२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पर्यटक अड्याउने रणनीति अझै बनेन

रेखा भुसाल/किरणमान बज्राचार्य

लुम्बिनी - जापानी नागरिक प्रा. केन्जो टांगेले ४१ वर्षअघि गुरुयोजना बनाई व्यवस्थित विकास थाल्दा लुम्बिनीका सात गाउँ विस्थापित भएका थिए। मुस्लिम समुदायको बाहुल्य रहेका ती गाउँका बासिन्दाले लुम्बिनीको विकासलाई त्यति बेलै आत्मसात् गर्दै आफनो घरबास दिएका हुन

। स्थानीय र लुम्बिनीबीचको त्यही सद्भाव र सम्बन्धलाइ प्रगाढ बनाउन लुम्बिनी परिसरमा सुविधासम्पन्न हाइस्कुल र क्लिनिक (अस्पताल) निर्माण गर्ने योजना गुरुयोजनामा समावेश गरीयो। तर चार दशक बित्दा पनि ती संरचना बनेका छैनन्। लुम्बिनी गुरुयोजनामा समावेश यस्ता थुप्रै आयोजना बन्न बाँकी छन्। योजना पूरा नहुँदा लुम्बिनी क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा असर परेको सरोकारवाला बताउँछन्।

सन् १९७८ मा सुरु भएको लुम्बिनी गुरुयोजनाको हालसम्म ८० प्रतिशत काम सकिएको लुम्बिनी विकास कोषले जनाएको छ। बाँकी २० प्रतिशत काम साढे दुई वर्षभित्र सम्पन्न गर्ने र त्यसका लागि ६ अर्ब बजेट लाग्ने अनुमान कोषको छ। बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक उत्खननको श्रेय खड्गशमशेर राणालाइ जान्छ। सन् १८९६/९७ मा खड्गशमशेरको नेतृत्वमा अंग्रेज अनुसन्धानकर्ता एलोइस फुहररले उत्खनन गरी लुम्बिनीमा अशोक स्तम्भ फेला पारेका थिए। त्यसपछि विभिन्न कालखण्डमा लुम्बिनीको उत्खनन गरियो। सन् १९९७ मा लुम्बिनी विश्व सम्पदा सूचीमा पनि समावेश भयो।

लुम्बिनीको बृहत्तर विकासको अभियान भने सन् १९६७ मा सुरु भएको हो। बृहत्तर लुम्बिनीका अभियन्ता संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्त म्यानमारका नागरिक थिए। उनले १९६७ मा लुम्बिनीको भ्रमण गरे। उनले लुम्बिनी विश्वका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बन्न सक्ने औंल्याउँदै यसको बृहत्तर विकासमा राष्ट्रसंघले सहयोग गर्ने प्रस्ताव तत्कालीन राजा महेन्द्रसमक्ष पेस गरे। लुम्बिनी भ्रमणबाट फर्केपछि थान्तले ‘इन्टरनेसनल कमिटी फर डेभलपमेन्ट अफ लुम्बिनी’ नामक समिति गठन गरी १० लाख डलर आर्थिक सहयोग उपलब्ध गराए।

लगत्तै नेपाल सरकारले लुम्बिनी विकास समिति गठन ग-यो। थान्तकै सक्रियतामा १९७२ मा जापानका वास्तुविद प्रा. केन्जो टांगेलाई लुम्बिनीको व्यवस्थित विकासका लागि गुरुयोजना तयार गर्ने जिम्मा लगाइयो। टांगेको गुरुयोजना सन् १९७८ मा पारित भई कार्यान्वयनमा आएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय (अवधेशकुमार त्रिपाठी) ले बताए।

गुरुयोजना समयमै पूरा नहुँदा लुम्बिनीको विकास र पर्यटन विस्तारमा सोचेअनुरुप प्रगति हुन सकेको छैन।

