२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गिनिज रेकर्ड तोड्न दिदीबहिनीको युगल नृत्य

गिनिज बुक अफ वल्र्ड रेकर्डस्का लागि युगल नृत्य गर्दै रुबिसा र एलिसा। तस्बिरः नागरिक

काठमाडौं– लामो समयसम्म नृत्य गरेर नेपाललाई विश्व सामु चिनाउँदै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन दुई दिदीबहिनीले शनिबारदेखि युगलमा सबैभन्दा लामो समयसम्म डान्सिङ म्याराथोन सुरु गरेका छन्। चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ घर भएका १९ वर्षीया रुबिसा श्रेष्ठ र १७ वर्षीया एलिसा श्रेष्ठले राजधानीको स्वयम्भूस्थित क्वालिटी क्याफे एण्ड बैंकेटमा म्याराथोन सुरु गरेका हुन्।

यी दिदीबहिनीले लगातार ४० घण्टा युगल नृत्य गर्नेछन्। यसअघि सन् २०१४ को डिसेम्बरमा अमेरिकाको हवाइका ब्रिट र जेनिफर ग्रिसवोल्डको जोडीले लगातार ३८ घण्टा ३० मिनेट नृत्य गरेर नाचेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम दर्ता गराएका थिए। श्रेष्ठद्वयका बुबा सन्तप्रसाद श्रेष्ठले अमेरिकी जोडीको नामको रेकर्डलाई तोडेर नेपाललाई युगल नृत्यमार्फत विश्वसामु चिनाउन दिदीबहिनी नाचेको बताए। ‘सानैदेखि नृत्यमा रुची भएका छोरीहरू वल्र्ड रेकर्डबाट नेपाललाई विश्वमाझ चिनाउनका लागि नाचेका हुन्’, उनले भने, ‘उनीहरूलाई खुशीका साथ सहयोग गर्दै आएको छु। उनीहरूको डान्सर बन्ने सपना छ। संघर्ष गरेर भएपनि उनीहरूको सपना पुरा गरिदिनेछु।’

सन्तका अनुसार दिदी रुबिसा सानैदेखि गीत सुनेपछि नाचिहाल्थिन। बहिनीको भने गायनमा रुची थियो। तर, सल्लाह गरेर दुवैले नृत्यलाई नै जोड दिए। अहिले रुबिसा नृत्य शिक्षक छिन्। ‘जन्मिएको ६ महिनादेखि दुवैजना संगीत सुनेर शरीर हल्लाउँथे’, उनले भने, ‘त्यसैले दयालु स्वाभावका मेरो छोरीहरूले अहिले विश्व रेर्कडको लागि नृत्य गरेका छन्।’ रुबिसा हाल स्नातक तहको प्रथम वर्षमा अध्ययनरत छिन् भने एलिसा कक्षा १२ को परीक्षा दिएर बसेकी छन्। सन्तले विश्व रेकर्ड राखेपछि सामाजिक कार्यमा गर्ने सोच छोरीहरूमा रहेको खुलाए। सामान्य परिवारमा हुर्केका दिदीबहिनीले आइतबारको साँझसम्ममा ३१ घण्टा नाचिसकेका छन्। उनीहरूले आइतबार रातको १२ बजेसम्म नाच्ने छन्।

गिनिज वल्ड रेकर्ड इभेन्ट नेपालका अध्यक्ष सन्तोष लामाले पछिल्लो समयमा नेपालका प्रतिभावान व्यक्तिहरूले विश्व कीर्तिमान राखेर नेपाललाई विश्वसामु चिनाएको बताए।  ‘नेपालमा थुप्रै प्रतिभावान व्यक्तिहरू छन्। यसअघि पनि हाम्रै संयोजनमा दुईटा विश्व रेकर्ड कायम भइसकेको छ’, उनले भने, ‘दिदीबहिनीले पनि युगल नृत्यबाट विश्व रेकर्ड राख्ने आशामा छौं। उनीहरूको प्रतिभाले नेपाललाई विश्वसामु चिनाएको छ।’

लामाले सरकारले प्रतिभाशाली व्यक्तिहरूको लागि आर्थिक र भौतिक सेवासुविधा दिन कुनै पहल नगरेको गुनासो गरे। लामा बताउँछन। ‘नेपाली प्रतिभावान व्यक्तिहरूको प्रतिभालाई सरकारले सम्मान गर्न सकेको छैन’, उनले भने, ‘आर्थिक सहयोगसँगै भौतिक सेवासुविधा पनि दिन सकेको छैन। त्यसैले सरकारले यस्ता प्रतिभाहरूलाई प्रेरणा दिनको लागि सहयोग गर्नुपर्छ।’

यसअघि धनकुटाकी १७ वर्षीया बन्दना नेपालले गत मंसिर महिनामा लगातार लामो समय १ सय २६ घण्टा नाचेर ‘गिनिज बुक अफ वल्ड रेकर्ड’ मा नाम लेखाएकी थिइन्। उनले लगातार पाँच रात ६ दिन नाचेकी थिइन्। बन्दनाले लामो समयसम्म नाचेरै गिनिजमा कीर्तिमान राखेकी भारत केरलाकी कलामण्डलम हेमालथाको रेकर्डलाई तोडेकी हुन्।

प्रकाशित: १३ जेष्ठ २०७६ ०६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App