थिक कुटनीतिलाई बंगलादेशले प्राथमिकतामा राखेको उनले बताए।

विश्व व्यवस्था एक धु्रवीयबाट बहुध्रवीय भइसकेको बताउँदै उहाँले एसिया क्षेत्रका भारत, चीन र रुसजस्ता मुलुकको सहकार्यले यस क्षेत्रले एक्काइसौं शताब्दिको नेतृत्व गर्न सक्ने बताए। ‘भारतको एक्ट इस्ट पोलिसि र चीनको बिआरआइबीच सहकार्य हुने ठाउँ छन्। यसमा भारत चीनले मिलेर काम गर्नुपर्छ’ उनले भने।

सो अवसरमा अर्थविद् एवं योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्माले नेपालले रेल तथा सडक पूर्वाधारका लागि बिआरआई फ्रेमवर्कमा चीनसँग सहकार्य गर्नु ठूलो कुरा रहेको बताए। उनले रणनीतिक र आर्थिक दुवै हिसाबले बिआरआई नेपालका लागि महत्वपूर्ण हुने बताए। शर्माले नेपालले मुलुकमा उत्पादन बढाएर निर्यात बढाउने बिषयमा पनि सोच्नुपर्ने बताए।

आयोजक संस्था नेपाल चीन फ्रेन्डसिप एसोसियसनका अध्यक्ष कल्याण राज शर्माले बिआरआइको महत्वबारे प्रकाश पारे। उनले नेपालले बिआरआईमा सहभागी भई दिर्घकालीन लाभ लिन सक्ने बताए। चीनबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनु नेपालका लागि महत्वपूर्ण हुने उनले धारणा राखे।

भोलिसम्म चल्ने सम्मेलनमा चीन, भारत, पाकिस्तान, बंगलादेश, नेपाल, लाओस, मलेसिया र फिलिपिन्सका परराष्ट्र मामिला तथा अर्थ मामिलाका जानकार सहभागी छन्। शुक्रबारको सत्रमा विज्ञहरुले आसियान क्षेत्रमा बिआरआईबारेमा भएका उपलब्धि र प्रगतिबारे आफ्ना अनुभव साटासाट गर्नेछन्। त्यस्तै हिमालय सीमापार क्षेत्रको व्यापार र कनेक्टिभीटी बढाउन बिआरआईले खेल्ने भूमिबारे पनि शुक्रबार छलफल हुनेछ।

प्रकाशित: ५ असार २०७६ १६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App