तीन वर्गमाइल अर्थात् एक हजार एक सय ५० बिघा क्षेत्रमा विस्तारित लुम्बिनी गुरुयोजनामा एकएक वर्गमाइलका तीनवटा क्षेत्र छन्– पवित्र उद्यान, विहार क्षेत्र र लुम्बिनी ग्राम। दक्षिणतर्फको पवित्र उद्यानमा बगैंचा, सुन्दर पोखरी, पुराताŒिवक तथा ऐतिहासिक धरोहर छन्। उद्यानदेखि उत्तरतर्फ विहार क्षेत्र छ। यहाँ थेरवाद बौद्धमार्गीका १३ र महायानीका लागि २९ वटा घडेरी छुट्याइएको छ। तीमध्ये अधिकांश विहार बनेका छन् भने केही निर्माणकै क्रममा छन्। लुम्बिनी ग्राममा अनुसन्धान केन्द्र, पुस्तकालय, सभागृह, संग्रहालय छन्। ग्राममै बनाउने भनिएको हाइस्कुल, क्लिनिक, प्रशासनिक ब्लक, फोहोर प्रशोधन केन्द्र, कनेक्टिभिटी रोड, नाला, ल्यान्ड स्केपिङलगायतका पूर्वाधार बन्न बाँकी छन्। पवित्र उद्यान सुन्दर बनाउने भनिएका पोखरीको व्यवस्थापन गरिएको छैन।

गुरुयोजनाअन्तर्गत बाँकी काम सम्पन्न गर्ने समय र लागतका सम्बन्धमा अध्ययन गरी एकमुष्ठ ठेक्का लगाउने तयारी भइरहेको कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले बताए। यसअघि फुटकर रुपमा आयोजना ठेक्का लगाउँदा अनुगमनमा ध्यान नपुगी गुरुयोजनाले गति नलिएकाले बाँकी काम सम्पन्न गर्न ग्लोबल टेन्डरमा जाने तयारी भएको उनले जानकारी दिए।

गुरुयोजना समयमै पूरा नहुँदा लुम्बिनीको विकास र पर्यटन विस्तारमा सोचेअनुरुप प्रगति हुन सकेको छैन। यसअघि बजेट र कर्मचारी अभावका कारण पनि गुरुयोजनाले गति लिन नसकेको उपाध्यक्ष मैत्तेयले बताए। विकास कोषका पूर्वसदस्यहरु भने कोषलाई राजनीतिक नियुक्तिको अखडा बनाउने परिपाटीका कारण लुम्बिनी गुरुयोजनाले गति लिन नसकेको हो।

गुरुयोजनामा छुटेका स्थान

लुम्बिनी गुरुयोजनाले कपिलवस्तु र नवलपरासीका बुद्धस्थलहरु समेट्न नसक्दा एकदर्जनभन्दा बढी महत्वपूर्ण बौद्ध सम्पदा ओझेलमा छन्। कपिलवस्तुमा बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबार, ज्ञान पाएपछि पहिलोपटक आएर बसेको कुदान, कक्रुछन्द बुद्धको जन्मस्थान गोटिहवा, प्राचीन स्तुपजस्ता महŒवपूर्ण छन्। तर ती स्थलसम्म पुग्ने स्तरीय सडक छैन।

तिलौराकोट पुग्ने सडक जीर्ण हुँदा हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुन्छ। गोटीहवा र सगरहवासम्म ठूला बस जाँदैनन्। कतिपय पुरातात्विक क्षेत्र अतिक्रमणमा परेका छन। निग्रोधाराम (कुदान), निग्लिहबा र गोटिहबा चौपाया चरन बनेको स्थानीय तेजकुमार बौद्धाचार्यले बताए। लुम्बिनी र कपिलवस्तु परिपूरक भए पनि सरकार र लुम्बिनी विकास कोषले कपिलवस्तुका महत्वपूर्ण बुद्धस्थललाई उपेक्षा गरेको बौद्धाचार्यले बताए।

