२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डेंगु महामारीले पूवाञ्चल क्याम्पसमा पठनपाठन स्थगित

विद्यार्थी बिरामी हुन थालेपछि धरान–८ तीनकुनेस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसको पठनपाठन स्थगित भएको छ।
क्याम्पसमा डेंगु ज्वरोको प्रकोप फैलिएपछि विद्यार्थीको विशेष आग्रह र विभागीय प्रमुखहरूको सहमतिमा क्याम्पसले सोमबारदेखि पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो। क्याम्पस प्रमुख ओमप्रसाद ढकालका अनुसार डेंगु संक्रमणको त्रासले विद्यार्थी क्याम्पस आउनै छोडेपछि शुक्रबारसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरिएको हो। ‘विद्यार्थी र सबै विद्यार्थी संगठनको विशेष अनुरोध आयो, विभागीय प्रमुखहरूको पनि सहमतिमा सोमबारदेखि शुक्रबारसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरेका हौं,’ क्याम्पस प्रमुख ढकालले भने, ‘डेंगुको कारण कक्षामा विद्यार्थी नै आएका छैनन्।’’ क्याम्पसमा आइतबार चार–पाँचजना मात्र विद्यार्थी आएका थिए। पठनपाठन नभए पनि क्याम्पस प्रशासन भने खुला हुने क्याम्पस प्रमुख ढकालले बताए।

दुई सातायता सो क्याम्पसमा अध्ययनरत विद्यार्थीमा डेंगु ज्वरो देखिन थालेको थियो। डेंगु ज्वरोका बिरामी विद्यार्थीको संख्या बढ्दै गएपछि उनीहरूमा मनोवैज्ञानिक त्रास फैलिएको छ। डेंगुले क्याम्पसका विद्यार्थी मात्र होइन, शिक्षक र कर्मचारी तथा तिनका परिवारजन पनि संक्रमित भएका छन्। ‘विद्यार्थीमा त्रास पैmलिएको छ, साथीहरू सबै बिरामी भइरहेका छन्, जचाउँदा डेंगु देखिएको छ,’ विद्यार्थी रमेश जमरकट्टेलले भने, ‘क्याम्पस प्रशासनलाई समयमा नै जानकारी गरायौं, खासै पहल भएन।’

विद्यार्थी तथा क्याम्पस प्रशासनका अनुसार हालसम्म ७० जनाभन्दा बढी विद्यार्थीमा डेंगु भइसकेको अनुमान छ। क्याम्पस प्रशासन डेंगुको प्रकोप फैलिएकोप्रति गम्भीर बनेको छ। डेंगु नियन्त्रणका लागि क्याम्पस प्रशासनले ¥यापिड रेस्पोन्स टिम गठन गरेको छ। यो टिमले धरान उपमहानगरपालिका, चिकित्सक तथा स्वास्थ्य कार्यालयसँग समन्वय गरेर सरसफाइसँगै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको उपप्राध्यापक एवं टिमका सदस्य रोहित दंगालले जानकारी दिए। ‘विद्यार्थीमा मनोवैज्ञानिक त्रास फैलिएको छ, त्यो हटाउन र सरसफाइसहित मच्छरको लार्भा नष्ट गर्नेलगायत अभियान चलाएका छौं,’ दंगालले भने।

सो क्याम्पसमा एक हजार पाँच सयको हाराहारीमा विद्यार्थी छन्। ती विद्यार्थीसहित शिक्षक, कर्मचारी र क्वार्टरमा बस्नेका परिवारसमेत डेंगुको उच्च जोखिममा छन्। डेंगु प्रभावित वडा नम्बर १५ र ८ को सिमानामा यो क्याम्पस अवस्थित छ। धरान उपमहानगरपालिकाले सबैभन्दा बढी डेंगुको महामारी देखिएका यी दुवै वडालाई डेंगु संकटग्रस्त वडा घोषणा गरिसकेको छ।

संक्रमितको संख्या तीन सय नाघ्यो

गत वैशाख ३१ गतेयता धरानमा डेंगु ज्वरोका बिरामी भेटिन थालेका थिए। यो संख्या अहिले तीन सय नाघिसकेको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बेलुकी ५ बजेसम्मको तथ्यांकअनुसार ज्वरो प्रभावित एक हजार १९ जनाको परीक्षण हुँदा तीन सय १४ जनामा डेंगु पोजेटिभ देखिएको छ। तीन दिनयता एक सय दुईजनामा डेंगु पोजेटिभ रिपोर्ट आएको छ। ‘शुक्रबार र शनिबार ७७ जनामा डेंगु पोजेटिभ देखिएको थियो, आइतबार ५ बजेसम्म थप २५ जनामा पोजेटिभ देखिएको छ,’ प्रतिष्ठानको सहायक अस्पताल निर्देशक डा. विकास साहले भने, ‘रातिसम्म यो सख्या अझै बढ्नसक्छ।’

-यापिड रेस्पोन्स टिमका सहसंयोजक एवं धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवका अनुसार वडा कार्यालय तथा जनप्रतिनिधिहरूको सक्रियतामा २० मध्ये १९ वटा वडामा डेंगुबारे जानकारीसहित सर्च एन्ड डिस्ट्रोय अभियान चलिरहेको छ। धरानको वडा नम्बर ५ हालसम्म डेंगु प्रभावित नभएकाले त्यहाँ सरसफाइलगायत जनचेतनामुलक अभियान र अन्य १९ वडामा जनप्रतिनिधिले वडा कार्यालयअन्र्तगत टोलविकास संस्था, सामाजिक अगुवाहरूलाई मच्छरको लार्भा नष्ट गर्ने अभियानमा सञ्चालन गरिएको यादवले बताए।

‘वडा नम्बर १५ मा मात्रै २६ वटा टोल विकास संस्था छन्, अन्य वडामा पनि ती संस्थाका पदाधिकारीहरू परिचालित भएका छन्,’ उनले भने, ‘लार्भा नष्ट गर्ने अभियानसँगै फगिङ (मेसिनबाट विषदीयुक्त धुँवा फाल्ने) पनि भइरहेकै छ।’ उनका अनुसार उपमहानगरपालिकासँग चारवटा फगिङ मेसिन छ भने मोरङको कटहरी गाउँपालिकाबाट तीनवटा र ग्रामथान गाउँपालिकाबाट ६ वटा फगिङ मेसिन ल्याएर धुँवा छर्ने काम भइरहेको छ। विराटनगर महानगरपालिकाबाट पनि एउटा मेसिन ल्याइएको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App