२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रूटको तारिफयोग्य प्रदर्शन

इङ्ल्यान्ड -  घरेलु मैदानमा जारी विश्वकपमा इङ्ल्यान्डले राम्रो नजिता आत्मसात् गरिरहँदा जो रुटको प्रदर्शन सफलताको आधारस्तम्भमध्ये एक हो । इङ्ल्यान्ड जारी विश्वकपमा चार खेलमध्ये तीन जित र एक हार बेहोर्दै अंकतालिकामा चौथो स्थानमा छ । घरेलु टोलीले उत्कृष्ट ब्याटिङका बावजुद पाकिस्तानविरुद्धको खेल भने गुमाएको थियो । यद्यपि, अन्य खेलाडीसँगै रुटको प्रदर्शन भने तारिफयोग्य छ । उनले जारी विश्वकपमा दुई शतक र एक अर्धशतकसमेत प्रहार गरिसकेका छन् ।

जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा चौथो नम्बरमा रहेका रुटले २ सय ७९ रन  जोडिसकेका छन् । २८ वर्षे ब्याट्सम्यान रुटले इङ्ल्यान्डको टोलीलाई ब्याटिङसँगै बलिङमा पनि साथ दिएका छन् । उनले वेस्ट इन्डिजविरुद्धको खेलमा अलराउन्ड प्रदर्शन गर्ने क्रममा शतक पूरा गर्दा दुई विकेटसमेत लिएका थिए । रुटले उक्त खेलमा १ सय रन प्रहार गरेका थिए । उनले वेस्ट इन्डिजविरुद्ध सिमरन हेटमायर र कप्तान जेसन होल्डरलाई आउट गर्दै दुई विकेटसमेत लिएका थिए । त्यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकामाथि फराकिलो जित निकाल्दा रुटले ५१ रन बनाए । इङ्ल्यान्डले पाकिस्तानविरुद्धको गुमाए पनि उत्कृष्ट ब्याटिङ गरेको थियो । ३ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डले पूरै ओभर खेल्दै ३ सय ३४ रन बनायो ।

त्यस क्रममा रुटले १ सय ७ रनको यादगार शतकीय इनिङ खेले । बंगलादेशसँगको खेलमा भने खासै चल्न नसकेका रुट २१ रनमै पवेलियन फर्किएका थिए । पछिल्लो समय रुट उत्कृष्ट लयमा छन् । एकदिवसीय क्रिकेटमा सातौं नम्बरका ब्याट्सम्यान रुटले पछिल्ला १० खेलमा ६१.१२ को औसतले ४ सय ८९ रन बनाइसकेका छन् । उनले एकदिवसीय क्रिकेटमा १६ शतक र ३१ अर्धशतकसहित ५ हजार ५ सय ७० रन बनाइसकेका छन् ।

टोलीलाई आवश्यकताअनुरूप बलिङ गरेका उनले एकदिवसीयमा २२ विकेटसमेत लिएका छन् । उनै रुट मंगलबार अफगानिस्तानविरुद्ध उत्रँदै छन् । सो खेलमा इङ्ल्यान्डको जितका लागि रुटबाट टोलीले लय निरन्तरताको आशा राख्नेछ । अफगानिस्तानविरुद्धको वार्म अप खेलमा पनि  रुटले अलराउन्ड प्रदर्शन गर्दै २९ रनको योगदान दिँदा ६ ओभरमा तीन विकेट लिएका थिए ।

प्रकाशित: ३ असार २०७६ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App