नवलपरासीको रामग्राम बुद्धको अस्तुधातु राखिएको पवित्र ८ स्थानमध्ये एक हो। तर त्यहाँ पुग्ने सडक छैन। सम्राट अशोकले आठै स्थानबाट अस्तुधातु निकालेर ८४ हजार स्तुप बनाउने तयारी गरेका थिए। ७ स्थानबाट अस्तुधातु निकाले पनि रामग्राममा भने नागले पहरा दिएर अस्तु निकाल्न नदिएको बताइन्छ। रामग्रामको करिब ५ किलोमिटरको दूरीमा रहेको कोलीय राज्यको राजधानी पण्तिपुर अतिक्रमणमा परेको छ।

पूर्वाधार निर्माणमा सरकार र लुम्बिनी विकास कोषको उदासीनताकै कारण कपिलवस्तु र नवलपरासीका बुद्धस्थलले पर्यटक आकर्षित गर्न सकेका छैनन्। पर्यटनविद् रामचन्द्र सेढाईंले लुम्बिनीलाइ विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन कपिलवस्तु र नवलपरासीका बुद्धस्थलको एकीकृत विकास गरी तिनको प्रचारप्रसारमा ढिलाइ गर्न नहुने बताउँछन्।

पर्यटक अडिँदैनन् लुम्बिनीमा

वैशाख पहिलो साता ३८ जनाको श्रीलंकाली पर्यटकको टोली लुम्बिनी आयो। लुम्बिनीमा कम्तीमा र्दुइ दिन बस्ने योजनासहित आएको भनिएको टोलीले लुम्बिनी होटल एन्ड लजमा १६ वटा कोठा बुक ग-यो। तर विडम्बना, उनीहरु एक दिन पनि बसेनन्। बिहान सामान राखेर लुम्बिनी परिसरभित्र पसेका उनीहरु दिउँसो अबेर होटल फर्किए र सरसामान लिएर निस्किए। होटलका म्यानेजरले ती पर्यटकलाइ बसाइ छोट्याउनुको कारण सोधेका थिए। जवाफमा ती पर्यटकले लुम्बिनी घुमेर सकेकाले अन्य बुद्धस्थलमा जान लागेको बताए। ती श्रीलंकालीले भनेका बुद्धस्थल भारतका थिए।

चैत अन्तिम साता भैरहवा विमानस्थल हँुदै लुम्बिनी आएका सातजना युरोपेली पर्यटक लुम्बिनीमा एक रातमात्रै अडिए। पर्यटन व्यवसायीले कपिलवस्तु र नवलपरासीका महत्वपूर्ण बुद्धस्थल घुम्न आग्रह गरे पनि ती पर्यटकले त्यसबारे आफूहरुलाइ जानकारी नभएकाले टुर प्याकेजमा नपरेको जवाफ दिए। यी दुई टोली उदाहरण हुन्। लुम्बिनी आउनेमध्ये झन्डै ८० प्रतिशत बाह्य पर्यटक आएकै दिन फर्कन्छन्। लुम्बिनी विकास कोषकै तथ्यांकले यो पुष्टि गर्छ। स्थलमार्ग हुँदै लुम्बिनी आएका मध्ये ९० प्रतिशत पर्यटक आएकै दिन भारत फर्केको तथ्यांक अध्यागमन कार्यालय बेलहियासँग छ। लुम्बिनीमै बस्नेहरु पनि आधाजसो आफ्नै देशका बौद्ध गुम्बा र विहारमा बस्छन्। एसियाली मुलुकका पर्यटकले त नेपाल प्रवेशको भिसा शुल्कसमेत तिर्नुपर्दैन।

तथ्यांकमा लुम्बिनीमा बाह्य तथा आन्तरिक पर्यटक आगमन उल्लेख्य बढेको छ। वार्षिक झन्डै डेढ लाखको हाराहारीमा बाह्य, त्यतिकै संख्यामा भारतीय र १२ लाखको हाराहारीमा आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गर्छन्। १७ वर्षअघि सन् २००२ मा यो संख्या जम्मा ९ हजार थियो।

