२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कारागारमा रातभर तनाव

सुर्खेत– चौकीदार र दाई नाइकेलाई सरुवा माग्दै जिल्ला कारागार शाखा सुर्खेतका कैदी–बन्दीहरु आन्दोलित भएका छन्। उनीहरुले मूलगेट भित्रबाट तालाबन्दी गरेका छन्। चौकीदार धिरज पराजुली र दाई नाइकेहरु केशव सारु, नवराज देवकोटा र इन्द्र पुलामीलाई कैदी–बन्दीहरुले भित्र पस्न दिएका छैनन्। 

कैदी–बन्दीहरुले चौकीदार र दाई नाइकेहरुले सञ्चालन गरेको मेसमा महंगोमा खाना खुवाउने गरेको, वासी र सडेको भात खुवाउने गरेको, मदिरा सेवन गरेर कैदी–बन्दीमाथि कुटपिट गर्ने गरेको आरोप लगाएका छन्। ‘कैदी–बन्दीलाई कुटपिट गर्ने एक जना चौकीदार र तीन जना दाई नाइकेलाई सरुवा नगर्दासम्म हाम्रो आम्दोलन रोकिँदैन्’ एक कैदीले भने, ‘उनीहरुलाई अन्यत्र सरुवा नगर्दासम्म मूल गेटमा लगाएको ताला खोल्दैनौं।’ 

कैदी–बन्दीहरुले मध्यरातसम्म नारावाजी गरिरहेका छन्। कारागारका कैदी–बन्दीहरुले आन्दोलन सुरु गरेपछि जिल्ला प्रहरी कार्यालयबाट डिएसपी प्रदिप क्षेत्रीको कमाण्डमा प्रहरी टोली कारागारमा छ। समस्या समाधानका लागि वार्ता भइराखे पनि समाधान आएको छैन्। 

जेलर लक्ष्मी खरेलले कैदी–बन्दीहरुका माग यकिन नभएको बताइन्। ‘हामी उनीहरुका मागमाथि छलफल गर्न तयार छौं, अहिलेसम्म माग स्पष्ट नभएका छैनन्’ उनले भनिन्, ‘माग आएपछि वार्तामा बसेर समाधान गछौं।’

जेलर खरेलले केही कैदी–बन्दीहरुले चौकीदार र दाई नाइकेहरुले सञ्चालन गरेको पसल र मेसमा सामान र खाना महंगो भएको गुनासो गरेको बताइन्। ‘शुक्रबारनै मेस सञ्चालक र पसल सञ्चालकलाई मूल्यसूचि राख्न कारागार प्रशासनकातर्फबाट निर्देशन दिइएको छ’ उनले भनिन्, ‘त्यसबाहेकका मागका सन्दर्भमा कारागार प्रशासनलाई जानकारी छैन।’ 

प्रकाशित: ४ जेष्ठ २०७६ १५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App