यहाँ आउने पर्यटकमा बौद्ध धर्मावलम्बीमात्रै छैनन्, युरोपियन, अस्ट्रेलियनसँगै इराक, अफगानिस्तान, पाकिस्तानजस्ता मुस्लिम देशबाट समेत पर्यटक आउँछन्। तर पर्यटकको बसाइ लम्ब्याउन नसक्दा यहाँको पर्यटन क्षेत्रले उल्लेख्य फाइदा लिन सकेको छैन। बिहान आएर दिउँसो फर्कने पर्यटकबाट मुलुकले आर्थिक लाभ लिन नसक्ने अर्थ विश्लेषकहरु बताउँछन्।

विश्वमा डेढ अर्बभन्दा बढी बौद्ध धर्मावलम्बी छन्। भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि बाह्य मुलुकसँग लुम्बिनी सीधा जोडिने भएकाले पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरिएको छ। यसै कारण पर्यटन व्यवसायमा अर्बौंको लगानी थपिएको छ। तर पर्यटकको बसाइ अवधि बढाउन नसक्ने हो भने लगानी धराशयी हुने चिन्ता व्यवसायीको छ।

किन अडिँदैनन् पर्यटक

लुम्बिनीविद्हरुका अनुसार पर्यटकको बसाइ लम्ब्याउन आकर्षक र सुविधा सम्पन्न संरचना, पार्क, बौद्ध दर्शन, कला, संस्कृतिसम्बन्धी प्रस्तुतिहरु, बौद्धपूजा, ध्यानजस्ता कार्यक्रम ल्याउनुपर्छ। तर लुम्बिनीमा यी सबैको अभाव छ। सँगसँगै लुम्बिनीबाहेकका बुद्धस्थलको प्रचार र विकास नहुनु नै पर्यटक नअडिनुको मुख्य कारण हो।

लुम्बिनीबाहेकका बौद्ध सम्पदा अहिले पनि ओझेलमा छन। लुम्बिनीको २५ किलोमिटर दूरीमा कपिलवस्तुस्थित तिलौराकोट दरबार, कुदान, गोटिहवा, प्राचीन स्तुप, रामग्राम, पाँच किलोमिटर दूरीमा कोलीय राज्यको राजधानी पण्डितपुर, रुपन्देहीमा बुद्धको मावली देवदह छन्। तर यिनको पर्याप्त प्रचार, संरक्षण, सौन्दर्यीकरण गरिएको छैन। यो कार्य लुम्बिनी विकास कोषले प्राथमिकतामा पारेको छैन।

सहज सडक र सुविधा सम्पन्न यातायात नहुँदा चाहेर पनि पर्यटक यी ठाउँमा पुग्न सकिरहेका छैनन्। लुम्बिनी आएका २० प्रतिशत पर्यटकमात्रै तिलौराकोट पुग्ने गरेको तथ्यांक छ। देवदह र रामग्राममा त आन्तरिक पर्यटक पनि बिरलै पुग्छन्। तिलौराकोटमा पर्यटक बस्न सामान्य होटलसमेत छैन।

छिमेकी मुलुक भारतको बाटो हुँदै आउने विदेशीमा लुम्बिनीबाहेकका बुद्धस्थल भारतमै रहेको बुझाइ पाइन्छ। भारतीय टुर प्याकेजमा पर्यटकलाइ दुईचार घण्टाका लागि लुुम्बिनी ल्याउने र अन्य बुद्धस्थल भारतमै रहेको गलत जानकारी दिएर उसै दिन फर्काइन्छ। तर त्यसलाइ चिर्न न लुम्बिनी विकास कोषले चासो दिएको छ न सम्बन्धित सरकारी निकायले। नाकाका अध्यागमन र पर्यटन कार्यालयले पर्यटकलाई लुम्बिनी तथा बुद्धस्थलका बारेमा सामान्य जानकारी दिने व्यवस्था पनि गरेका छैनन्।

सीमा नाकामा सूचना बोर्ड र नेपालको झन्डासमेत राखिएको छैन। भैरहवा विमानस्थलमै पनि पर्यटकलाई लुम्बिनी क्षेत्र प्रवेशको आभास गराउने संरचना र व्यवस्था छैन। लुम्बिनी गुरु योजनाअन्तर्गत निर्माणमा ध्यान दिनुपर्दा पर्यटकको सेवासुविधा तथा बसाइ लम्ब्याउने योजना निर्माणमा ध्यान पुग्न नसकेको कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले बताए।

अब के गर्न सकिन्छ
समस्या पहिचान गर्दै पर्यटकको बसाइ लम्ब्याउन सरकार, लुम्बिनी विकास कोष र निजी क्षेत्रले विशेष कार्ययोजना बनाई अघि बढ्नुपर्ने पर्यटनविद् रामचन्द्र सेढाईं बताउँछन्। लुम्बिनी गुरुयोजना पूरा गरी बुद्धस्थलमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। ‘बुद्धजीवनी, कला, संस्कृति, ध्यान, दर्शन, बौद्धपूजा तथा शान्ति प्रार्थनाले लुम्बिनीलाई गुञ्जायमान गराउन सकिन्छ। लुम्बिनीमा कम्तीमा दुई दिन बसाल्ने र चिनो बोकेर फर्कने बनाउनुपर्छ’ सेढाईंले भने। लुम्बिनीको पहिचान झल्कने गरी स्थानीय समुदायको सीपलाई लुम्बिनीको चिनोस्वरुप ब्रान्डिङ गर्न सकिने उनको तर्क छ।

नेपाल ट्राभल्स एजेन्सी एसोसिएसन (नाटा) का प्रदेश अध्यक्ष विष्णु शर्मा निर्माणााधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलमा लुम्बिनीको कलासंस्कृति झल्कने संरचना र लुम्बिनीबारे जानकारी दिने संयन्त्र निमार्ण गर्नुपर्ने बताउँछन्। बौद्ध सम्पदाको संरक्षण गर्दै पार्क, मनोरञ्जन स्थल, भ्यु टावरजस्ता पूर्वाधार पनि आवश्यक रहेको उनको भनाइ छ। निर्माणाधीन भैरहवा–लुम्बिनी–तौलिहवा सडक र बुद्ध परिपथ निर्माण छिटो सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए।

बौद्ध विश्वविद्यालयमार्फत लुम्बिनी र बौद्ध क्षेत्रलाई विश्वस्तरमै शैक्षिक तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न सकिने तर्क पर्यटनविद् सेढाईंको छ। त्यस्तै लुम्बिनीनजिकका पहाडी जिल्लाको प्राकृतिक सौन्दर्य र सम्पदा सदुपयोग गर्न सके पर्यटकको बसाइ लम्ब्याउन सकिने पनि उनले बताए। तराईको गर्मी छल्दै पाल्पाको नुवाकोट, तानसेन, रानीमहल, गुल्मीको रिडी, रेसुंगा,अर्घाखाँचीको सुपा, पाणिनि तपोभूमिलाई समेटेर पर्यटन प्याकेज बनाउन सकिने उनले सुझाए।

प्युठानको स्वर्गद्वारी, बाँके र बार्दियाको रष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षसँगै रोल्पा रुकुमलाई जोडेर पर्या–पर्यटन योजना बनाउन सके प्रदेश र केन्द्र सरकारले लिएको पर्यटनबाट समृद्धिको छलाङ भन्ने नारा सार्थक हुने पर्यटनविज्ञ सेढाईंले बताए। निजी क्षेत्रले प्रदेशका महŒवपूर्ण भूगोल र सम्पदालाइ समेटेर टुर प्याकेज, जिप सफारी तथा ट्रेकिङ प्याकेजका कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो पनि उनले औंल्याए।

प्रकाशित: ४ जेष्ठ २०७६ ००:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App